विकासन्युज

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन मिति तोकेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधवारका लागि तोकेको घोषणा गरे । उनले नियमावली बमोजिम संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिए । उनले भने, ‘मान्य सदस्यहरु, राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि संवत २०८० चैत्र २८ गते बुधवारको दिन तोकेको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव श्री पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’ राष्ट्रिय सभाको अर्को बैठक चैत्र २८ गते बुधवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने अनुमान

वासिङ्टन डीसी । विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ । दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरले ‘छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय स्थिति र बढ्दो जलवायु प्रभावले समस्या हुन सक्ने’ बताए । विकासलाई थप लचिलो बनाउन निजी लगानीलाई बढावा दिँदै रोजगारी वृद्धिलाई सुदृढ पार्न नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए । प्रतिवेदनले पाकिस्तानको अर्थतन्त्र पनि सन् २०२४–२५ मा २.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसैगरि श्रीलङ्कामा सन् २०२५ सम्ममा भण्डार, विप्रेषण र पर्यटनमा पुनःप्राप्तिका साथ उत्पादन वृद्धि २.५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । बङ्गलादेशमा उच्च मुद्रास्फीति र व्यापार तथा विदेशी विनिमयमा प्रतिबन्धले आर्थिक गतिविधिलाई बाधा पुग्दा सन् २०२४–२५ मा ५.७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । प्रतिवेदनले व्यापार खुलापन र वित्तमा पहुँच बढाउन, व्यापारिक वातावरण र संस्थाहरूमा सुधार, वित्तीय क्षेत्रका प्रतिबन्धहरू हटाउन, शिक्षामा सुधार, र महिलाको आर्थिक गतिविधिमा प्रतिबन्धहरू हटाउने जस्ता दृढ विकासलाई प्रोत्साहित गरि रोजगारीलाई बढावा दिन विभिन्न नीतिहरू सिफारिस गरेको छ । यी उपायहरूले विकास र उत्पादकत्व बढाउन र जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि ठाउँ खाली गर्न पनि मद्दत गर्ने विश्व बैंकले जनाएको छ । रासस

भियतनामले लाओसबाट ५ हजार मेगावाट विद्युत आयात गर्ने

हनोई । औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ । भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ । पछिल्ला वर्षहरूमा भियतनामका मध्य र दक्षिणी क्षेत्रमा विद्युत माग तीव्ररूपमा बढेको छ । सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । साथै, फोहोर प्रशोधनबाट १ हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरूमा जडान गरिएका सोलार प्यानलबाट १ हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ । एजेन्सी

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रूपैयाँ कायम गरिएको छ । संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो । भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ ।

ग्लोबल आइएमई र जी आई जेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो । उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा बृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउने छ । साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरुको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच बिस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारी साधनबाट हुने वातावरणीय प्रदुषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । बैंकले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडले विश्वभरी दिगो विकास, शैक्षिक गुणस्तर विकास, जीवनयापन विकास आदि क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।

श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकहरूको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताए । उनले भने, ‘नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ ।’ राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवाप्रवाह थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यबाट प्रवाह हुने सेवामाथि सबैको पहुँच पुर्‍याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे । गत शैक्षिक सत्रदेखि विद्यालयमा भर्नासँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्ने अवस्था सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाली लगाउने समयमा किसानलाई मल अभाव हुने विगतको अवस्था समेत अन्त्य गरिएको बताए । उनले भने, ‘मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिनेगरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको छ ।’ संविधानले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयन तथा सङ्घीयता संस्थागत गर्न आवश्यक पर्ने कानुन तर्जुमाको प्रक्रियालाई तीब्ररूपमा अगाडि बढाइएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय स्थापना गर्न संविधानले निर्दिष्ट गरेका सिद्धान्त कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘यस अवधिमा सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई थप सबल बनाउन प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने राजनीतिक सङ्कल्पअनुसार वित्तीय प्रबन्ध एवं शासकीय अधिकारलाई तीनवटै तहहरूमा न्यायपूर्णरूपमा हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ वित्तीय सङ्घीयता कार्यान्वयनका लागि सरकारले पारदर्शी र वस्तुनिष्ठ आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वित्तीय हस्तान्तरण गर्ने व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले तीनै तहको कार्यविस्तृतीकरण परिमार्जन गरी स्पष्ट बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए । देशको समग्र विकासमा निर्णायक महत्त्व राख्ने जलविद्युत् क्षेत्रको विकासमा उल्लेखनीय सुधार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस अवधिमा विद्युत् उत्पादन र प्रशारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि बलियो आधार तयार गर्न सरकार सफल भएको स्पष्ट पारे । सरकारले गरेका घनिभूत प्रयासका कारण देशको आर्थिक अवस्था लयमा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक बन्दै गएको बताए । ‘देशभित्र लगानी वृद्धि गर्न, उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्न र समृद्धि, सुशासन र सामाजिक न्ययको लक्ष्य पूरा गर्न थप मेहनत गर्नुपर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि सरकार सचेत र प्रतिबद्ध छ ।’ आम नागरिकको विकास र समृद्धिको आकांक्षालाई यथाशीघ्र पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सिमित स्रोतसाधनको अधिकतम उपयोग गरेर संविधानले परिलक्षित गरेका नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे। ‘जनतामा राजनीतिक परिवर्तनको अनुभूति हुनेगरी राज्यका कामकारवाही सञ्चालन भएमा मात्र संविधानको वास्तविक कार्यान्वयन हुनेमा सरकार दृढ छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको मर्मलाई ध्यानमा राखेर सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल मार्गचित्रका रूपमा लिई अगाडि बढेको छ ।’

लगानीकर्ताले सेयर बेचेर सुन किनिरहेका हुन् ?

काठमाडौं । दिनप्रतिदिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बन्दैछ । दैनिक मूल्य बढ्दा धेरैलाई सुनप्रति आकर्षण बढिरहेको छ । धेरैले अब सुनको मूल्य २ लाख पुग्ने तर्क पनि दिइरहेका छन् । यही प्रसंग कोट्याउँदै एक जना सेयर लगानीकर्ताले भने, ‘अब सेयर बेचेर सुन किन्छु,’ पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला साढे ६ हजार रुपैयाँ बढिसक्यो, एक वर्षअघि आजकै दिन प्रतितोला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ थियो, त्यतिखेर सुन किनेको थिएँ भने आज २४ हजार रुपैयाँ फाइदा हुन्थ्यो । तर, सेयर भने घटेको घट्यै छ ।’ उनले अझै हतार महसुस गरेका छैनन् । ढिलै भए पनि आफूसँग भएको सेयर बिक्री गरेर सुन खरिद गर्ने योजनामा उनी छन् । उनले बजारमा सुनको मूल्य छिट्टै २ लाख रुपैयाँ पुग्ने हल्ला रहेकोले अब सुन खरिद गर्ने योजना सुनाए । बुधबारको तथ्यांक हेर्ने हो भने सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । ती सेयर लगानीकर्ताले जनेजस्तै के अहिले सेयर लगानीकर्ता आफूसँग भएको सेयर बिक्री गरेर सुनमा लगानी बढाइरहेका हुन् त ? यो जिज्ञासा हामीले सेयर लगानीकर्तासँग नै राख्यौं । अनुभवी सेयर लगानीकर्ता छोटेलाल रौनियार केहीले सेयर बिक्री गरेर सुन खरिद गरेको हुनसुक्ने भए पनि धेरैले त्यस्तो नगरेको बताए । यद्यपि, अहिले सेयर बजार घटिरहेको र सरकारले पनि यो क्षेत्र सुधारका लागि कुनै पहल नगरेकोले लगानीकर्ता अन्य क्षेत्रमा डाइभर्ट हुनु स्वाभाविक भएको बताए । ‘पुँजी बजारका समस्यै समस्या छन्, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्छ, जो अर्थमन्त्री आएपनि लगानीकर्ताको मनोबल बढ्ने गरी काम गर्न सकेनन्, अझै पनि सुधार हुन सकेन भने हामीले पनि विकल्प सोच्नुपर्ने हुनसक्छ,’ उनले भने । उनका अनुसार अहिले सेयर लगानीकर्ता ठूलो समस्यामा छन् । लगानीकर्ताले विकल्प खोजिरहेका छन् । सेयर बजार घट्दा लगानीकर्ताले १८ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको धारणा उनको छ । सेयर लगानीकर्ता राधा पोखरेल पनि सेयर बजारमा ठूलो गिरावट आइरहँदा लगानीकर्ताले विकल्पको रूपमा सुन खरिद गरिरहेको धारणा राखिन् । ‘सुन र सेयरमा आकाश पातालको फरक छ, सेयर बजारमा सुधार हुन सकियो भने राम्रो हुन्थ्यो, तरकारीभन्दा सेयर सस्तो छ । तर, बजार घट्दै जाँदा प्यानिक भएर लगानीकर्ताको मनोबल घटेपछि सुनमा लगानी गरेका हुन सक्छन्, सुनले अहिले लगानीकर्तालाई आकर्षित गरेको छ,’ उनले भनिन् । लगानीकर्ताहरू सेयर बिक्री गरेर सुनमा लगानी गरेको एथेष्ट तथ्यहरू भने भेटिँदैनन् । तर, बजारमा सुनको माग भने केही बढेको बैंकरहरू बताउँछन् । सरकारले बैंकहरूलाई दैनिक २० केजी सुन ल्याउन पाइने व्यवस्था गरेको छ । अहिले व्यवसायीबाट त्यो परिमाणको सुन माग भइहरेको बताउँछन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको सुन आयात भएको छ । यसबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको २९ लाख १६ हजार ५८६ किलो आयात भएको थियो । यो तथ्यांकले भने सुनमा लगानीकर्ताको आकर्षण बढेको देखाउँदैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य पनि सेयर लगानीकर्ता सुनको मार्केटमा छिरेको बताउँछन् । ‘पुँजी बजारमा लगानी असुरक्षित छ, त्यसैले आफ्नो लगानी सुरक्षित गर्न सेयर लगानीकर्ताहरू सुनमा लगानी गर्न खोजिरहेका छन्, सुनमा लगानी गर्दा सुरक्षित हुन्छ, आफ्नो लगानी सुरक्षित गर्न विभिन्न विकल्प खोज्नु स्वाभाविक हो,’ उनले भने । तर, सुनको खरिदबिक्री भने सोचेजस्तो नभएको उनको भनाइ छ । सुनको मूल्य बढेको भए पनि कारोबार भने घटेको उनले बताए । ‘सुनको मूल्य बढ्दैमा कारोबार बढेको भन्ने हुँदैन, गत वर्षको तुलनामा सुनको कारोबार र आयात घटेको छ,’ उनले भने । किन बढिरहेको छ मूल्य ? सेयर बजार घटेर सुनको मूल्य बढिरहँदा पनि लगानीकर्ताको आकर्षण सुनको बजारमा भएको धारणा धेरैको छ । किनकि लगानीकर्ता जहाँ फाइदा हुन्छ, सोही बजारमा छिर्छन् । छोटो अवधिमा लगानी गरेर सीमित नाफा असुलेर जाने लगानीकर्ताहरूले अहिले सेयर बजारभन्दा पनि सुन रोजिरहेका छन् । किनकि सुनको मूल्य दैनिक बढिरहेको छ । सुनको मूल्य बढ्नुमा भने स्वदेशी कारणभन्दा पनि अन्तर्राष्ट्रिय कारणहरू बढी छन् । बजारमा वस्तुको माग र आपुर्तिको कारणले नै सुनको मूल्यमा उतारचढाव हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग बढी हुन्छ, त्यसपछि मूल्य पनि बढ्ने गर्छ । आपूर्ति कम र माग बढी हुँदा सुनको मूल्य बढिरहेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सुनको मूल्य बढ्नुको मूख्य कारण भनेको उच्च माग, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु र विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनुले पनि सुनको मूल्य बढिरहेको हो ।

साना किसान विकास लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (चैत २१ गते) मात्रै १४.२५ प्रतिशत अर्थात ४७ लाख ४७ हजार ५५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, संस्थाको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।