तोलामा १३ सयले घट्यो सुनको मूल्य, चाँदी १६ सयमा कारोबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा १३ सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
‘टेक पिक नेपाल २०२४’ सम्पन्न, आईटीमा लगानी बढाउनुपर्नेमा जोड
काठमाडौं । सूचना प्रविधि क्षेत्रलाई लक्षित गरी बिहीबार काठमाडौं आयोजना भएको टेक पिक नेपाल, २०२४ मा सहभागीहरुले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । नास–आईटी, अमेरिकन चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा सुरु टेक पिकमा दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अभ्यासकर्ता, विज्ञ, र सरकारी अधिकारीहरुको सहभागिता थियो । सो अवसरमा सहभागी सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै थप लगानीको आवश्यकता औँल्याएका थिए । उनीहरुले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा बढावा दिनुपर्ने जोड दिए । ‘हामी सबैले सूचना प्रविधि क्षेत्रको विकासको लक्ष्य लिएका छौँ । सूचना प्रविधिको प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकासतर्फ हामी लागेका छौँ । यस अवसरलाई सदुपयोग गर्दै स्थानीय नवप्रवर्तनबीच सम्बन्ध बढाउन, फार्म स्थापना तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ । साथै आगामी वैशाखमा हुन लागेको नेपाल लगानी सम्मेलन, २०२४मार्फत पनि हामीहरु सहकार्य गर्न सक्छौँ’, सीएनआईका उपाध्यक्ष हेमराज ढकालले भने । डिजिटल युगतर्फ प्रवेश गर्दा प्रविधिको परिवर्तनकारी प्रभावलाई कसैले रोक्न नसक्दै भन्दै ढकालले सूचना प्रविधिको प्रयोग यतिबेला सबै क्षेत्रका लागि अत्यावश्यक भइसकेको बताए । ‘अधिकांश व्यवसाय सूचना प्रविधिमा निर्भर हुने अवस्था आएको छ । जसका कारण बजारको आयाम नै परिवर्तन भएको छ । सूचना प्रविधिको प्रयोगबाट विभिन्न आविष्कारका साथै रोजगारी सिर्जनाका साथै अर्थव्यवस्था र बजार प्रणालीबीच परस्पर निर्भरता पनि बढाएको छ’, उनले भने । नेपाल पनि विश्वमञ्चमा सूचना प्रविधिको अभ्यासकर्ताका रुपमा उदयीमान शक्तिशाली मुलुक भएको भन्दै उनले सूचना प्रविधि र अंग्रेजी भाषामा पोख्त नेपालको ठूलो युवाजनशक्ति त्यसको आधार भएको बताए । हालैको एक अध्ययनले मुलुकको विकासमा सूचना प्रविधिको ठूलो योगदान रहेको देखाएको उल्लेख गर्दै उपाध्यक्ष ढकालले सूचना प्रविधिको क्षेत्रले परम्परागत पर्यटन क्षेत्रबाट हुने आम्दानीको स्थान लिन थालेको बताए । यस परिवर्तनले नेपालको अर्थतन्त्रका लागि सूचना प्रविधिको प्रयोग महत्वपूर्ण रहेको देखिएको भन्दै उनले यसको पूर्ण उपयोग भने गर्न नसकिएको धारणा राखे । इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले गरेको एक अनुसन्धानमा सूचना प्रविधि क्षेत्रको निर्यातबाट नेपालले सन् २०२२ मा ५१ करोड ५० लाख ५० हजार डलर आम्दानी गरेको थियो । जुन अन्य क्षेत्रको तुलनामा धेरै हो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले सूचना प्रविधि निर्यातको बलियो सम्भावना भएको क्षेत्र भएको भन्दै यसले मुलुकको समृद्धि हासिल गर्नमा सहयोग गर्न सक्ने धारणा राखे । ‘सूचना प्रविधिको पूर्ण उपयोगका लागि हामीले यस क्षेत्रमा लगानी बढाउन सक्नुपर्छ । नेपालमा डिजिटल क्षेत्रको जग बसाल्नका लागि यो निकै महत्वपूर्ण छ । हामीले आइटीमा लगानी बढाएर मुलुकको डिजिटल ग्यापलाई कम सक्छौँ’, उनले भने । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने, ‘सन् २०२२ मा नेपालले सूचना प्रविधिसँग सम्बन्धित वस्तु तथा सेवा निर्यातबाट ५१ करोड डलरभन्दा बढी आर्जन गर्नुले नेपालमा यसको सम्भावनालाई दर्शाउँछ । यो मुलुकबाट निर्यात हुने सेवा तथा वस्तुको क्षेत्रमा अगाडि देखिएको छ ।’ अग्रवालले सफ्टवेयर विकास र डिजिटल सेवाको आउटसोर्सिङमार्फत देखिएको निर्यातको सम्भावनाले मुलुकभित्रको सूचना प्रविधिका दक्ष जनशक्ति र क्षमतालाई पुष्टि गरेको बताए । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमार्फत नेपालीहरुले विश्वमञ्चमा आफ्नो क्षमता देखाउन पाएको बताउँदै अध्यक्ष अग्रवालले विश्वमा नेपाल सूचना प्रविधिको क्षेत्रमा मुख्य खेलाडीका रुपमा उपस्थिति जनाउन सक्नेतर्फ संकेत गरे । उनले मुलुकभित्र सूचना प्रविधिको प्रयोगले नेपालको अर्थतन्त्रको विकासका साथै नेपाललाई विश्वभर चिनाउन पनि सहयोग पुगेको बताए । अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले भने, ‘हामीले सूचना प्रविधिलाई मुख्य क्षेत्रका रुपमा पहिचान गरी यसैमा केन्द्रित भएका छौँ, हामीसँग जहिले पनि पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई प्राथमिकतामा राखेका छौँ । त्यसमा पनि सूचना प्रविधिको क्षेत्र हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ ।’ उनले अमेरिकन चेम्बर अफ कमर्शका ५० सदस्यमध्ये ३० प्रतिशत सदस्य सूचना प्रविधिको क्षेत्रमा कार्यरत रहेको जानकारी दिए । सो अवसरमा सहभागीहरुले विभिन्न चुनौतीका बाबजुद सूचना प्रविधिको विकास भइरहेको बताएका थिए । साथै यस क्षेत्रमा लगानी बढाएर यसको विकासमा सहयोग गर्नुपर्ने उनीहरुको भनाइ थियो । नेपाल सरकारले ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा जोड दिँदै आएको छ । हालै मात्र सरकारले डिजिटल नेपाल फ्रेमवर्क लागू गरी निजी क्षेत्रको सहकार्यमा सामाजिक–अर्थतन्त्र निर्माणमा अगाडि बढेको छ । सूचना प्रविधि र बिजनेश प्रोसेस आउटसोर्सिङ (बीपीओ) क्षेत्र मुलुकको निर्यात रणनीति निर्माण तथा शतप्रतिशत स्वामित्व, ट्याक्स होलिडेज, प्रतिष्पर्धी कर्पोरेट करलागयतका माध्यममार्फत नेपालमा विदेशी लगानी ल्याउनका लागि सहयोगी मानिएको जनाइएको छ । यसले नेपालमा हाइ टेक स्टार्टअप र व्यवसाय प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका समेत निर्वाह गर्ने जानकारहरुको भनाइ छ । यद्यपि अझै पनि सूचना प्रविधिको क्षेत्रमा प्रतिबद्धता गरिएअनुसारको आन्तरिक र विदेशी लगानी भने नआएको पाइएको छ । सो अवसरमा प्रमुख वक्ता समेत रहेका नासकम, इन्डियाका सहसंस्थापक तथा पहिलो निर्वाचित अध्यक्ष हरिस मेहेताले सूचना प्रविधिको प्रयोगमार्फत प्राप्त सफलताको अनुभव सुनाएका थिए । उनले यदि सबैको सहकार्य भएमा सूचना प्रविधिको क्षेत्रमा सफलता मिल्नेमा जोड दिएका थिए । परिसंघका आईटी काउन्सिलका अध्यक्ष अजित शाहले नेपालमा विश्वका आठ ठूला शिखर भएको उल्लेख गर्दै सूचना प्रविधिलाई नवौं शिखरका रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिए । उनले यस क्षेत्रको विकासका लागि सामूहिक प्रयासमामार्फत उक्त सफलता हासिल हुने धारणा राखे । सो अवसरमा सहभागीहरुले आइटी कम्पनी, नीति निर्माता, शिक्षण संस्थाबीचको दूरी कम गर्न आवश्यक भएको भन्दै उपयुक्त वातावरण भएमा मुलुकले सामाजिक अर्थतन्त्रको क्षेत्रमा ठूलो सफलता प्राप्त गर्नसक्नेतर्फ जोड दिएका थिए । त्यसअवसरमा ‘ब्राण्ड नेपाल’ विषयलाई विशेषरुपमा उठान गरिएको थियो । नेपाली कम्पनीहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन तथा विश्वबजारमा बलियो उपस्थिति तथा पूर्वाधारको कमी तथा जटिल नियमन जस्ता चुनौतीहरुको सामना गर्नका लागि एकीकृत प्रयास आवश्यक भएकोमा जोड दिइएको थियो । अमेरिकन चेम्बर अफ कमर्शका संस्थापक सञ्जय गोल्छाले सहभागीहरुलाई कार्यक्रममा सहभागिता जनाइ महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । टेक पिक नेपाल, २०२४ को मुख्य प्रायोजकमा यूएसए एड थियो । साथै अन्य प्रमुख प्रायोजकमा विश्व बैंक, यूरोपियन युनियन, इसीसी, एसियाली विकास बैंक थिए । साथै आइएमइ पे, नियोटेरिक, मर्चिङ एन्ट्स, लक्ष्मी सनराइज बैंक, एनएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पाटर्नर पनि प्रायोजक थिए ।
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । ‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ’, उनले भने । रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी स्टल रहने उनले जानकारी दिए । शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिने छन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो । रासस
सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा छुट हुने
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । बैंकका अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
ताइवानमा ७.३ म्याग्निच्युडको भूकम्पपछि करिव सय वटा पराकम्प
काठमाडौं । ताइवानमा गएको ७.३ म्याग्निच्युडको भूकम्पपछि कुल ९६ वटा पराकम्प गएको छ । पराकम्प ४ रेक्टर स्केलकारहेको बताइएको छ । ७.३ म्याग्निच्युडको भूकम्प बिहान ७ः५८ मा चीनको ताइवानको हुआलियननजिकैको समुन्द्री क्षेत्रमा गएको थियो । बुधवार नौ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् । बिहान १२ बजेसम्म जम्मा १०१ जना भूकम्पमा फसेका छन् भने ३४ जना बेपत्ता भएका छन् ।
नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा
काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । पाउलोको अफिसियल पार्टनरको रुपमा मालिका मिडिया, साइलेन्ट एक्ट रहेको छ । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टीमले बताएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ । जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको ‘पाउलो’ लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ । ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ । एक सटमा खिचिएको ’घुर्रा’ले नेपालमा केहि समयअघि आयोजना भएको नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट लघुचलचित्रको अवार्ड समेत प्राप्त गरेको थियोे ।
सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरी बार्षिकउत्सव मनाउने क्रममा करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुपरू १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १७ औं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । एक समारोहका बीच बैंकले एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतम लाई हस्तान्तरण गरेको छ । बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमले जानकारी दिए । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षथप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।
सामाजिक सुरक्षा कोषले एक लाख बढी योगदानकर्तालाई भुक्तानी गर्यो आठ अर्ब रुपैयाँ
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो । कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनामा १३ करोड २८ लाख एक सय ६५ रुपैयाँ भुक्तानी गरेको छ । कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । कोषमा हालसम्म ५२ अर्ब ६३ करोड योगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार सात सय ९९ श्रमिक सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ । बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार दुई सय २३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार दुई सय ४३, अनौपचारिक क्षेत्रका दुई सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ । कोषमा १८ हजार आठ सय १९ रोजगारदता आबद्ध छन् । रासस