फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी बीमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो । फरवार्डले मृतक मण्डलका श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा १० लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । उनीहरुलाई एक कार्यक्रम विच फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले मृत्यु दावी रकम हस्तान्तरण गरे । मण्डलले २०७९ मंसिरमा फरवार्ड माईक्रोफाइनान्सको शम्भुनाथ, सप्तरी केन्द्र नं. ४५७ बाट ८ लाख रुपैंया कर्जा लिएका थिए । उनले कर्जा बापतको चार लाख ४० हजार ७ सय ९७ रुपैंया भुक्तान गरेका थिए । फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत १२५ प्रतिशत भुक्तानी दिएको हो । बीमा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले फरवार्डले विपन्न परिवारका महिलाहरुलाई बिना धित्तो सरल तरिकाले गाँउगाँउमा समुह बनाई लघुकर्जा प्रदान गर्दा गाँउघरमा समयमा पैसा नभएका बिपन्न समुदायका लागि वरदान सावित भएको बताइन् । घरको गर्जो टार्नका लागि र पैसा नभएर उपचार गर्न नपाएका, छोराछोरीलाई पढाउन पैसा नभएका, स–साना ब्यवसाय सञ्चालन गर्न चाहनेहरुको लागि फरवार्डको लघुवित्त कार्यक्रम महत्वपूर्ण रहेको भन्दै उनले भनिन्,‘कठिन परिस्थितीमा सस्तो ब्यजदरमा लगानी गर्ने भएकाले गाँउभरमा मिटर ब्याजीहरुको बिगबिगी कम भएको छ । धेरैको घर खेत लिलाम हुनबाट बचेको छ । स–साना ब्यावसाय थालेकाहरुले केही सम्पत्तिको जोरजाम गरेका छन् । यस कारण खराव कठिन समयमा साथ दिने संस्थाहरुको संरक्षण गर्ने हाम्रो दायित्व हो ।’ उपमेयर साहले भनिन् । हाल लघुवित्त संस्था बिरुद्ध स्वार्थ समुहले विभिन्न किसिमका अफवाहहरु फैलाउदै गरेको भन्दै उनले लघुवित्त संस्थाहरुले समुदायमा लगानी गरेको कर्जा कुनै पनी हालतमा मिनाहा नहुने भएकाले त्यस्ता भ्रममा नपर्न सबैमा अनुरोध पनि गरिन् । साथै, उनले किस्ता तिर्न गाह्रो भएका सदस्यहरुको अवस्थामा संस्थाहरुले समेत बिचार गर्न आवश्यक रहेको औल्याइन् । फरवार्ड माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम दयाल राजबंशीले वित्तीय संस्थाले गाँउगाँउमा गई बिपन्न समुदायमा वित्तीय सेवा दिईरहेको र ग्राहक सदस्य लक्षीत सरल तरिकाले कर्जा प्रवाह गर्ने गरिएको बताए । लघुवित्त संस्थाबाट समाजमा बित्तीय सेवा प्रवाह नहुने हो भने ग्रामीणस्तरबाट आर्थिक सुधारको कल्पना नै गर्न नसकिने बताए । ‘गाँउघरकै महिला दिदिबहिनीहरुको बचत रहेको र ती निक्षेपहरु फिर्ता नहुने हो भने अर्थतन्त्रमा ठुलो असर पुग्ने भएकाले कर्जा मिनाहाको माग आफैंमा गलत हो । कर्जा मिनाहा हुन्छ भन्ने भ्रममा नपरौं ।’ राजबंशीले बिपत र अपठ्यारोमा परेका असल ग्राहक सदस्यहरुलाई समस्या पर्दा संस्थाले उचित संरक्षण गर्ने बताए ।
नेपाल टेलिकमको कपर प्रविधि बन्द, सबै सेवा अब एफटीटीएचमा
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर टू दी होम (एफटीटीएच)प्रविधिमा स्तरोन्नति गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी सो सेवा बन्द गरेकी हुन् । कपर प्रविधिबाट वितरित टेलिफोन तथा एसडीएसएल लाइनहरु पूर्णरुपमा आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख अतिधि रहेकी प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको मागअनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् । एफटीटीएचमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सामाजिक सुरक्षा कोषको कार्यान्वयन तहमा देखिएका समस्याका सम्बन्धमा अन्तरक्रिया
विराटनगर । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या एवं समाधानका सम्बन्धमा कोषका प्रतिनिधि, उद्योगी व्यवसायीबीच अन्तरक्रिया भएको छ । उद्योग संगठन मोरङको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा भएको छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरि नीतिगत स्पष्टता कायम गर्नुपर्ने धारणा राखे । उनले कोषका माध्यमबाट प्रदान गर्दै आएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य आश्रितलाई पनि समेटी दायरा फराकीलो पार्न अनुरोध गरे । त्यसैगरी उद्योगी व्यवसायीलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूत हुने गरी कोष स्थापना हुनुपर्नेमा अध्यक्ष सुरानाले जोड दिए । कार्यक्रमका कोषका निर्देशक उत्तमराज नेपालले कोषको कानुनी आधारहरुलाई समय सापेक्ष सुधार गरी सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै लगिने बताए । उनले कोषमा आवद्ध भएका सबैको सामाजिक जोखिम न्यूनिकरण गरी सामाजिक सुरक्षाको सुनिश्चित गर्ने कार्यमा कोष प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यान्वयन तहमा देखिएका कतिपय व्यवहारिक समस्यालाई कोषले आगामी सहज बनाउदै आश्रित परिवारका दायरा थप फराकिलो वनाउने दिशामा कार्य भईरहेको निर्देशक नेपालले जनाए । उद्योग प्रतिष्ठान र सेवा प्रदायक अस्पतालका प्रतिनिधिहरुको सहभागितामा भएको अन्तरक्रियामा उद्योगी व्यवसायीले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनाका व्यवस्थाको सेवा उपभोगको क्रममा भोग्नु परेको समस्या समाधानका लागि कोषलाई सेवा प्रदायक अस्पतालहरुसंग समन्वय गर्न अनुरोध गरे ।
कुमारी बैंकको २३ औं वार्षिकोत्सव, विभिन्न कार्यक्रमहरु आयोजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ । कुमारी बैंकको २३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैंकका आवस्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ । यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत पू-याएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैका लागि’ भन्ने मूल उदेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ्ग सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ्ग जगतलाई डिजिटल बैंकिङ्ग तर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्ध छ ।
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । रासस
हुलाकी राजमार्गको समय र लागत दुवै बढ्यो
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेका कतिपय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ । साधन र स्रोतको अभाव नहुने बताइए पनि तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्रीको अभाव, स्थानीयवासीको अवरोध जस्ता कारणले आयोजनाको गति बढनसकेको छैन । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सोही आयोजनाका बारेमा छलफल भएको थियो । हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलका अनुसार कूल भौतिक प्रगति ६५ प्रतिशत बराबर छ । आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको सो आयोजनाको म्याद पटक–पटक थप भएको छ । पछिल्लो पटक थप भएको म्याद अनुसार आव २०८३/८४ मा मात्रै सो आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना सुरु गर्दा रु ६५ अर्बमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आयोजनाको लागत र समय बढ्दै जाँदा रु एक खर्ब ९३ अर्ब बराबर पुगेको छ । आयोजनामा देखिएका समस्या समाधानका गरिएका पहलसमेत सार्थक बन्न सकेको छैन । आयोजनाको अन्य क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्ल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन । तराई–मधेशको समृद्धिसँग जोडिएको आयोजनामा अपेक्षित प्रगति नभएको र स्रोतको सहज उपलब्धता हुन नसकेको विषयमा आजको बैठकमा छलफल भएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । आयोजना सम्पन्न भएपछि एक हजार आठ सय ५७ किलोमिटर सडक निर्माण हुनेछ । यस्तै, दुई सय ५० पुल पनि निर्माण भएका छन् । हालसम्म झण्डै एक हजार दुई सय ४३ किलोमिटर सडक कालोपत्र भएको छ । तराई–मधेशका २१ जिल्ला जोड्ने लक्ष्यका साथ सुरु भएको आयोजनालाई कार्यतालिका अनुसार अगाडि बढाउने लक्ष्य राखिएको भए पनि पूरा हुनसकेको छैन । समितिले आयोजनाको हालसम्मको सम्मको भौतिक प्रगति र स्रोतको विनियोजनकाबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको छ ।
अल्स्टमले बेलायतमा सयौंको संख्यामा रोजगारी कटौती गर्ने
लण्डन । फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ । डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको सरकारी वार्ताको प्रभावका कारण रोजगारी कटौती हुने जनाएको छ । ‘द टेलिग्राफ’ ले स्रोतलाई उद्धृत नगरिकन लेखेको समाचारमा बेलायतको लामो योजनापछि आउने अपेक्षा गरिएको नयाँ उच्च गतिको रेलवे एचएस–२ मा थप सम्भावित ढिलाइको बारेमा चिन्ता पनि बढ्दै गएको उल्लेख छ । अल्स्टमका प्रवक्ताले एएफपीलाई डर्बी साइटको भविष्यको बारेमा कुनै निर्णय नलिइएको तर बेलायती सरकारसँग वार्ता ‘अझै जारी’ रहेको बताए । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गत वर्ष विवादास्पद रूपमा एचएस–२ को उत्तरी इङ्ल्यान्डको एक महत्वपूर्ण रेल सेवालाई हटाएपछि यो रिपोर्ट आएको हो । अल्स्टमले आफूलाई बेलायत र आयरल्याण्डमा नयाँ रेलहरूको अग्रणी निर्माता र रेलवे पूर्वाधारको शीर्ष आपूर्तिकर्ताको रूपमा वर्णन गर्दछ । यसले बेलायत र आयरल्याण्डमा मुख्यगरी डर्बी क्षेत्रसहितका ३७ स्थानहरूमा ६ हजार मानिसहरूलाइ रोजगार दिएको छ । एजेन्सी
भारतको ३ करोड ६१ लाख सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण
काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा ३ करोड ६१ लाख रुपैयाँको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरूपमा उद्घाटन गरे । दुईतले विद्यालय र छात्रावास भवनका निम्ति आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्ति निकालेर जनाएको छ । विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो । सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि ‘प्लस टु’ तहसम्म अध्यापन हुँदै आएको छ । यो विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा ४ सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।