विकासन्युज

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

वीरगञ्ज । पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो । दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ७० प्रतिशत  व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले बताए । उनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पर्सामा ६ सय ७३ नयाँ उद्योग दर्ता भएकामा तीमध्ये दुई सय ९९ व्यवसायका सञ्चालक महिला छन् ।  महिलाका नाममा दर्ता भएका व्यवसायमा सिलाइकटाइ, ब्युटीपार्लर छन्भने उद्योगतर्फ  कृषि, माछा तथा पशुपालन छन् । नयाँ दर्ता भएका उद्योगमा एक हजार सात सय नौ जना पुरुष र एक हजार दुई सय ८० जना महिलाले रोजगारी पाएका उक्त कार्यालयले जनाएको छ । आठ महिनमा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटाको नामसारी, २५ वटाको ठाउँ सारी, पाँच वटा उद्योगको वातावरण परीक्षण, एक सय २५ वटा उद्योगको पुँजीवृद्धि गरिएको छ । उक्त अवधिमा सात सय २६ वटा उद्योगको नवीकरण, ७९ वटाको लगत कट्टा, ६ वटाको शाखा विस्तार तथा ३३ वटा उद्योगको उद्देश्य थप गरिएको छ । नयाँ उद्योग दर्ता, नवीकरणलगायत सेवा प्रवाहबाट राज्यकोषमा रु ५४ लाख १९ हजार ७५ दाखिला भएको छ ।

कांग्रेसलाई रास्वपाको जवाफ : अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गरिरहेको छ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरूले विरोध गरिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लोकतन्त्र सिकाउन खोज्ने कांग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्नसमेत गरे । मन्त्री अर्याललले कांग्रेसका युवा नेताहरूलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरूले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरूको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए । उनले देशको नेतृत्व गर्न नपाउने छटपटिमा कांग्रेसका युवा नेताहरू तड्पिएको बताए । अर्यालले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न कांग्रेसलाई आग्रह गरे । उनले कांग्रेसले हामी बोली रहन्छौँ, तँ सुनिराख, तर बोल्ःन पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताए । ‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले । उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ । तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटि भएको छ’ मन्त्री अर्यालले भने, ‘अचम्म लाग्छ । जनताले त भोट हालिहाल्छ नि तपाईंले राम्रो काम गर्नुभयो भने । वाकतन्त्र, वाकतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, ए हाम्रो ७० वर्षको, ५० वर्षको इतिहास छ, लौ न त ठिकै छ, तपाईंले नै सिकाएको लोकतन्त्रअनुसार हामीले पनि त बोल्न पाउँछ होला, तपाईंले मात्रै बोल्ने लोकतन्त्र त भन्नुभएको होइन होला ।’ उपसभापति अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एकरदुई लाख रुपैयाँसम्म दिने बताए । उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । अर्यालले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गरे । उनले भने, ‘रास्वपको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरूलाई म अलिअलि दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु ।’ श्रममन्त्री अर्यालले कुनै पनि दिन देशको कानुनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको समेत बताए । उनले केही गर्छु देशका लागि भनेर आउनेलाई कस्टडीमा राख्दै जाने हो भने नुवाकोटको जेल छिटै उद्घाटन हुँदै गरेको र जेल भर्ने लक्ष्यका साथ आरोप लगाइएको हो भने आफूहरु गएर बस्न तयार रहेको बताए । अर्यालले देशमा जेलमा नबसेको मानिसले राजनीति गर्न हुँदैन भन्ने नेपाली कांग्रेसको बुझाइ हो भने जेलमा गएर बस्न स्वीकार रहेको बताए ।

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो । हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ । यसअघि ६ वटा वडालाई पकेट क्षेत्र बनाइएको थियो । गाउँपालिकाक अनुसार यस वर्ष एक र ७ नं वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीको बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिँदै आएको छ । ‘कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आएको छ,’ पालिकाको कृषि शाखा प्रमुख खिमबहादुर डाँगीले भने । शाखा प्रमुख डाँगीका अनुसार यो वर्ष पनि कफी प्रवर्द्धन कार्यक्रम गाउँपालिकाको बजेटमा उल्लेख गरिएको छ । सडकको विकाससँगै कफीखेती गर्ने किसानको संख्या पनि बढिरहेको बताइन्छ । गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ मा १÷१ वटा पटेक क्षेत्र स्थापना गरिएको हो । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिइ सुरुआतदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताए । उनले भने, ‘बाँकी दुई वटा यही आर्थिक वर्षभित्र पकेट क्षेत्र बनाउने योजनाका साथ गाउँपालिका लागेको छ ।’ उनका अनुसार कफी बिक्रीबाट पालिकाभित्र वार्षिक ५० हजारदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान छन् । सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नं २ मा सबैभन्दा बढी कफीखेती भइरहेको छ । पालिकाका वडा नं ३, ४, ५, ८, ६, ७ र १ मा कफीखेती हुँदै आएको हो । उक्त गाउँपालिकाका एक हजार किसान व्यावसायिक कफीखेतीमा संलग्न छन् । कृषि शाखाका अनुसार गत वर्ष करिब डेढ लाख केजी चेरी (कफीको फल) उत्पादन भएको थियो । एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीको बिरुवा वितरण गरेको थियो भने कफीको दुई नर्सरी स्थापना गरेको जनाएको छ ।

समृद्धि फाइनान्सद्वारा निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सले चैत्र २३ गते संस्थागत सामाजिक उक्तरदायित्व कार्यक्रमअन्तर्गत पुतलीसडक कार्यालयद्धारा एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो । आर्सिया डेन्टल तथा जे।जि।एस आइ केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए । उक्त कार्यक्रममा दन्त परीक्षण अन्तर्गत २८० जना र आँखा परीक्षणमा ३२९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिएको जानकारी फाइनान्सले गराएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरू तय गरेकोमा चैत्र महिनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरूको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गरिरहेको छ ।

किसानलाई कामको चटारो (फोटो फिचर)

काठमाडाैं । किसान देशका मेरुदण्ड हुन् । तर, अहिलेकाे अवस्थामा कृषिमा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । यसकाे कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो । अर्को कुरा सरकारको उदासिनता पनि । किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर, वस्तुको बजार सिमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । गर्मी सुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान । तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् । हुनतः खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै । असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन । लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् । यतिबेला उनीहरूलाई नयाँ वर्षको रमझमभन्दा खेतीपाती नै प्यारो छ । न्युज एजेन्सी नेपाल

लठ्ठा चुँडिएपछि त्रिशूली पुलको आवागमन बन्द

त्रिशूली। नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरूपमा बन्द भएको छ । देवीघाट जलविद्युत केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो । उनले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे । विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुंगा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ । बट्टार बजारबाट मान्द्रेढुङ्गा हुँदै चैनपुर, दाङसिंह जाने उक्त मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा ‘प्रादेशिक सडक गुरुयोजना’मा समावेश गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ । सडकलाई गुरुयोजनामा समावेश गरिएको भए पनि पुलको मर्मतसम्भार एवं पुनःनिर्माण सम्बन्धमा निर्णय भएको छैन ।

पर्यटन बोर्डमा खुल्यो सीईओ आवेदन

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि निवेदन आह्वान गरिएको छ । लामो समयदेखि रिक्त रहेको सीईओ पदपूर्तिका लागि पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । यसअघिका सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओको कार्यकाल चार वर्षको हुन्छ । यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरूले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । इच्छुक प्रतिस्पर्धीले १२ दिनभित्र आवेदन दिन सक्नेछन् ।

बञ्चरेडाँडामा फोहोर लैजान स्थानीयले गरे अवरोध

नुवाकोट । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए । आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिंदैनौं,’ उनले भने । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर व्यवस्थापन हुने गरेको छ ।