विकासन्युज

८० वर्षीया नर्स टुका क्षेत्रीको कथा

काठमाडौं । उमेर थियो, पढे-लेखेकी थिइन् । कहिले सहर त कहिले विकट गाउँमा पुगेर स्वास्थ सेवा दिइन् । पाल्पा, संखुवासभा लगायतका पहाडी जिल्लादेखि काठमाडौं, बुटवल, नेपालगञ्ज सहरका घर-घरमा पुग्थिन् उनी । नागरिकले पाएका स्वास्थ्य समस्या बुझ्थिन् । सकेको उपचार आफैं गर्थिन्, नसकेको समस्या लेखेर सम्बन्धित क्षेत्रमा पुर्याउँछिन् । किनकी उनी एउटा नर्स हुन् । उनी अर्थात् टुका सेन्डुयल क्षेत्री । जीवन सधैँ एकनासको कहाँ हुन्छ र !, अहिले जवानी सकियो, बुढ्यौलीले छोयो, निधार खुम्चियो, गाला चाउरिए । न पहिले जस्तो सोच आउँछ, न त जाँगर । तर, पनि नेपालको स्वास्थ्य क्षेत्रमा केही काम गर्ने धोको भने टुकामा उस्तै छ । कर्मभूमी जहाँ भएपनि उनको जन्मभूमी भने नेपाल हो । नेपालको स्वास्थ्य क्षेत्रमा जीवनको महत्वपूर्ण तीन दशक समय व्यतित गरिन् । अहिले पनि उनलाई नेपालको स्वास्थ्य क्षेत्रप्रति उत्तिकै चिन्ता र चासो छ । विदेशी भूमिबाटै अहिले पनि उनी सकेको सहयोग गर्छिन् । बेला बखत नेपाल आएर सेवा गर्छिन् । उनले जुम्लामा बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा गरिरहेकी छन् । उनी अहिले ८० वर्षकाे पुगिन् । परिवार बेलायतमा छ । दुई छोराछोरी बेलायतमै चिकित्सकका रूपमा काम गरिरहेका छन् । अघिल्लो साता उनी आफ्ना दुई जना नातीलाई ल्याएर काठमाडौं आइन् । हजुरआमाले पढेको, काम गरेको ठाउँ हेर्न नातीले इच्छा देखाएपछि उनी नेपाल आइन् । नेपालका विभिन्न ठाउँ घुमाइन्, आफू जन्मेको ठाउँ, पढेको गाउँ र काम गरेको ठाउँ सबै देखाइन् । ‘उनीहरूलाई पनि म जन्मेको, हुर्के बढेको/पढेको ठाउँ देखाउन आएँ,’ उनी भन्छिन्, ‘मान्छे जुनसुकै ठाउँको होस्, उसले आफ्ना पुर्खाबारे थाहा पाइराख्नुपर्छ, मैले पनि आफ्नो बारेमा जानकारी दिन नातीलाई नेपाल ल्याएर घुमाएँ ।’ टुका जन्मेको ठाउँ लमजुङको दुराडाँडाँ हो । उनको समयमा छोरीहरू मात्र होइन छोरा पनि फाट्टफुट्ट स्कुल जान पाउँथे । छोरीहरू सात/आठ वर्षको हुँदा विवाह हुन्थ्यो । तर, टुकालाई भने विवाह गर्न न परिवारले कर गर्यो, न उनी आफैं तयार भइन् । उनका बुवा धेरै पढे लेखेका थिएनन् । तर, संस्थानी पढ्ने, चिठ्ठी लेख्न, पढ्नसम्म आउँथ्यो । तर, विद्यालय गएर पढ्ने चलन थिएन । छोराछोरी पढ्ने चलन नभए पनि टुकाका बुवाले उनलाई कखरा लेख्न सिकाउँथे । घरमै बोर्ड बनाएर माटो राख्दै सिन्काले उनलाई लेख्न सिकाउँथे । उनकी आमालाई लेखपढ गर्न आउँदैन्थ्यो । आफुलाई पैसा समेत चिन्न समस्या पर्दा उनकी आमा तिमीले पढ्नुपर्छ भनेर सल्लाह दिन्थिन् । उनका तीन जना दाजुभाई थिए । बहिनी उनी एक्लै थिइन् । उनको माइला दाई ब्रिटीस आर्मीं थिए । बेला-बेला घरमा चिठी लेखेर पठाउँथे । बा घरमा नहुँदा दाइको चिठी आउँदा पढ्ने मान्छे खोज्नु पर्थ्याे । यो समस्या उनको परिवारले धेरै भोग्नु पर्यो । यही समस्याले पनि उनलाई पढाउनुपर्छ भन्ने ध्यान उनका आमाबुवामा भयो । उनको गाउँमा त्यो बेला एकजना कांग्रेसका नेता थिए श्रीकान्त अधिकारी । उनी गाउँमा टाठाबाठा, परेको बेला सहयोग गर्थे । उनले पनि टुकालाई पढाउन बालाई सल्लाह दिन्थे । घरबाटै कखरा सिकेकी उनी गाउँमा विद्यालय खुलेपछि सिधै कक्षा तीनमा भर्ना भइन् । उनै श्रीकान्त अधिकारीले गाउँमै सर्वदा निमावि नामक सञ्चालनमा ल्याए । ‘बिहान बेलुका घरमा बुवा पढाउँथे, दिउँसो स्कुल जान्थेँ,’ उनी भन्छिन्, ‘त्यो बेलामा ७ मोहोर विद्यालय भर्ना भइन्थ्यो, किताब कापी आफैं किन्नु पर्थ्याे ।’ ८ कक्षासम्म उनी गाउँमै पढिन् । त्यसपछि भने बुवाको प्रस्तावमा काठमाडौं पढ्न आइन् । पाँच दिन लगाएर काठमाडौं टुकालाई काठमाडौं पढ्न पठाउने विषयमा घरमा कुराकानी भयो । त्यो बेला अहिले जस्तो यातायातको सुविधा थिएन । चिनजानका मान्छे पनि धेरै थिएनन् । उनी तिनै श्रीकान्त दाइको सल्लाह अनुसार काठमाडौं पढ्न आउन तयार भइन् । उनका बुबा उनलाई पुर्याउन आए । पाँच दिन, पाँच रात हिँडेर उनी बुवासँग काठमाडौं आइन् । त्यो बेला काठमाडौंलाई नेपाल भनिन्थ्यो । उनी काठमाडौं पुगेर क्षेत्रपाटीमा रहेको कन्या मिन्दरमा भर्ना भइन् । त्यही स्कुलमा माधवप्रसाद घिमिरेको छोरी कान्ति पनि पढ्थिन् । उनी एउटै जिल्लाको भएर पनि उनलाई कान्ति हुँदा सहज भएको अनुभव भयो । टुका लैनचौरमा गाउँकै दुई जना दिदीसँग डेरा लिएर बसिन् । ‘गाउँ छाडेर काठमाडौं आइसकेपछि सबै नयाँ थियो, ‘काठमाडौं आएर बस्न मलाई समस्या भयो,’ उनी भन्छिन् । नर्सिङ पढ्ने धोको उनी एकदिन विद्यालय पढ्न जाँदा बाटोमा स्कुल अफ नर्सिङ देखिन् । स्कुल जाँदा आउँदा जब स्कुल अफ नर्सिङ देख्थिन् उनलाई त्यस विषयमा झन चासो लाग्थ्यो । उनलाई त्यो देखेर मनमा उत्सुकता जाग्यो । नर्सिङ पढ्न के गर्नुपर्छ, कति खर्च लाग्छ ? कस्तो विद्यार्थीले पढ्न पाउँछन् ? उनलाई यो विषयमा बुझ्ने इच्छा जाग्यो । ‘रहर नर्सिङ पढ्ने थियोे । तर, पढ्न के गर्नुपर्छ भने थाहा थिएन,’ ‘उनले आफ्नो कथा सुनाउँदै भनिन्, ‘नर्सिङ पढ्ने भन्दा पनि मलाई त्यो युनिफर्मले बढी तान्यो, निलो चिटिक्क मनै लोभ्याउने । तर, जाने सुनेको केही थिइनँ, त्यसैले एकदिन त्यहाँ गएर आफैं कुरा गर्ने योजना बनाएँ,’ उनले विगत स्मरण गर्दै भनिन् । सो नर्सिङ स्कुलको गेटमा पाले थिए । उनले पालेसँग कुरा गरिन् । पालेले भित्र खबर गरिदियो । एकछिन् पछि उनलाई भित्र बोलायो । त्यहाँका मान्छेसँग उनले आफ्नो कौतुहलता सोधिन् । उनले नर्स पढ्न कति पढेको हुनुपर्छ योग्यता के के चाहिन्छ भन्ने कुरा सोधिन् । उनीहरूले घर कता हो भन्दै सोधपुछ गरे । उनले लमजुङ भन्ने बित्तिकै आउ भित्र बस भनेर बोलाइ हाले । उनलाई अंग्रेजीमा रहेको पत्रिलाई नेपालमा ट्रान्सलेट गर्न भनियो । उनले ट्रान्सलेट गरेर सुनाइन् । तिमी पास भयौ भनेर पछि जानकारी पाइन् । ‘त्यो बेला पहाडको केटी भनेपछि यो क्षेत्रमा पढ्न मिल्ने अवसर धेरै हुन्थ्यो,’ उनी भन्छिन् । टुकाले यो खबर बुवाको कानमा पु¥याउन चिठ्ठी लेखिन्, बुवाले तिम्रो इच्छा हो जे गर्छौ गर भनेर खबर पठाए । त्यसपछि उनको पढाइ सुरू भयो । बुवाको इच्छा बैद्य बनाउने टुकाका बुवालाई छोरी कविराज (वैद्य) बनाउन मन थियो । उनलाई पढ्न हौसाला दिने श्रीकान्त दाइको भाइ कृष्णकान्त (वैद्य) थिए । उनी गोरखामा काम गर्थे । दशैं, तिहारमा बिदाको बेला घर जाँदा उनको घरमा बिरामीको भीड लाग्थ्यो । कोही औषधी उपचार गर्थे, कोही जाँच गर्न आउँथे । कृष्णकान्तको घरमा मान्छेको भीड लाग्दा टुकाका बुवालाई पनि आफ्नो छोरीलाई यस्तै (वैद्य) बनाउने मन लाग्यो । बुवाले भनेको कुरा सम्झदै उनले सुनाइन्, ‘हेर त त्यसले कति राम्रो काम गरेको, यस्तो काम गर्दा मान्छेको सेवा पनि हुन्छ, धर्म पनि हुन्छ, पैसा पनि कमाइन्छ, तिमी पनि अब यस्तै बन्नुपर्छ बुवाले मलाई भन्नुहुन्थ्यो ।’ टुकालाई कविराज बनाउने सपना देखिरहेको बुवाको हातमा छोरीले नर्सिङ पढ्न सुरु गरेको पत्र पुग्यो । उनका बुवाले तिमी जे गर्छौ राम्रो गर म सहमत छु भनेर चिठ्ठी पठाए । टुकाले नर्सिङ पढ्ने अवसर पाएपछि कन्या मन्दिरको पढाइ छोड्नि । उनी नर्सिङ पढ्दा नेपालमा नर्सिङ नेपाल सञ्चालनमा आएको ४ वर्ष भएको थियो । उनले नर्सिङ पढेर सकेपछि प्रसूति गृह क्षेत्रमा रहेर कम्युनिटी नर्सको रूपमा काम गन गरिन् । कम्युनिटी नर्स भनेको घर–घरमा गएर जाँच गर्ने, केही समस्या पर्दा उपचार गर्ने काम गर्नुपथ्र्यो । उनले काम गर्ने क्षेत्र कुपण्डोल थियो । त्यहाँ एक वर्ष काम गरिसकेपछि सरकारी जागिर खाइन् । सरकारी जागिरे भइसकेपछि उनी फेरि पढ्न लेबनान गइन् । त्यहाँ उनले फेरि १ वर्षे कम्युनिटी नर्सिङ कोर्स गरिन् । त्यो बेला पढ्छु भनेपछि सरकारले नै जान छात्रवृत्ति दिएर पठाउँथ्यो । एक वर्ष कोर्स गरेर फर्किएपछि उनको प्रमोसन भयो । उनी बुटवलको एउटा हेल्थ पोष्टमा गएर काम गर्न थालिन् । उनले बुटवलमा काम गर्दै पञ्जाव युर्निभसिर्टीमा बिएसी नर्सिङ गरिन् । उनले त्यसपछि संखुवासभा, पाल्पा, नेपालगञ्ज गएर स्वास्थ्य क्षेत्रमा काम गरिन् । यसरी जीवनको आधा उमेर नेपालको स्वास्थ्य क्षेत्रमा बिताएकी उनले विवाहपछि भने बेलायतमा गएर काम गरिन् । बिदेशीसँग विवाह उनी बुटवलमा काम गर्दै जाँदा एक जना ब्रिटिस युवासँग भेट भयो । उनको नाम थियो जोन सेन्डुयल । उनी इन्जिनियर थिए । उनीसँग चिनजान भयो । किनकी उनी काम गर्ने अस्पतालको डाक्टर पनि त्यो बेला ब्रिटिस नै थिए । जोन उनका साथी थिए । जोनसँग भेट भएको १० वर्षपछि सन् १९७९ मा उनको विवाह भयो । त्यसपछि उनी नेपालको सरकारी जागिर छोडेर बेलायत गइन् । नेपालमा स्टाफ नर्सदेखि कम्युनिटी नर्समा १५/२० वर्ष काम गरिन् । विवाह गरेर बेलायत जाँदा पनि उनले त्यहाँ आफ्नो कामलाई निरन्तरता दिइन् । सुरुमा त्यहाँ काम गर्न युकेसीसीको नर्सिङ एशोसियसनमा रजिष्टर हुनुपथ्र्यो । उनले रिजस्टेशनको लागि निवदेन दिइन् । त्यसको केही समेयपछि चिठ्ठी आयो । अब तालिम लिनु पर्ने भयो । त्यसपछि उनी स्कुल अफ नर्सिङमा गइन् । उनले आफ्नो सर्टिफिकेट देखाइन् । सर्टिफिकेट देख्ने बित्तिकै तिमी रामो नर्स हौ, काम गर्न सक्छौँ भनेपछि त्यहाँको नर्सिङ एशोसियसनमा उनको नाम दर्ता भयो । उनी बेलायतमा पहिलो दर्ता हुने नेपाली नर्स थिइन् । त्यसपछि उनले उतै काम सुरु गरिन् । संखुवासभाको त्यो कहानी सन् १९८० मा टुका स्वास्थ्य मन्त्रालयबाट ट्रेनिङको लागि संखुवासभा गइन् । उनीसँग चार/पाँच जनाको समूह थियो । त्यो जिल्लाका हेल्थ क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई बोलाएर तालिम दिने कार्यक्रम थियो । तालिम सकिनु एक दिन अगाडि एउटा पुरुषले श्रीमतीलाई डोकोमा बोकेर ल्याएको दृश्य देखिन् । उनी ७ महिनाको गर्भवती महिला थिइन् । श्रीमानले तीन दिन श्रीमतीको पिसाब रोकिएको भन्दै उपचारको लागि खादवारी ल्याएका थिए । उनको उपचार गर्न सक्ने नेपाली नर्स गाउँमा थिएनन् । सामान्य जाँचसमेत गर्न सक्ने थिए । तर, उनले छुन चाहेन । किनकी उनी सक्दैन थिइन् । त्यसपछि टुका गइन् । उनले आफूसँग भएको सामानले महिलाको उपचार गरिन् । डोको बोकेर ल्याएकी महिला त्यसपछि हिँडेर गइन् । उनलाई खुसी सँगै दुःख पनि लाग्यो । त्यो घटनाले उनको मन अहिले पनि दुःखी हुन्छ । त्यसपछि उनलाई सेवा भनेको यस्तो ठाउँमा गर्नुपर्छ भन्ने लाग्यो । विदेशी कर्मभूमी टुका विदेश गएर उतै काममा व्यस्त भइन् । बेलाबखत उनलाई नेपालको याद आउँथ्यो । नेपालका गाउँ-गाउँमा गएर काम गरेको याद आउँथ्यो । तर, कर्मभूमी उनको विदेश नै थियो । त्यसपछि उनी एनआरएनएमा आवद्ध भइन् । त्यहाँको कमिटीमा बस्दा एनआरएनएले नेपालका विभिन्न ठाउँमा कार्यक्रम गर्ने गरेको थाहा पाइन् । उनले नेपालमा स्वास्थ्य क्षेत्रमा प्रोजेक्ट लिएर काम गर्ने योजना बनाइन् । यो विषयमा सबैले सहमति पनि जनाए । तर, त्यो बेला कांग्रेस नेतृ सुजता कोइराला पनि त्यहाँ गएकी थिइन् । पहिले टुकाको योजनामा जान तयार फण्डिङपछि सुजताको भागमा प¥यो । जहाँ अफ्ठ्यारो छ, त्यहाँ काम गर्ने भन्दा पनि पहुँच र सम्पर्कका आधारमा काम हुँदो रहेछ उनले त्यो बेलाको तितो अनुभव सुनाइन् । दोस्रो पटक उनले आफ्नो योजना फेरि प्रस्ताव गरिन् । त्यसपछि त्यो योजना स्वीकृत भयो । उनले श्रीमानसँग पनि यो कुरा राखिन् । उनी पनि सेवाबाट रिटायर्ड हुनेबेला थियो । उनले त्यो पैसा निकालेर एनआरएनएले दिएको प्रोजेक्टमा राखिन् र जुम्लामा उनले बर्थिङ सेन्टर खोलिन् । युकेमा रहेका नेपानी नर्सहरूले नेपालको स्वास्थ्यमा काम गर्ने कुरा गरे । त्यसपछि टुकाले फेरि साथीहरूसँग मिलेर जुम्लाको बोडेगाउँमा अर्को बर्थिङ सेन्टर खोलिन् । अहिले ती दुवै बर्थिङ सेन्टरबाट सेवा जारी छ । यो साता काठमाडौंमा भेटिएकी टुकालाई यतिमै खुसी त छैन । तर, केही सन्तुष्टी भने अवश्य नै छ । ‘नेपालको स्वास्थ्य क्षेत्रमा सके जती सहयोग गरेँ, उनी भन्छिन्, ‘अब त उमेर पनि ढल्क्यो, कति बाँचिएला जन्मभूमीका लागि सके जति देशमै रहेर वा बाहिरै बसेर सेवा गरेँ, अब अस्ताउन लागेको सूर्यजस्तै आफैं छु, के गर्न सकिएला र ?’

बिहीबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । सरकारले हरेक वर्षको ईद-उल फित्र (ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् ।

एलन मस्कको जीवनबाट सिक्ने कि ?

समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान् । वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी । उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्दा उनको प्रगतिमा रिस गर्नेहरु पनि कम छैनन् । उनी इन्जिनियर मात्र होइनन् कि नवीकरणीय ऊर्जाबाट चल्ने सवारी साधन एवम् मानवतामैत्री आर्टिफिसियल इन्टेलिजेन्सका समेत वकालतकर्ताका साथै लगानीकर्ता समेत हुन् । उनले नयाँ नामकरण गरेको एक्स अर्थात् ट्विटर एउटा चर्चित नेटवर्क साइट हो । ट्विटर र टेस्ला कम्पनीका माध्यमबाट सङ्कलित डाटा पनि समग्र विश्वकै लागि एउटा ठूलो स्रोत हो, ऊर्जा हो । प्रविधिलाई साधन मान्ने हो भने डाटा चाहिँ सो साधनमा प्रयोग हुने इन्धन वा ऊर्जा नै हो । सन् २०२३ सेप्टेम्बर १२ मा एलन मस्कको बायोग्राफी बजारमा आयो । जीवनी पुस्तक उनले आफैँले भने लेखेका होइनन् । उनका बारेमा जानकारी राख्ने र एकनामी लेखकको चिनारी बनाइसकेका व्यक्तिले प्राप्त सूचनाका आधारमा उक्त बायोग्राफी तयार पारेका हुन् । सिएनएन र टाइमका पूर्वकार्यकारी अधिकृत वाल्टर आइज्याक्सन नै ती व्यक्ति हुन् जसले मस्कको बायोग्राफी तयार पारे । उनै व्यक्तिले यसअघि पनि लियोनार्दो द भिन्ची, बेन्जामिन फ्रान्कलिन, अल्बर्ट आइन्सटा इन, स्टिभ जब्सको समेत जीवनी लेखन गरिसकेका छन् । विद्युतीय सवारी साधन, निजी तवरबाट अन्तरिक्षको खोजी र आर्टिफिसियल इन्टेलिजेन्सको दबदबाको समयमा यी तीनवटै विषयमा लगानी गरी सफल समेत भएका टेकआइकन हुन् एलन मस्क । दक्षिण अफ्रिकाको प्रिटोरियामा सन् १९७१ जुलाई २८ मा जन्मेका उनी १७ वर्षको उमेरमा क्यानडा र पछि अमेरिकामा बसोबास गरेका हुन् भने उनले गरेको खोज, अध्ययन, जोखिमसहितको काममा रमाउने र लगानीबाट भएको प्रतिफलकै आधारमा संसारकै धनी व्यक्ति समेत बन्न सफल उनी सन् २००८ यता निरन्तर चर्चामा रहन सफल छन् । एलन मस्क संलग्न रहेका कम्पनी भनिन्छ कि उनी कलेज पढ्दै गर्दा ब्लास्टर नामक सफ्टवेयर बनाएर बेचेका थिए । उनले लगानी गरेको पहिलो कम्पनी जिपटु हो जसलाई कम्प्याक कम्पनीले खरिद गरेको थियो । तत्पश्चात् सुरुमा एक डटकम नाम रहेको र पछि पेपल नामकरण भएको कम्पनीको खासगरी वित्तीय विश्वमा बदलाव ल्याउने उद्देश्यका साथ स्थापना भएको थियो । दुई वर्षमा दुई लाखभन्दा बढी प्रयोगकर्ता भए । आफ्नो उद्देश्यमा कम्पनी सफल भयो र पछि त्यो कम्पनी पनि ठूलो रकममा बिक्री भयो । यसपछि उनी लसएन्जल्स गए, जहाँ उनले आफ्नो रुचि रहेको अन्तरिक्ष यान सम्बन्धमा अध्ययन गर्न र काम गर्न पाए । उनले अन्तरिक्ष यानसम्बन्धी कम्पनी स्पेश एक्सको स्थापना सन् २००२ मा गरे । सफल प्रयोगपछि नासाले पनि उनको कम्पनीलाई समेत सहकार्यका लागि अनुमति दियो । न्युरालिङ्क पनि मस्कले अघि बढाएको एउटा परियोजना हो, जसमा मानव ब्रेनमा माइक्रो चिप्स जडान गर्ने लक्ष्य लिइएको थियो । यसको पहिलो प्रयोग सफल भएको भनेर उनले सन् २०२४ जनवरी ३० मा पुष्टि गरेका छन् । यसको लागत सम्बन्धमा विवादहरु भएता पनि अमेरिकी डलर १० हजारमा एउटा चिप्स जडान हुने बताइएको छ । त्यसैगरी, इन्टरनेट सेवालाई सरल र सहज बनाउनका लागि उनले लोअर्विट स्याटेलाइटका रुपमा स्टारलिंक सञ्चालनमा ल्याएर यसमा जोडिन विश्वव्यापी रुपमा आग्रह समेत गरेका छन् । लेखक एआईका सम्बन्धमा पनि उनको चासो छ । जुनसुकै प्रविधि आफैँले राम्रो काम गर्दैन यसका लागि त मानवीय सक्रियता आवश्यक पर्दछ । यदि हामी सजग भएनौँ र सुरक्षाका प्रवन्ध अपनाएनौँ भने एआइले मानवलाई प्रतिस्थापन गर्ने जोखिम छ । उनी संलग्न रहेको ओपन एआईको रिसर्च ल्याव स्थापनाको लक्ष्य भनेकै एआईलाई मानव हित हुने गरी सुरक्षित तबरले विकास गर्ने सम्भावना बढाउनु हो । मस्कको विचारमा एआईको दुरुपयोग गर्नबाट रोक्ने सबभन्दा गतिलो उपाय भनेको बढीभन्दा बढी मानिसहरुको सशक्तीकरण गर्नु हो । भनिन्छ कि उद्यमी हुने हो भने जोखिम लिन डराउन हुँदैन । मस्क जोखिमयुक्त काम गर्न सदा इच्छुक देखिन्छन् । उनले प्रारम्भ गरेका कम्पनीको प्रकृति हेर्दा जोखिमसँगै खेलेर अगाडि बढेको देखिन्छ । जोखिमको पुर्वानुमान गर्ने र जोखिम व्यवस्थापन गर्ने उनको क्षमता विशेष नै लाग्दछ । यसबाट उनले फाइदा लिन सकेका पनि छन् । २००० वर्ष अगाडि एरिष्टो टलले अगाडि सारेको फस्ट प्रिन्सिपल थिङ्किङ भन्नाले कुनै पनि चिजको मूलभूत आधारहरुको ज्ञान भन्ने बुझिन्छ । धेरैले यो सिद्धान्तको प्रयोग गरेको भएता पनि एलन मस्कले स्पेश एक्समा गरेको प्रयोगलाई सबैले बुझ्दछन् । उनले अन्तरिक्ष यानको मूल्य के कसरी घटाउन सकिन्छ भनेर यो थिङ्किङको प्रयोग गरेका थिए । एलन मस्क एक इन्जिनियर अनि एक सफल उद्यमी मात्र रहेनन् । उनी त विश्वकै धनी व्यक्ति पनि बने । सन् २०२१ सेप्टेम्बर २७ मा टेस्लाको कमाई अरूको भन्दा अगाडि आयो । पछि यो कम्पनीको बजार मूल्य घटेको हुँदा उनी धनी व्यक्ति भइरहन सकेनन् तर उनी बढी धनी १० जनामा अहिले पनि छन् । एलन मस्कको जीवनबाट सिक्नुपर्ने विषय असफल हुनासाथ नआत्तिने र धैर्यतापूर्वक त्यसबाट के कसरी बाहिर निस्कने र सफल कसरी बन्ने भन्ने रणनीति बनाउन सक्ने र निरन्तर आफ्नो मिसनमा अग्रसर हुने व्यक्तिका रुपमा एलन मस्क चिनिन्छन् । टेलिफोन बुकको अवधारणामा स्थापना भएको जिपटु नामक कम्पनीमा शुरुमा लगानी जुटाउन धौधौ परेको भएता पनि यसको अनलाइन भर्सन थालनी भएपछि लगानी जुट्यो र उनले यसबाट नाफा कमाएरै छाडे । उनको नवीन क्षमताकै कारण पेपल नामक कम्पनीमा सहलगानी गर्ने अवसर जुट्यो । सन् १९९९ मा पेपललाई सबभन्दा कमजोर व्यावसायिक आइडिया भनेर समेत प्रचार गरियो तर यसलाई प्रयोगकर्ताको पक्षबाट इनोभेट गरेर अनलाइन वा लेटको रुप दिएपछि भने यसले सफलताको भ¥याङ्ग चढ्यो । टेस्ला नामक कम्पनी डुब्नै लाग्दा र स्पेश एक्स लगभग अव डुब्यो भनेपछि पनि उनले जसोतसो लगानी जुटाए र अगाडि बढ्ने क्रममा यी दुवैदुवै कम्पनी चर्चाको शिखरमा पुगे र सफल पनि बने । उनको ट्विटरमा रहेको संलग्नता पनि विवादमुक्त रहेन । तथापि उनले ट्विटरलाई पनि चर्चामा ल्याउन सके । यी उदाहरणबाट के देखिन्छ भने यदि आफ्नो रुचिको क्षेत्रमा स्वप्रेरित भएर लागि प¥यो भने सफलता टाढाको विषय होइन । उनको जीवनबाट पाइने आठवटा सन्देशलाई यसरी बुँदामा राख्न सकिन्छ : –असफलता र त्यसले दिने पीडाबाट सिक । असफलताबाट सिक्दै र धैर्यतापूर्वक कमजोरी हटाएर अगाडि बढ्नु उपयुक्त बाटो हो । यदि असफलता झेल्न सिकिएन भने नवप्रवर्तनकारी बन्न सकिदैन । – विज्ञ र पुस्तकबाट सिक । कम्पनी वा सङ्गठन राम्रो हुने भनेको राम्रा व्यक्तिहरुबाट नै भन्ने विश्वास उनीमा देखिन्छ । – महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गर । निजी तबरबाट स्थापना गरिएको स्पेश एजेन्सीले मङ्गल ग्रह कब्जा गर्ने र भविष्यका लागि वैकल्पिक वस्तीको विषय उठान गर्नु कम्ती महत्वाकांक्षी हैन तर उनको क्षमता हेरेर यो विषयलाई उत्सुकतापूर्वक हेरिरहेका छन् । यसरी लक्ष्य राख्दा लामो समयपछि परिणाम आउने प्रोजेक्टका लागि पनि हेरेर अल्पकालीन फाइदाका लागि मात्र मरिमेट्नु हुँदैन भन्ने उनका लक्ष्यहरुले सिकाउँछन् । – आफ्नो कामको जिम्मा आफैँ लिने गर । आफ्नो जिम्माको काममा हरेक पक्षको जानकारी राख्ने र परिणामप्रति आफुले जिम्मेवारी लिने गर्नु जीवनकै ठूलो कला हो । जुन कुरा गर्नु जरुरी छ त्यो काम तुरुन्त गर । महत्वपूर्ण काममा ढिलाई गर्दा आफू त पछाडि परिन्छ नै । अर्को सोही कामको लागत पनि बढी पर्ने हुन्छ । – काम गर्ने तरिकालाई सरलीकृत गर । परिवर्तनमा रमाऊ । काम गर्ने तरिका परिवर्तन गरेर पनि आफ्नो प्रोजेक्ट या भनौँ जीवनलाई सरल बनाउन सकिन्छ । – आफूमा विश्वास राख । आफ्नो सोँच वा लक्ष्यप्रति विश्वास राख्दै निरन्तर र कडा परिश्रमका साथ लागिपर्नु आवश्यक छ । “म गर्न सक्छु” भन्ने दृढ अठोट राख्नु सफलताका लागि महत्वपूर्ण छ । – हरेक नयाँ काम र आवश्यकता उपर प्रश्न गर । स्वभावतः जुन आवश्यक छ भनिएको छ त्यो गलत हुन्छ । जबसम्म आवश्यक छ भनेर सत्य सावित नभएको होस् । एलन मस्कले विभिन्न समय र क्रममा अभिव्यक्त गरेका केही भनाइबाट समेत उनको जीवन मार्ग र विचारका सम्वन्धमा अनुमान लगाउन तथा केही सिक्न सकिन्छ । केही भनाइहरु यहाँ समेट्न खोजिएको छ । –सामान्य व्यक्तिमा समेत असमान्य व्यक्तित्व बन्ने सम्भावना रहन्छ । – यदि असफलताको अपेक्षा गर्दैनौं भने बुझे हुन्छ कि तिमी नवप्रवर्तनशील छैनौँ । – सुन्दर र मानवीय भविष्यको लागि अहिले रहेका कतिपय समस्याको समाधानमा मेरो जोड छ । म पैसैका लागि मरिमेट्ने गर्दिन । – अन्तत्वगत्वा म मङ्गल ग्रहमा मर्न चाहन्छु । – लामो समय पर्खने कामका लागि हाम्रो जीवन छोटो छ । –आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमले हामी राक्षसलाई काबुमा ल्याउँदैछौँ । – धैर्यता निकै राम्रो गुण हो, म धैर्यवान् बन्न सिकिरहेको छु । – कुनै काम सम्भव छ भन्ने स्थापित गर्नु पहिलो पाइला हो, त्यसपछि त काम बन्ने सम्भावना हुन्छ नै । – कतिपय अवस्थामा कुनै व्यक्तिको ब्रेनलाई ज्यादा र उसको व्यक्तित्वलाई कम महत्व दिनु मेरो त्रुटी हो । – यो संसारमा धेरै राम्रा पुस्तक र मानिसहरु छन् । म पुस्तक पढ्छु र मानिसहरुसँग सल्लाह लिन्छु, सिक्छु । – सरकारले लगानी गर्छ भनेको सर्वसाधारण जनताकै तर्फबाट लगानी हो किनकि सरकारसँग हुने भनेकै जनताले तिर्ने कर वा शुल्कको पैसा हो । ‘स्पेसएक्स’को स्थापनाअघि उनले ८० प्रतिशत मेहनत इन्जिनियरिङको अध्ययन र प्रयोगमा व्यतीत गर्थे भनिएको छ । उनले स्वयम् अध्ययनबाटै स्पेसक्राफ्टका चिफ इन्जिनियर भएका हुन् । भनिन्छ कि उनले एक महिनामा ६० वटासम्म पुस्तक अध्ययन गरे । एलन मस्कको हालसम्मको जीवनबाट भनौँ या उनको जीवनशैली, अभिव्यक्ति, जीवन भोगाइबाट सिक्ने बुझ्ने र अवलम्बन गर्ने भनेको जीवनलाई कसरी महत्वपूर्ण तर नवीन क्षेत्रहरुमा प्रवेश गराउने, मानव मात्रका लागि कसरी उपयोगी हुने गरी काम गर्ने तथा जरुरी कामहरुमा के कसरी प्रस्तुत हुने भन्ने नै देखिन्छ । उनीमा घमण्ड देखिँदैन तर काम गर्ने दृढ इच्छा शक्ति भने पाइन्छ । विश्वविद्यालयको कक्षामा नगएर पनि सिक्न सकिन्छ भन्ने सिद्ध गर्ने उनी थप एक उदाहरण हुन् । भनिन्छ कि एलन मस्कको माइन्डसेट एवम् उद्यमी र काम गर्ने तरिका नै समस्या समाधान गर्ने खालको छ । भविष्यमा पनि मानव मात्रको हितका लागि उनका सफलताका कथा पढ्न पाइने आशा गर्न सकिन्छ । रासस (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् )  

सांसद विकास पूर्वाधार कार्यक्रम कहाँ गयो : सांसद पाण्डे

काठमाडौं । सांसद राजेन्द्र पाण्डेले सांसद चालु आर्थिक वर्षमा चालु आर्थिक वर्षमा सांसद विकास कार्यक्रमका निम्ति छुट्याएको कार्यक्रम कहाँ गयो भनेर प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै पाण्डेले बजेटमा भएका सबै कार्यक्र लागू हुने तर, सांसद विकास पूर्वाधार कार्यक्रम लागू नभएको बताए । ‘सांसद विकास पूर्वाधार कार्यक्रम कहाँ हरायो, नौ महिना भयो आजसम्म त्यो कार्यक्रम आउन सकेन’, सांसद पाण्डेले भने, ‘बाहिर–बाहिर सुने मैले त्यो कार्यक्रम जाजरकोट भूकम्पपीडितलाई दिइयो रे, जाजरकोटको भूकम्पीडितलाई त राष्ट्र कमजोर छ, तलब खाने पैसा छैन भने पनि ऋण लिएर भएपनि त्यो भूकम्पीडितलाई हेर्ने दायित्व त राज्यको हो नी, यही शिर्षकबाट लैजानपर्ने आवश्यकता थियो र ?’ सांसद पाण्डेले आगामी एक हप्ताभित्र सांसद विकास पूर्वाधार कार्यक्रम अगाडि नबढाइएमा संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट चढ्न पाइने

दमौली । आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ । सो जलाशयमा तत्काल एक करोडको लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले बताए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । जलाशयमा नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ । जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अल्कादेवी मन्दिर पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले विश्वास व्यक्त गरे । कम्पनीले थप तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सो कम्पनीका सञ्चालक ढकालले जानकारी दिए । मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले छ देखि आठ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति दुई ५०, दशदेखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति पाँच सय र १५ देखि २० मिनेटसम्मका लागि प्रतिव्यक्ति एक हजार ताकिएको छ । रासस

काठमाडौं बन्यो विश्वकै प्रदूषित सहर, दोस्रोमा नयाँ दिल्ली

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ । अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ । अहिले काठमाडौंको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।

उही कुरो दोहोर्याउने र फरक नतिजा खोज्ने पागलपन हो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उही कुरा दोहोर्याउने तर, फरक नतिजा खोज्ने खोज्ने काम पागलपन भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै भट्टराईले वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइलाई लिँदै सो बताएका हुन् । ‘उही कुरो पटक-पटक दोहोर्याउने र फरक परिणाको आशा गर्नु भनेको पागलपन हो, मुर्खता हो’, उनले भने, ‘मलाई पनि के अनुभूति हुन्छ भने सत्तामा हुन्छौं भने सबै राम्रो हुन्छ, मैले गर्या हो भन्ने हुन्छ, जो अलि विपक्षीमा जान्छौं केही पनि ठिक छैनौं भन्छौं, तर तथ्यले के भन्छ हामीले भन्ने त्यो हो ।’ उनले नेपालमा ६० वर्षदेखिको आर्थिक वृद्धिदरको तथ्यांकमा नेपालले कहिल्यै पनि दोहोरो अंकले आर्थिक वृद्धि गर्न नसकेको भन्दै समस्या कहाँ छ त्यहाँ जानुपर्ने बताए । उनले आरोप प्रत्यारोप गर्ने भन्दापनि संविधानले स्पष्ट दिशावोध गरेको र सोही अनुसार काम गर्न आवश्यक रहेको बताए ।

प्रधान कार्यालयको लागि जग्गा किन्दै ज्योति विकास बैंक

काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको हो । बैंकले विशालनगरमा जम्मा क्षेत्रफल २६२०.६८ वर्गमिटर भएको जग्गा प्रतिआना ९७ लाख रुपैयाँको दरले किन्ने निर्णय गरेको हो । उक्त निर्णय चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।