विकासन्युज

बिहीबार गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार, पाँच कम्पनीको सेयरमा लाग्यो सर्किट

काठमाडौं । बिहीबारको सेयर बजारमा गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । सो दिन कारोबारमा आएका ३०२ वटा स्क्रीप्समध्ये गोर्खाज फाइनान्सको सबैभन्दा बढी कारोबार भएको हो । फाइनान्सको एकैदिन २३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ४२.१० रुपैयाँले बढेर प्रतिकित्ता ९१२ रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो सूचीमा क्रमशः शिवम् सिमेन्टस् र सर्वोत्तम सिमेन्ट रहेका छन् । जसमध्ये शिवम् सिमेन्टको १८ करोड ३८ लाख र सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता टप गेनरको सूचीमा अधिकांश लघुवित्त संस्थाहरु अग्रस्थानमा रहेका छन् । बिहीबारको बजारमा ५ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । जसमा मानुषी लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । यीमध्ये वीन नेपालको सेयर मूल्य ९.२१ प्रतिशतले बढेको छ भने अन्यको १०/१० प्रतिशतले बढेका छन् । बिहीबारको नेप्से परिसूचक सामान्य अर्थात २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१३ प्रतिशतले कम हो । घटेको बजारमा पिपुल्स पावरको सबैभन्दा बढी अर्थात ९.०५ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता ५५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने बिहीबार ३ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ ।

श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । सरकारका प्रवक्ता समेत रहेकी शर्माले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्ने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको पनि बताइन् । उनले सरकारले राम राजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्राध्यापक डा. पशुपति चौधरी र सदस्य पदमा डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गरेको बताइन् । त्यस्तै सरकारले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य पदमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरेको छ । उनले भनिन्, ‘श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएको थियो । यस पटक भक्तपुर जिल्लामा तोक्ने गरेकोमा काठमाडौं उपत्यकामा रहनेगरी भनेर हामीले केही व्यवस्था मिलाएका छौँ । र श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने भन्ने निर्णय भएको छ । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने ।’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा छानबिन गर्न यथेष्ठ तथ्य, प्रमाण नभएकाले संसदीय समिति बनाएरै जानुपर्ने स्थिति नदेखिएको भन्दै संसदीय समिति नबनाएको बताए ।

खुर्सानीमा थ्रिप्स पार्भिस्पिनस्‌को संक्रमण देखियो

चितवन । चितवनका किसानले लगाएको खुर्सानी खेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ ।  किसानले लगाएका भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि  नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी नगरपालिकामा मङ्सिर २८ गते देखिएको यो रोग थ्रिप्स कीराका कारण लाग्ने गर्दछ । खैरहनी नगरपालिका वडा नं १२ का नवीनकुमार श्रेष्ठले एक बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको खुर्सानीमा यो रोगको सङ्क्रमण देखिएको छ । उनले भने, ‘रोगका कारण फल नलाग्ने, बोटमा फूल नखेल्ने भएर समस्या भयो ।’ रोगका कारण यसवर्ष उत्पादनमा पनि कमी आउने उनले बताए । खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेमा खुर्सानीखेती गर्दै आएका अर्जुन भुसालले यतिखेर खुर्सानीको बोट उखालेर फाल्न थालेको बताए । उनले भने, ‘अघिल्लो वर्ष वैशाखसम्म उत्पादन लिएको थिएँ । अहिले रोगका कारण समस्या भएर चाँडै नै फाल्नुपर्‍यो ।’ विगतमा एक कठ्ठामा ३२ क्विन्टलसम्म उत्पादन भएको खुर्सानी अहिले घटेर २२ क्विन्टल हाराहारीमात्रै सीमित भएको उनले बताए । फलमा दाग लाग्ने, बिरुवामा फूल नखेल्नेजस्ता समस्या यो रोगबाट हुने गरेको उनले गुनासो गरे । रोग लागेपछि फल सानो हुने, दाग लागेपछि बजार नपाउनेजस्ता समस्या बढ्ने गरेको उनले बताए । व्यावसायिक कीट विकास फार्म भण्डाराकी वरिष्ठ बाली विकास अधिकृत पूर्णिमा क्षेत्रीले यो रोग लागेपछि उत्पादनमा ६० देखि ९० प्रतिशत गिरावट आउने बताए । उनले भने, ‘नेपालमा नै पहिलोपटक यो रोग देखिएको छ । यसलाई नियन्त्रण गर्न नसक्ने हो भने एक सय चार प्रकारका बोटबिरुवामा प्रभाव पार्ने देखिन्छ ।’ यस कीराले खुर्सानी, सिमी, भण्टा, मेवा, आलु, स्ट्रवेरीलगायतका बोटबिरुवामा आक्रमण धेरै गर्ने उनले बताए । यस कीराका कारण एक चौथाइसम्म उत्पादन घट्ने गरेको छ । जिल्लामा एक सय ६५ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिने गरेको उनले बताए । पूर्वी चितवनमा देखिएको यो समस्या अहिले जिल्लाभरि नै फैलिएको उनको भनाइ छ । प्लान्ट क्वारेन्टिइ तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत डा देवराज अधिकारीले कीराबाट बचावटका लागि बाली चक्र अपनाउनुपर्ने बताए । गर्मी समयमा गहिरो खनजोत गरी माटोमा रहेका थ्रिप्सका प्युपाहरूलाई नाश गर्ने, निरन्तर गोडमेल गर्ने, एकैपटक बाली लगाउने, चरणबद्ध रोपाइँ नगर्ने, नाइट्रोजन र फस्फोरस मलको साथै पोटासयुक्त मलखादको सन्तुलित मात्रामा प्रयोग गर्न उनले सुझाव दिए । यसैगरी कीराले क्षति गरेको पात, फलहरू सङ्कलन गरी नष्ट गर्ने, कीराबाट साह्रै आक्रान्त भएमा बोट उखाल्ने र जलाउने गर्नुपर्ने उनले बताए । स्प्रिङ्गलर सिँचाइ प्रणाली अपनाउने, मित्र कीराहरूको संरक्षण हुने गरी निमजन्य विषादी प्रयोग गर्ने गरेमा बाली जोगाउन सहज हुने उनले सुझाव दिए । रासायनिक विषादी प्रयोग गर्नुपरेमा प्राविधिकको परामर्शअनुसार मात्र काम गर्नुपर्ने उनको भनाइ थियो । रासस

वाइडबडी खरिद प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै पूर्वपर्यटन मन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बिहीबार बिमान खरिद प्रक्रियामा १ अर्ब ४७ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गर्दै पूर्वपर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारी, शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली र अच्युतराज पहाडीलाई मुद्दामा प्रतिवादी बनाएको छ । मुद्दामा २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुईवटा आपूर्तिकर्ता कम्पनी प्रतिवादी रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका छन् । वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारद्वारा जारी प्रेस विज्ञप्ति [pdf id=474382]

पूर्वअर्थसचिव शिशिर ढुङ्गानाविरुद्ध भ्रष्टाचारको मुद्दा, डेढ अर्बको माग दाबी

काठमाडौं । वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री शिशिर ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले ढुङ्गानासहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

काठमाडौंका १८ वटा सम्पदा संरचनाको सम्पूर्ण जानकारी अब क्युआर कोडबाटै लिन सकिने

काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ । सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरुलाई जोगाउन क्युआर कोडको प्रयोग थालिएको हो । बुधबार कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन् । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यसको मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ । क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ । कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्द्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो । क्युआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाएको छ ।

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए । नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । ‘सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो । दुईवटा क्रेनको सहायताले ट्रक उठाइएको छ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने । चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् । विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ । रासस

उद्यमी बन्दै वनकरियाका महिला, तीतेपाती र निमबाट साबुन उत्पादन गर्दै

हेटौँडा । मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन् । मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परिणत भएसँगै वनमा आधारित यस समुदायका महिला खेर गइरहेको तीतेपाती र निमको प्रयोग गरेर उद्यमी बनेका हुन् । विसं २०६२ मा जिल्ला विकास समिति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया समुदायका वासिन्दा अहिले विस्तारै आत्मनिर्भर हुन थालेका हुन् । अहिले उनीहरुले आफ्ना सन्तानलाई विद्यालय पठाउनेदेखि सामाजिक कार्यहरुमा पनि संलग्न हुन थालेका बनकरियाकी मुखिया सन्तमाया बनकरियाले बताए । उनले भने, ‘हामी जङ्गली जीवनबाट गृहस्थ जीवनमा आएका हौँ । हामीले पाएको जस्तो दुःख हाम्रा छोराछोरीलाई नपरोस् भनेर कोशिस गरिरहेका छौँ ।’ हिजो जङ्गलकै गिठ्ठाभ्याकुर र अन्य फलफूल खाएर बाँचेका उनीहरु अहिले अन्नबाली उत्पादन गर्न लागिपरेका छन् । उनले भने, ‘हामीलाई अन्न खान रहर लाग्दा लोग्नेमान्छेहरुले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने गर्थे, अहिले हामी आफैँ फलाइरहेका छौं ।’ बिरामी र सुत्केरी हुँदा खान नपाएको सम्झँदै त्यो दिन भोलिको पुस्ताका लागि कथा जस्तो हुने उनले बताए । जेटिए अध्ययन गरेकी सन्तोषी वनकरियाले पढाइपछि गाउँमा नै काम गरेर सबैलाई कृषितर्फ लाग्न प्रेरित गरेका छन् । उनका अनुसार अहिले प्रत्येक घरमा भैंसी पालिएको छ । भैंसीको दूध बिक्री गर्नुभन्दा पनि घिऊ बनाएर बेच्दा फाइदा हुने भएकाले धेरैले घिऊ बिक्री गर्ने गरेका छन् । केही वर्ष पहिला प्रत्येक घरमा करेसामा माछापोखरी खनिएको भएपनि सर्पले माछा खाइदिने समस्या रहेकाले अहिले उनीहरु पशुपालन र कृषितर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उनीहरुलाई समयसमयमा सिलाइबुनाइ, तरकारी खेतीलगायतका तालिम उपलब्ध गराउँदै आएको छ । त्यस्ता तालिमबाट सिकेको ज्ञानले उनीहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन् । कतिपयले बाख्रा, कुखुरा तथा माछापालनसमेत गरेका छन् । यसले उनीहरुको जीवनस्तरमा विस्तारै सुधार आएको छ । साबुन उत्पादनतर्फको आकर्षण विगतमा मसिने शान्ति सामुदायिक वनबाट कुचो/खरेटो, कुरिलो, गिट्ठा भ्याकुर खोज्ने र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाउँदै आएका उनीहरुलाई सो वन मध्यवर्ती क्षेत्रमा परेपछि उनीहरुलाई समस्या भएको थियो । अहिले समुदायमा बस्न थालेपछि उनीहरुले तीतेपाती, नीम र ध्यूकुमारीबाट साबुन बनाउने व्यवसाय थालनी गरेका हुन् । हाल वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको उनले जानकारी दिए । बनकरिया र चेपाङ बस्तीको २५ जना महिला मिलेर साबुन बनाउन थालेको मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार गत वर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएको थियो । तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर पाएको उनले बताए । साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेको छ । अब उनीहरुको चुनौती भनेको आवश्यक कच्चापदार्थ र बजारीकरणको रहेको छ । ‘साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यूकुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ’, सन्तमायाले भने । सानो, मध्यम र ठूलो साबुन उत्पादन गरेका उनीहरुले २० देखि ६० रुपियाँ सम्ममा साबुन बेच्ने गरेका छन् । मञ्चले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको थियो । स्थानीय सम्झना बनकरियाले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएको बताउँदै भने, ‘’साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुपर्यो, केलाउनु पर्यो, पकाउनु पर्यो ।’’ यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने भएकाले विस्तारै माग बढ्न थालेको उनको भनाइ छ । अहिले मञ्चले नै उनीहरुले बनाएका साबुन किनिदिएको छ । सधैँ यसरी एउटा संस्थाले किनदिएका भरमा मात्रै व्यवसाय दिगो हुन नसक्ने भएकाले अब बजारीकरणको भने चिन्ता लागेको सम्झनाले बताए । मञ्चले दिएको थोरै रकमबाट सुरु गरिएको काममा लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएकाले आफूहरुलाई व्यवसाय विस्तार गर्न समस्या भएको उनको भनाइ छ । जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने बनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमशः परिवर्तन देखिएको छ । आधुनिक जीवनउपयोगी सीपसँग टाढा रहेका बनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । बनकरिया जातिमा पहिलो शिक्षित महिला सन्तोषी बनकरियाले कृषि प्राविधिक (जेटिए) बनेर गाउँमा नै काम गर्न थालनी गरेकी छिन् । वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा (२०७२) उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिए । पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरुको आर्थिक अवस्थामा केही सुधार आएको छ । विगत १८ वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरीयाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालमा यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको थियो । उनीहरुले यही बसोबास गरेकै स्थानमा सामूहिक जग्गाधनी पूर्जा माग गर्दै आएका छन् । ‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् । मनहरी गाउँपालिका–४ मा रहेका वनकरियाहरुले राष्ट्रिय परिचयपत्र पनि बनाइसकेका छन् भने दुईवटा निर्वाचनमा मतदान पनि गरेका छन् । स्थायीरुपमा बसोबास गर्न र एकमुठ्ठी माटो आफ्नो भन्न नपाएकोमा भने उनीहरु दुःखी छन् । शिक्षित बन्दै वनकरिया समुदाय वनकरिया समुदायका बालबालिका हरुलाई अध्ययन गराउनको लागि उनिहरुकै बस्तिमा स्थानिय सरकारले इसिडी कक्षा सञ्चालनमा ल्याइरहेको छ भने उक्त कक्षा अध्यापनको जिम्मा सन्तोषी वनकरियालाई नै दिइएको मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाले जानकारी दिए । पशुपति माविका प्राध्यापक भानुभक्त आचार्यले वनकरिया समुदायमा छोराछोरी बढाउनुपर्ने चेतना जागृत भएको बताउँछन् । उनको अनुसार हालसम्म तीन जनाले एसएलसी र तीन जनाले एसइई पास गरेको छन् भने करिब १९ जना बालबालिका नियमित विद्यालय आइरहेका छन् । वनकरिया बस्तिमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए । वनकरियाहरु बिद्यालय भर्ना नहुँदा उनिहरुको घरमा नै गएर विद्यालय भर्ना अभियान चलाउनु परेको उल्लेख गर्दै प्राध्यापक आचार्य हाल विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव बढेको बताउँछन् । कक्षा १२ मा अध्ययन गरिरहेकी सम्झना वनकरियाले आफूलाई पत्रकार बन्ने ठूलो धोको रहेको बताए । उनले आफ्नो समुदायको खबर लेख्न आउने अन्य पत्रकार जस्तै आफू पनि समाचार बनाउन सक्षम बन्ने चाहना राखे । जनसङ्ख्या घट्दो अवस्थामा देशकै अल्पसङ्ख्यक यस समुदायमा जनसङ्ख्या घट्दो रहेको छ । विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ । महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन् । उनीहरुमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ । दुई दशकअघिदेखि मात्रै फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास शुरु गरेका आदिवासी वनकरिया जातिले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन् । विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको वनकरिया जाति अहिले राष्ट्रिय निकुञ्जको जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएका छन् । हाल वनकरियाको बसोबास रहेको मुसेधाप खहरेको बगर भएकाले यहाँ कृषि उत्पादन राम्रो हँुदैन । यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ । वनकरिया समुदायको आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले वनकरिया होमस्टे सञ्चालन गरिदिएको भएपनि प्रभावकारी बन्न नसकेको पालिकाकी उपाध्यक्ष सीता पुलामीले जानकारी दिए । गाउँपालिकाले लोपोन्मुख वनकरिया जातिको रहनसहन, खानपिन, परम्परा एवं संस्कृतिको प्रचारप्रसार गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न तथा उनीहरुको जीवनशैलीको अवलोकन गर्न चाहने र उनीहरुकै घरमा बास बस्न चाहनेका लागि घरबास सञ्चालन गरे पनि पाहुना नआउँदा यो प्रयास सफल नभएको उनी बताउँछन् । उपाध्यक्ष पुलामीका अनुसार आर्थिक स्तरमा सुधार ल्याउन पालिकाले उनिहरुले नै सुरु गरेको साबुन उत्पादन कार्य प्रबद्र्धनमा सहयोग योजना बनाएको छ । गाउँपालिकाले वनकरिया बस्तीलाई विस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छ । वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार प्रवद्र्धन गरिने उनले बताए । रासस