१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका छन् । बुधबार बसेको बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरको हो । डिएसपीमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगरलगायत छन् ।
महुरे-फोक्सिङटार सडक : ९६ करोडको कालोपत्रेको काम ७ वर्षदेखि अलपत्र
खोटाङ । दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरेफोक्सिङटार सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४८ किलोमिटर) सडकखण्ड दुई भागमा विभाजन गरी ठेक्का लगाएर कालोपत्र थालिएको थियो । महुरेदेखि राजापानीसम्मको २२ किमि सडक कालोपत्रको काम भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले ठेक्का लिएको थियो । सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको २६ किमी सडकखण्ड कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने दुवै सडकखण्ड अलपत्र पारिएको हो । भारत कन्ट्रक्सन–सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने गरी विसं २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र हुन सकेको छैन । भ्याटबाहे ४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति गरेको छ । सिम्पानीभञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । भ्याटबाहेक ५५ करोड ८७ लाख रुपैयाँमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने गरी विसं २०७३ साउन ११ गते सो खण्डको ठेक्का सम्झौता भएको थियो । सुरुदेखि ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरेको स्थानीयबासीको भनाइ छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर विसं २०७६ पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काएका थिए । काममा चरम ढिलासुस्ती, गुणस्तरहीन र कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयबासीले विसं २०७६ पुसमा विरोध गरी काम ठप्प पारेका थिए । ठेकेदार कम्पनीले महुरे–फोक्सिङटार सडकखण्डका होटल व्यवसायी तथा खुद्रा पसलका व्यापारीको लाखौँ रकम तिर्न बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए । कालोपत्रको काम अलपत्र पार्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ पक्रिया अगाडि बढाउन नेपाल सरकार, संघीय अर्थमन्त्रालयमा बजेट माग गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर सञ्जय मिश्रले बताएका छन् । ‘नयाँ पक्रियाका लागि अहिलेसम्म अर्थमन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन । यस वर्षका लागि मर्मत गर्ने बजेट पनि हामीसँग छैन,’ उनले भने, ‘अर्थमन्त्रालयबाट नयाँ बजेटको व्यवस्था नभएसम्म कुनै काम अगाडि बढाउन सकिँदैन । नयाँ बजेट व्यवस्था गर्ने प्रयास भइरहेको छ ।’ सम्झौता थपिएको मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग भएका उपकरण र औजार लिएर निर्माण व्यवसायीले निर्माणस्थल छाडेका थिए । बजेट उपलब्ध भएको समयमा ठेकेदार कम्पनीले काम नगरेपछि पुनःबजेटको सुनिश्चितता गर्न समस्या भएको प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताए । करिब एक सय ३४ किमी लामो दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत गाईघाटबाट खोटाङको महुरेसम्म (१०१ किमी) सडक कालोपत्र गर्न सडक विभागले सात वर्षअघि दुई अर्ब ६८ करोड रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । फोक्सिङटारस्थित सुनकोसी नदीमा मोटरेबल पुल निर्माण भएपनि सडक कालोपत्र नहुँदा वर्षमा ६ महिनासम्म यातायात अवरुद्ध हुने गरेको छ ।
ठेक्का सम्झौताको दुई वर्षसम्म पनि सवस्टेसन निर्माण सुरु भएन
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौर्माणता भएको २६ महिनासम्म पनि सवस्टेसन निर्माणको काम सुरु भएको छैन । सवस्टेसन निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत आयोजना अन्यौलमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको थियो । ३० महिना ठेक्का अवधि भएको आयोजनाको २६ महिना सकिँदा राहुघाटमा सवस्टेसन निर्माण सुरु नहुँदा म्याग्दीको जलविद्युत् क्षेत्रमा नकारात्मक असर परेको संविधानसभा सदस्य नवराज शर्माले बताए । ‘डाँडाखेतको सवस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि सन्तोषजनक छैन’, शर्माले केही दिनअघि बेनीमा भएको नवौँ जिल्लासभामा भनेका थिए, ‘ठेक्का अवधि सकिन चार महिनामात्र बाँकी हुँदासमेत राहुघाटमा सवस्टेसन निर्माण सुरु नगर्दा म्याग्दीको जलविद्युत् क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ ।’ म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सवस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो। २२०र१३२र३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेसनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम पनि भएको छैन् । अम्बाङमा सवस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले राहुघाटमा सवस्टेसन निर्माणको काम सुरु गर्न ताकेता गरिरहेको र पछिल्लो पटक सहायक ठेकेदार छनोट गरेर काम सुरु गर्ने जानकारी गराएको बताए । ‘ठेकेदारको कामप्रति हामी पनि सन्तुष्ट छैनौँ। ठेक्का अवधि सकिनै लाग्दा करिब ३५ देखि ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ’, उनले भने, ‘डाँडाखेत सवस्टेसन र जग्गा अधिग्रहण भएका ठाउँमा प्रसारण लाइनको टावर बनाउन तथा राहुघाटमा काम सुरु गर्न मौखिक र पत्रमार्फत ताकेता गरेका छौँ ।’ १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सवस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । दुवै ठाउँका सवस्टेसनमा जडान गर्ने उपकरण आयात भइसके पनि प्रयोगमा ढिलाइ हुँदा बिग्रने जोखिम बढेको प्राविधिकले बताएका छन् । पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७९ वटा टावरमध्ये हालसम्म १२ वटा निर्माण सकिएको र ३८ वटा निर्माणाधीन रहेका आयोजनाले जनाएको छ। रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् । दुवै ठाउँमा यसअघिनै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवनसमेत निर्माण भएको छ। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१।३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । रासस
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा, नयाँ सरकार गठन गर्न आव्हान
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तर्गत बुधबार बसेको छैटौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । उनले बुधबारनै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका छन् । बदलिएको राजनीतिक परिवेशका कारण आफूले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकमा जानकारी गराएका थिए । प्रदेशसभामा राजीनामा घोषणा गर्ने क्रममा मुख्यमन्त्री शर्माले आफ्नो नेतृत्वको प्रदेश सरकारले हालसम्म गरेका कामको समग्र विवरण देशसभा बैठकमा प्रस्तुत गरेका थिए । उनले राजीनामा दिएर बाटो खुला गरेसँगै सत्ता साझेदार दलको केन्द्रीय सहमतिअनुसार भएको निर्णय कार्यान्वयन हुने भएको छ । नयाँ सरकारका लागि आह्वान कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय यही चैत २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गत फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । रासस
बझाङ उपनिर्वाचन : अभिषेक सिंहलाई उम्मेदवार बनाउन देउवाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि अभिषेक सिंहलाई पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका छन् । निवास बूढानीलकण्ठमा बुधबार बसेको संसदीय बोर्ड बैठकमा सभापति देउवाले सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् । देउवाले सिंहको नाम प्रस्ताव गरे पनि यो नाममा अरूले सहमति भने जनाएका छैनन् । महामन्त्री गगनथापा लगायतले बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् । बझाङबाट १० जनाको नाम सिफारिस भएको थियो । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ । यस्तै, देउवाले इलाममा डम्बरबहादुर खड्कालाई उम्मेदवार प्रस्ताव गरेका छन् । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उम्मेदवार सिफारिस भएका सबैसँग छलफल गरेर सहमतिमै बिहीबार उम्मेदवार चयन गरिने बताए ।
उपत्यकामा शुरु भयो स्वदेशी जुत्ता मेला महोत्सव, विभिन्न ब्राण्डका जुत्ता पाइने
काठमाडौं । नेपाली जुत्ता घरले नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौं उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरेको छ । जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो । बुधबारदेखि काठमाडौंको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ । उक्त जुत्ता महोत्सवको उद्घाटन उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् । उद्घाटनको क्रममा बोल्दै उनले अहिलेको विषम परिस्थितिमा देशमा देखिएको आर्थिक मन्दीबाट माथि उठ्न आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सवले देशको आर्थिक अवस्थाको सुधार हुने बताए । महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरुको सहभागितामा स्थायी शोरूम नियमित रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताएका छन् । मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्डष्ट्रिजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरि ८ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।
लगानी सम्मेलन : १००० लगानीकर्तालाई निमन्त्रणा गर्दा ६०ले मात्रै स्वीकारे, ज्याक माको जवाफ- ‘म आउँदिनँ’
काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी ठूला लगानकर्ताको सहभागिता नहुने संकेत देखिएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिले विभिन्न देशका संघ, संस्था तथा व्यवसायिक समूहलाई सम्मेलनमा सहभागी हुनका लागि अनुरोध गरेपनि अधिकांश ठाउँबाट सहभागिता नहुने सन्देश आइरहेको छ । यसले पनि विदेशी ठूला उद्योगी व्यवसायीहरू सहभागी नहुने संकेत देखिएको हो । लगानी सम्मेलनमा बढी भन्दा बढी विदेशी लगानीकर्ताहरुलाई ल्याउने उद्देश्यले औपचारिक आमन्त्रण गर्ने काम पनि भइरहेको लगानी बोर्डले बताएको छ । लगानी सम्मेलनको लागि अहिलेसम्म विभिन्न देश, संस्था र लगानीकर्ता गरेर एक हजार भन्दा बढीलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकेको लगानी बोर्डका प्रवक्ता प्रद्युमनप्रसाद उपाध्यायले बताए । उनका अनुसार आमन्त्रण गरिएका मध्ये अहिलेसम्म विभिन्न देशका ६० वटा संघ संस्था तथा व्यावसायिक समूहको तर्फबाट मात्रै सहभागिता जनाउने निश्चित भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार विश्वको ठूलो देश मध्येको चिनियाँ लगानीकर्ता ज्याक माको फाउन्डेसनले पनि लगानी सम्मेलनमा सहभागिता जनाउन नसकिने सन्देश पठाइसकेको छ । यस्तै, भारतका ठूला लगानीकर्ता गौतम अडानी, मुकेश अम्बानी र उनीहरूको व्यावसायिक प्रतिनिधित्व पनि नहुने बुझिएको उपाध्यायले बताए । लगानी सम्मेलनमा एलन मस्क र उनको व्यावसायिक समूह पनि सहभागी हुने वा नहुने विषयको सन्देश लगानी बोर्डलाई प्राप्त भएको छैन । ‘चिनियाँ लगानीकर्ता ज्याकमा फाउन्डेसनले सहभागी हुन असमर्थ हुने जानकारी गराएको छ, मिडियामा गौतम अडानी, मुकेश अम्बानी, एलन मस्क लगायत सम्मेलनमा सहभागी हुने भन्ने विषय आइरहेको थियो । तर, हामीलाई कुनै औपचारिक जानकारी आएको छैन,’ उपाध्यायले भने, ‘हामीले ढिलो निमन्त्रणा गरेर पनि हुन सक्छ ।’ १३२ आयोजना प्रदर्शन गरिने तेस्रो लगानी सम्मेलनमा सरकारको तर्फबाट १३२ वटा विभिन्न आयोजना प्रदर्शन गरिने भएको छ । जसमध्ये तीन वटा आयोजना प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए) गर्ने स्तरमा तयार भएको बोर्डका प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ती प्रोजेक्टमा दमक औद्योगिक पार्क, राइजिङ सोलार र मस्र्याङ्दी–२ जलविद्युत आयोजनालाई सम्मेलनमा पीडीए स्तरमा प्रस्तुत गरिनेछ । त्यस्तै, सम्मेलनमा डाबर नेपालको क्षमता विस्तार र विविधिकरणका लागि पीआईए हुनेछ । त्यसबाहेक १५ वटा आयोजना एक्प्रेसन अफ इन्ट्रेस्ट (इओआई)का लागि तयार गरिएको उपाध्यायले बताए । त्यसैगरी मार्केट साउन्डिङ प्रोजेक्ट ११ वटा, आइडिया स्तरका ३७ वटा आयोजना, २६ वटा प्रोजेक्ट लगानीको खोजीमा रहेका र २६ वटा विभिन्न आयोजनाहरु निजी क्षेत्रका रहेका छन् । स्थानीय स्तरका ४ वटा र अन्य विभिन्न ९ वटा आयोजनाहरू सम्मेलनमा प्रस्तुत गर्ने तयारी रहेको छ । प्रवक्ता उपाध्यायकाअनुसार अहिलेसम्म निजी क्षेत्रबाट ७ आयोजनाहरू सम्मेलनमा प्रस्तुत गरिने तयारी भएको छ भने १२ वटा आयोजना खनिज क्षेत्रका रहेका छन् । ‘सात वटा परियोजनाहरू निजी क्षेत्रबाट आएका छन्, १२ वटा परियोजना खनिज क्षेत्रका छन्,’ उनले भने, ‘ती क्षेत्रमा यति मात्रामा खनिज छ भन्ने अध्ययन भइसकेको छ, प्रतिस्पर्धाबाट छनौट गर्नेगरी प्रस्तुत गर्ने तयारी छ ।’ तर, सम्मेलनको अवधिसम्म आयोजनाहरूको संख्या बढ्न सक्ने प्रवक्ता उपाध्यायले बताएका छन् । अमेजिङले व्यवस्थापन गर्ने पाँच तारे सोल्टी होटेलमा हुने तेस्रो लगानी सम्मेलनमा स्टल निर्माणदेखि प्राविधिक पक्षको व्यवस्थापन अमेजिङ प्रालि ललितपुरले गने भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार बेलायतको फरिन कमनवेल्थ डेभलपमेन्ट अफिसको फन्डिङमा हुने सो सम्मेलनमा सोही दाताले नै व्यवस्थापन पक्ष छनोट गरेको हो । ‘सम्मेलनमा प्राविधिक व्यवस्थापनको कामको लागि फन्डिङ गर्ने निकाय एफसीडीओले नै छनौट गरेको हो । तर, त्यसको सञ्चालन भने हामीले नै गर्ने हो, अमेजिङले यस भन्दा अगाडिका सम्मेलनको पनि व्यवस्थापन गर्दै आएको थियो,’ उनले भने ।
जगदम्बा स्टील्सद्धारा सेती प्रादेशिक अस्पतालमा प्रविधियुक्त अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडौं । जगदम्बा स्टील्सले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठुलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निःशुल्क उपलब्ध गराएको छ । कम्पनीले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा सहयोग स्वरुप हस्तान्तरण गरी एक समारोहबीच उद्घाटन गरेको हो । दुई संस्थाहरू बीचको यो सहकार्यले सामुदायिक कल्याणप्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन गर्दछ । अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरीएको यस अक्सिजन प्लान्टले स्थानीय समुदाय लगायत समग्र सुदूरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ । यस पहलले पक्कै पनि स्वास्थ्य क्षेत्रमा अक्सिजन जस्तो अपरिहार्य तत्वको विद्यमान संकटलाई सम्बोधन गरि अस्पतालको पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने कम्पनीको विश्वास छ । उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट; कानून प्रबन्धक (कम्पनी सचिव विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।