घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दोब्बरले बढ्यो हवाइ भाडा : धनगढी पुग्न १७ हजार, भद्रपुरको १२ हजार
काठमाडौं । केही दिनअघि काठमाडौं-धनगढी रुटको हवाइ भाडादर साढे ७ हजार ९ सय रुपैयाँ हाराहारी थियो । काठमाडौंबाट धनगढी जाने यात्रुहरूले सहजै टिकट काटेर धनगढी जान पाउँथे । तर, अहिले धनगढी जानका लागि यात्रुहरूले अधिकतम् १७ हजार १८६ रुपैयाँ भाडा तिर्नु परेको छ । यसअघि सो रुटको न्यूनतम हवाई भाडा ७ हजार ९ सय रुपैयाँदेखि उच्चतम ११ हजार रुपैयाँसम्म थियो । एक साताको बीचमा धनगढी रुटको भाडा दोब्बरले बढेको हो । यसअघि साढे ६ हजारको हाराहारीमा पर्ने सुर्खेतको हवाइ भाडा अहिले १४ हजार १६८ रुपैयाँ, सोही हाराहारीमा पर्ने नेपालगञ्जको भाडा पनि दोब्बरले बढेको छ । अहिले नेपालगञ्जको टिकट पाउन पनि मुस्किल पर्ने गरेको छ । काठमाडौंदेखि भद्रपुर पुग्न यसअघि साढे चार हजार हारहारी लाग्नेमा अहिले बढाएर अधिकतम् १२ हजार ३८३ रुपैयाँ लाग्ने गरेको छ । दुई/चार दिनमै यो किसिमको महँगीले यात्रुलाई आश्चर्य बनाएको छ । वायुसेवा कम्पनीहरुले हाल उडान हुँदै आएका सबै गन्तव्यको भाडादर दोब्बरले बढाएका छन् । नयाँ वर्ष सुरु भएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा अचाक्ली रुपमा बढाउन थालेका हुन् । यसअघि न्यूनतम फेयरमा उडान गर्दै आएका वायुसेवा कम्पनीले चाडपर्व सुरु भएसँगै उच्चतम फेयरमा टिकट बिक्री गर्न थालेको देखिन्छ । कतिपय ठाउँको हवाइ भाडा शतप्रतिशत बढेको देखिन्छ । उसो त अहिले कतिपय ठाउँको अहिले टिकट नै पाइँदैन । वायुसेवा कम्पनीले महँगो मूल्यमा टिकट बिक्री गरिरहेता पनि अधिकांश ठाउँको टिकट नै पाइरहेको छैन ।
अपराध अनुसन्धानमा उपयोगी बन्दै ‘नेपाल प्रहरी मोबाइल एप’
काठमाडौं । प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ । स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधरणको सहज पहुँचसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ । सूचना र सन्देश सङ्कलन तथा सम्प्रेषण गर्न प्रयोग गरिएको ‘नेपाल प्रहरी मोबाइल एप’बाट आमनागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थानसहितको सूचना दिने सुविधा उपयोग गर्न सक्षम भएका छन् । प्रहरीलाई पनि घटनास्थलमा पुगेर प्रभावकारी रूपमा काम गर्न मद्दत पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए। नेपाल प्रहरी मोबाइल एपद्वारा ‘अडियो’, फोटो र ‘भिडियो’जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा मद्दत पुगेको उनले बताए । उक्त एपको प्रयोगबाट आमनागरिकले ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस)मा आधारित रहेर फोटो, भिडियो, अडियो र ‘टेक्स्ट’ सम्प्रेषण गर्न सक्छन् । उनी भन्छन्, ‘नेपाल प्रहरीको कामलाई प्रविधिमैत्री सेवाका रुपमा संस्थागत गर्ने उद्देश्यअनुरुप परीक्षणका रुपमा एप सञ्चालन भएको हो ।’ हाल ७७ वटै जिल्लामा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरुन्त प्रहरी परिचालन गर्ने व्यवस्था भएको छ । समुदायमा हुने आपराधिक क्रियाकलाप, अन्य घटना एवं दुर्घटना तथा सूचनालाई चाँडो प्रवाह गर्न, अपराधिलाई तत्काल नियन्त्रणमा लिन तथा शान्तिसुव्यवस्था कायम गर्न एप उपयोगी भएको उनले बताए । यो एप प्रहरीको सूचना प्रविधि निर्देशनालयले गरेको हो । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्ने बताउँछन् । रासस
घुस लिँदै गर्दा पोखरा महानगरकी इन्जिनियरसहित दुई पक्राउ
काठमाडौं । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाकी सब-इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट सेवाग्राहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब-इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो । पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उनले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्शा दिनका लागि आर्थिक लेनदेन भएको बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोईरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताए । पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ । एक जना महानगरपालिकाकै कर्मचारी अर्का एक जना भने बाहिरको व्यक्ति भएको बताइएको छ ।
इटाली सरकारले २०२४ को वृद्धि प्रक्षेपण घटायो
काठमाडौं । इटालीको मन्त्रिपरिषद्ले आर्थिक र वित्तीय कागजातलाई अनुमोदन गरेको छ । २०२४ को लागि आर्थिक पूर्वानुमान गत सेप्टेम्बरको १.२ प्रतिशत पूर्वानुमानबाट १ प्रतिशतमा घटाएको हो । डिइएफ आधिकारिक कागज हो जसले आगामी तीन वर्षको लागि इटालीको आर्थिक र वित्तीय लक्ष्यहरू निर्धारण गर्दछ । २०२५ को वृद्धि अनुमान पनि १.३ प्रतिशतबाट १.२ प्रतिशतमा घटाइएको छ । २०२६ को लागि १.२ प्रतिशतबाट १.१ प्रतिशतमा घटाइएको छ । सरकारको नयाँ वृद्धि प्रक्षेपण यस वर्षको सुरुमा युरोपेली संघ (इयु) द्वारा गरिएको भविष्यवाणी भन्दा उच्च रह्यो । जसले इटालीको २०२४ मा ०.७ प्रतिशत र २०२५ मा १.२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो । सरकारले सन् २०२४ को लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४ दशमलव ३ प्रतिशत, २०२५ मा ३ दशमलव ७ प्रतिशत र सन् २०२६ मा ३ प्रतिशत बजेट घाटा लक्ष्य निर्धारण गरेको छ । डिइएफले यस वर्ष १३७.८ प्रतिशत, २०२५ मा १३८.९ प्रतिशत र २०२६ मा १३९.८ प्रतिशत सार्वजनिक ऋणको लक्ष्य राखेको छ ।
वैशाख २ गतेदेखि भर्ना : सबै जिल्लामा पुर्याइयो पाठ्यपुस्तक
काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्याएको थियो । प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । ‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भने, ‘राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’ कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका छन् भने यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी छिन् । भर्ना अभियान सुरु हुँदै नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाए। सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ । अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन । रासस
निलगिरि खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाडौं । निलगिरि खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको एजेन्डा पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते दिन काठमाडौंको लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा बिहान १०ः३० बजे विशेष साधारण सभा आह्वान गरेको हो । सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर बाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।
आज सेयर बजार बन्द रहने
काठमाडौं । बिहीबार सेयर बजार बन्द रहने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएका कारण यस आज सेयर बजार बन्द रहने भएको हो । आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था बन्द रहने छन् । २०८० सालको अन्तिम कारोबार दिन चैत २८ गते भएको छ। सेयर बजार २०८१ साल वैशाख २ गते मात्र खुल्नेछ ।