विकासन्युज

पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा उच्च महत्व दिन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको बताए । उनले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताए । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिदै उहाँले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताए । निर्माण सम्पन्न भएका तर संचालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि संचालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग संचालन हुन नसकेको भन्दै यसको सफल संचालनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले यूरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न के कस्ता उपाय अबलम्बन गर्नुपर्छ, सुझाव दिन आग्रह गरे । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सक्ने क्षेत्र रहेको बताए । पर्यटन क्षेत्रको समग्र विकासका लागि समितिले उच्च महत्व दिइरहेको भन्दै नीतिगत स्थिरता हुनुपर्ने आवश्यकता रहेको बताए । सभापति यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामूहिक रुपमा स्पष्ट सुझाव आउनुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने विषयहरु जति सक्दो छिटो लिपिबद्ध गरी दिन आग्रह समेत गरे । निजी क्षेत्रको सुझावहरु पर्यटन, अर्थ मन्त्रीसम्म पुर्याउन समितिले सहयोग गर्ने बताए । सांसद उदयशम्शेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिबेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताए । उनले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रुपमा अध्ययन गर्न लागेको जानकारी गराए । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने विषयमा राजनीतिक दलहरुले भन्दा निजी क्षेत्रले आम समुदायलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा सबै सहमत रहेको भएपनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग संचालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आउने गरेको उनले बताए । पुर्व पर्यटन मन्त्री समेत रहनुभएका सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग संचालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताए । यी दुबै विमानस्थल संचालन हुन सक्ने भन्दै विमानस्थलमा उडान भर्न पहल गर्नुपर्नेमा उहाँले जोड दिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निकै आवश्यक रहेको समेत बताए । सांसदहरु एकनाथ ढकाल, डा. धवलशम्शेर राणा, शिशिर खनालले पर्यटन क्षेत्रको समस्या र समाधानका लागि स्पष्ट सुझावका लागि निजी क्षेत्रलाई आग्रह गरे ।  सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले संसद्, सरकार, राजनीतिक दल, निजी क्षेत्र सबै मिलेर मुलुकको आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । सो अवसरमा परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन उद्योगको विगत, वर्तमानको अवस्था र आगामी दिनमा चालिनुपर्ने कदमका विषयमा प्रस्तुतीकरण दिएका थिए ।  पूर्व पर्यटन सचिव दिपेन्द्रपुरुष ढकाल, नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्य, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह, नाट्टाका अध्यक्ष रमेश थापा, टानका अध्यक्ष निलहरी बास्तोलालगायत पर्यटन उद्योगसँग सम्बन्धित संघ संस्थाका अध्यक्षहरुले पर्यटन उद्योगको विकास, विस्तारका लागि गरिनुपर्ने काम र समितिले ध्यान दिनुपर्ने विषयमा सुझावहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद सुनिता बराल, पर्यटन सचिव डा. दिपक काफ्ले, सहसचिव गोबिन्दबहादुर कार्की, नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, सीएनआई पर्यटन समिति सभापति पम्फा धमला, पर्यटन बोर्ड संचालक समितिका सदस्यहरुलगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थिति थियो ।

वर्षको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । वि.सं २०८० सालको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.५२ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बुधबार भने ३ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । सो दिन ३०८ वटा स्क्रीप्स कारोबारमा आएका थिए । जसमध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात १२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने १३.७० रुपैयाँले घटेर प्रतिकित्ता ६१०.२० रुपैयाँमा झरेको छ । घटेको बजारमा माण्डु हाइड्रोपावरको सेयर मूल्य करिब सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.६९ प्रतिशतले घटेर प्रतिकित्ता ७७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६८ रुपैयाँले बढी हो । यता सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रोको १० प्रतिशतले घटेर प्रतिकित्ता १७१ रुपैयाँमा र विन नेपालको ९.९३ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ । बुधबार उत्पादनमूलक र ट्रेडिङ समूह सामान्य बढेका छन् भने बाँकी समूह घटेका छन् ।

खालि खुट्टा आएका नेताहरुको चारवटा घर काठमाडौंमा कसरी आयो : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरु र कर्मचारीहरुको सम्पत्तिको छानविन गर्न माग गरेका हुन् । बहुदलपछि खालि खुट्टा आएका नेताहरुको चार, चारवटा घर काठमाडौंमा कसरी आयो भनेर उनले प्रश्न पनि गरे । भ्रष्ट नेताहरुलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बताए । ‘२०४७ सालपछिको सम्पतिको छानविन गरौँ । निश्चित रुपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ । ०४६ सालपछि बहुदल आयो । खालि खुट्टा आएका नेताहरुको घर–घरमा चार, चारवटा पँजेरो, चार, चारओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयो ? निश्चित रुपमा छानविन गर्नुपर्छ । तब जनताको निराशा हट्छ । र जनताले बुझ्छ जुन नेताले गल्ती गर्यो, त्यसलाई कानूनी कारबाहीमा ल्याइयो । त्यतिमात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानविन गर्नुपर्छ’, उनले भने । उनले सहकारी ठगहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

अब्बल बन्दै प्राइम र एभरेष्ट बैंक, तेस्रो स्थानका लागि यी ६ बैंकबीच प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड ६० लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार बैंकहरूले सो नाफा गरेका हुन् । जुन माघ महिनाको तुलनामा करिब २० प्रतिशत बढी हो ।माघसम्म बैंकहरूले ३५ अर्ब बढी नाफा गरेका थिए । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले फागुनसम्म ४ अर्ब ७२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । नाफमा दोस्रो ग्लोब आइएमई बैंक देखिएको छ । ग्लोबलले फागनुसम्म कुल ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो । अन्य ६ वटा बैंकबीच भने तेस्रो हुनका लागि प्रतिस्पर्धा देखिएको छ । थोरै रकमका आधारमा अहिले प्राइम कमर्सियल बैंक नाफामा अगाडि देखिएको छ । प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । यो बैंक मर्जरबिनै अन्य बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । यस्तै, नाफा बढी गर्ने प्रतिस्पर्धामा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि रहेका छन् । यी बैंकले क्रमशः २ अर्ब ८७ करोड ७० लाख, २ अर्ब ८० करोड ४० लाख, २ अर्ब ५४ करोड २० लाख, २ अर्ब २९ करोड, ३० लाख र २ अर्ब ८ करोड ९० लाख रुपैयाँ नाफा गरेका छन् । झिनो रकममा यी बैंक अगाडि/पछाडि भएपनि तेस्रो स्थानका लागि भने यी ६ वटै बैंकको प्रतिस्पर्धा देखिएको छ । एभरेष्ट बैंक पनि मर्जर बिनै ठूला बैंकसँग बिजनेसमा प्रतिस्पर्धा गरिरहेको छ । आठ महिनाको अवधिमा कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६० लाख, हिमालयनले १ अर्ब ९४ करोड ८० लाख, एनएमबिले १ अर्ब ९२ करोड ५० लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड, सिद्धार्थले १ अर्ब ६९ करोड ६० लाख, सानिमाले १ अर्ब ६६ करोड ४० लाख, प्रभुले १ अर्ब ५१ करोड ४० लाख, कुमारीले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, नेपाल बैंकले १ अर्ब २८ करोड २० लाख, सिटिन्सले १ अर्ब २२ करोड ६० लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४० लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ८० लाख रुपैयाँ नाफा गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ?

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु) मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ । हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरुपमा सुरक्षित रहेको रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले नयाँ हेडवर्क्स निर्माणका पहिचान गरिएको स्थान हाल हेडवर्क्स भएको स्थानबाट एक किलोमिटरको दूरीमा रहेको बताए । उनले उक्त स्थानमा एक किलोमिटरभन्दा कम लम्बाइको सुरुङ निर्माण गरे पुग्ने देखिएकाले सार्कस्थलीमै नयाँ हेडवर्क्सका लागि उपयुक्त रहेको जिकिर गरे । ‘प्रस्तावित नयाँ स्थान हाल हेडवर्क्स रहेको स्थानभन्दा करिब एक सय मिटर उचाइमा छ । ‘फ्लसिङ’ प्रणालीबाट निर्माण गर्न सहज हुने तथा विगतमा जस्तै प्राकृतिक विपत् आएमा कम प्रभाव पर्ने अध्ययनले देखाएको छ’, उनले भने, ‘प्रस्तावित स्थानको दायाँ, बायाँ र पिँधमा समेत चट्टान अवस्थित रहेकाले दिगो हुने देखिएकाले प्रस्तावित नयाँ स्थान सुरक्षित छ ।’ उनले हरेक मनसुनको औसत बाढी र यस्तै किसिमको बाढीबाट संरचनामा कम प्रभाव पर्ने, हरेक वर्ष बर्सातको समयमा जम्मा हुनसक्ने ढुङ्गा, माटो र गेग्रानबाट पानी पथान्तरणमा प्रतिकूल असर नपर्ने देखिएको बताए । मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका लागि प्रारम्भिक अनुमानित खर्च रु चार अर्ब ५० करोड लाग्न सक्ने भन्दै उहाँले लागत व्यवस्थापनका लागि दातृ निकायसँग पनि अनुरोध गर्ने बताए। उनका अनुसार नयाँ हेडवर्क्स निर्माणका लागि पाँच वर्ष लाग्नेछ । अन्सारीले ग्राभेल र सेडिमेन्ट हटाउने प्रणाली सुरुङभित्रै निर्माण गर्ने, बाढीको कारणले निर्मित संरचनामा कुनै असर नपर्ने, प्रस्तावित नयाँ इन्टेकसम्म पुग्नो लागि सुरुङभित्रै मार्ग निर्माण गर्ने बताए । बर्सातको समयमा पनि रेखदेख, मर्मत र सम्भारमा समस्या नपर्ने, याङ्ग्रीबाट आउने सुरुङलाई पनि हालको मेलम्ची सुरुङमा सिधै जोडिने भएकाले कुनै एक नदीमा समस्या भएमा पनि अरू दुईवटा नदीबाट निरन्तररुपमा काठमाडौँ उपत्यकामा पानी प्रवाह गर्न सकिने उनको भनाइ छ । ‘एसियाली विकास बैङ्कको प्राविधिक सहयोगमा बाढी आउनुको सम्भावित कारण र दिगो समाधानको उपायको सम्बन्धमा अध्ययन गरिएको छ’, उनले भने, ‘नयाँ हेडवर्क्सका लागि डिजाइन अवधारणा तयार गरी हेडवर्क्स निर्माणका लागि स्थान पहिचान गरिएको छ । विद्यमान हेडवर्क्सको दिगो उपयोगको सम्बन्धमा अध्ययन गर्ने र दिगो समाधानको अवधारणा अध्ययन गरी सोबारे राय दिने काम भइरहेको छ ।’ हालको हेडवर्क्स प्रयोगमा समस्या हालको हेडवर्क्स प्रयोगका लागि खोलालाई १० किलोमिटरभन्दा बढी गहिराएर साबिककै सतहमा ल्याउनुपर्ने भएकाले अहिलेको स्थानमा हेडवर्क्स प्रयोग गर्दा थप समस्या उत्पन्न हुनसक्ने अन्सारीले बताए । ‘हाल जम्मा भएको गेग्रानको करिब ७० देखि ८० प्रतिशतसम्म हटाउनुपर्ने र खोलामा जम्मा भएको गेग्रान एकपटक हटाए पनि हरेक वर्ष बर्षातको समयमा पुनः गेग्रान जम्मा हुने अवस्था आउनसक्छ’, उनले भने, ‘भूकम्प पश्चात हेडवर्क्सको विपरीत बायाँ किनारामा ठूलो पहिरो सक्रिय रहेकाले कुनै पनि समयमा हेडवर्क्समा क्षति गर्नसक्ने सम्भावना छ । साथै यस सवलीकरणका लागि ठूलो रकम आवश्यक पर्ने तर दिगो हुने सम्भावना कम छ ।’ हाइड्रोलोजी विज्ञ तथा अध्ययन कार्यदल प्रमुख प्रा डा विष्णुप्रसाद पाण्डेले पनि हालको हेडवर्क्स पानी जम्ने स्थानमा पर्ने भएकाले हेडवर्क्स सञ्चालन गर्न चुनौती देखिएकाले नयाँ स्थानमा सार्नुपर्ने बताउँछन् । ‘पुरानै स्थानमा हेडवर्क्स रहँदा फ्लसिङ सुविधाको व्यवस्था गर्नुपर्छ, निकास फ्लसिङ व्यवस्थाका लागि नदीको घुमाउरो एल प्रोफाइल परिमार्जन गर्न गाह्रो देखिने चुनौतीहरु छन्’, उनले भने, ‘बायाँ किनारमा पहिरोको स्थिरीकरणका लागि ठूलो लगानीको आवश्यकता पर्दछ, जुन लामो समयसम्म टिकाउ नहुन पनि सक्ने भएकाले अन्यत्र हेडवर्क्स सार्नु उपयुक्त हुन्छ ।’ मेलम्ची खानेपानी आयोजनालाई स्थायी बनाउन मध्यकालीन र दीर्घकालीन समाधानको समेत प्रस्ताव गरिएको छ । ‘दीर्घकालीन समस्या समाधानका लागि सार्कस्थलीमा नै आयोजना सार्नुको विकल्प छैन,’ पाण्डेले भने, ‘मध्यकालीन समाधानका प्रस्तावित सबै उपायहरू डिजाइन/लागू गर्न करिब साढे दुई वर्ष लाग्छ । बायाँ किनारबाट हुनसक्ने पहिरोसँग सम्बन्धित जोखिम भने कायमै रहन्छ ।’ मेलम्चीमा यसअघि नै ठूलो मात्रामा लगानी भइसकेको र टनेल पूर्वाधारमा बजेटको ठूलो हिस्सा खर्च भएकाले पुरानै संरचना प्रयोग गरी हेडवर्क्स सार्नुपर्ने उनको सुझाव छ । ‘सन् २०२१ को बाढीले हेडवर्क्समा क्षति पुर्याए पनि धेरै लागतमा निर्माण भएका टनेल तथा अन्य संरचनाहरु सुरक्षित छन् । ती संरचनालाई सदुपयोग गर्दै पहिले नै उपलब्ध पूर्वाधारको सदुपयोग गर्नु उपयुक्त हुन्छ’, उनले भने । यद्यपि हेडवर्क्स सार्ने हालको प्रस्तावित नयाँ स्थान सुरक्षित रहेको भन्ने आधार नभएको भन्दै आलोचनासमेत भइरहेको छ । सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो व्यवस्थापन गर्दै बाह्रै महिना पानी ल्याउनका लागि सार्कस्थलीमा आयोजनाको हेडवर्क्स बनाउने तयारी गरिरहेका पनि उक्त स्थान पनि असुरक्षित रहेको उनको भनाइ छ । ‘सार्कस्थली कसरी सुरक्षित हुन्छ ? सुरक्षित हुन्छ भनेर त्यहाँ आयोजना सार्नु गलत छ, मुहान सार्ने निर्णय गलत हो’, उनले भने । गत साता मन्त्रालयले आयोजना गरेको दिगो व्यवस्थापनसम्बन्धी अन्तक्रियामा धारणा राख्दै अन्य सरोकारवालाहरुले पनि सार्कस्थली सुरक्षित भन्ने आधारको विषयमा प्रश्न उठाभएका थिए । तीन दशकको पखाइपछि बनाइएको आयोजना अनिश्चित बनेसँगै उपभोक्तालाई खानेपानीको समस्या फेरि पनि झेल्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ थियो । गत साउन २८ र २९ गते आएको बाढीले पहिलेको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको खानेपानी आयोजनाबाट पानीको आपूर्ति बन्द गर्नुपरेको थियो । आयोजनाको अस्थायी सुधारभएपछि गत माघ १ गते उपत्यकामा खानेपानी वितरण भएको थियो । विज्ञहरुले भने कम जोखिमपूर्ण स्थानमा आयोजना निर्माण गर्न सुझाव दिएका छन् । विगतमा पनि मेलम्चीको भौगर्भिक अवस्थाबारेमा राम्रो अध्ययन नहुँदा मेलम्ची आयोजनामा समस्या भएको उनीहरुको भनाइ छ । भूगर्भविद् डा सुबोध ढकालले आयोजना सुधार कार्य प्रारम्भ गर्नुअघि नै प्रास्तावित नयाँ स्थान जोखिमपूर्ण रहेको वा नरहेको विषयमा गहन रुपमा अध्ययन गर्न सुझाव दिएका छन् । ‘आयोजना क्षेत्रको मात्रै अध्ययन गरेर हुँदैन, तल्लो र माथिल्लो तटीय क्षेत्रको पनि अध्ययन गर्न जरुरी छ, पहिरोको सम्भावना कतिको छ रु विगतमा के भएको थियो रु कसरी विपत्मैत्री आयोजना निर्माण गर्ने विषयमा ध्यान दिनुपर्छ’, उनले भने, ‘यदि आयोजनामा फेरि पनि लापरबाही गर्न थालियो भने अब हेडवर्क्स स्थानान्तरण गर्दैमा आयोजना सुरक्षित हुने छैन ।’ उपत्यकामा जनसङ्ख्याको बढ्दो चापसँगै खानेपानीको मागअनुसार आपूर्ति व्यवस्थापन सहज हुन सकिरहेको छैन । हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ । रासस

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

काठमाडौं । नयाँ वर्षमा टाटा मोटर्सले नयाँ कार योजना ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ २०८१ योजना ल्याएको हो । कम्पनीका अनुसार यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निस्शुल्क प्राप्त गर्न सक्नेछन । यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिए । ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि सडक महोेत्सवको आयोजना गरिएको उनको भनाइ छ । संयोजक राजभण्डारीले चैत ३० गते शुक्रबार साँझ पर्यटनमन्त्रीसहित विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको उपस्थितिमा ठमेल सडक महोत्सव गर्न लागिएको बताए । सोही दिन साँझ ठमेलभित्र उत्पादित सामग्री बिक्रीवितरणका साथै सांस्कृतिक कार्यक्रम हुनेछन् । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रुपमा परिचित गराउने उद्देश्यका साथ सडक महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवका लागि सुरक्षा निकायसँग समन्वय गरेर ठमेलभित्रको सुरक्षालाई कडाइ गरिने उनको भनाइ छ । अध्यक्ष शर्माले ठमेललाई सुन्दर, आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि ठमेलभित्रको तारलाई व्यवस्थापन र सडक कालोपत्र तथा मर्मत गरिसकिएको जानकारी दिए । परिषद्ले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा ठमेल क्षेत्रभित्र पर्याप्त सिसिटिभी जडान गरिसकेको अध्यक्ष शर्माको भनाइ छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभरि कार्यक्रम हुने भएकाले मान्छेको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भन्दै बाहिरबाट यहाँ भित्रिने सवारी साधनले वैकल्पिक बाटो प्रयोग गर्नसमेत परिषद्ले आग्रह गरेको छ ।

काँग्रेसले सहकारी प्रकरणलाई राजनीतिक कुण्ठाको विषय बनाउन मिल्दैन : मनिष झा

  काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । उनले सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरे । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए । उनले आफ्नो पार्टीको सुशासनमाथिको प्रतिवद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए । सांसद झाले देशलाई यही व्यवस्था भित्र सुशासनको माध्यामबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबी समेत गरे । ‘सुशासन नपाएर यो देशमा समस्या भएको हो । र ती सबै चिजको समाधानका लागि गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बनेको हो ।  किनकी हाम्रो दलको सृजना र स्थापनाको आधार नै त्यही हो ।  सरकारमा हामी संलग्न भएपनि, नभएपनि यो देशमा भ्रष्टाचारीलाई, बलात्कारीलाई सजाय दिनुपर्छ । कृपया, त्यो नहटाईदिनुस भनेर सरकारलाई भन्यौं । हामीले यहाँ बोल्यौं २०४७ पछिको सबै छानविन गरौं भनेर । ल आउनुस् अब हामी एक ठाउँमा आईपुगेका छौं । २०४७ पछिको सबै फाईल खोलौं’, उनले भने । सांसद झाले भ्रष्टाचारको अन्त्यको अभियानमा सबै दलहरु एक हुनुपर्नेमा पनि जोड दिए ।