कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् ।
सिंगापुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि
सिंगापुर । सिंगापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्घि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको छ । सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार १३८ रहेकोमा सन् २०२३ मा यो सङ्ख्या चार हजार ५५० मा पुगेको उल्लेख गरिएको छ । मूल्याङ्कन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो । मूल्याङ्कन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अङ्क दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेवसाइटलाई पूर्ण अङ्क दिइएको छ । गृह राज्यमन्त्री सन जुएलिङले संसद्मा गरेको सम्वोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपायहरू अङ्गीकार गर्न अस्वीकार गरेकोमा आलोचना गरे । रासस
बागमती नगरका मेयरविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । प्रमुख थापाले गैरकानुनीरुपमा पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ रुपैयाँ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । नगर प्रमुख थापाले विसं २०७४ असोजदेखि विसं २०७९ माघसम्ममा सात करोड ८६ लाख ५० हजार रुपैयाँ अवैध तरिकाले कूल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारको भनाइ छ । कूल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारका दाबी छ । यसैगरी आयोगले नगर प्रमुख थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतका नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानीमा भ्रष्टाचार गरेको रकम खर्च भएको उल्लेख गरेको छ । रासस
मर्जर गरेका बैंकलाई एनबीए व्यवस्थापनमा सकस, तीन वटाको नाफाभन्दा बढी
काठमाडौं । वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति अर्थात् नन बैंकिङ एसेट (एनबीए) बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म बैंकहरूको गैर-बैंकिङ सम्पत्ति २० अर्ब ११ करोड १० लाख रुपैयाँ बराबर पुगेको हो । आठ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी एनबीए एनआईसी एशिया बैंकको छ । यो बैंकको एनबीए ३ अर्ब २४ करोड २० लाख रुपैयाँ रहेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकको २ अर्ब ३९ करोड ५० लाख रुपैयाँबराबरको एनबीए छ । यस्तै, प्राइम कमर्सियलको २ अर्ब ८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाको १ अर्ब ९६ करोड १० लाख, कुमारीको १ अर्ब ८६ करोड ९० लाख, नबिलको १ अर्ब ४७ करोड ७० लाख, माछापुच्छ्रेको १ अर्ब ४४ करोड ५० लाख र लक्ष्मी सनराइजको १ अर्ब ३६ करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हिमालयनको ८४ करोड ४० लाख, एनएमबिको ७९ करोड १० लाख, सिद्धार्थको ६४ करोड ४० लाख, प्रभुको ५७ करोड ३० लाख, सिटिजन्सकोक ३० करोड, सानिमाको २६ करोड ८० लाख, कृषि विकासको २५ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकको १८ करोड २० लाख, नेपाल बैंकको १८ करोड २० लाख, एभरेष्ट बैंकको १५ करोड ५० लाख र नेपाल एसबिआई बैंकको ७ करोड ६० लाख रुपैयाँबराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । माघसम्म बैंकहरूको कुल गैर-बैंकिङ सम्पत्ति १९ अर्ब ९१ करोड ५० लाख रुपैयाँबराबर थियो । अहिले बिग मर्जर गरेका बैंकको गैर-बैंकिङ सम्पत्ति अन्य बैंकको तुलनामा बढी देखिएको छ । एनआईसी एशिया, माछापुच्छ्रे र कुमारी बैंकको गैर बैंकिङ सम्पत्ति नाफाभन्दा पनि बढी छ । यी बैंकको नाफा क्रमशः २ अर्ब ८७ करोड ७० लाख, १ अर्ब १६ करोड ४० लाख र १ अर्ब ४२ करोड ४० लाख रहेको छ । तर, यी बैंकको एनबीए भने नाफाभन्दा बढी छ ।
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए । एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो । उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने छ ।
पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा उच्च महत्व दिन आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको बताए । उनले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताए । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिदै उहाँले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताए । निर्माण सम्पन्न भएका तर संचालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि संचालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग संचालन हुन नसकेको भन्दै यसको सफल संचालनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले यूरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न के कस्ता उपाय अबलम्बन गर्नुपर्छ, सुझाव दिन आग्रह गरे । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सक्ने क्षेत्र रहेको बताए । पर्यटन क्षेत्रको समग्र विकासका लागि समितिले उच्च महत्व दिइरहेको भन्दै नीतिगत स्थिरता हुनुपर्ने आवश्यकता रहेको बताए । सभापति यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामूहिक रुपमा स्पष्ट सुझाव आउनुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने विषयहरु जति सक्दो छिटो लिपिबद्ध गरी दिन आग्रह समेत गरे । निजी क्षेत्रको सुझावहरु पर्यटन, अर्थ मन्त्रीसम्म पुर्याउन समितिले सहयोग गर्ने बताए । सांसद उदयशम्शेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिबेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताए । उनले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रुपमा अध्ययन गर्न लागेको जानकारी गराए । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने विषयमा राजनीतिक दलहरुले भन्दा निजी क्षेत्रले आम समुदायलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा सबै सहमत रहेको भएपनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग संचालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आउने गरेको उनले बताए । पुर्व पर्यटन मन्त्री समेत रहनुभएका सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग संचालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताए । यी दुबै विमानस्थल संचालन हुन सक्ने भन्दै विमानस्थलमा उडान भर्न पहल गर्नुपर्नेमा उहाँले जोड दिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निकै आवश्यक रहेको समेत बताए । सांसदहरु एकनाथ ढकाल, डा. धवलशम्शेर राणा, शिशिर खनालले पर्यटन क्षेत्रको समस्या र समाधानका लागि स्पष्ट सुझावका लागि निजी क्षेत्रलाई आग्रह गरे । सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले संसद्, सरकार, राजनीतिक दल, निजी क्षेत्र सबै मिलेर मुलुकको आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । सो अवसरमा परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन उद्योगको विगत, वर्तमानको अवस्था र आगामी दिनमा चालिनुपर्ने कदमका विषयमा प्रस्तुतीकरण दिएका थिए । पूर्व पर्यटन सचिव दिपेन्द्रपुरुष ढकाल, नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्य, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह, नाट्टाका अध्यक्ष रमेश थापा, टानका अध्यक्ष निलहरी बास्तोलालगायत पर्यटन उद्योगसँग सम्बन्धित संघ संस्थाका अध्यक्षहरुले पर्यटन उद्योगको विकास, विस्तारका लागि गरिनुपर्ने काम र समितिले ध्यान दिनुपर्ने विषयमा सुझावहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद सुनिता बराल, पर्यटन सचिव डा. दिपक काफ्ले, सहसचिव गोबिन्दबहादुर कार्की, नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, सीएनआई पर्यटन समिति सभापति पम्फा धमला, पर्यटन बोर्ड संचालक समितिका सदस्यहरुलगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थिति थियो ।
वर्षको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । वि.सं २०८० सालको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.५२ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बुधबार भने ३ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । सो दिन ३०८ वटा स्क्रीप्स कारोबारमा आएका थिए । जसमध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात १२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने १३.७० रुपैयाँले घटेर प्रतिकित्ता ६१०.२० रुपैयाँमा झरेको छ । घटेको बजारमा माण्डु हाइड्रोपावरको सेयर मूल्य करिब सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.६९ प्रतिशतले घटेर प्रतिकित्ता ७७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६८ रुपैयाँले बढी हो । यता सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रोको १० प्रतिशतले घटेर प्रतिकित्ता १७१ रुपैयाँमा र विन नेपालको ९.९३ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ । बुधबार उत्पादनमूलक र ट्रेडिङ समूह सामान्य बढेका छन् भने बाँकी समूह घटेका छन् ।
खालि खुट्टा आएका नेताहरुको चारवटा घर काठमाडौंमा कसरी आयो : सांसद यादव
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरु र कर्मचारीहरुको सम्पत्तिको छानविन गर्न माग गरेका हुन् । बहुदलपछि खालि खुट्टा आएका नेताहरुको चार, चारवटा घर काठमाडौंमा कसरी आयो भनेर उनले प्रश्न पनि गरे । भ्रष्ट नेताहरुलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बताए । ‘२०४७ सालपछिको सम्पतिको छानविन गरौँ । निश्चित रुपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ । ०४६ सालपछि बहुदल आयो । खालि खुट्टा आएका नेताहरुको घर–घरमा चार, चारवटा पँजेरो, चार, चारओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयो ? निश्चित रुपमा छानविन गर्नुपर्छ । तब जनताको निराशा हट्छ । र जनताले बुझ्छ जुन नेताले गल्ती गर्यो, त्यसलाई कानूनी कारबाहीमा ल्याइयो । त्यतिमात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानविन गर्नुपर्छ’, उनले भने । उनले सहकारी ठगहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए ।