शिक्षा मन्त्रालयले भन्यो : विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ । रासस
एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ । अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए । ‘यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यत्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ’, उनले भने । यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताए । नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए। नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए । ‘करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ । यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिन्छ’, उनले भने । सम्झौताअनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए । भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका हुन् । उनकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ । रासस
नदीजन्य पदार्थ उत्खननबारे अध्ययन गर्न कार्यदल गठन
काभ्रे । काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ । जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १५ नम्बर गणका अधिकृत, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिका अधिकृत सदस्य रहेको कार्यदलले एक महिना अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ । समितिलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसमक्ष प्रस्तुत गर्ने कार्यादेश दिइएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए । नदीजन्य पदार्थको सङ्कलन, उत्खनन वा ढुवानीकर्ताले सङ्कलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चारकिल्ला तोकिनुपर्ने, उत्खनन गर्ने अवधि,गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर उत्खनन वा सङ्कलनस्थलमा राख्ने व्यवस्था मिलाउने निर्णय जिल्लास्थित सरोकारवालाको बैठकले गरेको छ । क्षमताभन्दा अधिक सामान बोक्ने टिपर र सामग्री लोड गर्ने क्रसर तथा खानी दुवैलाई कारबाही गरिने भएको छ । बैठकले ‘ओभर लोड’ बोक्ने टिपरलाई प्रतिटिप रु २५ हजार जरिवाना निर्धारण गरेको छ । मङ्गलबार भक्तपुर र काभ्रेपलाञ्चोकको सीमानाका साँगामा ओभरलोड बोक्ने २६ टिपरलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार एक महिनाको अवधिमा ओभर लोड बोक्ने एक सय ४० टिपरलाई कारबाही गरिएको छ । हेलम्बु राजमार्ग, अरनिको राजमार्ग, बिपी राजमार्ग र सहायक मार्ग हुँदै काभ्रपलाञ्चोकबाट दैनिक दुई हजार पाँच सय टिपरबाट काठमाडौँ उपत्यकामा निर्माण सामग्री ढुवानी हुँदै आएको छ । रासस
गरिमा विकास बैंकको पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक, निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७४र७५ सम्मको नगद लाभांश लिन बैंकले आग्रह गरेको हो । यसका लागि सेयरधनीले गरिमा विकास बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्ने छ । बैंकका अनुसार ३५ दिनभित्र आर्थिक वर्ष २०७४।०७५ सम्मको नगद लाभांश बुझ्न नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) मा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने छ ।
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता
काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसंघले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसंघबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए । सार्क संयुक्त राष्ट्रसंघको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसंघले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो । राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गर्नुभएको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसंघीय विकास कार्यक्रम, खाद्य संगठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), स्वास्थ्य संगठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसंघीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए । राष्ट्रसंघ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौंस्थित सार्क सचिवालयमा राष्ट्रसंघ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गरे । महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिए । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उहाँले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । साथै उनले दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वैदेशिक रोजगारीमा ठगिएको ९ करोड २४ लाख फिर्ता
बागलुङ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन्। वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन्। वैदेशिक रोजगारीमा जानेले पर्याप्त जानकारी नलिई, सिप नसिक्दै विदेश पुग्दा ठूलो दुःखकष्ट भोग्दै आएका छन्। वैदेशिक रोजगारीमा आउने समस्यामा बागलुङमा सामी परियोजना प्रभावकारी बन्दै आएको छ। दलालले प्रलोभनमा पारेर ठगेको रकम फिर्ताको पहल गर्ने, सिप सिकाउने, विदेश जानुपूर्व परामर्श दिने र विदेशबाट नेपालमा आएको रेमिट्यान्सको सदुपयोगमा प्रभावकारी भूमिका खेल्दै आएको सामी कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले बताइन्। उनका अनुसार यहाँ सामी सुरु भएको चार वर्षमा परियोजनाको सहजीकरणमा दलालले ठगेको ९ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको छ। सामीको सहजीकरणमा रु ९ करोड २४ लाख ६७ हजार ७८९ विभिन्न ठगी गर्ने व्यक्तिबाट पीडितलाई फिर्ता गराउन सफल भएको व्यवस्थापक शर्माले जानकारी दिइन्। उनका अनुसार सामीमा दर्ता भएका तीन सय १४ निवेदनमध्ये एक सय ६८ वटाको समाधान भइसकेको छ। ‘२०७६ सालबाट बागलुङमा सामी परियोजना सुरु गरेका छौँ। अहिलेसम्म वैदेशिक रोजगारीमा आइपरेका ३१४ समस्या हाम्रो कार्यालयमा दर्ता भएकामा १६८ को समाधान गर्न सफल भएका छौँ। दलालले प्रलोभनमा पारेर ठगेको ९ करोड बढी रकम फिर्ता गराएका छौँ,’ शर्माले भनिन्, ‘पीडितले रकमसँगै आगामी दिनमा वैदेशिक रोजगारी जाँदा कसरी ठगिनबाट बच्ने भनेर सिकेका छन्।’ स्वदेशमै केही गर्नुपर्नेमा जोड दिइएको भन्दै उनले विदेश जानै परे सुरक्षित रुपमा जानका लागि सीप तथा आवश्यक परामर्श दिने गरिएको बताइन्। ‘कामको लेनदेन गर्दा बैंकिङ कारोबार र वैदेशिक रोजगारी खुल्ने गरी कारोबार गर्दा धेरै समस्या समाधान हुन्छ,’ उनले भनिन्। वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाउने गरेका शर्माको भनाइ छ। नेपालमा हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा आउने गरेका छन्। नेपालले करिब साढे एक लाख जतिलाई सामान्य रोजगारी दिने तथ्याङ्कमा उल्लेख रहेको बताउँदै शर्माले बाँकी युवाको श्रम गन्तव्य वैदेशिक रोजगार रहेकाले अहिले ठूलो समस्या वैदेशिक रोजगार क्षेत्रमा देखिएको बताइन्। युवा वैदेशिक रोजगारी जाँदा अरुलाई विश्वास गर्ने तथा ठगी गर्नेले पनि उनीहरुको बाध्यताको फाइदा उठाउने गरेकाले पर्याप्त सूचना र ज्ञान लिएर मात्रै अघि बढ्नुपर्ने जिल्लास्थित परियोजनाका संयोजक मीन उपाध्यायले बताए। उनले पछिल्लो समय सामाजिक सञ्जालबाट आकर्षक तलब सुविधा भन्दै गरिएको प्रचारप्रसारको भरमा दलाललाई रकम बुझाउने समस्यामा धेरै परेको बताए। ‘कतिपयलाई वैदेशिक रोजगारीमा ठगिएपछि जाने निकायको विषयमा जानकारी छैन। बागलुङ नगरपालिका र वैदेशिक रोजगार विभागको समन्वयनमा सञ्चालित परियोजनाको विषयमा जानकारी छैन,’ उपाध्यायले भने, ‘राम्रो सूचना र जानकारीको अभावमा ठगिने र रकम दिने गरेका छन्। वैदेशिक प्रयोजनका लागि दिएको भन्ने प्रमाण नहुँदा ठगिएको रकम फिर्ता गर्न कठिन हुने गरेको छ। त्यसैले जिल्ला प्रशासनमा पासपोर्ट बनाउने समयमै हामीले परामर्श गर्दै आएका छौँ। केही हदसम्म हाम्रो कार्यक्रमले ठगिनबाट जोगिनुभएको छ।’ अवैधानिक बाटोबाट विदेश जाने बढी ठगिने गरेको उपाध्यायको अनुभव छ। ‘अहिले नेपालमा दैनिक २५ सय युवा वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिएर विदेश जान्छन्,’ उनले भने, ‘जति पासपोर्ट बनेका छन् त्यसको तुलनामा अनुमति लिनेको सङ्ख्या कम छ। यसको अर्थ अनुमति नलिइकन विदेश गएको भन्ने हो, त्यसै गएका झनै बढी ठगिएको पाइन्छ।’ उनका अनुसार परियोजनाले पाँच वटा योजनाअन्तर्गत काम गर्दै आएको छ। जिल्लाका बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका साथै काठेखोला गाउँपालिकामा परियोजना सञ्चालित छ। परियोजनाले सूचना तथा परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिरहेको संयोजक उपाध्यायले जानकारी दिए। परियोजनाले जिल्ला प्रशासन कार्यालयमा सूचना केन्द्रको स्थापना गरेर परामर्शसँगै ठगी लगायतका समस्यामा सहजीकरण गर्ने गरेको छ। वैदेशिक रोजगारीले नेपालमा ठूलो रेमिट्यान्स भित्रिए पनि त्यसको असरले समाजमा परेको सामाजिक मूल्य भने देशले चुकाउन नसक्ने अवस्थाको रहेको उनको भनाइ छ। अभिभावकको रेखदेखमा नरहेका बालबालिका, किशोर र युवावस्थामा प्रवेश गर्दा लागुऔषधलगायतका अन्य दुर्व्यसनमा जाने गरेको देखिएको छ। बागलुङबाट चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। परियोजनाले बागलुङका तीन सय नौ जनालाई सिपमूलक तालिम दिएको जनाएको छ। रासस
सलिकोको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले एक सूचना जारी गर्दै आजदेखि १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएकाे जनाएकाे हो । संस्थापक सेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।
आगलागीबाट दमकमा दुई करोडको क्षति
दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका ६ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले बताइन् ।