नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । ‘लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौँ’, प्रधानमन्त्री प्रचण्डले भने । सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू बीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य श्रृङ्खलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवाहरूलाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ’, उनले भने, ‘लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ।’ उनले विद्यमान र सम्भावित लगानीकर्ताहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताए । सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको बताए ।
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : मन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले सो कुरा बताएका हुन् । मन्त्री पुनले आर्थिक रुपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको उनको भनाइ थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरु भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे । आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे । उत्पादनमुलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको बताए । मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको उनको भनाइ थियो । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरुसँग निरन्तर संवाद र परामर्श गरिरहेको मन्त्री पुनले बताए । नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको भन्दै मन्त्री पुनको भनाइ छ । १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे । पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए । ती सडकहरुको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे । महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाण्डौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए ।
अर्बौं खर्च गरिसकेका आयोजनाको ईआइए खारेज, ऊर्जा उद्यमीको आपत्ति
काठमाडौं । अर्बौ रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) खारेज भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले गम्भीर आपत्ती जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको एउटा निकायले आयोजनाको अनुमति पत्र दिएर जनताको करोडौ रुपैयाँ लगानी भइसकेपछि अर्को निकायले आयोजना बनाउन मिल्दैन भन्दा ऊर्जा उद्यमीहरू पलायन हुनु पर्ने अवस्था आएको बताए । कार्कीले विद्युत आयोजना बनाउन बाटो बनाएर, जग्गा खरिद गरेर आधा काम गरेपछि आयोजना बनाउन नपाउँदा व्यवसायीहरू निकै पीडित भएको बताए । उनले निजी क्षेत्र सरकारले लिएको जलविद्युत उत्पादनको लक्ष्यलाई सहयोग गर्न तयार रहेको र त्यसका लागि राज्यले नीतिगत सुधार गर्न आवश्यक रहेको बताए । ‘जलविद्युत प्रवर्द्धकलाई वनको कारण पक्राउ पुर्जी आउन थालेको र व्यवसायीहरूले अदालतबाट स्टेडअण्डर लिनु पर्ने अवस्था रहेको छ, यस्तो हुँदा व्यवसायीले जलविद्युत उत्पादन गर्दै हिड्ने वा भाग्दै हिड्ने ?’ उनले प्रश्न गरे । निजी क्षेत्र वातावरण संरक्षण गर्नुपर्छ भन्ने कुरामा प्रतिवद्ध रहेको कुरा स्पष्ट पार्दै कार्कीले भने, ‘रुख नरोपे, वातावरण नजोगाए पानीको स्रोत सुक्दै जान्छन् । पानीको स्रोत सुक्नु भनेको जलविद्युत उत्पादन घट्नु हो । विद्युत उत्पादन घटाएर आफ्नो बिजनेश घटाउन कोही पनि प्रवर्द्धकले चाहँदैनन् ।’ ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उद्योगका समस्या बल्झाउने वा नयाँ समस्या क्रिएट गर्ने कुरा त परै जाओस्र सरकार समस्या बाँकी नै नराख्ने दिशामा अघि बढेको बताए । उनले सरकार र निजी क्षेत्र आरोप प्रत्यारोप भन्दा पनि आपसी समन्वय गरेर जाँदा मात्रै जलविद्युतको विकास हुने र त्यसका लागि निजी क्षेत्र र राज्य साझेदारीको बाटोमा जाँदा मात्रै मुलुकले समृद्धि हासिल हुने पनि बताए । मन्त्री बस्नेतले मुलुकमा जलविद्युतको क्षेत्रबाट हेर्दा धेरै आशावादी हुने ठाउँ रहेको बताउँदै पछिल्लो ८ वर्षमा २५ सय मेगावटा विद्युत उत्पादन भएको र अबको १२ वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने गतिमा सरकार अघि बढेकाले निजी क्षेत्र निराश हुनुपर्ने अवस्था नभएको दाबी गरे । ऊर्जा मन्त्री बस्नेतले जलविद्युतको विकासका लागि सबैले सन्तुलित ढङ्गले सोच्नुपर्ने भन्दै विकास गर्नेले वातावरणको विषय र वातावरणको संरक्षण गर्नेले विकासको महत्व बुझ्न जरुरी रहेको बताए । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले विद्युत विधेयक ७० लाख शेयर लगानीकर्ता र हाइड्रो व्यवसायीको हितलाई पहिलो प्राथमिकता राखेर आउने बताए । सभापति सिंहले व्यवसायीहरुले घर, खेत धितो राखेर उद्योग सञ्चालन गरी रहेको भन्दै राज्यले उद्योग सञ्चालन गर्ने हाइड्रो व्यवसायीहरुलाई बाधा अवरोधमा अलमल्याउँदा उद्योगबाट पलायन हुनुपर्ने अवस्था आउनसक्नेमा सबैको ध्यानाकर्षण गराए । सिंहले देश बचाउने र बनाउने वर्ग ऊर्जा व्यवसायीहरु भएको भन्दै निर्माण व्यवासायीहरुको जस्तो अवस्था जलविद्युत व्यवसायीले पनि भोग्नुपरे राम्रो भविष्य नहुने दोहोर्याए । उनले सरकारले ८ देखि १० वटा ठूला हाइड्रो पावरहरु मुलुकमा बनाउनसके लाखौं युवाशक्ति पलायन हुनबाट रोक्न सकिने पनि बताए । तर, अहिलेकै अवस्थामा विदेश पलायन हुने हो भने केही वर्षमा इन्जिनियर लगायतका जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था आउनेमा पनि सिंहले चिन्ता व्यक्त गरे । उनले निजी क्षेत्र एक ढिक्का भए व्यवसायीमैत्री कानून बनाउन राज्य बाध्य हुने भन्दै निजी क्षेत्र एक भएर सरकारलाई विद्युत आयोजना बन्द गर्छौं भन्दै धम्काउन सक्नुपर्ने पनि बताए । ऊर्जा मन्त्रालयका सहसचिव नविनराज सिंहले भारतसँग गरिएको दीर्घकालिन विद्युत व्यापार सम्झौता विरुद्ध अदालतमा परेको रिटको बहस सुन्दा आफू चिन्तित रहेको बताए । जलाशययुक्त आयोजना बनाउँदा तल्लो तटीय क्षेत्रको फाइदाबारे भइरहेको बहसले नेपालमा जलाशययुक्त आयोजना नै बनाउन नपाइने हो कि भन्ने चिन्तासमेत लागेको सिंहले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुसंरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले वन तथा वातावरण मन्त्रालय भन्दा पनि अन्य व्यक्तिहरु धेरै वातावरणविद हुँदा पूर्वाधार विकासलाई सघाउने नीति नियम बनाउनै नदिएको आरोप लगाए । ‘वन मन्त्रालय कन्जरभेटिभ भएको साँचो हो । यसको पछाडी जंगल क्षेत्र नघटोस भन्ने मात्रै स्वार्थ हो । त्यसैले एक रुख काट्दा २ रुख रोप्ने, जग्गा सट्टाभर्ना गर्ने नियम राखेका हौ । यो नियम लगाउन हुँदैन भन्ने हो भने पनि हामी तयार छौ । वातावरण विदले यो कुरा भनिदिनुपर्यो ।’ उनले भने । लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले पूर्वाधार विकासमा भइरहेका अवरोधहरुलाई लिएर बोर्ड संवेदनशिल भएको बताए । उनले यस्ता अवरोधहरु चिर्ने गरी बैशाख १६ र १७ गते हुने लगानी सम्मेलन अघि केही कानूनहरु संसोधन हुने बताए । वरिष्ठ अधिवक्ता केदार कार्कीले निकुञ्ज विभागले भौतिक पूर्वाधार निर्माण सम्बन्धि कार्यविधि बनाउँदा अदालतको आदेशलाई समेत पालना नगरेको बताए । उनले नेपालको कर्मचारीतन्त्र विकासमैत्री नभएको पनि आरोप लगाए । नेपालको विकासका लागि हाइड्रोभन्दा अर्को विकल्प नभएको पनि कार्कीले बताए । जलविद्युत आयोजनाको लाइसेन्स लिइसकेपछि त्यो कुनै पनि हालतमा खारेज नहुने कार्कीले दाबी गरे । ‘आयोजना विकास नगरे प्रवर्द्धकले पैसा कमाउँदैन, लाइसेन्स खारेज हुने व्यवस्था कानूनमा छैन ।’ उनले भने, ‘३० वर्षपछि पनि नेपाली प्रवर्द्धकले बनाएका आयोजना करार गरेर निजी क्षेत्रले नै सञ्चालन गर्न सक्छ ।’ सहभागीका तर्फबाट बोल्दै ब्ल्यू इनर्जी प्रालीका निरञ्जन रेग्मीले आयोजनाले १५ प्रतिशत भदतिक काम गरिसकेपछि इआ२ए खारेज गरिपाउँ भन्दै अदालत गएको भन्दै आयोजना कार्यान्वयनमा गइसकेपछि इआईए खारेज गर्न नहुने बताए । त्यस्तै सहभागीका तर्फबाट बोल्दै प्रवर्द्धक बिनोद देवकोटाले ३५ प्रतिशत पानी छोड्दा आयोजना नै बनाउन नसकिने भएकाले १० प्रतिशत पानी इमान्दारीपूर्वक छोडेको कुरा नियमन गरे पुग्ने बताए । त्यस्तै ऊर्जा प्रवर्द्धक कृष्णप्रसाद भण्डारीले जलविद्युत आयोजना बनेपछि त्यो ठाउँमा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै जंगल मात्रै जोगाउँ, जलविद्युत बनाउनै हुँदैन भन्नु जायज नभएको बताए । अधिवक्ता होमकान्त चौलागाईले १० प्रतिशत पानी छोड्दा हुने ठाउँमा हँचुवाको भरमा ३५ प्रतिशत उल्लेख गरेको भन्दै यस्तो व्यवस्था हुनै नसक्ने बताए । कार्यक्रममा वातावरणविद सलिम देवकोटा र निराजन श्रेष्ठले इआईएको महत्व वारे प्रस्तुतीकरण दिएका थिए भने इप्पान उपमहासचिव प्रकाश दुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।
तीन अर्बको लागतमा महाराजगञ्जमा पाँचतारे होटल बन्दै, डेढ वर्षभित्रै सञ्चालनमा आउने
तस्विर : बन्दै गरेको लालचन होटल, लालचन ग्रुपका प्रबन्ध निर्देशक नितेश लालचनको सामाजिक सञ्चालबाट काठमाडौं । व्यावसायिक घरना लालचन ग्रुपले काठमाडौंको महाराजगञ्जमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छ । ग्रुप अन्तर्गतको होटल लालचन प्रालिले काठमाडौंमा उच्तस्तरीय व्यापारीक तथा मनोरञ्जनात्मक होटल स्थापना गर्ने योजना स्वरुप उक्त स्थानमा होटल सञ्चालनमा ल्याउने भएको हो । सन् २०१८मा स्थापना भएको होटल लालचनले महाराजगञ्जमा एक लाख ५२ हजार ४८१ वर्गमिटर जग्गाको क्षेत्रफलमा नयाँ होटल बनाउन लागेको हो । कम्पनीका अनुसार उक्त होटलमा कूल एक सय ३५ वटा कोठा हुनेछन् । जसमा ९ वटा स्वीट रुम, ९ वटा जुनियर रुम र बाँकी एक सय १७ वटा स्ट्याण्डर्ड रुम हुने छन् । कम्पनीका अनुसार उक्त होटलमा फुड एण्ड वेभरेजको सुविधा, स्वीमिङ्ग पुल, क्यासिनो, सम्मेलन र भोज सुविधा, स्पा लगायतका विभिन्न सेवा सुविधाहरु रहनेछन् । यी बाहेक कम्पनीले आवश्यकता अनुसार अन्य सेवा सुविधाहरु पनि विस्तारै थप्दै लैजाने योजना बनाएको छ । होटल लालचनले कूल तीन अर्ब ९० लाखको अनुमानित लागतमा उक्त पाँचतारे होटल स्थापना गर्न लागेको हो । जहाँ संस्थापकहरुको २७ प्रतिशत र बाँकी ७५ प्रतिशत वित्तीय लगानी हुने छ । कम्पनीका अनुसार संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछन् भने बाँकी २ अर्ब २५ करोड ७० लाख रुपैयाँ बैंकको ऋण लगानी हुने छ । हालसम्म कम्पनीका संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँको करिब ४३ प्रतिशत अर्थात ३२ करोड २० लाख रुपैयाँ लगानी गरिसकेका छन् । हालसम्म ४६ प्रतिशत निर्माण भइसकेको उक्त होटल २०८२ असार अर्थात २०२५ जुलाई भित्रमा सञ्चालनमा आउने कम्पनीको अपेक्षा छ । निमार्णाधिन होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब ६.२ किलोमिटरको दुरीमा अवस्थित छ । विदेशी पर्यटकहरुको चाप बढी हुने र नेपालको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक भएकाले पनि कम्पनीले काठमाडौंमा होटल सञ्चालनमा ल्याउन लागेको बताएको छ । लालचन ग्रुपले रियल स्टेट र हस्पिटालिटी क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्दै गइरहेको छ । ग्रुपको बिवा एग्रो प्रालि र बेभर्ली हिल्स प्रालि लगायतका परियोजनाहरु सञ्चालनमा छन् जसको सम्पूर्ण नेतृत्व सोम बहादुर लालचनले गरिरहेका छन् । २०२० डिसेम्बरमा भएको सम्झौता अनुसार उक्त होटलको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेजले सम्हाल्ने छ । सन् २०२० डिसेम्बरमा होटल लालचन र हिल्टनबीच होटल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी सम्झौता भएको थियो । जसअनुसार उक्त होटल ‘डबल ट्री बाइ हिल्टन’को ब्राण्ड बाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ । होटल लालचनले २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । जसमा केयर रेटिङ नेपालले केयर एनपी बीबी माइनसको रेटिङ दिएको छ । निर्माणाधिन होटल र सञ्चालन स्थीरतामा जोखिम भएकोले होटललाई उक्त रेटिङ दिइएको हो ।
बढेको बजारमा सूर्यज्योतिको सर्वाधिक कारोबार, तीन फाइनान्समा लाग्यो सर्किट
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले बढी हो । बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा ३१५ वटा स्क्रीप्सको कूल ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सूूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । जसको सेयर मूल्य भने घटेर ४९९.१० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.७० रुपैयाँले कम हो । मंगलबार फाइनान्स कम्पनीमा उछाल देखिएको छ । टप गेनरको अग्रस्थानमा लगातार तीन फाइनान्स कम्पनी रहेका छन् । प्रत्येकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स कम्पनीको १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२.२० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल फाइनान्सको ९.९९ प्रतिशतले बढेर ४६५.८० रुपैयाँ र पोखरा फाइनान्सको पनि सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४७५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा विन नेपाल लघुवित्तको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता १५११.१० रुपैयाँमा झरेको छ । मंगलबार होटल एण्ड टुरिजम, उत्पादनमूलक र लघुवित्त समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।
लहानमा ८ करोड लागतमा ड्रेन बन्ने
सिरहा । सिरहाको लहान नगरपालिकाले आठ करोड ५८ लाख रुपैयाँ लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । मंगलबार एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गरे । लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए । ‘खुल्ला नहरले बजारक्षेत्र कुरुप बनाएको थियो । नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए,’ नगर प्रमुख चौधरीले भने, ‘सुन्दर लहान बनाउने परिकल्पना अब साकार हुनेछ ।’ ड्रेन निर्माणपछि नहरको दाँयाबाँया सडक र किनारमा बगैँचासमेत निर्माण हुने उनले जानकारी दिए । लहान बजारको उत्तरतर्फ वडा नं १०, ६, ७, ८ को ग्रामीण चोक हुँदै मारवाडी टोल, घण्टाघर, हुलाक चोक हुँदै दक्षिणतर्फ बहने दुई किलोमिटर लम्बाईको नहरमा ड्रेन बन्ने वडा न. ७ का अध्यक्ष राम अवतार शर्माले जानकारी दिए । उनका अनुसार ड्रेन निर्माणको ठेक्का सुलभ गुम्दा, पिपी जेभी कम्पनीले लिएको छ । व्यवस्थित पक्की ड्रेन निर्माणले दुर्घटनाको जोखिम न्यूनीकरणका साथै लामखुट्टे आतङ्क नियन्त्रणमा सहयोग पुग्ने नगरपालिकाका सरसरफाइ संयोजक तथा वडा नं ८ का अध्यक्ष श्याम शाहले बताए । योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ । रासस
नेपाली विद्यार्थीको मृत्युदर बढेपछि एनआरएनए अष्ट्रेलिया चिन्तित, सरोकारवालालाई ध्यानाकर्षण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पछिल्ला दिनहरूमा अष्ट्रेलियामा रहेका नेपालीहरूको आत्महत्या तथा मृत्यु हुने दर बढेकोप्रति चिन्ता जनाएका छन् । संघले मृतक प्रति श्रद्धाञ्जलीका साथै मृतकका परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । केही दिनमै सिड्नीमा ६ जना नेपालीको मृत्यु भएको र त्यसमा अधिकांशले आत्महत्या रोजेको पाइएको भन्दै अध्यक्ष पोखरेलले चिन्ता व्यक्त गरेका हुन् । त्यसबाहेक पानीमा डुबेर, विद्युत शर्ट भएर तथा अन्य कारणले नेपालीहरूको मृत्यु भइरहेको पोखरेलको भनाइ छ । पोखरेलले यस्तो दुखद् घटना न्यूनीकरणका लागि अभिभावक तथा सरकारी निकायसमेतको मुख्य भूमिका हुने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेको छ । पोखरेलले नेपालमा रहेका अभिभावकहरूले विदेशमा छोराछोरी पठाउने बित्तिकै आफ्नो भूमिका सकियो भन्ने सोच्न नहुने बताएका छन् । सिड्नीमा भएको आत्महत्या तथा मृत्युमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको भन्दै यस्तो उमेरमा परिवारले समेत उनीहरूलाई विशेष जिम्मेवारी निभाउनुपर्नेमा पोखरेलले जोड दिएका छन् । उनले भनेका छन्, ‘उनीहरूलाई मानसिक स्वास्थ्य लगायतका विषयमा सचेतना र सहयोग आवश्यक हुन्छ ।’ यस्तै अध्ययनका शिलशिलामा विदेशमा रहेका आफ्ना सन्तानसँग निरन्तर सम्पर्कमा रहने, कुराकानी गर्ने तथा सरसल्लाह र सहयोग गर्नेमा परिवार विशेष चनाखो हुनुपर्ने उनले भनेका छन् । साथै विद्यार्थीहरूलाई एनओसी जारी गर्नु अघि स्वदेश फिर्ता खर्च कभर गर्ने अनिवार्य बीमाको व्यवस्था गर्नुपर्नेमा समेत उनले नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् । स्वदेश फिर्ता गर्न कम्तिमा पनि १५-२० हजार डलर खर्च लाग्ने उनले बताएका छन् । यस्ता घटनाहरूमा सहजीकरण गर्नका लागि दूतावास र वाणिज्य दूतावास दुबैबाट सहयोग चाहिने पोखरेलको भनाइ छ । जसका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यु)स्थित वाणिज्य दूतावासमा वाणिज्य दूतमा तत्काल नियुक्ति गर्न उनले माग गरेका छन् । पोखरेलले आफ्ना प्रतिनिधिहरू स्वयम्सेवक मात्रै रहेको भन्दै स्रोतसाधनहरू सीमित रहेकाले यस्ता परिस्थितिहरूको व्यवस्थापन गर्न कठीन भइरहेको समेत बताएका छन् । पोखरेलले भनेका छन्, ‘यस कठिन समयमा तपाईंको धैर्यता र समझदारी बढी आवश्यक हुन्छ ।’ संघले पछिल्लो समय बढ्दो मृत्यु र आत्महत्यालाई न्युनीकरण गर्नका लागि दूतावास, वाणिज्य दूतावास, एनआरएनए र समुदायका सदस्यहरू बीच व्यापक छलफल गरी समाधान खोज्नका लागि पहल गर्ने अध्यक्ष पोखरेलले प्रतिवद्धता समेत जनाएका छन् ।
पोखरामा नेपालकै पहिलो ‘सावर बञ्जी’ सुरू हुँदै, बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने
पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । कम्पनीले हेम्जामा सञ्चालनमा गरिरहेको बञ्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी आफ्ना पाहुनाहरूलाई फरक स्वाद पस्कने योजनाले सावर बञ्जीको अवधारणा ल्याइएको हाइग्राउण्ड एड्भेञ्चर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक दिनेश महर्जन बताउँछन् । पर्यटन व्यवसायी, पत्रकार र नेपाल पर्यटन बोर्डलगायत सरकारी संस्थाका प्रतिनिधिको उपस्तिथिमा सावर बञ्जीको भोलि चैत २८ गते उद्घाटन गरिने महर्जनले जानकारी दिए । ‘विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बञ्जी सुरु गराउन पाउँदा हामी एकदमै एक्साइटेड छौँ,’ महर्जन भन्छन् । जम्मा ६ हजार ५ सयमा फोटो, भिडियो र टिसर्टसहित बञ्जी बुक गर्न सकिनेछ । जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ । ‘सावर बञ्जी विश्वमै अनौठो प्रडक्ट हो,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘यसले पर्यटकीय राजधानीको क्रेज अझ बढाउनेमा दुई मत छैन ।’ हाइग्राउण्डले युरोपेली एड्भेञ्चर कम्पनी ‘बञ्जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बञ्जी जम्प सुरू गरेको थियो । ‘बञ्जीको एड्भेञ्चर आफैंमा उत्कृष्ट अनुभव हो । त्यसैमाथि सावर बञ्जीले अझै एड्भेञ्चर अनुभव गराउने भएकाले पोखरामा आन्तरिक र बाह्य पर्यटकबीच थप आकर्षण भइ पोखराको पर्यटन प्रवर्द्धनमा थप मद्दत हुने विश्वास लिएको छु,’ नेपाल पर्यटन बोर्डको पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सागर श्रेष्ठले भने । क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो । यसमा जोडी अंगालो मारेर बञ्जी गर्ने ‘टेन्डम बञ्जी’ पनि नेपालमा हाइग्राउडले नै सुरू गरेको हो जुन अहिले युवायुवतीबीच निकै आकर्षणको केन्द्र बनेको छ । कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेस महर्जनको लगानी छ । कम्पनीले सन् २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन भित्र्याएको थियो । सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखराको सराङ्कोटको टाकुराबाट माछापुच्छ्रेसँग जिस्कँदै हेम्जाको फाँटमा पुगिने जिपलाइन अमेरिकी एड्भेञ्चर कम्पनी ‘जिपफ्ल्यायर युएस’को फ्रेन्चाइज जिपलाइन हो । विश्वकै भिरालो र छिटो (द वर्ल्डस स्टिपेस्ट एण्ड फास्टेस्ट) र विश्वकै दोस्रो लामो सो जिपलाइनमा २ वर्ष अघिबाट सुपरम्यान जिपलाइन पनि सुरू गरिएको छ । कम्पनीले हेम्जा स्टेसनमा नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्वीङ एक्लै, जोडीमा वा तीन जनासम्म एकैपटक बसेर खेल्न मिल्छ । पछिल्लो २ वर्षदेखि कम्पनीले पोखरामा एटिभी (अल टेरेन भेहिकल)को सेवा पनि दिँदै आएको छ । दुबईको डेजर्ट सफारीमा लोकप्रिय बाइकलाई फेवा किनार र पामे क्षेत्रमा रहेको अफरोडमा चलाएर मज्जा लिन सकिन्छ । यो क्वार्ड बाइकको नामले पनि चिनिन्छ ।