विकासन्युज

सरकारले ८ महिनामा खर्च गर्यो आठ खर्ब बढी, नगद मौज्दात २ खर्ब मात्रै

काठमाडौं । नेपाल सरकारको कुल खर्च ८ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा सरकारको सो रकम बराबरको खर्च भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो आठ महिनामा १५.४ प्रतिशतले वृद्धि भएको थियो भने समीक्षा अवधिमा २.९ प्रतिशतले वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च ५ खर्ब ८२ अर्ब ११ करोड, पुँजीगत खर्च ८१ अर्ब २१ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ३८ अर्ब २६ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १४.९ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.७ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ५ खर्ब ७८ अर्ब ६७ करोड र गैर कर राजस्व ६० अर्ब ३७ करोड रुपैयाँ परिचालन भएको छ । नेपाल सरकारको नगद मौज्दात २०८० फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

विदेश पढ्नेको नाममा बाहिरियो ८० अर्ब बढी रकम

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश अध्ययन गर्न गएकाहरुले अध्ययन प्रयोजनका लागि भनेर ८० अर्ब रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले ८० अर्ब १४ करोड रुपैयाँ लगेका हुन्, जुन शिर्षकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा अवधिमा ५४ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, समीक्षा अवधिमा विदेश भ्रमण प्रयोजनका लागि नेपालीले ५१ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेका छन्, जुन शिर्षकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा खुद सेवा आय ४४ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।

शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब बचतमा, चालु खाता पनि बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा चालु खाता पनि १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ५८ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रुपैयाँले धनात्मक रहेको थियो ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग  लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराए ।  उनले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरु पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गरे । उनले नदी र नदी जोड्ने खालका परियोजना अघि बढाइ सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपूर्जा वितरणको कामका रुपमा नलिइ जमिनको चक्लाबन्दी र उत्पादनमा जोड दिइ समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको बताउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गरे । समितिका सभापति मायाप्रसाद शर्माले संसदमा उठेका प्रश्नको सम्बोधन र आफ्ना प्रतिबद्धतालाई कार्यान्वयनमा संकल्प लिएकाेमा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिए ।

आयात र निर्यात दुबै घट्यो, आठ महिनामा ९ खर्ब बढीको वस्तु व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । त्यस्तै, समीक्षा अवधिमा आयातसँगै निर्यातमा पनि कमी आएको छ । राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात ४ प्रतिशतले घटेर एक खर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः २७५.५ प्रतिशत र ०.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, ऊनी गलैचा, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको भएको थियो ।

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यावसायिक सम्झौता

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स बीच व्यावसायिक साझेदारीमा सम्झौता भएको छ । गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच बुधबार व्यावसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको हाे । गरिमा क्यापिटलको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । ‘हरेक नेपाली शेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौता अनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गहरुलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गर्ने जनाउको छ । यो व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पु¥याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पु-याउनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

२१ प्रतिशतले बढ्यो रेमिट्यान्स, आठ महिनामा भित्रियो साढे ९ खर्ब बढी

काठमाडौं । आर्थिक वर्षको पहिलो आठ महिनामा विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा सो मात्राले वृद्धि भई ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोसंख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १९ खर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ भने, विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नजिक पुगेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले चालु आवको ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै सो आवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई ९ सय ६१ अर्ब २२ करोड पुगेको जनाएको छ । ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । त्यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्घि भई २२८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई  १०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।