तीन अर्बको लागतमा महाराजगञ्जमा पाँचतारे होटल बन्दै, डेढ वर्षभित्रै सञ्चालनमा आउने
तस्विर : बन्दै गरेको लालचन होटल, लालचन ग्रुपका प्रबन्ध निर्देशक नितेश लालचनको सामाजिक सञ्चालबाट काठमाडौं । व्यावसायिक घरना लालचन ग्रुपले काठमाडौंको महाराजगञ्जमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छ । ग्रुप अन्तर्गतको होटल लालचन प्रालिले काठमाडौंमा उच्तस्तरीय व्यापारीक तथा मनोरञ्जनात्मक होटल स्थापना गर्ने योजना स्वरुप उक्त स्थानमा होटल सञ्चालनमा ल्याउने भएको हो । सन् २०१८मा स्थापना भएको होटल लालचनले महाराजगञ्जमा एक लाख ५२ हजार ४८१ वर्गमिटर जग्गाको क्षेत्रफलमा नयाँ होटल बनाउन लागेको हो । कम्पनीका अनुसार उक्त होटलमा कूल एक सय ३५ वटा कोठा हुनेछन् । जसमा ९ वटा स्वीट रुम, ९ वटा जुनियर रुम र बाँकी एक सय १७ वटा स्ट्याण्डर्ड रुम हुने छन् । कम्पनीका अनुसार उक्त होटलमा फुड एण्ड वेभरेजको सुविधा, स्वीमिङ्ग पुल, क्यासिनो, सम्मेलन र भोज सुविधा, स्पा लगायतका विभिन्न सेवा सुविधाहरु रहनेछन् । यी बाहेक कम्पनीले आवश्यकता अनुसार अन्य सेवा सुविधाहरु पनि विस्तारै थप्दै लैजाने योजना बनाएको छ । होटल लालचनले कूल तीन अर्ब ९० लाखको अनुमानित लागतमा उक्त पाँचतारे होटल स्थापना गर्न लागेको हो । जहाँ संस्थापकहरुको २७ प्रतिशत र बाँकी ७५ प्रतिशत वित्तीय लगानी हुने छ । कम्पनीका अनुसार संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछन् भने बाँकी २ अर्ब २५ करोड ७० लाख रुपैयाँ बैंकको ऋण लगानी हुने छ । हालसम्म कम्पनीका संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँको करिब ४३ प्रतिशत अर्थात ३२ करोड २० लाख रुपैयाँ लगानी गरिसकेका छन् । हालसम्म ४६ प्रतिशत निर्माण भइसकेको उक्त होटल २०८२ असार अर्थात २०२५ जुलाई भित्रमा सञ्चालनमा आउने कम्पनीको अपेक्षा छ । निमार्णाधिन होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब ६.२ किलोमिटरको दुरीमा अवस्थित छ । विदेशी पर्यटकहरुको चाप बढी हुने र नेपालको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक भएकाले पनि कम्पनीले काठमाडौंमा होटल सञ्चालनमा ल्याउन लागेको बताएको छ । लालचन ग्रुपले रियल स्टेट र हस्पिटालिटी क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्दै गइरहेको छ । ग्रुपको बिवा एग्रो प्रालि र बेभर्ली हिल्स प्रालि लगायतका परियोजनाहरु सञ्चालनमा छन् जसको सम्पूर्ण नेतृत्व सोम बहादुर लालचनले गरिरहेका छन् । २०२० डिसेम्बरमा भएको सम्झौता अनुसार उक्त होटलको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेजले सम्हाल्ने छ । सन् २०२० डिसेम्बरमा होटल लालचन र हिल्टनबीच होटल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी सम्झौता भएको थियो । जसअनुसार उक्त होटल ‘डबल ट्री बाइ हिल्टन’को ब्राण्ड बाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ । होटल लालचनले २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । जसमा केयर रेटिङ नेपालले केयर एनपी बीबी माइनसको रेटिङ दिएको छ । निर्माणाधिन होटल र सञ्चालन स्थीरतामा जोखिम भएकोले होटललाई उक्त रेटिङ दिइएको हो ।
बढेको बजारमा सूर्यज्योतिको सर्वाधिक कारोबार, तीन फाइनान्समा लाग्यो सर्किट
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले बढी हो । बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा ३१५ वटा स्क्रीप्सको कूल ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सूूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । जसको सेयर मूल्य भने घटेर ४९९.१० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.७० रुपैयाँले कम हो । मंगलबार फाइनान्स कम्पनीमा उछाल देखिएको छ । टप गेनरको अग्रस्थानमा लगातार तीन फाइनान्स कम्पनी रहेका छन् । प्रत्येकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स कम्पनीको १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२.२० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल फाइनान्सको ९.९९ प्रतिशतले बढेर ४६५.८० रुपैयाँ र पोखरा फाइनान्सको पनि सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४७५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा विन नेपाल लघुवित्तको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता १५११.१० रुपैयाँमा झरेको छ । मंगलबार होटल एण्ड टुरिजम, उत्पादनमूलक र लघुवित्त समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।
लहानमा ८ करोड लागतमा ड्रेन बन्ने
सिरहा । सिरहाको लहान नगरपालिकाले आठ करोड ५८ लाख रुपैयाँ लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । मंगलबार एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गरे । लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए । ‘खुल्ला नहरले बजारक्षेत्र कुरुप बनाएको थियो । नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए,’ नगर प्रमुख चौधरीले भने, ‘सुन्दर लहान बनाउने परिकल्पना अब साकार हुनेछ ।’ ड्रेन निर्माणपछि नहरको दाँयाबाँया सडक र किनारमा बगैँचासमेत निर्माण हुने उनले जानकारी दिए । लहान बजारको उत्तरतर्फ वडा नं १०, ६, ७, ८ को ग्रामीण चोक हुँदै मारवाडी टोल, घण्टाघर, हुलाक चोक हुँदै दक्षिणतर्फ बहने दुई किलोमिटर लम्बाईको नहरमा ड्रेन बन्ने वडा न. ७ का अध्यक्ष राम अवतार शर्माले जानकारी दिए । उनका अनुसार ड्रेन निर्माणको ठेक्का सुलभ गुम्दा, पिपी जेभी कम्पनीले लिएको छ । व्यवस्थित पक्की ड्रेन निर्माणले दुर्घटनाको जोखिम न्यूनीकरणका साथै लामखुट्टे आतङ्क नियन्त्रणमा सहयोग पुग्ने नगरपालिकाका सरसरफाइ संयोजक तथा वडा नं ८ का अध्यक्ष श्याम शाहले बताए । योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ । रासस
नेपाली विद्यार्थीको मृत्युदर बढेपछि एनआरएनए अष्ट्रेलिया चिन्तित, सरोकारवालालाई ध्यानाकर्षण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पछिल्ला दिनहरूमा अष्ट्रेलियामा रहेका नेपालीहरूको आत्महत्या तथा मृत्यु हुने दर बढेकोप्रति चिन्ता जनाएका छन् । संघले मृतक प्रति श्रद्धाञ्जलीका साथै मृतकका परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । केही दिनमै सिड्नीमा ६ जना नेपालीको मृत्यु भएको र त्यसमा अधिकांशले आत्महत्या रोजेको पाइएको भन्दै अध्यक्ष पोखरेलले चिन्ता व्यक्त गरेका हुन् । त्यसबाहेक पानीमा डुबेर, विद्युत शर्ट भएर तथा अन्य कारणले नेपालीहरूको मृत्यु भइरहेको पोखरेलको भनाइ छ । पोखरेलले यस्तो दुखद् घटना न्यूनीकरणका लागि अभिभावक तथा सरकारी निकायसमेतको मुख्य भूमिका हुने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेको छ । पोखरेलले नेपालमा रहेका अभिभावकहरूले विदेशमा छोराछोरी पठाउने बित्तिकै आफ्नो भूमिका सकियो भन्ने सोच्न नहुने बताएका छन् । सिड्नीमा भएको आत्महत्या तथा मृत्युमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको भन्दै यस्तो उमेरमा परिवारले समेत उनीहरूलाई विशेष जिम्मेवारी निभाउनुपर्नेमा पोखरेलले जोड दिएका छन् । उनले भनेका छन्, ‘उनीहरूलाई मानसिक स्वास्थ्य लगायतका विषयमा सचेतना र सहयोग आवश्यक हुन्छ ।’ यस्तै अध्ययनका शिलशिलामा विदेशमा रहेका आफ्ना सन्तानसँग निरन्तर सम्पर्कमा रहने, कुराकानी गर्ने तथा सरसल्लाह र सहयोग गर्नेमा परिवार विशेष चनाखो हुनुपर्ने उनले भनेका छन् । साथै विद्यार्थीहरूलाई एनओसी जारी गर्नु अघि स्वदेश फिर्ता खर्च कभर गर्ने अनिवार्य बीमाको व्यवस्था गर्नुपर्नेमा समेत उनले नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् । स्वदेश फिर्ता गर्न कम्तिमा पनि १५-२० हजार डलर खर्च लाग्ने उनले बताएका छन् । यस्ता घटनाहरूमा सहजीकरण गर्नका लागि दूतावास र वाणिज्य दूतावास दुबैबाट सहयोग चाहिने पोखरेलको भनाइ छ । जसका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यु)स्थित वाणिज्य दूतावासमा वाणिज्य दूतमा तत्काल नियुक्ति गर्न उनले माग गरेका छन् । पोखरेलले आफ्ना प्रतिनिधिहरू स्वयम्सेवक मात्रै रहेको भन्दै स्रोतसाधनहरू सीमित रहेकाले यस्ता परिस्थितिहरूको व्यवस्थापन गर्न कठीन भइरहेको समेत बताएका छन् । पोखरेलले भनेका छन्, ‘यस कठिन समयमा तपाईंको धैर्यता र समझदारी बढी आवश्यक हुन्छ ।’ संघले पछिल्लो समय बढ्दो मृत्यु र आत्महत्यालाई न्युनीकरण गर्नका लागि दूतावास, वाणिज्य दूतावास, एनआरएनए र समुदायका सदस्यहरू बीच व्यापक छलफल गरी समाधान खोज्नका लागि पहल गर्ने अध्यक्ष पोखरेलले प्रतिवद्धता समेत जनाएका छन् ।
पोखरामा नेपालकै पहिलो ‘सावर बञ्जी’ सुरू हुँदै, बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने
पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । कम्पनीले हेम्जामा सञ्चालनमा गरिरहेको बञ्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी आफ्ना पाहुनाहरूलाई फरक स्वाद पस्कने योजनाले सावर बञ्जीको अवधारणा ल्याइएको हाइग्राउण्ड एड्भेञ्चर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक दिनेश महर्जन बताउँछन् । पर्यटन व्यवसायी, पत्रकार र नेपाल पर्यटन बोर्डलगायत सरकारी संस्थाका प्रतिनिधिको उपस्तिथिमा सावर बञ्जीको भोलि चैत २८ गते उद्घाटन गरिने महर्जनले जानकारी दिए । ‘विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बञ्जी सुरु गराउन पाउँदा हामी एकदमै एक्साइटेड छौँ,’ महर्जन भन्छन् । जम्मा ६ हजार ५ सयमा फोटो, भिडियो र टिसर्टसहित बञ्जी बुक गर्न सकिनेछ । जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ । ‘सावर बञ्जी विश्वमै अनौठो प्रडक्ट हो,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘यसले पर्यटकीय राजधानीको क्रेज अझ बढाउनेमा दुई मत छैन ।’ हाइग्राउण्डले युरोपेली एड्भेञ्चर कम्पनी ‘बञ्जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बञ्जी जम्प सुरू गरेको थियो । ‘बञ्जीको एड्भेञ्चर आफैंमा उत्कृष्ट अनुभव हो । त्यसैमाथि सावर बञ्जीले अझै एड्भेञ्चर अनुभव गराउने भएकाले पोखरामा आन्तरिक र बाह्य पर्यटकबीच थप आकर्षण भइ पोखराको पर्यटन प्रवर्द्धनमा थप मद्दत हुने विश्वास लिएको छु,’ नेपाल पर्यटन बोर्डको पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सागर श्रेष्ठले भने । क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो । यसमा जोडी अंगालो मारेर बञ्जी गर्ने ‘टेन्डम बञ्जी’ पनि नेपालमा हाइग्राउडले नै सुरू गरेको हो जुन अहिले युवायुवतीबीच निकै आकर्षणको केन्द्र बनेको छ । कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेस महर्जनको लगानी छ । कम्पनीले सन् २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन भित्र्याएको थियो । सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखराको सराङ्कोटको टाकुराबाट माछापुच्छ्रेसँग जिस्कँदै हेम्जाको फाँटमा पुगिने जिपलाइन अमेरिकी एड्भेञ्चर कम्पनी ‘जिपफ्ल्यायर युएस’को फ्रेन्चाइज जिपलाइन हो । विश्वकै भिरालो र छिटो (द वर्ल्डस स्टिपेस्ट एण्ड फास्टेस्ट) र विश्वकै दोस्रो लामो सो जिपलाइनमा २ वर्ष अघिबाट सुपरम्यान जिपलाइन पनि सुरू गरिएको छ । कम्पनीले हेम्जा स्टेसनमा नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्वीङ एक्लै, जोडीमा वा तीन जनासम्म एकैपटक बसेर खेल्न मिल्छ । पछिल्लो २ वर्षदेखि कम्पनीले पोखरामा एटिभी (अल टेरेन भेहिकल)को सेवा पनि दिँदै आएको छ । दुबईको डेजर्ट सफारीमा लोकप्रिय बाइकलाई फेवा किनार र पामे क्षेत्रमा रहेको अफरोडमा चलाएर मज्जा लिन सकिन्छ । यो क्वार्ड बाइकको नामले पनि चिनिन्छ ।
लाभांशबाटै २० अर्ब पुँजी पुर्याउने नेपाल रिको योजना, हकप्रद नल्याउने
काठमाडौं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने याेजना बनाएकाे छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हाे । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको अन्तिम चरणमा छ, एक/दुई दिनमा स्वीकृत भएर आउँछ, लाभांश (बोनस सेयर) वितरण गरेर २० अर्ब पुँजी पुर्याउँछौं,’ अध्यक्ष अर्यालले भने । साथै, अर्थमन्त्रालयमा पेस गरेको पुँजी वृद्धिको योजनाबारे बीमा प्राधिकरणलाई समेत जानकारी गराइएको उनको भनाइ छ । तर, पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने योजना कम्पनीको नरहेको उनले बताए । नेपाल पुनर्बीमाको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । अध्यक्ष अर्यालले भनेर अनुसार यदि बोनस सेयर वितरण गरेर २० अर्ब पुँजी पुर्याउने हो भने कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको लाभांश दिनु पर्ने देखिन्छ । प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । नेपाल रिइन्स्योरेन्सले भने थप १५ दिनको समय मागेको थियो । २ महिना हुँदा पनि कम्पनीले पुँजी वृद्धिको योजना प्राधिकरणलाई पेस गर्न सकेको छैन । ‘कम्पनीले पुँजी वृद्धिको योजना मन्त्रालयमा पठाइसकेको तर सहमति आउन बाँकी रहेको छ,’ पुनर्बीमा कम्पनीका अध्यक्ष अर्यालले भने । स्रोतका अनुसार पुँजी वृद्धिका लागि मन्त्रालय सकारात्मक नरहेकाले कम्पनीको फाइल रोकेर राखेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार नेपाल पुनर्बीमाले हालसम्म पुँजी वृद्धिको योजना पेस गरेको छैन । मन्त्रालयको सहमतिपछि मात्रै योजना पेस गर्ने पत्र पुनर्बीमा कम्पनीले पठाएको कार्यकारी निर्देशक पौडेल बताउँछन् । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ ।
फेसबुक सञ्चालक जुकरबर्ग संसारकै तेस्रो ठूलो धनी
काठमाडौं । संसारकै ठूलो सामाजिक सञ्जाल वेबसाइट फेसबुकको मूल कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गका लागि सन् २०२४ उत्कृष्ट वर्ष सावित भएको छ । उनी धनको दौडमा रकेट गतिमा अगाडि बढिरहेका छन् । यसको अनुमान उनको नेटवर्थमा भएको उछाल हेरेर गर्न सकिन्छ, जसका कारण मार्क जुकरबर्ग टप टेन अर्बपतिको सूचीमा तेस्रो स्थानमा पुगेका छन् । सन् २०२० पछि उनले धनको दौडमा इलन मस्कलाई पछि पारेका छन् । ब्लुमबर्ग बिलिनायर्स इन्डेक्सका अनुसार विश्वका शीर्ष ३ अर्बपतिको सूचीमा फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट २ खर्ब २३ अर्ब अमेरिकी डलर सम्पत्ति सहित पहिलो स्थानमा छन् भने अमेजनका जेफ बेजोस दोस्रो स्थानमा छन् । गत शुक्रबार २ खर्ब ७ अर्ब डलर सम्पत्ति सहित विश्वको दोस्रो धनी व्यक्ति मस्कलाई हराएर विश्वको तेस्रो धनी व्यक्ति बनेका मार्क जुकरबर्गको कुल सम्पत्ति १ खर्ब ८७ अर्ब डलर पुगेको छ । तीन महिनामा बढ्यो नेटवर्थ यस वर्षको अन्तिम तीन महिनामा मार्क जुकरबर्गको नेटवर्थमा ठूलो उछाल आएको छ । मेटाको सेयरको वृद्धिसँगै उनको सम्पत्ति ५८ अर्ब ९० करोड डलर अर्थात करिब ४९ खर्ब ७ अर्ब १७ करोड ३९ लाख ८५ हजार रुपैयाँले बढेको छ । नेटवर्थमा भएको यो वृद्धिका कारण उनले मस्कलाई चौथो स्थानमा धकेल्दै तेस्रो स्थानमा कब्जा जमाएका छन् । टेस्लाका सीईओ मस्कको कुल सम्पत्ति १ खर्ब ८१ अर्ब डलर छ । यसअघि १६ नोभेम्बर २०२० मा मार्क जुकरबर्ग १ खर्ब ५ अर्ब ६० करोड डलर कुल सम्पत्तिका साथ तेस्रो स्थानमा पुगेका थिए । मस्कका लागि २०२४ खराब वर्ष एकातिर यो वर्ष मार्क जुकरबर्गका लागि लाभदायक सावित भइरहेको छ भने अर्कातर्फ इलन मस्कका लागि पनि उत्तिकै नराम्रो देखिएको छ । ब्लुमबर्गका अनुसार पछिल्लो तीन महिनामा मात्रै मस्कको सम्पत्ति ४८ अर्ब ४० करोड डलर अर्थात करिब ४० खर्ब ३२ अर्ब ८६ करोड ४६ लाख ६० हजार रुपैयाँले घटेको छ । यो वर्ष उनको कम्पनीको सेयरमा भारी गिरावट आएको र यसका कारण उनी विश्वको नम्बर एक धनी व्यक्तिको स्थानबाट खसेर चौथो स्थानमा पुगेका छन् । शीर्ष १० को सूचीमा परे यी नाम विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीको पछिल्लो अपडेट हेर्दा बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, मार्क जुकरबर्ग र इलन मस्कपछि बिल गेट्स १लखर्ब ५३ अर्ब डलरसहित पाँचौं स्थानमा छन् भने १ खर्ब ४७ अर्ब डलरसहित स्टिभ बाल्मर छैटौं स्थानमा छन् । त्यस्तै १ खर्ब ३८ अर्ब डलरका साथ वारेन बफेट सातौं, आठौं स्थानमा १ खर्ब ३८ अर्ब डलरसाथ ल्यारी पेज, १ खर्ब ३७ अर्ब डलरसाथ नवौं स्थानमा ल्यारी एलिसन र १ खर्ब ३१ अर्ब डलरसाथ १०औं स्थानमा सर्गे ब्रिन छन् । मुकेश अम्बानी र गौतम अडानीको वर्चश्व भारतीय अर्बपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका ११औं धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति १ खर्ब १२ अर्ब डलर छ । यस वर्ष अम्बानीको सम्पत्ति १६ अर्ब ११ करोड डलर वा करिब १३ खर्ब ४० अर्ब भारुले बढेको छ । दोस्रो भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानी धनीहरूको यो सूचीमा १४औं स्थानमा छन् र उनको कुल सम्पत्ति १ खर्ब ४ अर्ब डलर छ । यो वर्ष अडानीले पनि १९ अर्ब ९० करोड डलर अर्थात् करिब १६ खर्ब ५० अर्ब भारु कमाएका छन् । एजेन्सी
रेमिट्यान्स र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताए । सरकारले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,राजश्व र विदेशी सहयोगलाई मात्रै केन्द्रबिन्दुमा राख्न नहुने जानकारी दिए । परराष्ट्रमन्त्री श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवद्र्धनसहित व्यापार घाटा कम गर्नु पर्ने अहिलेको आवश्यकता भएको दाबी गरे । त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा जोड दिए । पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकास र व्यापार घाटा कम गर्न आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए । सरकारले उत्पादन, रोजगारीमा वृद्धि,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धनमा जोड दिने बताए । आर्थिक क्रियाकलापलाई गति दिनको लागि सरकारको नीति योजना र बजेट त्यहीअनुसार हुनुपर्ने आवश्यकता रहेको जानकारी दिए । ‘पुँजी वृद्धि समस्या, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकासको समस्या र व्यापार घाटा कम गर्ने ती विषयलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि आर्थिक क्रियाकलापलाई असाधरण रुपले तिव्र बनाउनु ,उत्पादन र रोजगारीमा वृद्धि गर्नु,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । यो काम गर्नको लागि सरकारको नीति योजना र बजेट त्यही अनुसार हुनु पर्ने आवश्यकता हुन्छ । निर्यात प्रवद्र्धन सहित व्यापार घाटा कम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष खुला छलफलमा बस्यौं’, उनले भने । उनले सरकारले मुलुक रेमिट्यान्स,राजश्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोचको अन्त्य गर्नुपर्ने उल्लेख गरे । सरकारले परम्परागत रुप भन्दा पनि नयाँ सोचका साथ अर्थतन्त्रलाई गति दिनु सरकारको पहिलो प्राथमिकता रहेको बताए ।