विकासन्युज

कृषि विकास बैंकको कर्जा मोबाइलबाटै पाइने, कागजपत्र पेश गर्नै नपर्ने

काठमाडौं । कृषि विकास बैंकले एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा ल्याएको छ । यस सुविधा मार्फत योग्य ग्राहकले २ लाख रुपैयाँसम्मको कर्जा पाउने छन् । बैंकका अनुसार उनीहरुले प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ख एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् । कृषि विकास बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ख एपबाट नै कर्जा लिन उक्त कर्जाको भुक्तानी अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने पूर्व भुक्तानको विकल्प पनि रहने छ । एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा योग्य ग्राहकहरुले वाइ नाऔं, पे लेटरको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले कन्भर्ट टु इएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् जसअन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् । यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ् एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा रजिष्टर गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयर मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ् एप भित्र फोनलोन ब्यानर र रजिष्टर बटन देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन् । यो सेवा सुचारु गरे पश्चात सरकारी बैंकहरुमध्ये फोनलोन सेवा संचालनमा ल्याउने कृषि विकास बैंक पहिलो समेत बनेको छ । फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्मा भन्छन्, ‘हाम्रो मुख्य लक्ष्य फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो । साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन् ।’ यसैगरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको एपमा फोनलोनको सुचारु भएसंगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले २ लाख रुपैयाँसम्मको लोन आफ्नै मोबाइल बैंकिङबाटै लिन सक्ने बताएका छन् ।

विश्व बैंकद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न डेढ करोड अमेरिकी डलर विनियोजन

काबुल । विश्व बैंकले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ । बैंकले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषमार्फत यस कोषलाई प्रत्यक्ष वितरण गर्ने उल्लेख छ । अफगानिस्तानमा साना वित्तीय प्रदायकलाई सहयोग गर्ने अफगानिस्तानमा वित्तीय स्रोतहरूमा पहुँच बढाउनका लागि सान्दर्भिक विकल्पमध्ये यो सहयोग एक हो । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैंककी निर्देशक मेलिन्डा गुडले बताइन् । परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु, र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पुर्याई आवश्यक वित्तीय ऋणमा पहुँच गर्न सकून भन्ने रहेको निर्देशक गुडले जानकारी गराइन् । विश्व बैंकले अफगानिस्तानमा साना र मध्यम आकारका उद्यमहरूका लागि वित्तीय स्रोतहरूमा पहुँच बढाउन प्रयास गरिरहेको जनाएको छ । जुन निजी क्षेत्रका व्यापार र लगानीमा काम गर्ने महिलाहरूका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थनमा भएको वृद्धिसँग समानान्तर हुन्छ । बैंकका अनुसार यो पहल अफगानिस्तानका काबुल, कुन्दुज, नङ्गरहार, परवान, समङ्गन, सर–ए पोल, तखर, हेरात, डिकुन्डी, फरयाब र जोजजानलगायतका १५ प्रान्तहरूमा केन्द्रित हुनेछ । यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले धेरै परियोजनाहरू घोषणा गरेको छ । यसले अफगानिस्तानको अर्थतन्त्रलाई बढावा दिई अफगान महिला उद्यमीहरूको कम्पनीहरू चलाउन सशक्त बनाउने कुरामा जोड दिएको छ । अफगानिस्तानमा, शिक्षा र रोजगारीमा महिलाहरूकोे पहुँचमा सीमितताको परिणाम स्वरूप व्यापार र व्यवसायमा महिलाको चासो बढेको छ । रासस

डिब्यानले आयोजना गरेको निबन्ध प्रतियोगिताको विजेता घोषणा

काठमाडौं । विश्व वित्तिय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको विजेताको घोषणा भएको छ । २०८० फाल्गुण ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत्र ०७ गते साँझ ०५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको हो । सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएकी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएका छन् । मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएका छन् । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरुउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो । विश्व वित्तिय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा वर्षेनी मनाइने अभियान हो । विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

सुनसरीका विभिन्न गाउँपालिकामा कर्फ्यु, पाँच बजेदेखि लागू हुने

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा शुक्रबार अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ । कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ । यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिति सृजना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ । रासस

ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकले फिस्टेल हस्पिटलमा छुट पाउने

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकलाई फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरमा छुट हुने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले सम्पुर्ण ग्राहक तथा कर्मचारीहरुका लागी फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पछि बैंकका ग्राहक एवं कर्मचारीहरुले हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा ५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । पोखरामा गैहृापाटनमा अवस्थित हस्पिटलबाट अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट विभिन्न रोगहरुको उपचार हुदै आएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रवन्धक संयुक्त बहादुर धाख्वा र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष प्रा.डा. भोला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एआईले विश्वव्यापी साइबर अपराध बढाएको विश्वकै ठूलो पुनर्बीमा कम्पनीको दावी

बर्लिन । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी ‘म्युनिख रेले’ प्रविधिको तीव्र विकास, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण बढ्दो साइबर जोखिमको बारेमा चिन्ता व्यक्त गरेको छ । बिहीबार प्रकाशित गरेको पुनर्बीमा कम्पनीले आफ्नो प्रतिवेदनमा गत महिनामा ‘साइबर अपराधमा वृद्धि भएको र यसमा रेन्समवेयर (रेन्समवेयर यस्तो साइबर हमला हो जहाँ भाइरस भएको सपट्वेयर इन्टरनेटको माध्यमबाट पठाइन्छ)’ ले भूमिका खेलेको छ । गत वर्ष मात्रै अघिल्लो तीन वर्षको तुलनामा दोब्बर साइबर अपराध आक्रमण भएको थियो । डाटा प्लेटफर्मले स्टाटिस्टा (यो तथ्याङ्कको एक व्यापक संग्रहसंगै एक वैश्विक डाटाको खुफिया प्लेटफर्म हो) ले अनुमान गरेका अनुसार साइबर अपराधको वार्षिक विश्वव्यापी लागत ८.१५ ट्रिलियन अमेरिकी डलरबाट १३.८ ट्रिलियन अमेरिकी डलरमा बढ्न सक्ने भनेको छ । साइबर अपराधीले एआईद्वारा संचालित फिसिङ इ-मेलहरू र कलहरू पीडितहरूलाई धोका दिन प्रयोग गर्न सक्ने प्रविधि विशेषज्ञहरूको समूह ‘म्युनिख रे’ ले चेतावनी दिएको छ । एआईद्वारा निर्माण गरेको ‘भ्वाइस इन्जिन’ले रेकर्ड गरेको श्रव्य सामग्रीको मात्र १५ सेकेन्ड प्रयोग गरेर कुनै पनि व्यक्तिको आवाज उत्पन्न गर्न सक्ने र त्यो धेरै जोखिमपूर्ण मानिएको उनीहरूले बताएका छन् । विगत एक दशकमा साइबर जोखिम व्यवस्थापनको अत्यावश्यक अङ्गका रूपमा साइबर बीमा रहेको छ । विगत पाँच वर्षमा साइबर बीमा बजारको आकार झण्डै तीन गुणा बढेको र सन् २०२७ सम्ममा दोब्बर हुने (करिब २९ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । साइबर युद्धबाट हुने क्षति निजी क्षेत्रले वहन गर्न नसक्ने म्युनिख रेका साइबर विशेषज्ञ जुर्गेन रेनहार्टले बताए । रासस/सिन्ह्वा

एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भएको छ । बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठ बीच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो । उक्त बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षद्वय रामु पौडेल, विश्वम्भर न्यौपाने र सम्पूर्ण सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त अन्तिम सम्झौता पश्चात दुवै संस्थाहरुले छुट्टा छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया समपन्न गरी एकिकृत कार्य गर्ने छ । बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ । विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न यस साझेदारीले सहयोग हुने अपेक्षा गरिएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफल मूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्तिले उल्लेखिय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।

सरकारी कलेज पढाउने शिक्षकले निजीमा पढाउन पाइने नपाइने विषय विज्ञले भन्नुपर्छ : मन्त्री सुमना श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरकारी कलेजमा पढाउने शिक्षकले निजी कलेजमा पढाउन हुने नहुने विषयमा विज्ञले गर्नुपर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएकी हुन् । पत्रकारहरुले सरकारी स्कुल कलेजमा पढाउने शिक्षकहरुले निजी स्कुल/कलेजमा पढाउने वा सञ्चालन गर्ने गरेको प्रसंगको जवाफमा उनले सो विषय कस्तो हो भन्ने सन्दर्भमा विज्ञहरुले भन्नुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले शैक्षिक कन्सल्टेन्सी क्षेत्रमा विकराल समस्या रहेको भन्दै अधिकांश कन्सल्टेन्सीहरु नवीकरण पनि नभएको बताएकी छन् । उनले सो क्षेत्रको समस्या समाधानको लागि उद्योग मन्त्रालयदेखि अन्य मन्त्रालय लगायतका मन्त्रालयहरुपनि मिलेर काम गर्नुपर्ने बताएकी छन् ।