गाडी किन्दा १० लाखसम्म छुट, सस्तो हुँदै कर्जाको ब्याज
काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा देशमा विभिन्न ब्रान्डका गाडी बिक्रेता कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका छन् । सवारी साधन खरिदबिक्रीमा कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका हुन् ।कम्पनीहरूले विभिन्न गाडी खरिदमा नगद छुट, बीमा सुविधादेखि एक्सचेन्जसम्मका अफर सार्वजनिक गरेका हुन् । कुनै कम्पनीले ग्राहकलाई एक वर्षको बीमा सुविधा, १० लाखसम्म नगद छुट र अन्य सामानहरू उपहारहरू पाइने स्कीम ल्याएका छन् । यस्ता छन् अफर निसान गाडी किन्दा ६ लाखसम्म छुट नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट र ३ लाखसम्म एक्सचेन्ज बोनस पाइने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नगद छुटमा केन्द्रित नयाँ वर्ष अफर ल्याएर यस्तो अवसर प्रदान गरेको हो । नगद छुट र एक्सचेन्ज बोनसको साथ ग्राहकले १ वर्षको इन्स्योरेन्स तथा एक वर्षकै रोड ट्याक्ससमेत निःशुल्क पाउनेछन् । उक्त अफर निसानको सबै मोडलमा लागु हुने बताइएको छ । निसानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स र एक्स–ट्रायल मोडलका एसयूभी उपलब्ध छ भने पिक अपमा नभरा तथा इलेक्ट्रिक सेडान लिफ बिक्री हुँदै आएका छन् । फक्सवागेनको ७ प्रतिशतभन्दा कम ब्याज फक्सवागेनको आधिकारीक बिक्रेता पूजा इन्टरनेसनल नेपालले नयाँ वर्ष अफरे ‘नयाँ वर्ष नयाँ पन’ नामको अफर ल्याएको छ । यस अफरमा ६.९९ प्रतिशतमा एसयूभी किन्न पाइने कम्पनीले बताएको छ । कम्पनीले सञ्चालन गरेको स्कीममा ग्राहकले ५ वर्षसम्मका लागि स्थीर ब्याजदरमा कर्जा सुविधा पाउने छन् । फक्सवागेनले ल्याएको स्कीममा पनि बैंक तथा वित्तिय संस्थाबाटै कर्जा लिने हो । तर, त्यसमा नपुग ब्याज कम्पनीले नै ब्योहोर्ने छ । जर्मन ब्राण्डले भारतमा उत्पादन गरेको एसयूभी टाइगुन नेपाली बजारमा बिक्री हुँदै आएको छ । यसको खरिदमा ग्राहकले निःशुल्क एसोसरिज, एक वर्षको वार्षिक कर, ठाँउका ठाँउ पुरानो गाडीको भ्यालूएसन र टेस्ट ड्राइभमा आकर्षक उपहार दिने जनाएको छ । टाटा मोटर्समा एक्सचेन्ज सुविधा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ का लागि नयाँ कार योजना ल्याएको छ । यस योजना अन्तर्गत टाटा मोटर्सको शोरूममा भएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ । त्यस्तै, जुनसुकै ब्रान्डका गाडीहरू एक्सचेन्ज गर्न सकिनेछ । यसका लागि एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्सुरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क गरिने कम्पनीले जनाएको छ । यो योजना टाटा मोटर्सको देशभर रहेका शोरूममा लागू हुने भएको छ । जिडब्लुएमका गाडी किन्दा १० लाखसम्म छुट पाइने विश्वव्यापीरूपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत जिडब्लुएमका लोकप्रिय मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ । जिडब्लुएमका मोडेलहरूमा ल्याइएका यी अफरमार्फत ग्राहकहरूले विभिन्न लाभहरू पाउन सक्नेछन् । ओरा ०३ ईभीमा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जरसहित ५ लाख रुपैयाँसम्मको फाइदा पाउन सकिने कम्पनीले जनाएको छ । हालका एच् सिक्स, र जोलायनमा ८ लाख ५० हजार रुपैयाँ सम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधामार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् । सिट्रोनको एक्सचेन्ज अफर नयाँ वर्षको अवसरमा नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले पनि सिट्रोनको एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा ग्राहकले भारतमा बनेको फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन ई–सी३ को खरिदमा नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनससहित २ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् । यस अफरको बारेमा व्यक्तिगत रूपमा सिट्रोनको शोरूममा गई थप जानकारी लिन सकिनेछ । साथै, वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ । २० प्रतिशत डाउन पेमेन्टमा होन्डाको गाडी किन्न सकिने हेण्डाले पनि नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहकको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ । यो अफर मिति २०८०/१२/१ गते बाट लागु भइसकेको छ भने उक्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ । हुन्डाईका गाडी किन्दा ६ लाख छुट नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ अफर सावर्जनिक गरेको छ । कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत हुन्डाईका कुनै पनि मोडलका गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको छुट र एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्म बोनस पाउन सकिने छ । यस योजनाअन्तर्गत गाडी खरिदमा उपलब्ध हुने स्क्रयाच कार्डको तीन गुणसम्म नगद छुट पाउन सक्नेछन् । कम्पनीले बीमा साथै एक वर्षसम्मको सडक कर पनि बेहोर्ने बताइएको छ ।
‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’
गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । ‘पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिसकिएका छौँ । बाँकी स्थानमा तीव्रताका साथ सूचना बोर्ड राख्ने काम भइरहेको छ’, उनले भने । पदमार्गमा पर्ने लापुबेँसीस्थित प्रिन्स ह्यारी हिल्ड र खानीबेँसी, माछीखोलाको एक/एक स्थानमा, खोर्लाबेँसी र मार्साका दुई/दुई स्थानमा बोर्ड राखिसकिएको अध्यक्ष गुरुङले जानकारी दिए । पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारीमा पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको उनले बताए । पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी सूचना बोर्डमा उल्लेख गरिएको अध्यक्ष गुरुङले बताए । उनकाअनुसार समितिले यसपटक तल्लो मनास्लु पदर्मागअन्तर्गत पर्ने विभिन्न २५ स्थानमा सूचना बोर्ड राख्न लागेको छ । केरौजाबेँसी, मार्सा, दोभानखोला, हुल्चुकस्थित कालपोखरी जाने र रुन्चेत जाने स्थान, यारुफाँट, हनिहन्टिङ गर्ने ठाउँ अन्तरबेँसी, सिङ्ला, थमन भिसीगाउँ, यामगाउँ, गुम्दा, भिरकोटलगायतका ठाउँमा सूचना बोर्ड राखिने अध्यक्ष गुरुङले जानकारी दिए । ‘सूचना बोर्डमा पदर्मागअन्तर्गत पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी रहनेछन्’, उनले भने, ‘यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रा गर्न सजिलो हुनेछ ।’ समितिमार्फत यसअघि पनि पदमार्गका विभिन्न पाँच ठाउँमा सूचना बोर्ड राखिएको थियो । मनास्लु पदमार्ग घुम्न आउने पर्यटकका लागि आफू पुग्ने गन्तव्यको पूर्वजानकारी लिन प्रभावकारी भएपछि अन्य ठाउँमा पनि बोर्ड राख्न लागिएको उनले बताए । रासस
आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए । सरकारले जनताका पक्षमा महत्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री दाहालले आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पारे । सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए। आगामी दिनमा माओवादी आन्दोलनमा सहभागी एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नुभएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।’ माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सङ्घीयता, समावेशीता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे । उनले सङ्घीय निजामती ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । रासस
राष्ट्रिय वाणिज्य बैंककबाट बाहिरिए किरण, देबेन्द्रले पाए जिम्मेवारी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठको अवकाश भएको छ । बैंकका सीईओ श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन् । बैंकका अनुसार उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट सीईओकाे पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए । बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बिहीबारबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देबेन्द्ररमण खनाललाई कायम मुकायम(का.मु.) को जिम्मेवारी तोकिएको छ । बैंक व्यवस्थापनको तर्फबाट बिहीबार एक समारोहकाबीच सीईओ किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गरेका थिए । उक्त समारेहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताए । ‘ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ’, उनले भने । परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौंसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागिकाठमाडौं प्रहरीले काम गरिरहेको उल्लेख गरे । चालु आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार सात सय मुद्दा दर्ता काठमाडौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै, लागूऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए । काठमाडौं महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरु कालोपत्र गरिसक्ने बताए । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए । रासस
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर, हिमाली क्षेत्रमा जाने पर्यटक बढ्दै
काठमाडौं । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् । ‘वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकप्टरले दैनिक औसतमा आठ घण्टा उड्नुपर्छ’, उनले भने, ‘अहिले दैनिक पाँचदेखि छघण्टासम्म उडान भइरहेको छ । यो बढ्दो छ ।’ बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकप्टरको सङ्ख्या बढाएको छ । ‘सिजनमा हेलिकप्टरको माग उत्साहबद्र्धक हुन्छ । हेलिकप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्’, उनले भने, ‘हामीले पनि नयाँ एक थान हेलिकप्टर थप गरेका छौँ ।’ कम्पनीले एयरबस बीथ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर थप गरेको हो । यससँगै हेलि एभरेष्टका हेलिकप्टरको सङ्ख्या चार पुगेको छ । कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकप्टर थपेको थियो । यसअघि चैतको पहिलो साता मनाङ एयरले नयाँ हेलिकप्टर ल्याएको थियो । कम्पनीले एच १२३ (बीथ्रीई) हेलिकप्टर ल्याएको हो । यस्तै, मुस्ताङले एउटा हेलिकप्टर थपेको छ । अल्टिच्युड एयरले पनि हेलिकेप्टर थप्ने योजना बनाएको छ । हेली एभरेष्टका बजार प्रमुख सापकोटाले थप एक थान हेलिकप्टर थप्ने कम्पनीको योजना रहेको बताए । ‘अर्को वर्षमा पाँच वटा हेलिकप्टर पुर्याउने योजना छ’, उनले भने, ‘नियामक प्राधिकरणले हेलिकप्टर कम्पनीसँग पाँच वटा पुर्याउन भनेको छ, तीन वटा हेलिकप्टर नभए नवीकरण नै नहुने व्यवस्था छ ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नेपालमा १२ वटा हेलिकप्टर कम्पनीसँग ४० वटा हेलिकप्टर छन् । यीमध्ये ३६ वटा हेलिकप्टर सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताए । उनले भने, ‘सञ्चालनमा रहेका १२ बाहेक थप दुई हेलिकप्टर कम्पनी सञ्चालनको प्रक्रियामा छन् । वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने चरणमा छन् ।’ भूधरातलीय अवस्थाले नेपालमा हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । महङ्गो भएपनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकप्टरको प्रयोग गरिदैँ आएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले अहिले हेलिकप्टरलाई भ्याइनभ्याइ रहेको र यो चाप अझै बढ्ने बताए । उनले हेलिकप्टरको सङ्ख्या बढे पनि पाइलटको अभाव र मौसमका कारणले हेलिकप्टर उडानमा समस्या भइरहेको उल्लेख गरे । श्री एयरलाइन्ससँग सर्वाधिक आठ हेलिकप्टर छन् । कम्पनीसँग एमआई १७ हेलिकप्टर छ र बिआडी दुई छन् । एयर डाइनेस्टी र प्रभु हेलिकप्टरसँग चार, माउन्टेन एयर, हेली एभरेष्ट, अल्टिच्युड एयर र फिस्टेल एयरका समान दुई हेलिकप्टर छन् । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार कम्पनीले १० वटा हेलिकोप्टर थप्ने दीर्घकालीन योजना छ । चालु आर्थिक वर्षमा एक र अर्को वर्ष थप एक हेलिकप्टर ल्याउने कम्पनीले जनाएको छ । यो कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल ५०५ हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् । नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन् । वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो । वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउछन् । उनीहरु सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण, चर्चित, अन्नपूर्ण, लाङ्टाङलगायत गन्तव्यमा ठूलो सङ्ख्यामा पदयात्री पुग्छन् । ‘अहिले हेलिकप्टरको विजनेस राम्रै छ । सिजन पनि चलिरहेकाले अर्को महिनासम्म अकुपेन्सी बढ्ने देखिन्छ’, सिम्रिक एयरका महाप्रबन्धक जोशीले भने । कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डेले भने सिजनमै हेलिकप्टरको व्यापार सुस्त रहेको बताए । ‘अघिल्लो वर्षभन्दा यो वर्ष विजनेश सुस्त छ’, उनले भने, ‘विदेशी पर्यटकको सङ्ख्या बढेपनि खर्चालु पर्यटक नहुँदा व्यापार आशातित रुपमा बढेको छैन ।’ रासस
सबैभन्दा बढी कर तिर्ने मनकामना केबलकार सम्मानित
काठमाडौं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली सम्मानित भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उक्त केबलकारलाई सम्मान गरेको हो । महासंघले आफ्नो ५८औं वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शनलाई सम्मानित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् । गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सेवा सञ्चालन गरिरहेको छ । साथै, मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याइरहेको छ ।
चैत ३० गते संवाद श्रृङ्खला सञ्चालन गर्दै ह्याम्स अस्पताल
काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा चैत ३० गते बिहान साढे १० बजेदेखि धुम्बाराहीको होटल अकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने अस्पतालको उद्देश्य रहेको छ । जसको लागि सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ । अस्तपालका अनुसार पहिलो सत्रमा ‘भेप/ई-सिगरेट : बढ्दो गम्भीर स्वास्थ्य चुनौती’, दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’ को विषयमा छलफल गरिन्छ र तेस्रो सत्रमा पहिलो २ सत्रको सारंश निकालिने छ । साथै, यस संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने अस्पताले बताएको छ । अस्पतालले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक हितको लागि ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्वाराहीमा अस्पताल संचालन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ । सुरक्षित तथा प्रमाणमा आधारित चिकित्सकिय सेवा प्रदान गर्दै स्वास्थोपचारमा उच्च नैतिक स्तर कायम राख्नु यस अस्पतालको लक्ष्य हो । कोभिड-१९ महामारीले देशको समग्र स्वास्थ्य पूर्वाधारलाई नै ठूलो दवाव दिएको समयमा यस अस्पतालले विश्वस्तरीय सेवा प्रदान गर्दै जनताको विश्वास जित्न सफल भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट प्रदान गर्नुका साथै ह्याम्स अस्पतालमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको उच्च शिक्षाको पठ्न पाठन भईरहेको छ । क्रिटिकल केयर नर्सिङ्गको तालिम नियमित रुपमा भईरहेको छ । यसका साथै चिकित्सा विज्ञान सम्वन्धी विभिन्न विषयहरुमा अनुसन्धान तथा शोध-पत्र प्रकाशित भएका छन् ।