वैशाख २ गतेदेखि भर्ना : सबै जिल्लामा पुर्याइयो पाठ्यपुस्तक
काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्याएको थियो । प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । ‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भने, ‘राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’ कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका छन् भने यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी छिन् । भर्ना अभियान सुरु हुँदै नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाए। सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ । अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन । रासस
निलगिरि खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाडौं । निलगिरि खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको एजेन्डा पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते दिन काठमाडौंको लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा बिहान १०ः३० बजे विशेष साधारण सभा आह्वान गरेको हो । सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर बाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।
आज सेयर बजार बन्द रहने
काठमाडौं । बिहीबार सेयर बजार बन्द रहने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएका कारण यस आज सेयर बजार बन्द रहने भएको हो । आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था बन्द रहने छन् । २०८० सालको अन्तिम कारोबार दिन चैत २८ गते भएको छ। सेयर बजार २०८१ साल वैशाख २ गते मात्र खुल्नेछ ।
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न पियोर इनर्जीले डाक्यो विशेष साधारण सभा
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १६ गतेका लागि विशेष साधारण सभा बोलाएको हो । उक्त सभाले आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रूपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।
रिभर फल्स पावरले डाक्यो एकैपटक दुई आर्थिक वर्षको साधारण सभा
काठमाडौं । रिभर फल्स पावर लिमिटेले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको २८ गते बसेको सञ्चालक समिति बैठकले सातौं र आठौं वार्षिक साधारण सभा वैशाख २० गते बिहीबार, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने भएको छ । यस सभामा चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस हुनेछ । सभाले गत वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र निजको पारिश्रमिक, बैठक भत्ता तथा सुविधाको बारेमा छलफल गरिनेछ । साथै, हकप्रद सेयर प्रयाजनका लागि अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा छन् । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा वैशाख ९ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।
भिजन लुम्बिनी ऊर्जाको लकइन अवधि जेठ ४ गते सकिँदै
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६ सय २५ कित्ता सेयरको लकइन अवधि आगामी जेठ ४ गते सकिने भएको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर गत मंसिर ५ गते बाँडफाँड गरिएको थियो । उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकइन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान छ ।
प्रभु इन्स्योरेन्सले डाक्यो २८औं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेन्डा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा बीमा प्राधिकरणले तोकेबमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोही बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्णअख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, सञ्चालकमा समितिको संरचना परिवर्तन गरी १ जना महिला सञ्चालक र एक जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको २०७५ जेठ १० गते सम्पन्न विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्ति गर्नेबारे सञ्चालक समितिको निर्णलाई अनुमोदन गरिनुका साथै सञ्चालक समितिका सदस्यहरूको पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने प्रस्तावसमेत पारित हुनेछ । सभामा संस्थापक सेयरधनी समूह ‘क’ बाट २ जना, समूह ‘ख’बाट १ जना र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।
आज इद मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । ३० दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ‘जकात (दान) यही महिनामा दिइन्छ,’ उनी भन्छन्, ‘हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।’ इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्यांक अपूर्ण भएको आरोप लगाउँदै उनले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए । काठमाडौंमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनी बताउँछन् । ‘संस्कृति बचाउन स्थान चाहिन्छ,’ उनी भन्छन्, ‘देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।’ इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।