विकासन्युज

हमाससँगको युद्धले इजरायलमा कामदार अभाव, कम तलबमा पनि हजारौं भारतीय जाँदै

काठमाडौं । हमाससँगको युद्धपछि इजरायलमा कामदार अभाव भएको छ । युद्धका कारण भएको क्षति कम गर्न र पूर्वाधार निर्माणका लागि भारतबाट त्यहाँ मजदुर पठाइएको छ । हरियाणाबाट ६० कामदारको पहिलो समूह इजरायल पुगेको छ । कामदार अभाव भएपछि इजरायल सरकारले भारतीय कामदार भर्ना गर्ने निर्णय गरेको थियो । दुई सरकारबीच यो सम्झौता हुँदा हरियाणा सरकारले हजारौं बेरोजगारलाई रोजगारी दिने घोषणा गरेको थियो । यसका लागि विभिन्न सहरमा शिविर आयोजना गरी भर्ना प्रक्रिया सुरु गरिएको थियो । तोकिएका भर्ती सर्तहरू पूरा गर्नेलाई अब क्रमशः इजरायल पठाइँदै छ । भर्ती प्रक्रियाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । रोजगारी खोज्ने अधिकांश युवा उत्तर प्रदेश ९यूपी० र बिहारबाट आएका थिए । इजरायली टोली भर्ती प्रक्रियाको एक भागका रूपमा आवेदकहरूको परीक्षण गर्न आएको थियो । इजरायलबाट आएको टोलीले शटरिङ, पेन्टर र खेतबारीसम्बन्धी कामका लागि परीक्षणका आधारमा मजदुर भर्ती गरेको थियो । रोजगारी पाउनेमा यूपी, बिहार बाहेक पञ्जाब र राजस्थानका युवाहरू पनि परेका थिए । इजरायलमा ठूलो क्षति भएपछि त्यहाँको सरकारले भारतसँग सहयोग मागेको थियो । यसका लागि भारतमा भर्ना प्रक्रिया चलाएर कामदार छनोट गरिएको थियो । युद्ध हुनुअघि प्यालेस्टिनी मजदुरहरू त्यहाँ काम गर्थे । तर, हमाससँगको युद्धपछि उनीहरूको अनुमति रद्द भयो । त्यसपछि इजरायलमा कामदार अभाव भयो । यो अभाव पूर्ति गर्न सरकारसँगको सम्झौताअनुसार शिविर आयोजना गरी भर्ना गरिएको हो । आगामी दिनमा भारतबाट विभिन्न ब्याचमा थप कामदार पठाइने भएको छ । इजरायलमा तलब अन्य देशभन्दा कम मिडिया रिपोर्टका अनुसार इजरायल पठाइएका कामदारहरूसँग एक वर्षको सम्झौता गरिएको छ । समाचार एजेन्सी एपीका अनुसार इजरायल जाने भारतीय मजदुरहरूले हरेक महिना ६ हजार १ इजरायली नयाँ शेकेल मुद्रा पाउनेछन् । भारतीय रुपैयाँमा यो लगभग १ लाख ४० हजार हो । तलब बाहेक १६ हजार ५ सय १५ रुपैयाँ बोनस दिइने छ । त्यहाँ काम गर्ने मजदुरहरूलाई इजरायली सरकारले स्वास्थ्य बीमा, खाना र बासको व्यवस्था गर्दै आएको छ । तर, यूएई र अमेरिकामा कामदारहरूले यो भन्दा बढी पैसा पाउँछन् । युएई र अमेरिकामा तलब अन्तर्राष्ट्रिय मानव संशाधन संगठनका अनुसार सन् २०२३ मा युएईको औसत तलब १६ हजार ५ सय दिराम रहेको छ । भारतीय रुपैयाँमा यो लगभग ३ लाख ७५ हजार हो । यसबाहेक, अमेरिकामा कुनै पनि कामदारको औसत तलब ७.५ डलर प्रतिघण्टा छ । यदि कसैले १२ घण्टा काम गर्छ भने उसले प्रतिदिन ८८ डलर कमाउने छ। एक दिनको ७ हजार ३ सय ३६ भारु हुन्छ । प्रतिमहिना हिसाब गर्ने हो भने २ लाख २० हजार रुपैयाँ हुन्छ । एजेन्सी

इलाम क्षेत्र नं २ उपनिर्वाचन : सुहाङसहित सात जनाको मनोनयन दर्ता

इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ कोे उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । सुहाङसहित हालसम्म सातजनाले मनानयन दर्ता गराइसकेका छन् । बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुग्नुभएका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहेका छन् । सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) ले मनोनयन दर्ता गराएका थिए । यस्तै, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन् । डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् । रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई साढे २ करोड क्षतिपूर्ति

दमौली । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरूप दुई करोड ३१ लाख रुपैयाभन्दा भन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरूप उक्त रकम प्राप्त गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन् । उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तनहुँबाहेक अन्य ठाउँका सात जनाले २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, ६ जेल, १२ करार उल्लंघन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए । रानाले भनिन्, ‘आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।’ सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ । ६ हजार बढीलाई परामर्श कार्यक्रममार्फत हालसम्म ६ हजार ६ सय ९१ जनालाई परामर्श प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रूपमा जानका लागि सर्वसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ । रानाका अनुसार व्यासका एक हजार चार सय ५६, शुक्लागण्डकीका एक हजार ७३ तथा भानु नगरपालिकाका एक हजार १४, म्याग्देका पाँच सय १७, भिमादका छ सय ७१, बन्दीपुरका तीन सय ९९, देवघाटका तीन सय चार, घिरिङका तीन सय ८३, ऋषिङका पाँच सय ५४ र आँबुखैरेनी गाउँपालिकाका तीन सय २० जनालाई परामर्श सेवा दिइएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास, भानु र शुक्लागण्डकी नगरपालिकाका साथै म्याग्दे, भिमाद, देवघाट र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएकामा यो प्रभावकारी बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘सामी कार्यक्रमलाई अबको आर्थिक वर्षदेखि स्थानीय तहले सञ्चालन गर्नुपर्ने अवस्था आउन लागेको छ । यो कार्यक्रम निकै प्रभावकारी बनेकाले त्यसका लागि हामी तयार छौँ ।’ गण्डकी प्रदेशका जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने तनहुँ उच्च जिल्ला रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन यो कार्यक्रमले सहयोग पुगेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताए । उनका अनुसार चालु आव तनहुँबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या १३ हजार नौ सय ५१ छ । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार तीन सय ९० छ । उनले भने, ‘गरिबी र वैदेशिक रोजगारमा आकर्षणले विदेश जानेको सङ्ख्या बढ्दो छ । यसलाई रोक्न सक्ने अवस्था छैन तर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सबै ज्ञान लिएर मात्रै जानुपर्छ । नत्रभने पछि समस्या आउन सक्छ ।’ रासस

कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक

मान्म । कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा अगावै पाठ्यपुस्तक कालीकोट आइपुगेका हुन् । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए । ‘पहिलोपटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्नका पत्रचार गरेका छौँ ।’ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताए । ‘चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन्,’ उनले भने, ‘अहिले स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ ।’ समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने महावै गाउँपालिकाका शिक्षा अधिकृत मदनबहादुर शाहीले बताए । ‘पाठ्यपुस्तकको अभावमा पठनपाठन अब प्रभावित हुने छैन्,’ उनले भने, ‘गाउँपालिकाका सम्पूर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने तयारी गरिरहेका छौँ ।’ कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको शैक्षिक सत्रभन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरुले सास्ती खेप्नुपर्ने अवस्था थियो ।

प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गरेका छन् । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रख्यात आरोही उम होङ गिलसहितका आरोही दलका सदस्यलाई नेपाली झन्डा हस्तान्तरण गरे । सरकारले जुगल प्रथम (६ हजार पाँच सय ९१ मिटर) र जुगल दोस्रो (६ हजार पाँच सय १८ मिटर) अग्लो हिमाललाई गत वर्षदेखि आरोहणका लागि खुला गरेको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले आरोहण दलका सदस्यलाई सफल आरोहणको सफलताको कामना गरे । उनले यस कदमले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । जुगल हिमाल आरोहणबाट पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल र दक्षिण कोरियाबीच सहयोगका विविध क्षेत्रमा भइरहेका प्रगतिको मुक्तकण्ठले प्रशंसा गरे । प्रधानमन्त्री दाहालले पछिल्लो पटक राष्ट्रसंघको महासभाका बेला दक्षिण कोरियाली राष्ट्रपतिसँग आफ्नो भेटवार्ता भएको र सो अवसरमा आफूलाई दक्षिण कोरिया भ्रमणको निम्तो दिएको स्मरण गरे । उनले दक्षिण कोरिया भ्रमणको तयारी भइरहेको जानकारी दिए । सो अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई योङ, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटा, बाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, नेपाल पवर्तरोहण संघका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पदाधिकारीलगायतको उपस्थिति थियो ।

गर्मी छल्न सुनकोसीमा र्‍याफ्टिङ (तस्बिरहरू)

काठमाडौं । गर्मी सिजन सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रेफ्रेसमेन्टको गन्तव्यमा पर्छ । काठमाडौंको व्यस्त जीवन र थकान मेट्नका लागि यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । र्‍याफ्टिङ सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरू सुकुटे आउने गर्दछन् । सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन् । जसमा र्‍याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड । यहाँ भएका विभिन्न रिसोर्टहरूले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् । सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ । पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्दछ ।

बारीमा तरकारी, घरमै रोजगारी

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । तर, उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् । ‘मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु,’ आफूले गरेको तरकारीखेती देखाउँदै टेकराजले भने, ‘आफ्नो घरमा बसेर तरकारीखेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।’ टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गरेका छन् । तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आउएका उनले वार्षिक करिब १० देखि १२ लाख रुपैयाँसम्म कमाई गर्ने गरेको बताए । व्यावसायिक तरकारीखेतीमा दैनिक श्रम गर्ने उहाँलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उनी निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । बाह्रैमास उनको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारीखेती गर्ने उहाँको दैनिकी पनि निकै व्यस्त हुन्छ । ‘परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ,’ टेकराजले भने, ‘कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ ।’ अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिरौंला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन् । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बनेका छन् । उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले बताए । ‘मेहेनत र काम गर्ने इच्छा शक्ति हुने होभने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् । मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ,’ टेकराजले भने, ‘धनआर्जनका लागि सरकारी जागीर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग छैन ।’ बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उहाँले यसमा सरकारले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए । विगतमा गहुँ, मकै लगाउने जग्गामा टेकराजले अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो । ‘विदेश बसेरभन्दा घरमा बसेर तरकारी खेती गर्दा आनन्द छ । परिवारसँग बस्न पाइएको छ, खान पाइएको छ, मेहेनत गरे घरमै बसेर तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ टेकराजले भने, ‘विदेशमा पसिना बगाएर कमाएको पैसा घरखर्च मै सकिने हुन्छ, तरकारी खेती गरेर वर्षमा लाख रूपैयाँ बचत हुँदा किन विदेश गएर पैसा कमाउने सपना देख्ने ? विदेशमा पनि रुखमा पैसा फल्ने होइन, जहाँ गरेनि दुःख गर्नैपर्ने हो ।’ टेकराजको तरकारीखेती देखेर अहिले ललही गाउँका अन्य किसान पनि व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने अर्का कृषक मधु थारूले बताए । राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई पाँच लाखसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले जानकारी दिइन् । उनका अनुसार यो वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही टेकराज थारूको बगरखेती समूह र वडा नं १ का बगरखेती कृषक मानबहादुर रानामगरलाई पाँच लाख बराबरको अनुदानको सम्झौता गरिएको छ । बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे ।

आलुले चिनिएको हेम्जा

गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । ‘वर्षमा झन्डै १० करोड रुपैयाँबराबरको आलु उत्पादन हुन्छ,’ कडरियाले भने, ‘हेम्जाको आलु देशमै ‘ब्रान्ड’ बनिसकेको छ ।’ महानगरको तथ्यांकअनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलुखेती हुने गरेकामा त्यो घटेर अहिले करिब तीन सय हेक्टरमा सीमित भएको हो । आलुखेतीका लागि हेम्जा उर्वर थलो रहेको भन्दै महाशाखा प्रमुख कडरियाले पछिल्लो समय घरघडेरी विस्तारले उब्जाउ जमिन नासिएकामा भने चिन्ता व्यक्त गरे । उनका अनुसार राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण हेम्जाको कृषियोग्य जमिन घट्दै गएको हो । हेम्जाको आलु बजारमा आउँदा पोखरामा बाहिरबाट आयात हुने झन्डै ५० प्रतिशतले घट्ने गरेको महाशाखा प्रमुख कडरियाले बताए । महानगरका अन्य वडामा पनि व्यावसायिक आलु खेती प्रवर्द्धन गर्न सकिए पोखराको बजार मागलाई धान्न सकिने उनको भनाइ छ । यहाँ ‘एमएस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलु बाली लगाउने गरिएको स्थानीय वसन्त श्रेष्ठले बताए । किसानले कात्तिक÷मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्र्याउन सकिने उनको भनाइ छ । ‘यहाँ हिउँदे आलुको मात्रै खेती हुन्छ । यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताले पनि हेम्जाको आलु खोजीखोजी किन्छन्,’ उनले भने । आलु भण्डारणका लागि महानगरको आर्थिक सहयोगका चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । गुणस्तरीय बीउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनलगायत कारणले आलुखेतीमा चुनौती थपिँदै गएको किसानको भनाइ छ । पछिल्लो समय ‘आलु महोत्सव’ हुन थालेपछि हेम्जाको आलुको बजारीकरणमा सहजता थपिएको किसान बताउँछन् । यस वर्षको बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आइतबारदेखि सुरु हुँदैछ । महोत्सव अवधिमा लाखौँको आलु बिक्री गर्ने योजनामा किसान छन् । व्यावसायिक कृषिको प्रवर्द्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव राखिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष सुबिन श्रेष्ठले बताए । महोत्सवका लागि ५० टनभन्दा बढी आलु संकलन गरिसकिएको उनको भनाइ छ । महोत्सव अवधिभर ८० टन आलु बेच्ने लक्ष्य लिइएको उनले बताए । महोत्सव आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । आलुलगायत ताजा तरकारीको बहत प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहेका छन् । किसानलाई लक्ष्य गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बीउबिजन, कृषि यन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुति, कृषि बहस, कृषक सम्मानलगायत कार्यक्रम पनि राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार अवलोकनमा आउने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिएको छ । अध्यक्ष श्रेष्ठले महोत्सवमा कृषिमा ३० वटा व्यावसायिक ‘स्टल’ रहने जानकारी दिए । उनका अनुसार अन्य व्यापारिक ‘स्टल’ एक सय र रेष्टुराँका लागि १० ‘स्टल’ रहने छन् । ‘कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो,’ अध्यक्ष श्रेष्ठले भने । महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधि पनि समेटिएको छ । साङ्गीतिक प्रस्तुति, रमाइलो मेला, बाल उद्यान आदि राखिने क्लबले जनाएको छ ।