कांग्रेस संसदीय दलको निर्णय : सहकारीको रकम अपचलनबारे संसदीय छानबिन हुनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ । मंगलबार संसद भवनमा बसेको संसदीय दलको बैठकले ठक वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको हो । बैठकका बारेमा जानकारी दिँदै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले रकारको बहालवाला मन्त्रीहरु समेत सहकारीको रकम अपचलन गर्नेकुरामा संलग्न देखापरेको अवस्थालाई सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए । उनले काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको बताए । संसदीय दलको बैठकले नेपाली काँग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको पनि बताए । तत्काल नेपाली काँग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । काँग्रेसले उठाएको मागकाप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्ने जानकारी दिए । ‘हामी रचनात्मक तर सरकारका कमी कमजोरीलाई सशक्त रुपबाट उठाउनेछौँ । अहिले सहकारीमा लाखौँ नागरिकले रकम जम्मा गरेका छन् । अर्बौं रुपैयाँ जम्मा भएको छ । देशभरका विभिन्न सहकारीमा वचतकर्ताको रकमको दुरुपयोग, अपचलन, ठगी हुने खालका घटना देखापरेका छन् । यसमा नेपाली काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजी सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई उठाएका छौँ । यसका निमित्त निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय छानबिन समिति बनाउन माग गरेका छौँ । यो बैठक नेपाली काँग्रेसले संलग्न सहकारी रकम अपचलन अपराधको स्वतन्त्र निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताको लागि संसदीय समिति गठन गर्ने मागलाई उचित ठहर गर्दछ’, उनले भने । काँग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरित विद्वेष फैल्याउने कुनैपनि खालका तत्वहरु अनुचित रहेको ठहर गरेको छ । सुनसरीमा विषयलाई लिएर भएको धार्मिक झडपप्रति गम्भीर रहेको बताएको छ ।
सामाजिक सुरक्षा भत्तालाई वैज्ञानिक ढंगबाट सञ्चालन गर्छौं : प्रा.डा थापा
सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ, चालु आर्थिक वर्षको हालसम्म आउँदा सरकारले बजेटमा व्यवस्था गरेको आम्दानी र खर्चको लक्ष्यलाई प्राप्त गर्न सकेको छैन । साथै अर्थतन्त्रका बाह्य सूचक सकारात्मक हुँदा पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको धेरै समस्या सम्बोधन गर्ने बताइरहेका छन् । एक महिना अगाडि नयाँ राजनीतिक समीकरणमार्फत अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने ठाउँमा आइपुगेका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउलान् भन्ने विषय सबैको चासो बनेको छ । अर्थमन्त्री पुनका आर्थिक सल्लाहकारको रूपमा जिम्मेवारी लिएका प्रा.डा सूर्य बहादुर थापासँग विकासन्युजका लागि नारायण अर्यालले बजेटसँग सम्बन्धित रहेर कुराकानी गरेका छन् । प्रधानमन्त्रीले चालु आर्थिक वर्षको बजेट परम्परागत भएको भनेर टिप्पणी गर्नुभएको छ, कुन कोणबाट त्यसरी भन्नुभएको हो ? प्रधानमन्त्रीको नयाँ तरिकाले काम गरौं भन्ने भनाइ हो जस्तो लाग्छ । बजेटको सन्दर्भमा पनि पहिले नीति तथा कार्यक्रम १५ दिन अगाडि पेस हुने, त्यसपछि बजेट पेस गर्ने गरिन्थ्यो । अहिले भने बजेट आउनुभन्दा तीन महिना अगाडि बजेटका सिद्धान्त तथा प्राथमिकता आयो, निवर्तमान अर्थमन्त्रीले नै त्यो सार्वजनिक गर्नु भएको हो । यो एउटा परिवर्तनको विषय भयो । अर्को विषय आयोजनाहरुमा बजेट विनियोजन गर्दा ३ करोड भन्दा कमका आयोजना पेस नगर्ने भन्ने छ । बजेटका ठूला-ठूला कार्यक्रमलाई फोकस गर्ने र जुन अन्तिम चरणमा रहेका कार्यक्रम छन् ती योजनालाई पूरा गर्ने योजना छ । मुलतः प्रधानमन्त्रीले विगतको तुलनामा बजेटलाई गतिशील बनाउन खोज्नुभएको छ । आगामी आर्थिक वर्षको बजेट नयाँ अर्थतन्त्रका समस्यालाई सम्बोधन गर्ने प्रकारको हुने भनेर भनिएको छ, तपाईंले देख्नुभएको अर्थतन्त्रको मूल समस्या के हो ? अर्थतन्त्रका बाह्य सूचक राम्रो छन् । तर, आन्तरिक सूचक चलायमान राम्रो हुन सकेन भन्ने नै हो । जुन आर्थिक क्रियाकलाप हुनुपर्ने थियो, त्यहाँनेर नै हाम्रो कमजोरी भयो अथवा आर्थिक क्रियाकलाप हुन सकेन । जसले गर्दा रोजगारी पनि सिर्जना हुन सकेन र प्रभावकारी माग पनि सिर्जना हुन सकेन । यहिँनेर नै काम गर्न सकेमा अर्थतन्त्र गतिशील भएर आगाडि बढ्छ । लगानीको वातावरण सिर्जना गर्नको लागि आगामी बजेटले कसरी सम्बोधन गर्नुपर्ला ? अहिले मुख्य विषय भनेको व्यवसायी तथा उद्यमीहरूको मनोभावना अलिक खस्किएको जस्तो देखिन्छ । म सल्लाहकार भएर आइसकेपछि उद्योगी तथा व्यवसायीहरुको छाता संगठनका नेतृत्वहरूसँग बसेर छलफल गर्ने अवसर पाएँ । उहाँहरूले सोही विषय राख्नुभएको छ । उद्योगी व्यवसायीहरूले कोरोना महामारी हटिसकेपछि कसिलो मौद्रिक नीति आएको र त्यसलाई कोरोना महामारीको अवस्थामा राख्दिएको भए हुन्थ्यो भन्ने धारणा राखेका छन् । खासगरी उद्योगी व्यवसायीहरुको मनोभावनासँग समन्वयको अभाव नभएको जस्तो देखिएको अवस्था हो । देशको आर्थिक विकास गर्नको लागि मुख्य वित्तीय र मौद्रिक नीति हुन् । यी दुईवटा सँगसँगै र समन्वय गरेर जानुपर्छ । सोहीअनुसार अर्थमन्त्रीले पनि अग्रसरता देखाउनुभएको छ । राजस्वको विषयमा भन्सार र अन्तःशुल्क वृद्धिकै पुरानो प्रवृत्ति कायम रहन्छ वा नयाँ आम्दानीका क्षेत्रहरूको विषयमा पनि अध्ययन गर्नुभएको छ ? पूर्व अर्थमन्त्रीले पनि कर पुनरावलोकन कमिटि बनाउनुभएको थियो, त्यसले पनि आफ्नो प्रतिवेदन पेस गरेको छ । मन्त्रालयमा अध्ययनको क्रममा नै छ । त्यसले पनि करको दायराको विषयमा केही सुझावहरु दिएको हुनुपर्छ । अहिलेसम्मका व्यवस्थाले लगानीको वातावरण बन्न सकेन भन्ने देखिएको छ, यी विषयलाई मौद्रिक नीतिले मात्रै सम्बोधन गर्छ की बजेटले सम्बोधन गर्नुपर्छ ? लगानीको वातावरणको लागि दुवै विषय जोडिन्छन् । व्यावसायिक वातावरण बनाउने र लगानीको वातावरण बनाउने जिम्मेवारी त दुइटै निकायले समन्वय गरेर उहाँहरूको आत्मविश्वास विकास गर्नुपर्छ । त्यसपछि कहाँनेर नीतिमा काम गर्ने हो त्यो गर्नुपर्छ । लगानीको वातावरणका लागि बजेटमार्फत गर्न सकिने नीतिगत व्यवस्था तथा कार्यक्रमहरू के हुन सक्छन् ? कार्यक्रम तथा साधनहरूको बारेमा अहिले छलफल भइरहेको छ । ती विषयहरू बजेटमा आउँछन् । उद्योगी व्यवसायीहरूले विभिन्न विषयमा आफ्ना मागहरू राखेर आन्दोेलन गरिरहेको सन्दर्भमा अर्थमन्त्री आइसकेपछि ती विषयमा वार्ता गरेर सम्बोधन पनि भएका छन् । साथै आगामी बजेटमा पोलीसी प्याकेज पनि आउसक्छ । पुँजीगत खर्च वृद्धि गर्ने भन्ने विषय असम्भव जस्तै भयो, बजेटमार्फत गर्न सकिने कुनै समाधान देख्नुभएको छ ? यो विषयलाई निजी क्षेत्रले पनि उठाएको छ । यो विषयमा छलफल भइरहेको छ । बजेट भाषणसम्म पुग्दा यो विषयलाई सम्बोधन गर्ने प्रयत्न हुन्छ । सामाजिक सुरक्षा भत्ता परम्परागत भयो, साथै यसको दायरामा परिवर्तनको विषय पनि उठेको पाइन्छ, के यो विषयमा आगामी बजेटले सम्बोधन गर्न सक्ला ? सामाजिक सुरक्षाको विषय हट इस्यु बनेको छ । हामीले अन्धाधुन्ध प्रयोग गर्दै जाँदापनि अर्थतन्त्रमा बढी इन्फ्लेसन देखा पर्नसक्ने अवस्था छ । भने राजनीतिक परिदृष्यले गर्दा अहिले हटाइहाल्न सक्ने अवस्था पनि छैन । दुवै प्रकारको समस्या छ । यो विषयमा राष्ट्रिय योजना आयोगले पनि अध्ययन गरेर प्रतिवेदन आइसकेको छ । यसलाई कसरी वैज्ञानिक ढंगले अगाडि बढाउन सकिन्छ भन्नेमा छलफल भइरहेको छ । पछिल्लो समय पुँजीबजार र घरजग्गा क्षेत्रले पनि लय समात्न नसकेको देखिएको छ, यी क्षेत्रलाई चलायमान बनाउने विषयमा पनि तपाइँले कुनै उपाय देख्नु भएको छ ? आगामी मौद्रिक नीतिले पनि यो विषयलाई थप सम्बोधन गर्ला र वित्तीय नीतिमा पनि यो क्षेत्रलाई चलायमान बनाउने विषयमा काम हुन्छ । यो क्षेत्रलाई चलायमान बनाउने विषयमा केही न केही काम हुन्छ । वैदेशिक अनुदान प्राप्तिमा सरकार सफल देखिएन, तपाईंले यो विषयलाई कसरी समीक्षा गर्नुभएको छ ? दाताहरूले किन पत्याएनन् ? आगामी आवको बजेटमा यो विषयलाई कसरी सम्बोधन गर्नुपर्ने देख्नुहुन्छ ? वैदेशिक सहयोग ४र५ प्रतिशत मात्रै प्राप्त भएको छ । वैदेशिक सहयोगका आ-आफ्ना शर्त र मोडेल छन् । प्रधानमन्त्रीले बजेटको आकारको विषयमा पनि धारणा राख्नुभएको छ । अर्थमन्त्रीले मन्दीको बेलामा जस्तै सरकारको भूमिका बढाउने विषयमा विचार राख्नुभएको छ । आन्तरिक र बाह्य सबै क्षेत्रलाई परिचालन गर्ने विषयमा आगामी दिनमा थप काम हुन्छ । प्रधानमन्त्रीले आगामी बजेटले मुलुकका धेरै समस्याको समाधान गर्ने भनेर अभिव्यक्ति दिँदै आउनुभएको छ, के आगामी बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशामा डिपार्चर गर्छ भनेर अनुमान गर्न सकिन्छ ? अहिलेको प्रधानमन्त्री र अर्थमन्त्रीले विद्यमान प्रणालीलाई पूर्णरुपमा डाइभर्ट गर्ने भन्दापनि अहिले चलिराखेको सिस्टममा कसरी सुधार गर्न सकिन्छ, यहि सिस्टमबाट बढी भन्दा बढी लक्षित वर्गमा कसरी जान सकिन्छ, उत्पादनमूलक क्षेत्रमा कसरी जान सकिन्छ भन्ने सन्दर्भमा काम गरिरहनु भएको छ । किनभने धेरै सुधारहरू गर्नको लागि सिस्टम अवरोधक होइन, हाम्रा काम गर्ने शैली अवरोधक हुन् ।
सुनको भाउमा लगातार वृद्धि, कति पुग्यो ?
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, मंगलबार तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
व्यायाम गर्न अल्छी नगरौँ : मन्त्री श्रेष्ठ
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । मंगलबार यहाँ आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उनले बताए । ‘आफ्नो शरीरका लागि केही समय छुट्याउनुभयो भने यसले स्वस्थ्य बनाउँछ । यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि कम गर्न मद्दत गर्छ । त्यसकारण व्यायाम गर्न अल्छी नगरौँ । साथै यस्ता जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छ, यसले सामाजिक उत्तरदायित्व बहन गराउँछ’, मन्त्री श्रेष्ठले भने । त्यस अवसरमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह, चलचित्र निर्देशक आशिफ शाह, चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालगायत उपस्थित थिए ।
सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे
बरहथवा । नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो । निजी अस्पतालमा महँगो पर्ने सिएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामविश्वास रायले जानकारी दिए । असुरक्षित रूपमा सुत्केरी गराउने सङ्ख्या घटेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताए । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन् भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् । आफ्नै गाउँठाउँमा शल्यक्रियासहितको सुविधा पाउँदा खुसी लागेको ईश्वरपुर नगरपालिका–९ निवासी अन्जुकुमारी चौधरीले जानकारी दिए । ‘बुहारीलाई सुत्केरी गराउन निजी अस्पताल लैजाँदा ६० हजार तिर्नुपरेको थियो’, उनले भने, ‘यहाँ पैसा तिर्नुपरेको छैन । सबैले अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउनुपर्छ ।’ निकै सुविधा भएको भन्दै अन्जुकी आमा बिना चौधरीले खुसी व्यक्त गरे । नागरिकको सुविधालाई ध्यान दिँदै प्राथमिक स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरिएको वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले बताए । सुरुमा नर्मल डेलिभरी सेवामात्र रहेको स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नतिपछि सेवा विस्तार गरिएको उनी बताउछन् । ‘अहिले शल्यक्रियाबाट सुत्केरी गराउनु परे पनि बाहिर जानु पर्दैन’, उनले भने, ‘हामीसँग डाक्टरदेखि चाहिने सबै उपकरण उपलब्ध छन् ।”’ पहिला यति सेवा लिन महँगो खर्चमा टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यहाँ जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा छ । उच्च रक्तचाप, मधुमेह, क्षयरोगलगायतका परीक्षण निकै सुलभ मूल्यमा हुने गरेको ल्याब टेक्निसियन प्रकाश यादवले जानकारी दिए। ल्याब सेवा लिन आउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उनको दाबी छ । जिल्लाका सम्पूर्ण पालिकालाई प्रदेश सरकारबाट जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न सहयोग गरिएको थियो । उपचारका लागि अन्यत्र जानुपर्ने बिरामले ल्याब परीक्षण गराएर जाने गरेका टेक्निसियन यादव बताउछन्। ल्याबबाट प्रदान भएको सेवामा सेवाग्राहीको विश्वास बढेको बताए। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको औषधि र उपचार सेवा उपलब्ध रहेकाले बिरामीको चाप रहेको अस्पताल स्रोतले जनाएको हो । जिल्लामा सदरमुकाम मलङ्गवास्थित प्रदेश अस्पताल र लालबन्दी नगर अस्पतालमा मात्र शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा छ । यसअघि सिएस सेवा लिन धेरै रकम खर्च गरेर वीरगञ्ज, जनकपुर, भरतपुर, काठमाडौँलगायत ठूला सहर धाउनुपर्ने बाध्यता थियो । नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए । रासस
फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दाबी बीमा रकम
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमा बापत १५ लाख ७५ हजार भुक्तानी गरेको हो । इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल चैत्र ७ गते फरवार्ड माइक्रोफाइनान्सबाट ७ लाख रुपैंया कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् । ६ लाख ६५ हजार २ सय ६७ रुपैंया किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत नौ लाख नौ हजार सात सय ३२ रुपैंया प्रदान गरेको छ । बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ । फरवार्ड माईक्रोफाइनान्सले एक कार्यक्रम नै गरी इश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ । सो क्रममा बोल्दै इश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज बिकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुबित्त बित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा वित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेशा, व्यापार व्यवसाय बिकास गर्ने जिकीर गरे । कार्यक्रममा बोल्दै फरवार्डका सञ्चालक सदस्य प्रा.डा श्यामकिशोर महतोले समुदाय र निम्न वर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशिल हुने विश्वास दिलाउँदै वित्तीय संस्था, स्थानीय समुदाय र स्थानीय सरकार बिच सहकार्य गर्न आवश्यक रहेको जनाए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले फरवार्ड संस्थाको पृष्ठभूमी, संस्थाको परीचय र उद्देश्य बारे बोल्दै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गरे । उनले इन्द्रवतीलाई दिइएको बीमा रकम हालसम्मकै ठूलो बीमा सुविधा भएको जानकारी दिए ।
टर्कीको वार्षिक औद्योगिक उत्पादन सूचकांक २ वर्ष यताकै उच्च
काठमाडौं । टर्कीको औद्योगिक उत्पादन सूचकांक फेब्रुअरीमा वार्षिक रूपमा ११.५ प्रतिशतले बढेको छ । जुन विगत दुई वर्षको सबैभन्दा तिब्र वृद्धि हो । गत वर्षको सोही अवधिको तुलनामा खनन तथा उत्खनन सूचकाङ्क १२.८ प्रतिशतले, उत्पादन परिसूचक ११.९ प्रतिशत र विद्युत, ग्यास, स्टीम र वातानुकूलित आपूर्ति सूचकाङ्क ७.७ प्रतिशतले बढेको तथ्याङ्कले प्रमुख क्षेत्रहरूमा उल्लेख्य वृद्धि भएको देखाएको छ । मासिक आधारमा उत्पादन फेब्रुअरीमा ३.२ प्रतिशत बढेको छ । यो मार्च २०२३ पछि सबैभन्दा तिब्र वृद्धि हो । विशिष्ट उपक्षेत्रहरू जाँच्दा खानी र उत्खनन सूचकांक ३.२ प्रतिशतले घटेको देखियो भने उत्पादन र बिजुली, ग्यास, स्टीम र वातानुकुलित आपूर्ति सूचकाङ्क क्रमशः ३.८ प्रतिशत र ०.३ प्रतिशतले बढेको छ ।
कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने
काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आज मंगलबार नै राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि मनोनयन हुँदैछ भने बुधबार निर्वाचनको लागि मिति तोकिएको छ । कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको पुडासैनी माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत निर्वाचित भएकी हुन् ।