विकासन्युज

नेपालमै पहिलो पटक १.१ क्षमताको चार्जिङ डिपोट (फोटो फिचर)

ललितपुर । साझा यातायातले नेपालमै पहिलो पटक १.१ क्षमताको चार्जिङ डिपोट निर्माण गरेको छ । डिपोटको मंगलबार समुदघाट्न गर्दै ४० वटा विद्युतीय बस पनि सञ्चालनमा लेराएको छ । डिपोटको उदघाट्न उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री रघुभिर महासेठले गरेका छन् । साझा यातायातले आउदो दिनमा डिजेल गाडी लाइ रुपान्तरित बिजुलि गाडी बनाएर परिक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कणक मणी दिक्षितले जानकारी गराए ।      

टर्कीद्वारा इजराइलमाथि व्यापार प्रतिबन्ध : सिमेन्ट, स्टिल र फलाम निर्यातमा रोक

काठमाडौं । गाजामा इजराइली युद्धको जवाफमा टर्कीले व्यापारमा प्रतिबन्ध लगाएको छ । टर्कीले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने घोषणा गरेको हो । टर्कीको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै व्यापार प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘इजराइलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने छ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ । इजराइलले गाजालाई हवाई सहायता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीले नयाँ कदम चालेको हो । विदेशमन्त्री हकन फिदानले सोमबार इजराइलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागू गरिने बताएका छन् । टर्की गाजामा इजराइलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक रहेको छ । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजराइललाई ‘आतङ्कवादी राज्य’ को संज्ञा दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् । त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिए ।

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको निधन

काठमाडौं । भारतको नैनीतालमा सोमबार राति साढे १० बजे सवारी दुर्घटना हुँदा सात नेपालीको निधन भएको छ । भारतीय मिडिया वान इण्डियाका अनुसार नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात जना नेपालीको निधन भएको हो । दुर्घटनामा आठ जनाको मृत्यु भएकोमा सात जना नेपाली रहेको खुलेको छ । भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २ सय मिटर तल खसेको थियो । अन्धकार तथा गहिरो खोँचका कारण उद्धारमा ढिलाइ भएको बताइएकाे छ । दुर्घटनामा निधन भएका सबै बेतालघाटको जल जीवन परियोजनामा काम गर्ने मजदुर भएको बताइएको छ । मृत्यु भएका नेपालीहरू ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल छन् भने दुर्घटनामा शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । एजेन्सी

एक वर्षमा आगलागीबाट सय जनाको निधन, २ अर्बको क्षति 

काठमाडौं । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको निधन भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको निधन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट दुई अर्ब ३३ करोड बढी रुपैयाँको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिए । उनले बीचमा पानी परेका कारण आगलागी घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गरेका छन् । यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । सोही अवधिमा चट्याङबाट ४३ जनाको निधन भएको छ । सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको निधन भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।  रासस

आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक छ : राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले यसपटक व्यापार घाटा पनि उच्च हुने देखिएको बताए । ‘हाल बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक समस्या कायमै छ,  यसपटक पनि व्यापार घाटा र बजेट घाटा उच्च हुने देखिएको छ,’ उनले भने- ‘बजेट बनाउँदा घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने हाम्रो धारणा छ,  बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढ्दै गइरहेको छ ।’ अध्यक्ष मल्लले उच्च लगानी र आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसकेको बताए । तुलनात्मक लाभ भएका पर्यटन र कृषि आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको उनकाे भनाइ छ । ‘पुँजीगत खर्च बढाउन समयतालिका बनाउनुपर्छ, नागरिकतासँगै प्यान कार्ड पनि वितरण गर्नुपर्छ,’ उनले भने- ‘कृषिमा दिँदै आएको कर्जाले निरन्तरता पाउनुपर्छ, बजेट र मौद्रिक नीतिमा आवश्यक समन्वय हुनुपर्छ, ४८ वर्ष पुरानो कालोबजारी ऐनलाई संशोधन गर्नुपर्छ ।’

दमकल नहुँदा गलकोटको आगो नियन्त्रणमा समस्या, ३० बस्ती उच्च जोखिममा

बागलुङ । बागलुङको गलकोटमा भीषण आगलागी भएको छ । गलकोट नगरपालिकाका छ सामुदायिक वनमा आगलागी हुँदा करिब ३० बस्ती उच्च जोखिममा छन् । वडा नं २ को किटेनी सामुदायिक वन, शिलाजित मधुवन, वडा नं ३ को पालेवन सामुदायिक वन, वडा नं ९ को मौरीभिर सामुदायिक वन, पाण्डुकेश्वरी सामुदायिक वन र वडा नं ८ को मकैखोरी वनमा आगो लागेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । किटेनी सामुदायिक वन र शिलाजित मधुवनमा लागेको आगो नियन्त्रणमा लिए पनि अन्य चार सामुदायिक वनको आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ । स्थानीयको लापरबाहीका कारण आगलागी भएको भन्दै नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रवक्ता भण्डारी बताउँछन् । यही चैत २५ गते दिउँसोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआउँदा ठूलो क्षेत्रफलको वन सखाप भएको उनको भनाइ छ । गलकोट-९ का अध्यक्ष तेजबहादुर थापाले आगोले झन् ठूलो रुप लिन थालेपछि बस्ती जोगाउन समस्या भएको बताए । वनमा लागेको आगो बस्तीतर्फ पस्न थालेपछि सोमबार राति १० बस्तीलाई सुरक्षित स्थानमा सारेको जनाउँदै अझै करिब ३० बस्ती उच्च जोखिममा रहेको उनको भनाइ छ । गलकोट-८ र ९ मा लागेको आगोले ज्यामिरे, मल्म, तारगा गाउँका धेरै बस्ती उच्च जोखिममा रहेको अध्यक्ष थापाले जानकारी दिए । स्थानीयले नियन्त्रण गर्न नसकेपछि आगो बस्तीमा पस्न थालेको उनले बताए । वनमा सुकेको पर्स्याउला, घाँस र दाउरा भएको हुँदा आगोले ठूलो रुप लिएको अध्यक्ष थापाको भनाइ छ । दमकल नहुँदा आगो नियन्त्रणमा समस्या भएको उनी बताउँछन् । अहिलेसम्म मानवीय क्षति भने नभएको थापाले बताए । उनले भने- ‘आइतबारदेखि लागेको आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन, नियन्त्रणमा लागि धेरै प्रयास गरियो तर सफल हुन सकेका छैनौँ, हिजो राति सालघारी टोलसहित १० बस्तीलाई सुरक्षित स्थानमा सारेका छौँ, आगो निभाउने सम्भावना छैन, अहिलेसम्म कुनै पनि मानवीय क्षति हुन दिएका छैनौँ, दमकलको सुविधा छैन, मान्छेले नियन्त्रण गर्न सकिने अवस्था छैन, यही रुपमा आगो बढ्दै गयो भने धेरै गाउँका बस्ती जल्ने खतरा बढेको छ, यो हाम्रो नियन्त्रण बाहिर भयो ।’ रासस

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिएका समयसीमा आज बेलुका ५ः५० बजे सकिँदैछ । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसीले जानकारी दिए । ‘आज मुख्यमन्त्री पदमा दाबी पेसका लागि माओवादी केन्द्रले नेता कँडेललाई समर्थन गर्दछ’, उनले भने, ‘तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा जाँदैन ।’ उनका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी राख्दै आएको छ । एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले मन्त्रालय विभाजनमा छलफलका आधारमा गरिने बताए । ‘हामीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रको एक मन्त्री पठाएर अहिले सानो आकारको सरकार बनाउन सुझाव दिएका छौ’, उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकार बिस्तार गर्दा हुन्छ भनेका छौँ ।’ रासस