सेन्ट्रल फाईनान्सको २७ औं साधारणसभा सम्पन्न
काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, मोरङ्गको विराटनगर र रौतहटको चन्द्रपुर १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, रेमिट्यान्स सेवा, सी–आास्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ । चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाको हाल निक्षेप ७ अर्व २६ करोड र कर्जा ४ अर्व ८३ करोड रुपैयाँ रहेको छ ।
नयाँ वर्षमा माइडियाले ल्यायो ४६ हजारको क्यासब्याक र उपहार योजना
काठमाडौं । माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अधिकतम ४६५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ । लक्कीड्रमा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने छ । पक्का उपहारअन्तर्गत माइडियाको ६, ७ , ८ ,९ १० केजीका वासिङ मेसिन तथा वासरड्रायर को खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउने छन् । अत्यस्तै साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ । माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ । यो योजना चैत्र २३ गतेदेखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिइसकेपछि नयाँ गठबन्धनको तर्फबाट शुक्रबार नै महराले नयाँ सरकार गठनको लागि ४४ जना प्रदेश सभा सदस्य हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उनलाई मुख्यमन्त्रीमा माओवादी सहित एमाले, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
दोब्बर समयमा पनि सकिएन ‘हुलाकी सडक’
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरे । तीस महिनाभित्र सम्पन्न गर्नेगरी विसं २०७३ फागुनमा निर्माण सुरु भएको ६२.५ किलोमिटर हुलाकी सडक निर्वाचित सांसदको क्षेत्रमा ९७ प्रतिशतभन्दा बढी पर्दछ । निर्धारित समयावधिभन्दा दोब्बर बढी समय सकिँदा पनि उक्त सडक सम्पन्न भएको छैन । सांसद लामाले मात्रै होइन कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकले पटक/पटक हुलाकी सडक निर्माणमा भइरहेको ढिलासुस्तीको विषयमा दबाब दिइरहे पनि निर्माणले गति लिन सकेको छैन । कञ्चनपुरको डोकेबजारबाट बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण गर्नुपर्ने उक्त सडक तीन चरणअन्तर्गत एकैसाथ ठेक्का गरी काम अगाडि बढाइए पनि दोस्रो र तेस्रो चरणको करिब ५० प्रतिशत काम बाँकी छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी एवं इन्जिनियर वर्ख कडायतले हुलाकी खण्डको दोस्रो र तेस्रो चरणको काम जारी रहेको बताए । उनका अनुसार उक्त आयोजनाको बेलौरी–बेल्डाँडी खण्डमा १०.५ किलोमिटर सडक कालोपत्र भएको छ । ‘काम बाँकी रहेकाले छैँटौँ पटक म्याद थपका लागि सडक विभागमा फाइल पुगेको छ’, उनले भने, ‘दोस्रो चरणमा एक हजार चार सय मिटर खण्ड भारतीय पक्षले ग्राभेल हाल्न दिएको छैन । तेस्रो खण्डको केही भू–भाग कालोपत्रका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट अनुमति आएको छैन ।’ ‘यहाँ तीन किलोमिटर कालोपत्र गर्ने तयारी भइरहेको छ’, इन्जिनियर कडायतले भने, ‘पचुँइ क्षेत्रमा सीमा विवादका कारण काम रोकिएको छ ।’ उक्त कामको जिम्मा बाबा हङ्स–सिद्धिसाई जेभीले ४१ करोड ४१ लाख रुपैयाँमा पाए पनि केही समय निर्माण कम्पनी आयोजना कार्यालयको सम्पर्कमा नआएकाले काममा ढिलाइ भएको उनको भनाइ छ । हुलाकी सडकको अन्तिम चरणअन्तर्गत बेल्डाडी–दैजीको २२.५ किमीमध्ये ९.५ किमी कालोपत्र भएको इन्जिनियर कडायतले बताए । ‘निकुञ्जबाट काम गर्ने अनुमति नपाउँदा निर्माण कम्पनीले सामग्री थन्क्याएको छ’, उनले भने, ‘यो चरणअन्तर्गत निर्माण कम्पनीले काम गरिसकेको करिब एक करोड रुपैयाँ पाउन बाँकी नै छ ।’ शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको अन्तिम चरणको काममा लामो समयसम्म कम्पनीले ढिलासुस्तीका कारण लम्बिएको कडायतले बताए । लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरी बेवास्ता गरेको उनको भनाइ छ । रासस
माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकले क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ । फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपिआइ इनेबल एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध बैंकका मर्चन्टहरुमासोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्युआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको बैंकले जनाएको छ । साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उक्त सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास लिएको बैंकले जनाएको छ । यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआइ इनेबल एप्स प्रयोग गरेर तहां को नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् । बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
आगामी आवको बजेटमा जनताले परिवर्तनको महसुस गर्नेछन् : प्रधानमन्त्री
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताए । आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्ट पारे । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे । ‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।’ ‘आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।’ माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटरब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आयभएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराइएको बताए । गोरखा जिल्ला जनयुद्धको समयमा पनि अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले विकास निर्माण र सामाजिक न्यायको विषयमा जनताले गरेको अपेक्षालाई सम्बोधन गर्ने विश्वास दिलाए । गत वर्ष बजेट तथा नीति तथा कार्यक्रममा जनताको चाहनाअनुसार गर्न नसकिएको उल्लेख गर्दै प्रधानन्त्री प्रचण्डले गत आवमा परम्परागत बजेट निर्माण भयो र त्यसले अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको बताए ।
नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम
सौराहा । चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो । साथै नदीजन्य निर्माण सामग्रीको अत्यधिक दोहनले नदीको प्राकृतिकस्वरुप सङ्कुचन भएको छ । नदी क्षेत्रमा बालुवाको ‘रास’ कम हुँदा प्राकृतिक रुपमै पानी फिल्टर हुने प्रक्रियामा बाधा पुगेको छ । काभ्रे र मकवानपुरको डाँडाबाट सुरु भई बग्ने राप्ती नदी ससाना अन्य नदी तथा खोला सङ्कलन गरेर इन्द्रसरोवर जलाशय हुँदै हेटौँडा भएर चितवनतर्फ बग्ने गर्दछ । चुरेको दक्षिण सिमाना भएर बग्ने यो नदी पर्सा र चितवन राष्ट्रिय निकुञ्जका जीवजन्तुको पिउने पानीको मुख्य स्रोत हो । राप्ती नदीको प्रदूषणको अवस्थाबारे अध्ययन गर्नुभएका काठमाडौँ विश्वविद्यालयका प्रा डा सुवोध शर्माले नदीको प्रदूषण र नदीजन्य सामग्रीको जथाभावी उत्खनन ठूलो समस्याका रुपमा रहेको बताए । उनले चितवनअन्तर्गत नदी आसपास ७१ उद्योग रहेका र उद्योगबाट निस्कने फोहर र तरल पदार्थ प्रत्यक्ष/अप्रत्यक्षरुपमा नदीमै मिसिने गरेको बताए । हेटौंडा क्षेत्रमा नदी आसपासमा ६२ उद्योग भए पनि त्यहाँ औद्योगिक क्षेत्र भएकाले उद्योगले शुद्धीकरण गरेर फोहर विसर्जन गर्ने गरेका छन् ।चितवनमा भएका उद्योग छरिएर रहेकाले शुद्धीकरणका लागि सो व्यवस्था गर्न खर्चिलो हुन्छ । नदी आसपास सिमेन्ट कारखानाका साथै कपडा र साबुन उद्योग, रक्सी र बियर उत्पादक उद्योग, बोटलिङ र अन्य बहुर्राष्ट्रिय कम्पनी रहेका छन् । राप्तीमा मिसिने लोथर र मनहरा दक्षिणतिर बग्ने नदी हुन् भने दक्षिणबाट उत्तरतिर अन्य ससाना आधा दर्जन नदी र खोला छन् । राप्तीमा मिसिने अन्य नदी र खोलाले पनि प्रदूषण बोकेर ल्याउछन् । ‘नदीको प्रदूषण नियन्त्रण र उत्खनन बन्द नगर्ने हो भने पर्सा र चितवन निकुञ्जमा भएका वन्यजन्तु प्रदूषित पानी खाएर बिरामी हुने सम्भावना छ’, प्रा डा शर्माले भने, ‘वन्यजन्तुहरुले पिउने पानीको स्रोत नै राप्ती हो । नदीबाट पानी रसायर भूमिगत भई जङ्गलका बीचमा सिमसार बनेका छन् । त्यही पानी हात्ती, गैँडा, बाघलगायत वन्यजन्तुले पिउँछन् ।’ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् । चितवन निकुञ्जअन्तर्गत नारायणी, राप्ती र रिउ नदी तथा ससाना खोल्सा छन् । राप्ती नदी चितवन निकुञ्जभित्रै नारायणी नदीमा मिसिन्छ । विश्वविद्यालयको जलीय पर्यावरण केन्द्रका निर्देशकसमेत रहेका उनले रयायनयुक्त पानीमा सिसाको मात्रा पनि हुने र पानीसँगै वन्यजन्तुको शरीरमा पुगेपछि स्वास्थ्यमा असर पर्ने उल्लेख गरे । प्रा डा शर्माले आगामी दिनमा निकुञ्जभित्रका सिमसारको अवस्था, सिमसारमा पानी पिउने वन्यजन्तु र उनीहरुको स्वास्थ्यबारे अनुसन्धान गर्ने तयारीमा रहेको बताए ।प्रदूषित पानीकै कारण ठूला वन्यजन्तुलाई क्षयरोग लाग्ने गरेको उनको भनाइ छ । विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु पर्यटकका मुख्य आकर्षक हुन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कूल सात सय ५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन् । यस्तै नेपालमा कूल पाटे बाघको सङ्ख्या तीजसय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ बाघ छन् । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीले हेटौँडादेखि नै नदीमा ढलका साथै उद्योग कलकारखानाको फोहरमैला मिसिने गरेको बताए । ‘लोथर र मनहरी क्षेत्रबाट पनि फोहर मिसिने गरेको छ । राप्ती किनाराका क्रसर उद्योगको फोहर मैला पनि नदीमा मिसिन्छ’, उनले भने । हालै सौराहा बजारको सडक दायाँबायाँ आकाशको पानी मात्र बग्ने गरी निर्माण गरिएको ड्रेनबाट पनि भविष्यमा राप्ती नदीमा फोहर मिसिने अध्यक्ष गिरीको चिन्ता छ । ‘होटल र रेष्टुरेन्टका लागि जग्गा क्षेत्रफलको मापदण्ड लागू गर्न कडाइ नहुँदा सानो क्षेत्रफलमा समेत ठूला होटल खुल्ने गरेको छ । यस्ता होटलले बाध्य भएर नदीमा फोहर मिसाउने सम्भावना रहन्छ । यसबारेमा बेलैमा सोच्नुपर्छ’, उनले भने । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता केन्द्रका आयोजना व्यवस्थापक रचना शाहले नदीमा प्लास्किजन्य फोहर देखिएको बताए । नदीमा प्रदूषण बढ्नाले जलचर प्राणीका साथै वन्यजन्तु र निकुञ्जको पारिस्थितिकीय प्रणालीमै असर पुग्ने उनले बताए । ‘माथिल्लो भेगीय क्षेत्र हेटौँडा मनहरीलगायत क्षेत्रमा भएको फोहर बगेर आउने मुख्य समस्या हो । तल्लो भेगमा प्रदूषण कम छ’, उनले भने, ‘यकिन अध्ययन भएको छैन । प्लास्टिक प्रदूषण देखिएको छ । रसायन प्रदूषण देखिएको छैन । ‘यो पर्यावरणीय संरक्षणका लागि मुख्य चुनौती हो । हामी यसमा काम गर्न खोजिरहेका छौँ ।’ निकुञ्जमा दुर्लभ वन्यजन्तुका साथै घडियाल र मगर गोही, अजिङ्गरलगायत सरिसृप, उभयचर र बसाइँसरी आएका तथा रैथाने गरी पाँच सय ४६ भन्दाबढी जातका चराचुरुङ्गी छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भूपरिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको छ । निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने नदी प्रदूषणमा आफूहरुले कडाइ र नियन्त्रणको प्रयास जारी रहेकाले धेरै फोहर हुन नपाएको उल्लेख गरे । ‘यस क्षेत्रमा त प्रदूषण नियन्त्रण र कडाइमा हाम्रो प्रयास जारी नै छ । तर माथिल्लो भेगमा हुने फोहर बढाउने क्रियाकलाप र भएको प्रदूषणका स्रोतले यहाँ (निकुञ्ज) पनि असर गर्नेतर्फ हेक्का राख्नुपर्छ’, उनले भने । वर्षामा नदीमा प्लास्टिजन्य वस्तु तथा बोतल बगेर आउने गरेको बताउँदै वरिष्ठ संरक्षण अधिकृत पुनले यसमा सबैले सजगता अपनाउनुपर्नेमा जोड दिए । उनले ढलको निकास सिधै खोलामै पुर्याउनुपर्छ भन्ने सोच परिवर्तन गरी शुद्धीकरण गरेर मात्र विसर्जन गर्नुपर्ने सचेतना आवश्यक रहेको उल्लेख गरे । निकुञ्ज क्षेत्रमा पर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नदी प्रदूषण नियन्त्रणका लागि विभिन्न सचेतना कार्यक्रम गरिरहेको बताए । ‘निकुञ्ज क्षेत्रको नदी भएकाले उद्योगलाई दूषित पानी, ढल र अन्य फोहर सिधै नदीमा मिसाउन कडाइ गरेका छौँ’, उनले भने । नगर प्रमुख सापकोटाले भने, ‘केही उद्योगले यसअघि राप्ती नदीको सहायक खोलामा फोहर पानी मिसाएपछि हामीले रोकेका थियौँ ।’ उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले सम्बन्धित उद्योगले अनुमति लिने क्रममा प्रदूषण नियन्त्रणका लागि अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने गरेको बताए । साथै उनले मापदण्ड प्रतिकूल प्रदूषण गर्ने उद्योगलाई कानुनबमोजिम कारबाही हुने उल्लेख गरे । नेपालमा संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रुपमा रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार तीन सय ९२ पर्यटकले भ्रमण गरेका थिए । नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् । रासस
भारतमा मुद्रास्फितिको जोखिम कायमै, ब्याजदर यथास्थितिमा
भारत । भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रबार लगातार सातौं पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण ‘पुनः खरिद् सम्झौता (रिपो रेट)’ ६.५० प्रतिशत कायम रहने बताएको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले यस वर्ष ब्याजदर कटौतीको सङ्केत दिएका छन् । भारतमा मुद्रास्फिति घट्दो क्रममा छ, तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ । सरकारले देशका विभिन्न भागमा गर्मी बढ्ने र यसले खाद्यान्नको मूल्य वृद्धि हुने चेतावनी समेत दिएको छ । बलियो आर्थिक वृद्धिले पनि दर कटौतीको तत्काल आवश्यकतालाई कम गरेको छ । उत्पादन क्षेत्रमा वृद्धि भएसँगै भारतको अर्थतन्त्र डिसेम्बरमा पूरा भएको त्रैमासिकमा ८.४ प्रतिशतको दरले वृद्धि भएको छ । यसले विश्लेषकहरूको सामान्य पूर्वानुमानलाई गलत सावित गरिदिएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले भने, ‘आगामी दिनमा बलियो वृद्धिको सम्भावनाले मुद्रास्फीतिमा ध्यान केन्द्रित गर्न र चार प्रतिशतको लक्ष्यमा मुद्रास्फीतिलाई कायम गर्न नीतिगत बल प्रदान गरेको छ । तर खाद्यान्नको मूल्यमा अनिश्चितताले चुनौती खडा गरिरहेको छ’, उनले भने, ‘त्यसैले मौद्रिक नीति सक्रिय रूपमा अवमूल्यनकारी भइरहनुपर्छ ।’ सन् २०२२ को मे देखि सन् २०२३ को फेबु्रअरीसम्म ब्याजदरमा २.५ प्रतिशत बिन्दुले वृद्धि गरिएकोे थियो । फेब्रुअरीमा भारतको खुद्रा मुद्रास्फीति जनवरीको तथ्याङ्कमा अपरिवर्तित रहँदै ५.०९ प्रतिशत कायम भएको थियो । खाद्य र ईन्धन लागत समावेश नगरिने देशको ‘आन्तरिक मुद्रास्फीति’ चार प्रतिशतभन्दा कम रहेको छ । मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षमा, विशेषज्ञहरूले भारतको वृद्धि दर ७.५ प्रतिशतदेखि आठ प्रतिशतको बीचमा रहेको अनुमान गरेका छन्, जुन सबै प्रमुख अर्थव्यवस्थाहरूमध्ये सबैभन्दा उच्च हो । फेब्रुअरीमा, भारतले अप्रिल १९ मा सुरु हुने राष्ट्रिय निर्वाचनअघि अन्तिम बजेटमा सस्तो लोकप्रियताका लागि हुने खर्चलाई बेवास्ता गरेको चालू आर्थिक वर्षका लागि अपेक्षा गरिएकोभन्दा कम वित्तीय घाटाको घोषणा गरेको थियो । रासस