विकासन्युज

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे

बरहथवा । नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो । निजी अस्पतालमा महँगो पर्ने सिएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामविश्वास रायले जानकारी दिए । असुरक्षित रूपमा सुत्केरी गराउने सङ्ख्या घटेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा एकैदिन तीन जनासम्मको  ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताए । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका  छन् भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् । आफ्नै गाउँठाउँमा शल्यक्रियासहितको सुविधा पाउँदा खुसी लागेको ईश्वरपुर नगरपालिका–९ निवासी अन्जुकुमारी चौधरीले जानकारी दिए । ‘बुहारीलाई सुत्केरी गराउन निजी अस्पताल लैजाँदा ६० हजार तिर्नुपरेको थियो’, उनले भने, ‘यहाँ पैसा तिर्नुपरेको छैन । सबैले अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउनुपर्छ ।’ निकै सुविधा भएको भन्दै अन्जुकी आमा बिना चौधरीले खुसी व्यक्त गरे । नागरिकको सुविधालाई ध्यान दिँदै प्राथमिक स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरिएको वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले बताए ।  सुरुमा नर्मल डेलिभरी सेवामात्र रहेको स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नतिपछि सेवा विस्तार गरिएको उनी बताउछन् । ‘अहिले शल्यक्रियाबाट सुत्केरी गराउनु परे पनि बाहिर जानु पर्दैन’, उनले भने, ‘हामीसँग डाक्टरदेखि चाहिने सबै उपकरण उपलब्ध छन् ।”’ पहिला यति सेवा लिन महँगो खर्चमा टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यहाँ जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा छ । उच्च रक्तचाप, मधुमेह, क्षयरोगलगायतका परीक्षण निकै सुलभ मूल्यमा हुने गरेको ल्याब टेक्निसियन प्रकाश यादवले जानकारी दिए। ल्याब सेवा लिन आउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उनको दाबी छ । जिल्लाका सम्पूर्ण पालिकालाई प्रदेश सरकारबाट जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न सहयोग गरिएको थियो । उपचारका लागि अन्यत्र जानुपर्ने बिरामले ल्याब परीक्षण गराएर जाने गरेका टेक्निसियन यादव बताउछन्। ल्याबबाट प्रदान भएको सेवामा सेवाग्राहीको विश्वास बढेको बताए। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको औषधि र उपचार सेवा उपलब्ध रहेकाले बिरामीको चाप रहेको अस्पताल स्रोतले जनाएको हो । जिल्लामा सदरमुकाम मलङ्गवास्थित प्रदेश अस्पताल र लालबन्दी नगर अस्पतालमा मात्र शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा छ । यसअघि सिएस सेवा लिन धेरै रकम खर्च गरेर वीरगञ्ज, जनकपुर, भरतपुर, काठमाडौँलगायत ठूला सहर धाउनुपर्ने बाध्यता थियो । नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए । रासस

फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दाबी बीमा रकम

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमा बापत १५ लाख ७५ हजार भुक्तानी गरेको हो । इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल चैत्र ७ गते फरवार्ड माइक्रोफाइनान्सबाट ७ लाख रुपैंया कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् । ६ लाख ६५ हजार २ सय ६७ रुपैंया किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत नौ लाख नौ हजार सात सय ३२ रुपैंया प्रदान गरेको छ । बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ । फरवार्ड माईक्रोफाइनान्सले एक कार्यक्रम नै गरी इश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ । सो क्रममा बोल्दै इश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज बिकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुबित्त बित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा वित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेशा, व्यापार व्यवसाय बिकास गर्ने जिकीर गरे । कार्यक्रममा बोल्दै फरवार्डका सञ्चालक सदस्य प्रा.डा श्यामकिशोर महतोले समुदाय र निम्न वर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशिल हुने विश्वास दिलाउँदै वित्तीय संस्था, स्थानीय समुदाय र स्थानीय सरकार बिच सहकार्य गर्न आवश्यक रहेको जनाए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले फरवार्ड संस्थाको पृष्ठभूमी, संस्थाको परीचय र उद्देश्य बारे बोल्दै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गरे । उनले इन्द्रवतीलाई दिइएको बीमा रकम हालसम्मकै ठूलो बीमा सुविधा भएको जानकारी दिए ।

टर्कीको वार्षिक औद्योगिक उत्पादन सूचकांक २ वर्ष यताकै उच्च

काठमाडौं । टर्कीको औद्योगिक उत्पादन सूचकांक फेब्रुअरीमा वार्षिक रूपमा ११.५ प्रतिशतले बढेको छ । जुन विगत दुई वर्षको सबैभन्दा तिब्र वृद्धि हो । गत वर्षको सोही अवधिको तुलनामा खनन तथा उत्खनन सूचकाङ्क १२.८ प्रतिशतले, उत्पादन परिसूचक ११.९ प्रतिशत र विद्युत, ग्यास, स्टीम र वातानुकूलित आपूर्ति सूचकाङ्क ७.७ प्रतिशतले बढेको तथ्याङ्कले प्रमुख क्षेत्रहरूमा उल्लेख्य वृद्धि भएको देखाएको छ । मासिक आधारमा उत्पादन फेब्रुअरीमा ३.२ प्रतिशत बढेको छ । यो मार्च २०२३ पछि सबैभन्दा तिब्र वृद्धि हो । विशिष्ट उपक्षेत्रहरू जाँच्दा खानी र उत्खनन सूचकांक ३.२ प्रतिशतले घटेको देखियो भने उत्पादन र बिजुली, ग्यास, स्टीम र वातानुकुलित आपूर्ति सूचकाङ्क क्रमशः ३.८ प्रतिशत र ०.३ प्रतिशतले बढेको छ ।

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आज मंगलबार नै राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि मनोनयन हुँदैछ भने बुधबार निर्वाचनको लागि मिति तोकिएको छ । कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको पुडासैनी माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत निर्वाचित भएकी हुन् ।

मेवा खोला आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ जारी गर्ने तयारीमा

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य भैरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए । २०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भैरहेको कम्पनीले जनाएको छ । उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधिन यस आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ । सिटिजन्स क्यापिटल लि.लाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जना भन्दा धेरैले रोजगारी पाएका छन् ।

भारतले यूएईमा मात्र प्याज किन बेचिरहेको छ ?

काठमाडौं । भारतले लामो समयदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि युनाइटेड अरब इमिरेट्स ९यूएई० लगायत देशमा सरकारको अनुमति लिएर प्याज पठाइँदै आइएको छ । अहिले विश्वभरि प्याजको भाउ बढेको भए पनि भारतबाट यस्ता देशमा सस्तोमा प्याज आपूर्ति भइरहेकाले किसान र व्यापारी आक्रोशित छन् । भारतीय किसानले एक किलो प्याजको १२ देखि १५ रुपैयाँ तिर्ने गरेको तर त्यही प्याज यूएई पुगेपछि यसको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ हुने निर्यातकर्ता बताउँछन् । प्रश्न यो छ कि प्याज निकासीमा प्रतिबन्ध छ भने सरकारले छनोट भएका देशलाई किन प्याज बेचिरहेको छ रु के भारत सरकारले अब कूटनीतिको लागि प्याज प्रयोग गरिरहेको छ ? भारत सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि किसानहरूले यसको विरोध गर्दै आएका छन् । प्रतिबन्ध घोषणापछि महाराष्ट्रमा पनि किसानहरूले विरोध प्रदर्शन गरेका थिए । नासिकको लासलगाउँ, नन्दगाउँ, पिम्पलगाउँ र उमरानेमा यी विरोध प्रदर्शनहरू भएका थिए। यो क्षेत्र भारतमा प्याज उत्पादनको केन्द्र हो। प्याज राजनीतिक रूपमा संवेदनशील बाली हो । प्याजको मूल्य समय(समयमा चुनावी मुद्दा पनि बनेको छ। चुनावमा प्याजको सबैभन्दा प्रत्यक्ष प्रभाव सायद सन् १९९८ मा देखिएको थियो । त्यो वर्ष दिल्ली विधानसभा चुनावमा बीजेपीको पराजयमा प्याजको उच्च मूल्यको भूमिका रहेको विश्वास गरिएको थियो । मुलुकमा प्याज अभाव भएपछि सरकारले डिसेम्बरमा प्याज निर्यातमा रोक लगाएको थियो । गत महिना सरकारले यो प्रतिबन्ध अर्को आदेश नभएसम्म लम्ब्याएको थियो । तर, भारत सरकारले कूटनीतिक माध्यमबाट प्याजको मागलाई स्वीकार गरिरहेको छ । प्रतिबन्धबीच प्याज यूएई पठाइयो द हिन्दू अखबारका अनुसार केन्द्र सरकारले मार्च १ मा यूएईमा १४ हजार ४ सय टन प्याज निर्यात गर्न अनुमति दिएको थियो । यससँगै सरकारले तीन महिनामा ३ हजार ६ सय टनभन्दा बढी निकासी गर्न नपाइने सर्त राखेको थियो । गत महिना ३ हजार टनभन्दा बढी प्याज निर्यात गर्न स्वीकृत भएको थियो । यसबाहेक वाणिज्य मन्त्रालयले गत साता यूएईलाई १० हजार टन प्याज ल्याउन छुट्टै अनुमति दिएको छ । निकासीमा प्रतिबन्ध लगाए पनि युएई बाहेक अन्य धेरै देशमा प्याज बेचेको खबर आएको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार भारतले बंगलादेशलाई ५० हजार टन, भुटानमा ५ सय ५० टन, बहराइनमा ३ हजार टन र मौरिससलाई १ हजार २ सय टन प्याज निर्यात गर्न अनुमति दिएको छ । विश्व बजारमा सामान्यतया प्याजको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म रहन्छ । तर, पछिल्ला महिनामा यूएई जस्ता प्रमुख बजारमा मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । भारत, पाकिस्तान र इजिप्टले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि यो मूल्य बढेको हो । द हिन्दू पत्रिकाका अनुसार हालै यूएईमा प्रतिटन ५ सयदेखि ५ सय ५० अमेरिकी डलरका दरले प्याज पठाइएको निर्यातकर्ताले जानकारी पाएका छन् । भारतीय रुपैयाँमा प्रतिकिलो प्याजको कुरा गर्ने हो भने ४५ देखि ५० सम्म पर्छ । अखबारका अनुसार भारतबाट प्याज खरिद गर्ने यूएई आयातकर्ताले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । १० हजार टन प्याज यूएई जाँदा आयातकर्ताले करिब १० अर्ब रुपैयाँ नाफा पाउने अनुमान छ । प्याज खरिदकर्तालाई फाइदा प्याजको यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड ९एनसीईएल० मार्फत मात्रै भइरहेको छ । एनसीईएल सहकारी मन्त्रालयअन्तर्गतको सरकारी स्वामित्वको संस्था हो । प्याज निजी क्षेत्रले निर्यात गर्दैन, एउटा सरकारले अर्को सरकारलाई निर्यात गरिरहेको छ । यस प्रक्रियामा प्याज आयात गर्ने सरकारले आयातकर्ताहरूका लागि कोटा निर्धारण गर्छ । त्यस्ता निकासीका लागि कृषि बजार पोर्टलमा ई(टेन्डरिङमार्फत खरिद गरिन्छ । यूएईबाट प्याज खरिदमा निजी क्षेत्रको संलग्नता रहेको पाइएको छ भने सरकारी निकाय भने यसबाट टाढै रहेको देखिन्छ । हर्टिकल्चर प्रोड्युस एक्सपोर्टर्स एसोसिएसनले प्याज निर्यात गर्ने र मूल्य निर्धारण गर्ने प्रक्रियाबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ । राष्ट्रिय सहकारी निकासी लिमिटेडलाई पठाएको इमेलमा संघले अन्तर्राष्ट्रिय मूल्यभन्दा कममा प्याज विदेशमा बिक्री भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पत्रिकाका अनुसार प्याज निर्यात सम्बन्धी प्रक्रिया र यसको मूल्य यसको क्षेत्राधिकार बाहिर भएकाले अन्तरमन्त्रालय समितिले निर्णय गरिरहेको एनसीईएलका अधिकारीहरूले व्यापारीहरूलाई बताएका छन् । प्याजको इतिहास ४ हजार वर्षअघि पनि विभिन्न परिकारमा प्याज प्रयोग गरिन्थ्यो । यो मेसोपोटेमियन कालको एक लेखमा थियो जुन पहिलो पटक १९८५ मा फ्रान्सेली पुरातत्वविद्ले पढेका थिए । अहिले विश्वका प्रायः सबै देशमा प्याज खेती गरिन्छ । चीन र भारतले विश्वको कुल उत्पादनको ४५ प्रतिशत (७ करोड टन) उत्पादन गर्छन् । तर, खानाको मामिलामा यी दुई विश्वका शीर्ष देशहरूमा पर्दैनन् । सन् २०११ को संयुक्त राष्ट्र संघको अध्ययनअनुसार लिबियाका प्रत्येक व्यक्तिले वर्षमा औसत ३३।६ किलो प्याज खाने गर्छन् । यसको प्रयोग विश्वका अधिकांश देशका खानामा सामान्य प्रयोग हुन्छ । यसको पछाडिको कारण प्याजको पौष्टिक तत्वलाई मानिन्छ । बीबीसी हिन्दी

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । अपराह्न भृकुटीमण्डपबाट सुरु हुने उक्त प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले आजको प्रदर्शनमा ५० हजारभन्दा बढीलाई उतार्ने दाबी छ । पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र काठमाडौंमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुनेछन् । हकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ । राप्रपाको काठमाडौंमा प्रदर्शन गर्ने घोषणापछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी रहेको बताइएको छ ।

चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनर्निर्माण सम्पन्न

चौतारा । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनर्निर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो । भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन ६ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख गुओ बाओचेङले बताए । चाइना चियुयान इन्जनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले उक्त भवन तयार पारेको हो । अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी, पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । त्यसैगरी, भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएका छन् ।