बल्खुस्थित साझाको पेट्रोल पम्प चौबीसैं घण्टा खुल्ने
काठमाडौं । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए । मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने शुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डीकाप्रसाद भट्टलगायत सहभागी थिए ।
१७ वर्षमा एशियन लाइफ, उत्कृष्ट बीमा सेवा प्रवाह
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी सत्रौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०८० चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिएको छ । वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै बुधबार मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । साथै देशभरका ८० वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा १६ वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएका सम्पूर्णमा हार्दिक आभार व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गरे । यस कम्पनीको चालू आ.व. २०८०/८१ को फागुनसम्ममा जीवन बीमाकोष ४१ अर्ब ३० करोड रुपैयाँ र कूल बीमाशुल्क रु. ४९ अर्ब रहेको छ । कूल लगानी ४६ अर्ब १० करोड रुपैयाँ छ । यसैगरी चालू आर्थिक वर्ष २०८०/z८१ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ (सूचीकृत हुन बाँकी बोनश शेयर समेत) करोड चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
वीरगञ्ज नगरक्षेत्रका आधादर्जन सडक कालोपत्र गरिँदै
वीरगञ्ज । पर्सागढी नगरपालिकाले ग्रामीण सडक पूर्वाधारलाई प्राथमिकता दिएको छ । वर्षौंदेखि जीर्ण, हिलाम्मे र धूलाम्मे नगरक्षेत्रका आधादर्जन सडकलाई चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने योजनाअनुसार काम अघि बढाइएको हो । सोही योजनाअनुसार नगरपालिकाले वडा नं १ स्थित जनता सडकमा कालोपत्र सम्पन्न गरेको छ । वर्षौंदेखि सडक जीर्ण हुँदा हिलो र धूलोका कारण सास्ती भोग्दै आएका स्थानीय सो सडक पक्की भएसँगै हर्षित भएका छन् । कोइलाभार मन्दिरदेखि कोइलाभार टोलसम्मको सडकखण्डलाई नगरपालिका कार्यालयले नगरस्तरीय भौतिक पूर्वाधार योजना अन्तर्गत दुई करोड ४५ लाख ६६ हजारको लागतमा निर्माण गरेको हो । उक्त एक दशमलव ५४ किलोमिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीयवासीले बताएका छन् । ‘पहिला सडक कच्ची थियो, वर्षायाममा हिलाम्मे र सुख्खायाम धुलाम्मे हुन्थ्यो’, पर्सागढी नगरपालिका–१ का श्याम महतोले भने, ‘आवतजावतमा सहज मात्रै होइन्, अब हिलो र धुलोबाटमुक्त भएको अनुभूति भइरहेको छ ।’ ठूलो धार्मिक महत्व बोकेको कोइलाभार मन्दिरसम्म पुग्न पहिला धेरै गाह्रो हुने र अब टोलबाट मन्दिरसम्म पुग्न सहज भएको उनको भनाइ छ । नगरपालिकाले ग्रामीण भेग र सहरको दुरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको समान नजिकैको बजारसम्म पुर्याउनसमेत सहज भएको स्थानीय कामेश्वर यादवले बताए । लामो समयदेखि सरकारी उपेक्षामा परेको सो सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर कालोपत्र गरिएको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले बताए । नगरपालिकाको सबै सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख पाठकले बताए । उनले कालोपत्र सडक निर्माण कार्यलाई सहरी र ग्रामीण क्षेत्रमा सन्तुलित रुपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे । ‘मेरो पहिलो प्राथमिकता नै स्थानीय सडक पूर्वाधार निर्माण नै हो’, नगरप्रमुख पाठकले भने, ‘कच्ची सडकको मर्मत गर्दा बढी खर्च हुने र समयपनि नोक्सानी हुन्छ, त्यसैले दिगो सडक विकास गर्ने लक्ष्यसहित सडकलाई कालोपत्र गर्न थालेका छौँ ।’ यसैवर्ष नगरपालिकाको छ वटा स्थानका सडकलाई कालोपत्र गर्न लागेको उनको भनाइ छ । नगरप्रमुख पाठकका अनुसार यसैवर्ष पर्सागढी नगरपालिका–१ को नववा बजारदेखि भटनी टोल जोड्ने सडक, वडा नं २ को बागबन्नदेखि छतवनटाँडी जाने सडकखण्ड, वडा नं ३ को मानव आश्रमदेखि आमोदेवी मन्दिर जाने सडकखण्ड, वडा नं ५ को जमुनीचोकदेखि वडा नं ४ जोड्ने हर्दिया–हरदासपुर सडकखण्ड र वडा नं ८ को वडा कार्यालयदेखि वडा नं ३ को वडा कार्यालय जोड्ने सडकखण्ड कालोपत्र गरिने छ । ‘एक पटक सडक कालोपत्र भयो भने वर्षौंसम्म त्यो सडकमा बजेट खर्चिनु पर्दैन’, नगरप्रमुख पाठकले भने, ‘जसका कारण एकातिर सडकमा हिलाम्मे र धुलाम्मे पनि भएन् र अर्कोतर्फ बजेट तथा समयको समेत बचत हुन्छ ।’ त्यो बजेटले अर्को काम पनि खर्च गर्न सकिन्छ, उनले भने । ती अधिकांश सडक कालोपत्र गर्ने गरी सम्झौताको काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सकिने योजना रहेको उनले बताए । रासस
डेङ्गुको जोखिम बढ्दै, सचेतना अपनाउन आग्रह
काठमाडौं । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए । ‘गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ । यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ’, डा दाहालले भने । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए । ‘माघयता डेङ्गु देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ’, डा दाहालले भने, ‘अन्य स्थानीय तहलाई पनि डेङ्गुबारे सचेतना जगाउन आग्रह गरेका छौँ ।’ उनका अनुसार डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गु लाग्दछ । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे । ‘सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले भने । उनका अनुसार सन् २०२३ मा करिब ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गु देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रासस
अवकाशपछि कर्मचारीलाई विदेशी कम्पनीमा काम गर्न निषेध गरौं : योगेश भट्टराई
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माथिल्लो ओहोदामा रहेका कर्मचारीलाई अवकाशपछि विदेशी कम्पनीमा काम गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । देशको गोपनियता बाहिर जाने भएकाले पनि माथिल्लो तहमा पुगेका कर्मचारीहरुलाई विदेशी कम्पनीमा काम गर्न निषेध हुने कानूनी व्यवस्था गर्न आवश्यक रहेको उनको तर्क थियो । बुधबार प्रतिनिधि सभा बैठकमा संघीय निजामती सेवा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिदै सचिव भट्टराईले दलीय आग्रह भन्दा माथि उठेर सो विधेयकको धेरै विषयमा छलफल गरेर अघि बढनुपर्ने आवश्यकता औंल्याए । उनले विधेयकमा माथिल्लो तहका कर्मचारीहरुले तत्काल संवैधानिक अंगमा काम गर्न पाउने व्यवस्था गरिएकोमा आपत्ति जनाए । सचिव भट्टराईले युनियनहरुलाई पनि उत्पादनमुखि काममा लगाउने गरी कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताए । ‘यो विधेयकमा धेरै विषयमा छलफल गर्नुपर्ने आवश्यकता छ । यसमा सिंगो व्यवस्थापिका संसदले कुनै राजनीतिक दलको आग्रह भन्दा माथि उठेर नेपालको स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनलाई कसरी व्यवस्थित बनाउने, कसरी यसलाई पारदर्शी बनाउने, कसरी यसलाई जवाफदेही बनाउने र गुणात्मक क्षमतायोग्य बनाउने ? यी विषयमा केन्द्रित भएर यो विधेयकमाथि छलफल होस भन्ने म सभामुख महोदयमार्फत अनुरोध गर्न चाहन्छु । माथिल्लो तहको कुनै पनि कर्मचारीलाई अवकाश पछि विदेशी कम्पनीमा काम गर्न निषेध गर्नुपर्छ । त्यसले गोपनियता भंग गर्ने डर हुन्छ’, उनले भने । सचिव भट्टराईले निजामती कर्मचारीमा प्रतिष्पर्धी क्षमताको विकास हुनेखालको कानूनी व्यवस्था पनि गर्नुपर्ने बताए ।
अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन दिए । साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नतिसम्बन्धमा आवश्यक प्रक्रिया थाल्न तथा सम्बन्धित निकायबाट बजेट प्रस्ताव गरी व्यवस्थापन गर्न अर्थमन्त्री पुनले निर्देशन दिएका छन् । अनुगमन तथा सहजीकरण समितिको बैठकले मूल्य समायोजनको विषयमा अध्ययन गर्न अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको पनि प्रवक्ता उपाध्यायले जानकारी दिए । साथै अरुण–३ आयोजनाको खाँदबारी दोभान सडकखण्डको स्तरोन्नति द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समितिले गरेको छ । रासस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन मिति तोकेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधवारका लागि तोकेको घोषणा गरे । उनले नियमावली बमोजिम संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिए । उनले भने, ‘मान्य सदस्यहरु, राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि संवत २०८० चैत्र २८ गते बुधवारको दिन तोकेको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव श्री पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’ राष्ट्रिय सभाको अर्को बैठक चैत्र २८ गते बुधवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने अनुमान
वासिङ्टन डीसी । विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ । दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरले ‘छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय स्थिति र बढ्दो जलवायु प्रभावले समस्या हुन सक्ने’ बताए । विकासलाई थप लचिलो बनाउन निजी लगानीलाई बढावा दिँदै रोजगारी वृद्धिलाई सुदृढ पार्न नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए । प्रतिवेदनले पाकिस्तानको अर्थतन्त्र पनि सन् २०२४–२५ मा २.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसैगरि श्रीलङ्कामा सन् २०२५ सम्ममा भण्डार, विप्रेषण र पर्यटनमा पुनःप्राप्तिका साथ उत्पादन वृद्धि २.५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । बङ्गलादेशमा उच्च मुद्रास्फीति र व्यापार तथा विदेशी विनिमयमा प्रतिबन्धले आर्थिक गतिविधिलाई बाधा पुग्दा सन् २०२४–२५ मा ५.७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । प्रतिवेदनले व्यापार खुलापन र वित्तमा पहुँच बढाउन, व्यापारिक वातावरण र संस्थाहरूमा सुधार, वित्तीय क्षेत्रका प्रतिबन्धहरू हटाउन, शिक्षामा सुधार, र महिलाको आर्थिक गतिविधिमा प्रतिबन्धहरू हटाउने जस्ता दृढ विकासलाई प्रोत्साहित गरि रोजगारीलाई बढावा दिन विभिन्न नीतिहरू सिफारिस गरेको छ । यी उपायहरूले विकास र उत्पादकत्व बढाउन र जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि ठाउँ खाली गर्न पनि मद्दत गर्ने विश्व बैंकले जनाएको छ । रासस