विकासन्युज

धनगढी-दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै

गोदावरी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ । आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ । धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए । रासस

विद्यार्थीलाई उत्प्रेरित गर्न ५ लाखको अक्षयकोष स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरु अनुता राई, अविसरा राई, अन्जना राई र अम्बिका राईले आफ्ना बुबाआमाको सम्मानमा रु पाँच लाखको ‘दलसेर–चामकुमारी राई शैक्षिक अक्षयकोष’ स्थापना गरेका हुन् । अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले वार्षिकरुपमा एकजना उत्कृष्ट विद्यार्थी, सधै विद्यालयमा उपस्थित हुने विद्यार्थी र कक्षा–७ को वार्षिक परीक्षामा सबैभन्दा अधिक अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । बाम्राङमा जन्मिएर बेलायतलाई कर्मभूमि बनाउँदै आएका राई दम्पतिका सन्तानले अक्षयकोष सञ्चालनका लागि स्थानीय सहवीर राईको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको जानकारी दिएका छन् । समितिको उपाध्यक्षमा जमानसेर राई, सचिवमा प्रदीप राई, सहसचिवमा सीता खत्री, कोषाध्यक्षमा सोही विद्यालयका प्रधानाध्यापक विमला सुन्दास तथा सदस्यहरुमा प्रेमचन्द्र थापा र राजबहादुर पाण्डे हुन् । कक्षा–८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालयमा दलसेर राई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । रासस

किन आयो अधिकांश बच्चाले चस्मा लगाउनुपर्ने अवस्था ?

काठमाडौं । काठमाडौंकी आन्ना मानन्धर १३ वर्षकी भइन् । उनी अहिले वृहष्पति विद्या सदनमा अध्ययन गर्छिन् । आन्ना कक्षा ७ को परिक्षा दिएर रिजल्टको प्रतीक्षामा छिन् । १३ वर्षकी उनलाई चस्मा नलाउँदा भने अक्षर देख्न मुस्किल पर्छ । जन्मदा उनको आँखामा कुनै समस्या थिएन । तर, जब मोबाइल चलाउन थालिन उनको आँखामा समस्या आउन थाल्यो । आन्नाकी आमा रानु कोभिड– १९ को महामारीमा विद्यालय बन्द हुँदा अनलाइनबाट कक्षा सुरु भएपछि आन्नाले मोबाइल ल्यापटप चलाउन थालिनपछि उनको आँखामा समस्या देखिएको बताउँछिन् । साँझ बिहान अनलाइनमार्फत पढ्ने र फुर्सदमा मोबाइलमै गेम खेल्ने उनको दैनिकी नै बन्यो । जसका कारण उनको आँखाबाट पानी आउने, टाउको दुख्नेजस्ता लक्षण देखिन थाल्यो । कोभिडपछि विद्यालय सञ्चालमा आयो । विद्यालय जान थालेपछि आन्नाले शिक्षकले बोर्डमा लेखेका मधुरो देख्न थालिन् । आन्नाले आफ्नो समस्या घरमा आमाबुवालाई सुनाइन् । आमाले आँखा जचाउन अस्पताल पुर्याइन् । डाक्टरले उनलाई चस्मा लगाउन सल्लाह दियो । कक्षा ४ मा पढ्दै गर्दा चस्मा लगाउन सुरु गरेकी उनले अहिले माइनस २.७८ पावरको चस्मा लगाएकी छिन् । ‘चस्मा लगाउँदा सबै देख्छु, टाढाको कुरा पनि स्पष्ट देख्न सकिन्छ, उनी भन्छिन्, ‘चस्मा नलगाउँदा अन्धकार हुन्छ केही देख्दिनँ, सुत्ने समयभन्दा बाहेक चस्मा लगाउनै पर्छ ।’ अन्ना आफुसँग पढ्ने धेरै साथीहरू पनि चस्मा लगाएरै आउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरा कोही साथीहरू चस्मा नलगाउँदा पनि अक्षर देख्छन् तर, म चस्मा खोल्दा अक्षर नै चिन्दिनँ ।’ बर्दियाका अंकित गिरीको अवस्था पनि अन्नाको जस्तै छ । चस्मा नलगाउँदा उनी अक्षर चिन्नमात्र होइन देख्न सक्दैनन् । ७ वर्षदेखि चस्मा लगाउन सुरु गरेका अंकित अहिले १४ वर्षका भए । यूनाइटेड स्कुलमा कक्षा ८ मा पढिरहेका उनी पनि चस्माको साहाराबाटै अक्षर हेरिरहेका छन् । सानैदेखि आँखामा समस्या हुँदा छोराले चस्मा लगाउनुपरेको अंकितकी आमा ललिता गिरी बताउँछिन् । अंकित कक्षा दुईमा पढ्दै आँखामा समस्या भएको थियो । धनगढीको गेटा आँखा अस्पतालका डाक्टरलाई देखाउँदा चस्मा लगाउनुपर्ने बताएपछि सानैदेखि चस्मा लगाउन सुरु गरेको उनी बताउँछिन् । अंकितले पछिसम्मै चस्मा लगाउनुपर्ने चिकित्सकको भनाइले ललितालाई भने चिन्ता लागेको छ । ‘भएको एउटा सन्तान उही हो, अहिलेदेखि नै चस्माबिना पढ्न त के हिँड्नै गाह्रो हुन्छ,’ ललिताले भनिन् । आजभोलि धेरैजसो बालबालिकाले चस्माको भरमा उज्यालो देखिरहेका छन् । समयमै समस्या पत्ता लगाइ अस्पतालमा पुगेका बालबालिका चस्माको भरमा भए पनि कतिपय अभिभावक भने समयमै अस्पताल नपुग्ने गरेको चिकित्सकहरू बताउँछन् । प्रायः बालबालिका जन्मेदेखि ७ वर्ष उमेरमा पुग्दा आँखासम्बन्धी समस्या धेरै हुन्छ । यस्तो अवस्थामा कतिपय अभिभावकले समयमै बच्चालाई अस्पताल पुर्याउँछन् भने कतिपयले त्यस्ता समस्यालाई वास्ता नगरेको पाइन्छ । जसका कारण बच्चाले जीवनभरि अन्धकारमा बस्नुपर्ने बाध्यता हुन्छ । उपचारमा आउने धेरै बालबालिकालाई समस्याबाट मुक्त हुन चस्मा लगाउनुपर्ने हुन्छ । तर, कतिपय अभिभावक नै छोराछोरीलाई चस्मा लगाइदिन तयार हुँदैनन् । आँखारोग विशेषज्ञ डाक्टर बेन लिम्बुले आफ्नो अनुभव सुनाउँदै अभिभावकको लापरबाहीले बच्चाको आँखा अल्छी भएको बताउँछन् । केही वर्ष पहिले एक अभिभावक तीन वर्षको छोराको आँखाको समस्या लिएर अस्पताल पुगे । उनले बालकलाई चस्मा लगाउन सल्लाह दिए । तर, ती बच्चा ८ वर्षको हुँदा उनै अभिभावक बच्चा लिएर फेरि अस्पताल पुगे । ती डाक्टरले जाँच गर्दा बच्चाको आँखाको ज्योति गुमिसकेको थियो । गुमिसकेको आँखाको ज्योति फर्किने सम्भावना लगभग शुन्य हुन्छ । बच्चाको अविभावकले चस्मा लगाउन नदिँदा यस्तो समस्या देखिएको डाक्टरले पत्ता लगाए । सानो उमेरमा चस्मा लगाउँदा अरुले हेला गर्ने, यसको बच्चा कमजोर रहेछ भन्ने डरले चस्मा लगाउन नदिएको उदाहरण दिँदै डाक्टरले अस्पताल आउने अभिभावकलाई परामर्शको बढी आवश्यक्ता हुने गरेको बताए । नेपालमा बालबालिकामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये आँखाको रोग पनि प्रमुख हो । यस्ता स्वास्थ्य समस्याको समाधान भनेकै नियमित चस्मा लगाउनु हो । तर, अधिकांश अविभावकमा सानै उमेरमा चस्मा लगाउँदा झन् समस्या थपिने त्रासमा हुने गरेको चिकित्सकहरू बताउँछन् । आँखारोग विशेषज्ञ डाक्टर लिम्बु बच्चा जन्मेको ६ महिनादेखि एक वर्षको उमेरभित्र आँखाको परीक्षण गर्नुपर्ने बताउँछन् । त्यसपछि स्कुल जाने उमेर ४ देखि ५ वर्षको उमेरमा परीक्षण गराउनुपर्छ । उनका अनुसार यदि बच्चा समय नपुगी ५–६ महिनामै जन्मिएमा वा नवजात शिशुलाई लामो समय अस्पतालमै राख्नु परेमा जन्मेको एक महिनाभित्रै आँखाको परीक्षण गर्नु अनिवार्य हुन्छ । आँखामा देखापर्ने समस्या विशेषगरी बालबालिकामा देखिने आँखाको समस्यामा दृष्टि दोष, आखाँ चिलाउने, छड्केपन, आँखा पाक्ने, सुख्खा आँखा र जन्मजात देखिने मोतियाविन्दु र आँखाको लोति झर्ने आदि हुन् । यी सबै आँखामा देखिने रोगको समयमै उपचार गरिएन भने बालबालिकाको आँखा अल्छि हुन सक्छ । जसलाई अल्छि आखाँ भन्ने गरिन्छ । नेपालमा यो रोग देखापर्ने गरेको छ । अल्छि आँखाको दृष्टि कमजोर हुने हुनाले कमजोर आँखा नै त्यसको प्रमुख लक्षण हो । त्यसैले उपचारमा चस्मा लगाइन्छ तर चस्मा लगाए पनि आँखामा दृष्टि भने आउँदैन । अल्छि आँखा हुँदा आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्नेबित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँसु बग्ने हुन्छ । पढ्ने बेला किताबलाई आँखा नजिकै लैजाने, आँखा चिम्सो पार्ने र कहिलेकाँही छड्के हेर्नुपर्ने हुन्छ । नजिकै गएर टेलिभिजन हेर्ने बानी छ भने अल्छी आँखाको शंका गर्न सकिने डा. लिम्बु बताउँछन् । चश्मा लगाएर गरिने उपचार नियमित चस्मा लगाउनाले बालबालिकामा स्पष्ट देख्न सक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ । चस्माको नियमित प्रयोग तथा भिजन थेरापी गरी अल्छि आँखाको उपचार गर्न सकिन्छ । तिनीहरूलाई आँखाको प्रयोग गराएर अर्थात् पढ्ने, लेख्ने, कम्प्युटर चलाउने, गेम खेल्ने, चित्र कोर्ने, रंग भर्ने दृष्टिसँग सम्बन्धित क्रियाकलाप गराएर दृष्टिमा सुधार गर्न सकिन्छ । काठमाडौंको मच्छेगाउँका ८ वर्षका आरुस खतिवडाले पनि ७ वर्षको उमेरमा चस्मा लगाउनुप¥यो । तर, तीन महिनापछि उनको आँखाको पावर आफैं बढ्दै गयो र चस्माको नियमित आवश्यकता परेन । उनकी आमा मीना खतिवडाले नियमित परिक्षण र उपचारपछि अहिले छोराले चस्मा लगाउन नपर्ने अवस्था आएको बताइन् । आरुस अहिले चस्मा नलगाएरै अक्षर स्पष्ट देख्छन् । तर, उनको आँखाको परिक्षण भने बेलाबेला गराउनुपरेको मीनाले बताइन् । बालबालिकाको आँखा जटिल हुन्छ चिकित्सकका अनुसार बालबालिकाको आँखा एकदमै जटिल हुन्छ । ठूलो मान्छे र बच्चाको आँखामा फरक हुन्छ । बच्चाको आँखाको दृष्टि विकास बच्चा जन्मदादेखि नै हुँदैन । जन्मेपश्चात बिस्तारै आँखा देख्ने गतिमा विकास भएको हुन्छ । बच्चा जन्मेदेखि ७ वर्षको उमेरमा तीव्र गतिमा दृष्टि विकास हुन्छ । त्यो उमेरमा बच्चाको आँखा कुनै कारणले कमजोर छ वा चस्मा लगाउनुपर्ने छ भने त्यो बेला नलगाएको खण्डमा पछि जिन्दगीभर अन्धोपनको सिकार हुनुपर्ने आवस्था हुनसक्छ । बच्चा जन्मेदेखि ७ वर्षभित्रको समय बच्चाहरूको आँखाको दृष्टिको लागि महत्वपूर्ण समय हभएको डा. लिम्बु बताउँछन् । कतिपय रोग जन्मेको एकदेखि तीन महिनामा आँखालाई शिथिल बनाएर दृष्टि गुम्ने पनि हुन्छ । यस्ता समस्यालाई समयमै पहिचान गरेर उपचार गरिएन भने पछि यसको उपचार गर्दा पनि प्रभावकारी नहुने उनको भनाइ छ । डा. लिम्बुका अनुसार बच्चाहरूमा ७ वर्ष अगाडि आएको समस्या ८ देखि ९ वर्षमा आएर उपचार गर्न खोज्दा निको हुँदैन । अहिले दृष्टि विकास रोकिएका धेरै बालबालिका अस्पताल पुग्ने गरेका छन् । आँखाको ढकनी सानो भएमा उसको दृष्टि रोकिन्छ । डा. लिम्बु भन्छन्, ‘ग्याजेटहरूको धेरै प्रयोगले केही हदसम्म यो समस्या बढ्यो होला तर, विश्वमा नै बालबालिका आँखामा समस्या थियो र छ, पहिले बालबालिकाको आँखा स्वास्थ्यमा राम्रो पहुँच थिएन, अहिले अभभिावकलाई नै यो विषयमा सचेत छन् ।’ प्रविधिको प्रयोगबाट कसरी बच्ने ? आजभोलि विद्यार्थीको पढाइ नै प्रविधिबाट हुने गरेको छ । यो विषयमा विद्यालयका शिक्षकले पनि ध्यान दिनुपर्छ । बच्चालाई पछाडि राख्दा उसले देख्दैन भन्छ, आँखा मिचिराख्छ भने परिक्षण गर्न सल्लाह दिनुपर्ने डाक्टर बताउँछन् । ‘मोबाइल, कम्प्युटर प्रयोग गर्दा आँखा ड्राई हुन्छ,’ उनी भन्छन्, ‘यो ड्राइनेस आफैंले आँखा बन्द गराउने अवस्था ल्याउँदैन तर त्यसले आँखा दुख्ने, आँखा पोल्ने, बच्चालाई निन्द्रा राम्रोसँग नलाग्ने कहिलेकाहीँ मानसिक सन्तुलनसम्मा पनि असर पार्छ ।’ लामो समयसम्म मोबाइल ग्याजेट चलाएर बस्ने बच्चाको आँखा तुलनात्मक हिसाबले दुर दृष्टिमा असर परेको अध्यनले देखाएको छ । त्यसैले बच्चाको नियमित आँखा परिक्षणमा अभिभावकले ध्यान दिनुपर्ने डा. लिम्बु सल्लाह दिन्छन् ।

याक एण्ड यती होटलको साधारण सभा वैशाख १३ गते, यस्ता छन् एजेन्डा

काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४७औं वार्षिक साधारण सभा डाकेको छ । होटलले आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा साधारण सभा डाकेको हो । उक्त सभामा होटलको सञ्चालक समितिले पेस गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको गत आर्थिक वर्षको वासलात, नाफा, नोक्सान, हिसाब र नगद प्रवाह विवरणहरू स्वीकृत गरिनेछ । यस्तै चालु आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको तर्फबाट सञ्चालकले बैंकमा व्यक्तिगत जमानत दिने प्रस्ताव पारित गरिनेछ । होटलका अनुसार सेयरवालाको दर्ता किताब चैत २३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बन्द रहने छ ।

यूनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी संस्थापक समूहको सेयरको बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । न्यूनतम मूल्य २०५ रुपैयाँ ताेकिएकाे यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बtढाइने कम्पनीको भनाइ छ ।

राहदानी बनाउन पोर्चुगलबाट ६ सय ६९ को आवेदन

काठमाडौं । पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा बढी नेपालीको विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि जैविक तथ्यांक संकलन गरिएको छ । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गरेको हो । टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिइन् । टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ राहदानी र ३५ बालबालिकाको नवीकरणका लागि आवेदन संकलन गरिएको हो । राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट एक लाख १६ हजार पाँच सय २० युरो अर्थात् झण्डै एक करोड ६६ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको टोली प्रमुख बस्नेतले बताइन् । घुम्ती शिविरले तत्कालका लागि राहत भए पनि अझै धेरै नेपाली राहदानीसम्बन्धी समस्यामा रहेकाले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए ।

कुमारी बैंकको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैकले बिहीबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।

रिडी पावरको ११ लाख ३५ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला हुँदै

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चैत २९ गतेदेखि ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन पेस गर्नुपर्नेछ ।