एचआईडीसीएलको १ करोड ७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरूले आजदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १ सय रुपैयाँ नघट्ने गरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिनेछ । ग्लोबल आईएमई क्यापिटलको नक्साल कार्यालय, ग्लोबल आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । यो सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।
चन्द्रयान-३ को सफलताबाट अर्बपति बनेका रमेश
काठमाडौं । संसारका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्सले चालु वर्ष २०२४ का लागि अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ, जसमा धेरै भारतीय अर्बपतिहरूको सम्पत्ति बढेको छ । मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । जबकि, गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन् । यीसँगै केही अन्य धनी व्यक्तिको सम्पत्ति पनि बढेको छ, जसका कारण उनीहरू फोर्ब्स अर्बपतिको सूची (फोर्ब्स बिलिनायर लिस्ट २०२४) मा परेका छन् । यसमा एकजना छन् रमेश कुन्हीकन्नन । रमेशको नाम पहिलो पटक फोर्ब्सको अर्बपति सूचीमा परेको छ । रमेशले विश्वका अर्बपतिहरूको सूचीमा आफ्नो स्थान बनाएका छन्, जसमा इलन मस्क, जेफ बेजोस र मुकेश अम्बानी जस्ता धेरै दिग्गजहरू समावेश छन् । चन्द्रयान अन्तरीक्षमा पुग्न सफल भएपछि ६० वर्षका रमेशले अर्बपति सूचीमा परेर यो उपलब्धि हासिल गरेका हुन् । उनको कुल सम्पत्ति १ अर्ब २० करोड अमेरिकी डलर (लगभग १ खर्ब भारु) छ । को हुन् रमेश कुन्हीकन्नन ? रमेश केन्स टेक्नोलोजी कम्पनीका प्रबन्ध निर्देशक र संस्थापक हुन् । इलेक्ट्रोनिक्स उत्पादन कम्पनीको मुख्यालय मैसुर भारतमा छ । रमेशले सन् १९८८ मा नेसनल इन्जिनियरिङ, मैसुरबाट स्नातक उपाधि हासिल गरेपछि यो कम्पनी सुरु गरेका थिए । तर, हाल यस कम्पनीको अध्यक्ष उनकी पत्नी सविता रमेश छिन् । चन्द्रयान-३ का लागि खेलेका थिए प्रमुख भूमिका चन्द्रयान-३ मिसनका लागि रमेशले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले चन्द्रयान-३ को रोभर र ल्यान्डर दुवैका लागि बिजुली उत्पादन गर्न आपूर्ति विद्युत प्रणाली डिजाइन गरे र अगस्ट २०२३ मा भारतको ऐतिहासिक चन्द्रयान-३ को सफल अवतरणमा प्रमुख भूमिका खेले । आईएसआरओको चन्द्रयान-३ मिसन लगभग ६ अर्ब १५ करोड भारुको थियो । सेयर बढेसँगै बढ्यो सम्पत्ति केन्स टेक्नोलोजी कम्पनीमा रमेशको ६४ प्रतिशत सेयर छ । चन्द्रयान-३ को सफलतापछि यस कम्पनीको सेयरमा उल्लेख्य वृद्धि भएको छ । साथै, यो कम्पनी नोभेम्बर २०२२ मा सेयर बजारमा आएको थियो । त्यसयता यस कम्पनीको सेयर मूल्य तीन गुणाले बढेको छ । यस्तो अवस्थामा कुन्हीकन्ननको सम्पत्ति बढेर १ अर्ब २० करोड डलर पुगेको छ । एजेन्सी
यी भू-भागमा हावाहुरीसहित पानी पर्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका भूभाग लगायत लुम्बिनी प्रदेशको पूर्वी तराईका भू-भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
भूकम्पका कारण हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार
हुलियान । विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौँ पर्यटक तथा सर्वसाधारणलाई हवाइ मार्गबाट उद्धार गर्न सुरु गरिएको छ । ताइवानी हेलिकप्टरले पर्यटकलाई सुरक्षित स्थानमा पुर्याउन शनिबार उडान भरेका छन् । ताइवानमा बुधबार गएको ७।४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार १०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ठूलो पहिरो खसेको थियो जसका कारण ताइवानको पूर्वपश्चिम राजमार्गको सुरुङ र घुमाउरो सडकको लामो खण्ड अवरुद्ध भएको थियो भने पहाडी भिरालो जमिनमा कोरिएका उत्तरदक्षिण क्षेत्रका तटीय मार्ग पनि अवरुद्ध भएका थिए । राजधानी ताइपेइबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हुलियानमा भूकम्पपछि शनिबार बिहान ५।२ म्याग्नीच्यूडसहितका ३०० भन्दा बढी परकम्प गएका छन् । तर, नेसनल एयरबोर्न सर्भिसका हेलिकप्टरहरूले तारोको राष्ट्रिय निकुञ्ज नजिकैको प्रभावित क्षेत्रमा उद्धारका लागि उडान भरिरहेका छन् । एएफपीका एक कर्मचारीले एउटा विमानमा १२ जना र अर्को उडानमा १६ जना सवार रहेको देखेका थिए । ताइवानी समाचार संस्था ‘इटी टुडे’ का अनुसार वृद्धवृद्धा, कमजोर, महिला, बालबालिका र दीर्घरोग भएका व्यक्तिलाई उद्धारका क्रममा पहिलो प्राथमिकता दिइएको छ । पहाडी क्षेत्रमा रहेको सिल्क्स प्लेस होटलबाट करिब ४०० भन्दा बढी पर्यटक र कर्मचारीहरू फसेका स्थानबाट उद्धार भएकाहरू सबै जना थकित देखिए पनि सबैले उद्धारका लागि खुशी व्यक्त गरेका छन् । उनीहरूले आफन्त तथा साथीहरू अझै माथिल्लो भागमा फसेको बताउँदै उनीहरूको उद्धारमा तदारूकता देखाउन आग्रह गरे । झोउ नाम गरेका एक पास्टरले स्थानीय सञ्चारमाध्यमसँग भने, सबुधबारको भूकम्प पछि पनि धेरै पराकम्पनहरू आएका र यसले उद्धारको पखाईमा पहाडी क्षेत्रमा रहेका पर्यटक तथा सर्वसाधारणलाई निकै निराश बनाएको बताए। परकम्प पनि निकै ठूला र भयानक महसुस गरिएको थियो । उद्धारकर्ताहरूले दुर्गम प्राथमिक विद्यालयका विद्यार्थी, शिक्षक र बासिन्दाहरूको समूहलाई खाना र आपूर्तिका बाकसहरू पनि हवाई मार्ग हुँदै ठाउँठाउँमा खसालेका थिए । अन्य क्षेत्रमा पनि इञ्जिनियरहरूले सडक र सुरुङको प्रवेशद्वारबाट ठूला ठूला ढुङ्गाहरू हटाउन चौबिसै घण्टा काम गरिरहेका स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । ताइवानका नवनिर्वाचित उपराष्ट्रपति सियाओ बि–खिमले भने, ‘उद्धारकर्ताहरूले हार मानेका छैनन् । रातदिन काम गरिरहेका छन् ।’ ताइवानमा सन् १९९९ मा गएको ७’६ म्याग्नीच्युडको भूकम्पपछि बुधबारको भूकम्प सबैभन्दा शक्तिशाली भूकम्प हो । त्यस समय मृत्यु हुनेको सङ्ख्या निकै बढी थियो । सम्भवत ताइवानको इतिहासकै सबैभन्दा घातक प्राकृतिक प्रकोप थियो । उक्त भूकम्प र यसबाट सिर्जित प्रकोपका कारण करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो । भवन कोडहरूमा बढ्दो भूकम्पीय आवश्यकतासहित व्यापक सार्वजनिक प्रकोप जागरूकताले यस पटक अधिक गम्भीर विपत्तिबाट निकै कममात्र मानवीय क्षति भएको देखिन्छ । भूकम्पजन्य प्रकोपबाट हुने क्षतिलाई कम गर्न बनेको राष्ट्रिय निकायले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा भूकम्पका कारण ८४ वटा भवनमा ठूलो क्षति पुगेको उल्लेख छ ।
युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च
किएभ । युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्डसहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैंकले जनाएको छ । मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले बढेको छ । युक्रेनले विदेशी साझेदारहरूबाट लगभग ९.३ अर्ब डलर प्राप्त गरेको थियो जसमा युरोपेली सङ्घबाट ४.९ अर्ब डलर तथा विश्व बैंकबाट १.६ अर्ब डलर प्राप्त गरेको छ । मार्चमा युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का लागि आफ्नो दायित्व पूरा गर्न करिब ७२ करोड ८० लाख डलर र सार्वजनिक ऋणको सेवा र भुक्तानीका लागि करिब ३६ करोड ३० लाख डलर खर्च गरेको थियो । हाल, युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति करिब ६ महिनाका लागि पर्याप्त छ । युक्रेनको विदेशी मुद्रा भण्डार सन् २०२३ मा ४०.५ अर्ब डलर रहेको छ जुन सन् २०२२ को तुलनामा ४२ प्रतिशतले बढी हो ।
मर्मत भएनन् मार्तडीका सोलार बत्ती
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाको बजार क्षेत्रमा जडान गरिएका सोलार (स्यौर्य) बत्ती दुई वर्षदेखि मर्मत हुन सकेका छैनन् । बिग्रिएका सोलार बत्ती नगरपालिकाले मर्मत नगर्दा हाल प्रयोगविहीन अवस्थामा छन् । मार्तडी बजार क्षेत्रमा रातिको समयमा आवतजावतमा सहजताका लागि मालिका माध्यमिक विद्यालयदेखि जिल्ला अस्पताल, खुलामञ्चदेखि गौडाडिलसम्म र खुलामञ्चदेखि चैडिलसम्मको क्षेत्रमा सोलार बत्ती जडान गरिएका थिए । बिग्रेका बत्ती मर्मत गर्न नगरपालिकाले चासो देखाएको छैन । विसं २०७४ मा स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरेको हो । रातिको समयमा दुर्घटनाको जोखिम बढेको छ’, स्थानीय उर्मिला रोकायाले भने। मार्तडी बजारको सडकको छेउमा सोलार बत्ती निर्माण गर्ने अभियानसहित बडीमालिका नगरपालिकादेखि गौणडिल, लोकतान्त्रिक चोक हुँदै डिभिजन वन कार्यालय र मालिका मन्दिरको चैतडिलसम्म सौर्यबत्ती जडान गरी प्रयोगमा ल्याएको थियो । सदरमुकाम मार्तडी बजारलाई सौर्यबत्तीले झिलीमिली र बजारको प्रत्येक ठाउँमा राख्ने भनिएका सिसी क्यामरा पालिकाको नीति तथा कार्यक्रममा मात्र सीमित छ । स्थानीय तहले सोलार बत्ती मर्मत कार्यमा ध्यान नदिएको स्थानीय हर्कबहादुर थापाले बताए । नगर उपप्रमुख नन्दा थापाले सोलार बत्ती मर्मतका लागि गत आर्थिक वर्षमा बजेट अभाव भएको बताए । उनले चालू आर्थिक वर्षभित्रै सोलार बत्ती मर्मत गरिने बताए। पालिकामा प्रमुख प्रशासकीय अधिकृत केही समय अन्यत्र सरुवा हुँदा कामा बाधा पुगेको उपप्रमुख थापाको भनाइ छ ।
कानुनमा सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौँ : मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताएका छन् । आज आयोजित नेपाल वितरक महासङ्घको १२औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री गिरीले कानुनमा भएका व्यवस्थाका कारण कुनै पनि क्षेत्रलाई काम गर्न अप्ठ्यारो नहोस् भनेर सुझाव लिने संयन्त्र तयार पारिने बताएका छन् । देशभित्र भएका नागरिकले जुनसुकै पेसा व्यवसाय अँगाल्दा कुनै ऐन अथवा कानुनले समस्या पारेको भए त्यसलाई सहज बनाउन राज्यको दायित्व हो’ मन्त्री गिरीले भने । नेपाल वितरक महासङ्घका अध्यक्ष हरिराज पन्तले विभिन्न कम्पनीबाट उत्पादित तथा आयातीत वस्तुलाई उपभोक्तासम्म पुर्याउने काम वितरकले गरिरहेका भए पनि विद्यमान वाणिज्य ऐनमा यस सम्बन्धी व्यवस्था नरहेको बताए ।
भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटा-माम्ती सडक निर्माण सुस्त
धुलिखेल । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिक–४ मेथिनकोटका स्थानीय माधव कँडेलले सडक विस्तारसँगै स्तरोन्नति लागि खनिएकामा निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा वरिपरिका बस्ती र सडक प्रयोगकर्तालाई समस्या भइरहेको बताएका छन् । सडक ठेक्का सम्झौता भई काम थालेर व्यवस्थित बनाउनेतर्फ ध्यान नदिँदा यहाँका नागरिकले सास्ती ब्यहोर्नुपरेको उनको भनाइ छ । सोही ठाउँका प्रेमप्रसाद चिमोरियाले सडक विस्तारका लागि भनेर भत्काएपछि अहिले एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था आएको बताए। ‘खनेपछि सोहोरेर सफा गर्दै गाडी आवतजावत गर्ने ठाउँ बनाउनु पर्ने हो । त्यसै छोडिएको छ, कामलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो’, उनले भने, ‘त्यसो गर्नुको सट्टा खनेर बिगारेपछि महिनौँसम्म सम्याउने काम समेत निर्माण व्यवसायले नगर्दा आवागमनमा सास्ती भइरहेको छ ।’ स्थानीय कमलनाथ चिमोरियाले बसाइ लेकमा र खेतीपाती बेँसीमा भएकाले दैनिक आउजाउ गर्न नै कठिनाइ भइरहेको बताए। भइरहेको सडकलाई खनेर बिगारेपछि समयमा काम गर्नुपर्ने भन्दै त्यासो नगर्दा आवातजावतमा कठिनाइ झेल्नका साथै सडक आसपासका घरबस्तीमा धुलोले समस्या पुर्याइरहेको उहाँको भनाइ छ । ‘भएको सडक खनेर बिगार्यो तर बनाउनेतर्फ ध्यान नै दिएनन्’, चिमोरियाले भने । स्थानीय बासिन्दा राजन पौडेलले १९ महिनाअगाडि निर्माण सुरु भए पनि भत्काएर लथालिङ्ग पारेपछि आफूहरुले समस्या भोग्दै आएको बताए। आगामी बर्खाभरिमा बाटो सम्पन्न नगर्ने हो भने अझै सास्ती हुने भन्दै छिटो काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरुले दबाब दिन उनले आग्रह गरे । सडक डिभिजन भक्तपुरका इञ्जिनियर विन्दु अधिकारीले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नमोबुद्ध–५ च्यानडाँडासम्म सात किलोमिटर र तेमाल गाउँपालिका–५ को याङवेलबाट चापाखोरीसम्मको छ किमी सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७९ साउन १६ गते केएस देवी रमन-तेज जेभीले रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता भएको जानकारी दिए । विसं २०८१ साउन १५ गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ । देवी रमण निर्माण सेवाले सम्झौता गरेर काम नगर्दा समस्या भएको भन्दै हाल अर्को निर्माण कम्पनीले कामको जिम्मा लिएपछि केही प्रगति भएको इन्जिनियर अधिकारीले बताए । उनका अनुसार सम्पन्न गर्नुपर्ने समय सकिन करिब चार महिना मात्रै बाँकी रहँदा जम्मा २२ प्रतिशत मात्रै प्रगति भएको छ । तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्नका लागि ताकेता गरिरहेको भन्दै कार्यप्रगतिबारे निरन्तर अनुगमन गरिरहेको उनले बताए । निर्माण व्यवसायी सचिन बजगाईँले यसअघि सम्झौता गर्ने कम्पनीले काम छोडेपछि आफूले तीन महिनाअघि कामको जिम्मा लिएर निरन्तरता दिएको बताए। पहिला काममा ढिलाइ भएको स्वीकार गर्दै अब कामले निरन्तरता पाउने उनको भनाइ छ । जनशक्ति थप गरेर कामलाई तिव्रता दिने उनले बताए । तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले नमोबुद्ध नगरपालिकाभित्र काम भएसँगै पालिकाको सडकखण्डमा पनि काम थालनी गर्न आग्रह गर्दै बीचमा केही समस्या भएमा समन्वय गरेर सहजीकरण गर्न पालिका तयार भएको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले निर्माण व्यवसायीले बीचमा काम छोडेकाले समस्या भएको भन्दै अहिले त्यो समस्या समाधान भएको बताए । सडक खनेपछि व्यवस्थित नगर्ने र बीचमा काम छोड्ने गरेकाले आगलागी हुँदा वा अस्पताल पुर्याउन पनि सवारी सञ्चालन हुने अवस्था नभएको भन्दै अहिले काममा फर्किएको निर्माण कम्पनीलाई निरन्तर रुपमा काममा लाग्न दबाब दिने बताए । काम रोकिएपछि दुई पटकसम्म सडक डिभिजन कार्यालयमा गएर कामलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरेको बताउँदै लामाले निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले कामको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको कामको प्रगति विवरण पेस गर्न आग्रह गरे। ‘नागरिकको माग समयभित्र काम सम्पन्न गर्नुपर्यो भन्ने छ’, उनले भने, ‘काम गर्दा बीचमा आइपरेको समस्या समाधान गर्न पालिकाहरू र जिल्ला समन्वय समिति तयार छ । हामी आवश्यक सहजीकरण गर्नेछौँ । नागरिकलाई दुःख दिने काम नगरौँ ।’ सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्नेछ । रासस