विकासन्युज

मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट चढ्न पाइने

दमौली । आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ । सो जलाशयमा तत्काल एक करोडको लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले बताए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । जलाशयमा नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ । जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अल्कादेवी मन्दिर पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले विश्वास व्यक्त गरे । कम्पनीले थप तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सो कम्पनीका सञ्चालक ढकालले जानकारी दिए । मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले छ देखि आठ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति दुई ५०, दशदेखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति पाँच सय र १५ देखि २० मिनेटसम्मका लागि प्रतिव्यक्ति एक हजार ताकिएको छ । रासस

काठमाडौं बन्यो विश्वकै प्रदूषित सहर, दोस्रोमा नयाँ दिल्ली

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ । अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ । अहिले काठमाडौंको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।

उही कुरो दोहोर्याउने र फरक नतिजा खोज्ने पागलपन हो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उही कुरा दोहोर्याउने तर, फरक नतिजा खोज्ने खोज्ने काम पागलपन भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै भट्टराईले वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइलाई लिँदै सो बताएका हुन् । ‘उही कुरो पटक-पटक दोहोर्याउने र फरक परिणाको आशा गर्नु भनेको पागलपन हो, मुर्खता हो’, उनले भने, ‘मलाई पनि के अनुभूति हुन्छ भने सत्तामा हुन्छौं भने सबै राम्रो हुन्छ, मैले गर्या हो भन्ने हुन्छ, जो अलि विपक्षीमा जान्छौं केही पनि ठिक छैनौं भन्छौं, तर तथ्यले के भन्छ हामीले भन्ने त्यो हो ।’ उनले नेपालमा ६० वर्षदेखिको आर्थिक वृद्धिदरको तथ्यांकमा नेपालले कहिल्यै पनि दोहोरो अंकले आर्थिक वृद्धि गर्न नसकेको भन्दै समस्या कहाँ छ त्यहाँ जानुपर्ने बताए । उनले आरोप प्रत्यारोप गर्ने भन्दापनि संविधानले स्पष्ट दिशावोध गरेको र सोही अनुसार काम गर्न आवश्यक रहेको बताए ।

प्रधान कार्यालयको लागि जग्गा किन्दै ज्योति विकास बैंक

काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको हो । बैंकले विशालनगरमा जम्मा क्षेत्रफल २६२०.६८ वर्गमिटर भएको जग्गा प्रतिआना ९७ लाख रुपैयाँको दरले किन्ने निर्णय गरेको हो । उक्त निर्णय चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

राज्यले निजी क्षेत्रले अगाडि सारेका समस्यालाई सम्बोधन गर्नैपर्छ : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले राज्यले निजी क्षेत्रले अगाडि सारेका समस्यालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल उद्योग बाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै नेता खनालले निजी क्षेत्रले अगाडि सारेका सम्बोधन गर्नसके मात्रै देश विकासको दिशातर्फ अगाडि जाने बताए । ‘निजी क्षेत्रले अहिले जे जस्ता समस्या अगाडि सारिरहेको छ, चुनौती अगाडि राखिरहेको छ, राज्यले अरु क्षेत्रका साथसाथै निजी क्षेत्रले अगाडि सारेका समस्यालाई सम्बोधन गर्नैपर्छ’, उनले भने, ‘तबमात्रै हाम्रो देशको राष्ट्रिय अर्थतन्त्रले गति लिन सक्छ ।’ पछिल्लो समयमा भ्रष्टाचार रोगको रुपमा देखिएको र सोही कारण अर्थतन्त्रलाई ठिक ढंगले अगाडि बढाउन नसकिएको समेत नेता खनालले बताएका छन् ।

युवाका सपना खाडीमा खेर जान नदिऔं, उद्यमीको मोहरलाई रुपैयाँ बनाऔं

म लगायत नयाँ कार्यकारिणी समितिले नेपाल उद्योग वाणिज्य महासंघको कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एकदुई जना साथीभाइ र परिवारबाट शुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेको छ । महासंघमा जोडिएसँगै करिब ६ लाख व्यवसायी सहितको परिवार बन्यो । हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन् । यसको अर्थ महासंघ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरुको हो । हाम्रो वृहत परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहत परिवारको आय आर्जन गर्ने सदस्यहरु हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा बिना हामी काम गर्न सक्दैनौं । हामीलाई सेवा र सुरक्षा दिए वापत हामी राज्यलाई कर बुझाउँछौं । अहिले परिवारमा आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ । म युवाहरुको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठीन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरवार धितो राखेर नै गर्नुपर्छ । अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरि तयार पार्नुपर्यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अड्चन हुनु भएन र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत विषय पुरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ । तर यति हुँदा हुँदै पनि म आज यहाँ निराशामात्र व्यक्त गर्न चाहन्न । म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाको बारेमा पनि कुरा गर्छु । सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैंकहरुमा पनि तत्काल कर्जाका रुपमा दिन सकिने करिब ६ खर्ब रुपैयाँ छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्युन छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस अवधिमा एक खर्ब रुपैयाँको निर्यात हुँदा ८० अर्ब रुपैयाँ त विद्यार्थीहरु विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ । वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशत हाराहारीमात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पूँजीगत खर्चभन्दा झण्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना देखिएको छ । निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौं भैसकेको त हामीलाई विदितै छ । रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुन्छ । विगतमा बढ्दो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजश्व पनि बढेको थियो । राजश्व अपेक्षित रुपमा बढन सकेको छैन । न्युन पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ । यी माथिका तथ्यांकहरु मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्दछ । करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौं । यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको छ । नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन् । किनभने यस अवधिमा भारत बंगलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत वर्ष पनि नेपालको वृद्धि दुइ प्रतिशतभन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशतभन्दा बढिले विस्तार भएको थियो । भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी क्षेत्रले डोर्याएको वृद्धि नै हो । कुनै समयका द्धन्दग्रस्त र निक्कै गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ । पछिल्लो दुई वर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । यस वर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर शुन्य दशमलब ४ प्रतिशतले ऋणात्मक छ । म व्यक्तिगत रुपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रुपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौं । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ । हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔं । उद्यमीको मोहरलाई रुपैया बनाउने अवसर दिऔं । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भुकम्पपछि कसरी उठ्यौं ? अनि कोभिड पछि कसरी तंग्रियौं ? यी दुखबाट पनि हामीले प्रेरणा लिन सक्छौं । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ । सबै मिलेर यही वातावरण निर्माण गरौं र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔं भनेर हामीले आजको यस सभामा यहाँहरु सामु पाँच बुँदे प्रतिवद्धतापत्र पेश गरेका छौं । यसमा हामी यहाँहरुको प्रतिबद्धताको अपेक्षा गरेका छौं । अहिले निराशा र अविस्वास बढेका बेला यहाँहरुले यी प्रतिवद्धता जनाइदिनुभएमात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरु समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु । नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्धिपक्षीय लगानी सम्झौता बीआईएको खाका मन्त्रीपरिषदबाट पारित भएको छ । म यसका लागि प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दछु । अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौं । आजको यस कार्यक्रममा मुलुकभरबाट करिब एक हजारभन्दा बढि उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ । अबको दुइ दिनपछि नयाँ वर्ष २०८१ शुरु हुँदैछ । नयाँ वर्षमा हामी व्यवसायीहरुले यहाँहरुबाट के सन्देश लिएर जाने अब यो यहाँहरुको हातमा छ । नयाँ वर्ष २०८१ को शुभकामना । (नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा अध्यक्ष ढकालले राखेका मन्तव्य)

सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

म अर्थमन्त्रालयमा आएपछि निर्माण व्यवसायीको ७० अर्ब निकासा गरेँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफू अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि निर्माण व्यवसायीको लागि ७० अर्ब निकासा गरिएको बताए । बुधबार उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् । निर्माण व्यवसायीहरुले लिएर आउनु ७० अर्ब बराबरको निकास म आफैँ अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि विभिन्न क्षेत्रमा मार्केटमा पठाइसकेका छौं, ७० अर्ब बजारमा एक महिनाभित्रमा गएको छ’ मन्त्री पुनले भने, ‘कुनै निर्माण व्यवसायीहरुको फाइल हामीले रोकिराखेका छैनौं ।’ अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा करका दर हेरफेर गर्दा स्पष्टिकरण दिनसक्ने गरी गर्ने पनि बताएका छन् । मन्त्री पुनले आगामी बजेटबाट करका दर हेरफेर गर्दा औचित्य पुष्टि गर्न सकिने गरी काम गर्ने बताए । ‘आगामी वर्ष करका दायराहरु हेरफेर गर्दा बढाउँदा पनि घटाउँदा पनि कारणसहित तपाईंहरुसँग आँखामा आँखा जुधाएर सार्वजनिक मञ्चमा जवाफ दिनेगरी मात्रै हेरफेर गरिन्छ,’ उनले भने । उनले कतिपय मन्त्रीहरुले विगतमा व्यक्तिलाई हेरेर समेत नीति बनाउने गरेकोमा त्यसको जवाफ दिनुपर्ने समेत बताए ।