लगानी सम्मेलन : १००० लगानीकर्तालाई निमन्त्रणा गर्दा ६०ले मात्रै स्वीकारे, ज्याक माको जवाफ- ‘म आउँदिनँ’
काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी ठूला लगानकर्ताको सहभागिता नहुने संकेत देखिएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिले विभिन्न देशका संघ, संस्था तथा व्यवसायिक समूहलाई सम्मेलनमा सहभागी हुनका लागि अनुरोध गरेपनि अधिकांश ठाउँबाट सहभागिता नहुने सन्देश आइरहेको छ । यसले पनि विदेशी ठूला उद्योगी व्यवसायीहरू सहभागी नहुने संकेत देखिएको हो । लगानी सम्मेलनमा बढी भन्दा बढी विदेशी लगानीकर्ताहरुलाई ल्याउने उद्देश्यले औपचारिक आमन्त्रण गर्ने काम पनि भइरहेको लगानी बोर्डले बताएको छ । लगानी सम्मेलनको लागि अहिलेसम्म विभिन्न देश, संस्था र लगानीकर्ता गरेर एक हजार भन्दा बढीलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकेको लगानी बोर्डका प्रवक्ता प्रद्युमनप्रसाद उपाध्यायले बताए । उनका अनुसार आमन्त्रण गरिएका मध्ये अहिलेसम्म विभिन्न देशका ६० वटा संघ संस्था तथा व्यावसायिक समूहको तर्फबाट मात्रै सहभागिता जनाउने निश्चित भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार विश्वको ठूलो देश मध्येको चिनियाँ लगानीकर्ता ज्याक माको फाउन्डेसनले पनि लगानी सम्मेलनमा सहभागिता जनाउन नसकिने सन्देश पठाइसकेको छ । यस्तै, भारतका ठूला लगानीकर्ता गौतम अडानी, मुकेश अम्बानी र उनीहरूको व्यावसायिक प्रतिनिधित्व पनि नहुने बुझिएको उपाध्यायले बताए । लगानी सम्मेलनमा एलन मस्क र उनको व्यावसायिक समूह पनि सहभागी हुने वा नहुने विषयको सन्देश लगानी बोर्डलाई प्राप्त भएको छैन । ‘चिनियाँ लगानीकर्ता ज्याकमा फाउन्डेसनले सहभागी हुन असमर्थ हुने जानकारी गराएको छ, मिडियामा गौतम अडानी, मुकेश अम्बानी, एलन मस्क लगायत सम्मेलनमा सहभागी हुने भन्ने विषय आइरहेको थियो । तर, हामीलाई कुनै औपचारिक जानकारी आएको छैन,’ उपाध्यायले भने, ‘हामीले ढिलो निमन्त्रणा गरेर पनि हुन सक्छ ।’ १३२ आयोजना प्रदर्शन गरिने तेस्रो लगानी सम्मेलनमा सरकारको तर्फबाट १३२ वटा विभिन्न आयोजना प्रदर्शन गरिने भएको छ । जसमध्ये तीन वटा आयोजना प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए) गर्ने स्तरमा तयार भएको बोर्डका प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ती प्रोजेक्टमा दमक औद्योगिक पार्क, राइजिङ सोलार र मस्र्याङ्दी–२ जलविद्युत आयोजनालाई सम्मेलनमा पीडीए स्तरमा प्रस्तुत गरिनेछ । त्यस्तै, सम्मेलनमा डाबर नेपालको क्षमता विस्तार र विविधिकरणका लागि पीआईए हुनेछ । त्यसबाहेक १५ वटा आयोजना एक्प्रेसन अफ इन्ट्रेस्ट (इओआई)का लागि तयार गरिएको उपाध्यायले बताए । त्यसैगरी मार्केट साउन्डिङ प्रोजेक्ट ११ वटा, आइडिया स्तरका ३७ वटा आयोजना, २६ वटा प्रोजेक्ट लगानीको खोजीमा रहेका र २६ वटा विभिन्न आयोजनाहरु निजी क्षेत्रका रहेका छन् । स्थानीय स्तरका ४ वटा र अन्य विभिन्न ९ वटा आयोजनाहरू सम्मेलनमा प्रस्तुत गर्ने तयारी रहेको छ । प्रवक्ता उपाध्यायकाअनुसार अहिलेसम्म निजी क्षेत्रबाट ७ आयोजनाहरू सम्मेलनमा प्रस्तुत गरिने तयारी भएको छ भने १२ वटा आयोजना खनिज क्षेत्रका रहेका छन् । ‘सात वटा परियोजनाहरू निजी क्षेत्रबाट आएका छन्, १२ वटा परियोजना खनिज क्षेत्रका छन्,’ उनले भने, ‘ती क्षेत्रमा यति मात्रामा खनिज छ भन्ने अध्ययन भइसकेको छ, प्रतिस्पर्धाबाट छनौट गर्नेगरी प्रस्तुत गर्ने तयारी छ ।’ तर, सम्मेलनको अवधिसम्म आयोजनाहरूको संख्या बढ्न सक्ने प्रवक्ता उपाध्यायले बताएका छन् । अमेजिङले व्यवस्थापन गर्ने पाँच तारे सोल्टी होटेलमा हुने तेस्रो लगानी सम्मेलनमा स्टल निर्माणदेखि प्राविधिक पक्षको व्यवस्थापन अमेजिङ प्रालि ललितपुरले गने भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार बेलायतको फरिन कमनवेल्थ डेभलपमेन्ट अफिसको फन्डिङमा हुने सो सम्मेलनमा सोही दाताले नै व्यवस्थापन पक्ष छनोट गरेको हो । ‘सम्मेलनमा प्राविधिक व्यवस्थापनको कामको लागि फन्डिङ गर्ने निकाय एफसीडीओले नै छनौट गरेको हो । तर, त्यसको सञ्चालन भने हामीले नै गर्ने हो, अमेजिङले यस भन्दा अगाडिका सम्मेलनको पनि व्यवस्थापन गर्दै आएको थियो,’ उनले भने ।
जगदम्बा स्टील्सद्धारा सेती प्रादेशिक अस्पतालमा प्रविधियुक्त अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडौं । जगदम्बा स्टील्सले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठुलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निःशुल्क उपलब्ध गराएको छ । कम्पनीले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा सहयोग स्वरुप हस्तान्तरण गरी एक समारोहबीच उद्घाटन गरेको हो । दुई संस्थाहरू बीचको यो सहकार्यले सामुदायिक कल्याणप्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन गर्दछ । अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरीएको यस अक्सिजन प्लान्टले स्थानीय समुदाय लगायत समग्र सुदूरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ । यस पहलले पक्कै पनि स्वास्थ्य क्षेत्रमा अक्सिजन जस्तो अपरिहार्य तत्वको विद्यमान संकटलाई सम्बोधन गरि अस्पतालको पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने कम्पनीको विश्वास छ । उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट; कानून प्रबन्धक (कम्पनी सचिव विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
नेपाल टेलिकम र सर्वोच्च अदालतबीच विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध गराउने सम्झौता
काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस सर्भिस (सर्ट कोड) उपलब्ध गराउने छ । हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।
न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश
काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि धरौटीमा छाड्ने जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चका न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । गिरीकी पत्नीले आफूूमाथि बलत्कार भएको भन्दै गिरीविरुद्ध जोहेरी दिएकी थिइन् । सूरु देखिनै जोहरी दर्ता नगरेको, पक्राउ नगरेको भन्दै आन्दोलन गर्दै आएकी गिरीकी पत्नीले पक्राउ पछी धरोटीमा छाड्ने अदालतको आदेशमा पनि असहमति जनाउँदै गिरीको पत्नीले आन्दोलन गरिरहेकी थिइन् ।
कटनीपछिका गतिविधिलाई प्रवर्द्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको उत्पादन बढाउन अनुसन्धान र विकासमा ध्यान दिन सरकार र सम्बन्धित विकास निकायलाई आग्रह गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय मकै सम्मेलनमा महासंघका अध्यक्ष ढकालले सो प्रस्ताव राखेका हुन् । ढकालले करिब ९ लाख ८० हजार हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने र नेपालमा वार्षिक करिब ३० लाख टन मकै उत्पादन हुने गरेको बताए । नेपालमा मकै मुख्यतया मानिसको खाना, गाईवस्तुको दाना र चाराका लागि प्रयोग हुने गरेको उनले बताए । वार्षिक करिब ६ लाख मेट्रिक टन मकै आवश्यक पर्ने १४० फिड मिलमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ लगानी गरेको ढकालले जानकारी दिए । तर, फिड मिलका लागि आवश्यक पर्ने कुल मकैको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति हुने गरेको उनले बताए । बाँकी भारत र अन्य तेस्रो मुलुकबाट आयात हुने गरेको उनले बताए । नेपालमा औद्योगिक मकैको माग हरेक वर्ष बढ्दै गएको पनि उनले जानकारी दिए । उनले आर्थिक वर्ष २०२१/२२ मा नेपालले मुख्यतया दाना उद्योगका लागि १९ अर्ब ६५ करोड रुपैयाँको मकै आयात गरेको जानकारी गराए । मकैको उत्पादनपछिको गतिविधिलाई प्रवद्र्धन गर्न केही पहल भइसकेको भए पनि सरकार र विकास साझेदारको ध्यान उत्पादनको पक्षमा रहेको ढकालले बताए । उनले मकै उत्पादन बढाउन मकैमा कार्यरत सबै विकास निकायलाई अनुसन्धान र विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे । अध्यक्ष ढकालले कटनीपछिका गतिविधिलाई प्रवर्द्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह पनि गरे । देशले त्यसो गर्न सकेमा आयात प्रतिस्थापन गर्न सकिने र मकैमा निर्भर किसानले बढी आम्दानी गर्न सक्ने उनले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १० जनाको आवेदन
काठमाडौं । सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १० जना प्राध्यापकको आवेदन परेको छ । रिक्त रहेको पदपूर्तिका लागि विश्वविद्यालयले मागेको आवेदनमा १० जनाले आवेदन दिएको जनाइएको छ । आवेदन दिनेमा प्राडा ध्रुवकुमार गौतम, प्राडा पदमराज जोशी, प्राडा पूर्णबहादुर चन्द, प्राडा भवानीदत्त जोशी, प्राडा अक्कल देव मिश्र रहेका छन् । यस्तै प्राडा तारादत्त भट्ट, प्रा यज्ञराज पाठक, प्रा यज्ञराज भट्ट, प्रा राजेशकुमार ठगुराठी र प्राडा हेमराज पन्तले आवेदन दिएको सुदुरपश्चिम विश्वविद्यालयले जनाएको छ ।
परियोजनाको काम तीव्रताका साथ अघि बढाउन अर्थमन्त्री पुनको निर्देशन
काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले परियोजना प्रभावकारी सहजीकरणका लागि जिम्मेवार सबै निकायहरूलाई आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । अनुगमन तथा सहजीकरण समितिको ११औं बैठकमा बोल्दै उनले विभिन्न परियोजनाहरुको सहजीकरण गर्नुपर्ने बताउँदै सो निर्देशन दिएका हुन् । समितिको बैठकमा अरुण तेश्रो जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी एसएपीडीसीबाट माग भएको मूल्य समायोजन अनुसारको रकम सटही एवं स्थानान्तरण, अरुण तेश्रो परियोजनाको ड्याम साइट पहुँच मार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी-दोभान सडक खण्ड स्तरोन्नति सम्बन्धी विषयका र यस परियोजनाको पावर हाउस प्रवेश मार्ग छ्याङ्कुटीदेखि दिदिङसम्मको ०-२४.५ कि.मि. को मुआब्जाको समस्या समाधानका साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नति सम्बन्धी विषयहरूमा छलफल भएको थियो । बैठकले मूल्य समायोजनको विषयमा अध्ययन गर्न अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । साथै खाँदबारी दोभान सडक खण्डको स्तरोन्नतिको कार्य द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ भने होङ्शी शिवम् सिमेन्टको पहुँच मार्ग स्तरोन्नतिको लागि सम्बन्धित निकायबाट बजेटको प्रस्ताव गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । उक्त बैठकमा लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले १०औं बैठकको निर्णयको कार्यान्वयन अवस्था र ११औं बैठकको कार्यसूचीको संक्षिप्त प्रस्तुतीकरण गरेका थिए । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्ड पश्चात अत्यन्तै महत्वपूर्ण संयन्त्रको रुपमा रहेको अनुगमन तथा सहजीकरण समितिको अधिकार र परियोजनाको कार्यान्वयन र सहजीकरणमा यसको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको विचार व्यक्त गरे । बैठकमा विभिन्न मन्त्रालयका सचिवहरु, नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर, विभिन्न मन्त्रालयका सहसचिवहरु तथा लगानी बोर्डका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
भारतमा खाद्यान्न महँगो, पेट्रोलियम सस्तो
काठमाडौं । भारतको आर्थिक वर्ष २०२३/२४ सकिको छ । महँगीका सन्दर्भमा यो बितेको वर्षले धेरै ठाउँमा जनतालाई राहत दिएको छ भने कतिपय ठाउँमा समस्या पनि दिएको छ । यी १२ महिना खाद्यान्न महँगीले जनताको समस्या बढायो भने पेट्रोल, डिजेल र ग्यासको मूल्यले जनताको समस्या घटायो पनि । यो अवधिमा कतिपय वस्तु महँगा र कतिपयको मूल्य घटेका छन् । गत वर्षको महँगी र मूल्यमा आएको गिरावटले बिहानको चियादेखि बेलुकीको खानासम्मको दैनिकीलाई पनि असर गरेको छ । महँगो भयो दूध र चिनी भारतका अधिकांश मानिस बिहानको चियाबाट आफ्नो दिन सुरुवात गर्छन् । यसलाई बनाउन सबैभन्दा बढी योगदान गर्ने दुई तत्व दूध र चिनी हुन् । गत वर्षको महँगीको असरबाट यी चियाका साथीहरू पनि उम्कन सकेनन् । गत आर्थिक वर्ष दूध र चिनी दुवैको मूल्य ३/३ रुपैयाँले बढ्यो । २०२३ अप्रिल १ मा दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ रहेकोमा अहिले प्रतिलिटर ३ रुपैयाँले बढेर ५९ रुपैयाँ पुगेको छ । त्यस्तै, चिनीको मूल्य पनि प्रतिकिलो ४१ रुपैयाँबाट ३ रुपैयाँले बढेर ४४ रुपैयाँ पुगेको छ । व्यापारिक/घरेलु ग्यास सिलिन्डर सस्तो गत वर्ष पनि ग्यास सिलिन्डरको मूल्य बढेको भए चिया अझै महँगो हुन्थ्यो । तर, गत आर्थिक वर्ष व्यावसायिक तथा घरेलु ग्यास सिलिन्डरको मूल्य घटेपछि जनताले फाइदा उठाएका छन् । पछिल्लो १२ महिनामा घरेलु ग्यास सिलिन्डर पनि ३ सय रुपैयाँले सस्तो भएको छ । घरेलु ग्यास सिलिन्डरको मूल्य १ अप्रिल २०२३ मा १ हजार १ सय ३ रुपैयाँ रहेकोमा १ अप्रिल २०२४ मा ८ सय ३ रुपैयाँमा झरेको छ । त्यस्तै, १ अप्रिल २०२३ मा नयाँदिल्लीमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य २ हजार २८ रुपैयाँ थियो भने १ अप्रिल २०२४ मा देशको राजधानीमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य १ हजार ७ सय ९५ रुपैयाँमा झरेको छ। अर्थात्, एक वर्षमा व्यवसायिक ग्यास सिलिन्डरको मूल्य २ सय ३३ रुपैयाँले घटेको छ । सस्तो भयो पेट्रोल/डिजेल चियानास्ता खाएपछि सबैजना अफिस वा कामबाट बाहिरिनुपर्छ । यसका लागि अधिकांश मानिसले कार प्रयोग गर्छन् । यो कारको मूल्य अर्थात् पेट्रोल/डिजेलको मूल्यवृद्धिले गत वर्ष जनतालाई थोरै राहत दिएको छ । रुस(युक्रेन युद्धपछि सन् २०२२ मा पेट्रोल र डिजेलको मूल्यवृद्धिले जनतालाई निकै समस्यामा पारेको थियो । तर, २०२२ को मे महिनामा सरकारले अन्तःशुल्क घटाएर जनतालाई महँगो मूल्यबाट राहत दिने प्रयास गर्यो । यसपछि लामो समयसम्म पेट्रोल र डिजेलको मूल्य स्थिर रहे पनि गत आर्थिक वर्षको बिदाइअघि फेरि एकपटक जनताले पेट्रोल र डिजेलको मूल्यमा केही राहत पाएका छन् । १ अप्रिल २०२३ मा दिल्लीमा एक लिटर पेट्रोलको मूल्य ९६ रुपैयाँ थियो भने १ अप्रिल २०२४ मा देशको राजधानीमा पेट्रोलको मूल्य ९४ रुपैयाँ प्रतिलिटर थियो । गत अप्रिल १ मा पेट्रोलियम कम्पनीले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ घटाएको थियो । यसपछि दिल्लीमा डिजेलको मूल्य बढेर ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ जहाँ १ अप्रिल २०२३ मा डिजेल ८९ रुपैयाँ प्रतिलिटरमा उपलब्ध थियो । महँगो भयो दाल र चामल सन् २०२३/२४ मा खाद्य महँगी बढेको वर्ष साबित भएको छ । यस अवधिमा तरकारीको मूल्यले पनि रेकर्ड तोड्न कुनै कसर बाँकी राखेन । यससँगै दाल र चामलको मूल्यवृद्धिले पनि जनतालाई समस्या पार्यो । अरहर दालको मूल्य १ अप्रिल २०२३ मा प्रतिकिलो १ सय १५ रुपैयाँ थियो, जुन ३१ मार्च २०२४ मा ३३ रुपैयाँले बढेर १ सय ४८ रुपैयाँ पुगेको थियो । यस अवधिमा दाल मिसाएर खाने चामलको मूल्य पनि बढेको छ । १ अप्रिल २०२३ मा चामलको मूल्य प्रतिकिलो ३९ रुपैयाँ रहेकोमा वर्षको अन्त्यसम्ममा बढेर ४४ रुपैयाँ पुगेको छ । यस्तै रोटीमा प्रयोग हुने पिठोको मूल्य पनि प्रतिकिलो ३४ रुपैयाँबाट २ रुपैयाँले बढेर ३६ रुपैयाँ पुगेको छ । महँगो आलु/टमाटर गत वर्ष आधारभूत दाल र चामल महँगो भए पनि हरेक तरकारीसँगै मिल्ने आलु र टमाटरको मूल्यले पनि पछिल्लो समय जनताको बजेट बिगारेको छ । गत वर्ष अगस्ट(सेप्टेम्बरमा पनि टमाटरको भाउ २ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको थियो । तर, त्यसपछि टमाटरको मूल्यमा भारी गिरावट आएको छ । १ अप्रिल २०२३ मा टमाटरको मूल्य २२ रुपैयाँ थियो, जुन अहिले बढेर प्रतिकिलो ३२ रुपैयाँ पुगेको छ, अर्थात् एक वर्षमा टमाटरको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । त्यस्तै तरकारीको राजा मानिने आलु पनि गत वर्ष ५ रुपैयाँले महँगो भएको छ । १ अप्रिल २०२३ मा आलुको मूल्य १८ रुपैयाँ थियो, जुन अहिले बढेर २३ रुपैयाँ प्रतिकिलो पुगेको छ । एजेन्सी