विकासन्युज

कस्तो व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ?

कुनै पनि रोग लाग्नुभन्दा अगाडि समय समयमा गरिने स्वास्थ्य परीक्षणलाई नियमित स्वास्थ्य परीक्षण भनिन्छ । नियमित स्वास्थ्य परीक्षणबाट हामीले रोग लाग्न भन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिमहरू छन् की कुनै रोगको लक्षण नहुँदा पनि हुने संकेतहरु छन् कि भनेर हेरिन्छ । यदि रोग लागेको देखि हाले पनि समयमा नै उपचार गरि त्यसको जटिलताबाट बच्न सकिन्छ । नियमित स्वास्थ्य परीक्षण बालक जन्मनुभन्दा पहिले गरिएको भिडियो एक्सरेबाट सुरु हुन्छ । नियमित स्वास्थ्य परीक्षण कस्तो व्यक्तिलाई आवश्यक छ ? जुन व्यक्तिमा कुनै पनि रोगको जोखिम छ त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । जस्तै, उदाहरणका लागि मोटोपन भएका व्यक्ति जसले सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन गर्नुहुन्छ भने त्यस्ता व्यक्तिको स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । यसका अलावा अन्य जुनसुकै उमेर समूहका व्यक्तिले स्वास्थ्य परिक्षण गर्न सकिन्छ । कुन समूहले कहिले गर्ने ? नियमित स्वास्थ्य परीक्षण हरेक वर्ष गरिन्छ । जसअन्तर्गत सुगर जाँच, प्रेसर परीक्षण, चिल्लोपन (कोलेस्टोर), मुटुको जाँच, किड्नीको जाँच, कलेजोको जाँच आदि पर्दछन् । यस्तै, उमेर समूह अनुसार पनि विभिन्न प्रकृतिका जाँचहरू गर्न सकिन्छ । ५० वर्ष उमेर नाघेका व्यक्तिले हरेक वर्ष पेट र आन्द्राको समस्याको लागि दिशाको जाँच गराउनुपर्छ । महिला समूहअन्तर्गत हरेक दुईदेखि तीन वर्षको अन्तरालमा पाठेघर मुखको क्यान्सरको जाँच गर्न सकिन्छ । यसैगरी, ५० वर्ष नाघेका महिलाहरुमा स्तनको क्यान्सरको जाँच अन्तर्गत हरेक दुई वर्षको अन्तरालमा म्यामोग्राम गरिन्छ । ६५ वर्ष नाघेका महिलाहरुमा हडी कत्तिको बलियो छ भनेर वोन मिनिरल डेन्सीटी (बीएमडी) गरिन्छ । बच्चाहरू स्कुल जानुभन्दा अगाडि (३ वर्षदेखि ५) वर्षको उमेरमा कान, दाँत र आँखाको जाँच गर्नु उपयुक्त हुन्छ । नेपालमा नियमित स्वास्थ्य परीक्षणको किन महत्व छ ? नेपालमा विगतदेखि नै सरुवा रोगको विगविगी छ । त्यसमा पनि अहिले आएर जीवनशैली परिवर्तन भएको कारणले गर्दा नेपालमा नसर्ने रोगको भार पनि थपिएको छ । सर्ने रोगभन्दा नसर्ने रोगको जटिलताहरू झन् भयानक हुँदै गएको छ । जसले गर्दा मान्छेको काम गर्ने क्षमतामा कमी आउनका साथसाथै उनीहरूलाई यो जटिलताको उपचार गर्नका लागि आर्थिक भार थपिँदै जाने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ । युवा जनशक्तिमा नसर्ने रोगको प्रकोप बढ्दै गएमा पछि गएर राष्ट्रलाई नै चुनौती थपिने भएकाले सरकारले सुरुवाती चरणमै यससम्बन्धी सोच्नुपर्ने आवश्यक देखिन्छ । नियमित स्वास्थ्य परिक्षणमा देखिएको भ्रमको अन्त्य गर्नुपर्ने देखिन्छ । नियमित स्वास्थ्य परीक्षण एकपटक गरेर वर्षौंसम्म ढुक्क हुने अवस्था छैन । यो नियमित रुपमा गर्नुपर्दछ । नियमित स्वास्थ्य परीक्षणका फाइदाहरू नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाईदा राज्यलाई हुने गरेको छ । कुनै पनि व्यक्ति स्वास्थ्य भयो भने देश स्वस्थ्य रहन्छ । स्वास्थ्य मान्छेले देशमा योगदान गर्न सक्छ । जीवनको गुणस्तर राम्रो र रोग लागे पनि समयमा उपचार हुने भएकाले आर्थिक व्यय भारसमेत कमी हुन्छ । (डा श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ फिजिसियन हुन् ।)

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ, प्रसारण लाइन नबने अझै बढ्नसक्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पिक आवरमा अनौपचारिक रुपमा विद्युत आपूर्ति बन्द गर्ने गरेको छ । उद्योगीहरुका अनुसार पछिल्लो समयमा औद्योगिक क्षेत्रमा १२ घण्टासम्म पनि विद्युत आपूर्ति हुँदैन । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार उनको उद्योग भएको जनकपुर औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । लोडसेडिङका कारण धेरै उद्योगीहरु उद्योग नै बन्द गर्ने अवस्थामा पुगिसकेको उनले बताएका छन् । ‘१२ घण्टासम्म लोडसेडिङ भयो, हामी त उद्योग नै बन्द गर्ने अवस्थामा पुगिसक्यौं’, अध्यक्ष थापाले विकासन्युजसँग भने, ‘सबै औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको छ, समय फरक-फरक होला, जनकपुरमा साँझ ६ बजेबाट बिहान ६ बजेसम्म बिजुली आउँदैन, यसरी उद्योग चल्छ ?’ उनले आफूले नेपाल विद्युत प्राधिकरणमा लोडसेडिङको कारणबारे पत्र लेखेर पठाएको बताएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने पिक आवरमा बढी विद्युत मागका कारण औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा समस्या हुने गरेको बताएका छन् । तर, प्राधिकरणले तालिका बनाएर नै लोडसेडिङ नगरेको उनले बताएका छन् । अहिले नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेका आयोजनाहरुले अधिकतम ३१० मेगावाट र निजी क्षेत्रका आयोजनाहरुले अधिकतम ७६३ मेगावाट मात्रै विद्युत उत्पादन गर्दै आएका छन् । साथै प्राधिकरणले भारतसँग गरेको सम्झौताअनुसार ५ सय ५४ मेगावाट पनि विद्युत आयात गर्दै आएको छ । देशको आन्तरिक उत्पादन र भारतबाट आपूर्ति गर्दा पनि उद्योहरुमा भने चौविसै घण्टा समानरुपमा विद्युत आपूर्ति हुन सकिरहेको छैन । प्राधिकरणका प्रवक्ता घोषकाअनुसार निजी क्षेत्रका प्रवद्र्धकहरुले फागुन महिनासम्ममा ७६३ मेगावाट विद्युत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, निजी क्षेत्रका आयोजनाहरुबाट अहिले प्रतिबद्धता भन्दा २ सय ६३ मेगावाट कम विद्युत आपूर्ति भइरहेको छ । साथै आवश्यक पूर्वाधार पनि नभएकोले मागअनुसार थप विद्युत भारतबाट आपूर्ति हुन नसक्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ । त्यसैले आगामी दिनमा खडेरीको समय थप वृद्धि हुने र भौतिक पूर्वाधारको क्षेत्रमा काम हुन नसकेमा औपचारिकरुपमा नै लोडसेडिङको अवस्थामा प्राधिकरण प्रवेश गर्नसक्ने देखिएको छ । ‘पूर्वाधार बनाउन नसकेमा थप विद्युत आपूर्ति गर्नसक्ने अवस्था छैन, ढल्केबरदेखि इनरुवासम्मको तारको काम १२ दिनमा सकिन सक्छ, तर अवरोधका कारण हुन सकिरहेको छैन’, प्रवक्ता घोषले भने, ‘१५६ किलोमिटर मध्ये २१ किलोमिटरको काम मात्रै बाँकी छ, नयाँ बुटवलदेखि बर्दघाटसम्मको जम्मा ५७ वटा टावरको काम गर्न सकिएको छैन ।’ उद्योगहरुमा मागको स्थिरता नहुँदा पनि सप्लाईमा समस्या उद्योगमा हुने अनियन्त्रित मागका कारण पनि सप्लाईमा समस्या भएको प्रवक्ता घोषले बताएका छन् । उनले कुनै दिनमा उद्योगहरुले अधिक खपत गर्ने र कुनै दिनमा न्यून खपत गर्नाले पनि सप्लाइको विषयमा एकिन गर्न नसकिने अवस्था रहेको उनले बताए । प्रवक्ता घोषले अब उद्योगहरुमा भोलिपल्टको आपूर्तिको विषयमा जानकारी गराउने प्रणालीको विकास गर्न लागेको बताएका छन् । आपूर्ति गरिएको विद्युत नलिएमा प्राधिकरणलाई घाटा हुने अवस्था अहिले भएको घोषको भनाइ छ । त्यसको लागि पहिला उद्योगहरुको आवश्यकता कति हो भन्ने विषयमा पनि काम गर्न लागिएको उनले बताए । ‘हामीले उद्योगहरुको रिक्वायरमेन्टको अवस्थामा अघिल्लो दिन जानकारी गराउने विषयमा जानकारी गराउने तयारी गरेका छौं, त्यो गर्नुपर्ने अवस्था अब देखिएको छ, किनभने ल्याएको विद्युत उहाँहरुले लिनुपर्यो’, घोषले भने । उनले उद्योगीहरुको माग स्थीर भएमा आपूर्ति गर्न पनि सजिलो हुने बताएका छन् । तर, उनले अहिलेको विद्युतको महसुल दर कायमै राखेर भने थप सेवा गर्न नसकिने अवस्थामा रहेको बताएका छन् । उनले विद्युतको मौसमी दररेट कायम गर्न आवश्यक भएको बताए । ‘अहिलेको जुन महसुल छ, यो महसुलबाट यो भन्दा राम्रो व्यवस्था गर्न सकिँदैन, राज्यले पनि महँगोमा किनेर सस्तोमा बेच्न सक्दैन होला, मैले बढाउन नै पर्छ भन्न खोजेको पनि होइन तर, सिजनल महसुल हुनुपर्छ जस्तो लागेको छ’, घोषले भने । उनका अनुसार अहिले भारतबाट प्राधिकरणले विद्युत खरिद गर्दा १६ रुपैयाँ भन्दा धेरैमा प्रतियुनिट बिजुली खरिद गर्ने गर्छ भने बिक्री गर्दा भने ६ रुपैयाँ भएकोले घाटाको व्यापार भइरहेको छ । विद्युत उत्पादक संघका अध्यक्ष ध्रुव थापाले प्राधिकरणले घाटामा व्यवसाय गर्न आवश्यक नभएको तर, वैज्ञानिक ढंगले मूल्य निर्धारण गर्ने विषयमा आफूहरुको कुनै असमति नभएको बताए । ‘के-के गर्ने गर्न पर्यो नी त, विद्युत प्राधिकरण नाफामूलक संस्था हो ? घाटा पर्छ भने बढाउनुपर्यो, नाफा भएको बेलामा घटाउनुपर्यो, यस्तो विषयमा नाटक गरेर हुन्छ प्राधिकरणले’, अध्यक्ष थापाले भने । आगामी एक महिनाभित्र रसुवागढी, तमोर, सान्जेन लगायतका नयाँ आयोजनाहरुबाट विद्युत उत्पादनको शुरुवात हुने अवस्थामा रहेको भएपनि प्रशारण लाइन नबनेदेखि सप्लाइ गर्न सकिने अवस्था नरहेको प्राधिकरणका प्रवक्ता घोषले बताएका छन् । ‘उत्पादन थपिएपनि हाम्रो प्रशारणलाईनले धान्दैन’, अहिले नै हाम्रो प्रणाली उच्च चापमा छ, थप धान्न सक्ने अवस्था नै छैन’, घोषले भने ।

महानगरले भित्तामा बनाउन थाल्यो चित्र (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका फोहोर, पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरु लाइ मध्यनजर गर्दै वाल आर्ट रङ्ग्याउन सुरु गरेको छ । काठमाडौं महानगरको सस्कृति झल्किने गरि खालि फोहोर भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्री हरु रङ्ग्याउन सुरु गरेको छ । सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ । सुन्धारा पछि त्रिपुरेश्वर ओरालो, प्रदशनि मार्गमा रहेको वालहरु , विमानस्थल, बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ ।        

कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैँया वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यु.आर. भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् । यो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने, ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं । यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ ।’ कुमारी बैंक पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न, समय सापैक्षिक ग्राहकमूखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध रहेको देखिन्छ भने भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ ।

गहिरिँदै पानीको संकट, सुक्दै मुहान

महोत्तरी । चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानीका धारा चल्न छाडेका छन् । यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन् । जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिवास–१२ को जुडी र भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार/पाँच वर्ष नै भइसक्यो । जुडी र जोकाहाको भुलको पानीको सिँचाइ हुने भनेपछि धान, गहुँ उत्पादनमा नम्बरी (उम्दा) मानिएका खेत अब बर्खाको पानी नभेटुञ्जेल गखरक्क रहन्छन् । ‘यो उही जुडीटोल हो भन्ने पत्याउन पनि खै के खै के जस्तो हुन्छ, बार्हैमास पानी चल्ने जुडी जरुवामा अब नयाँ पुस्तालाई यहाँ पानीको मूल (भूल) थियो भन्दा उदेक मान्छन्’, बर्दिवास–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंह भन्छन्, ‘यही जुडी भुलको परिचयले यहाँका खेत उम्दा मानिन्थे, अब कथाजस्तो भयो ।’ यसैगरी जोकाहा भुल (जरुवा) सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतर बताउँछन् । ‘जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्थ्यो, जोकाहा जरुवा थाहा पाएका बटुवा यहाँको पातालबाट भुल्कने पानी खान तिर्खा साँचेर यहाँ आउँथे, देख्दादेख्दै सबै कथाजस्तो भयो’, बाँतर विरक्तिँदै भन्छन् । यी जस्तै जिल्लाका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सबै मरे । कतै पानी देखिन्न । पोखरी, तलाउको धनी मानिने जिल्लाका धेरैजसो यस्ता स्रोत सुकेका छन् । जिल्लाका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिएपनि उत्तरी क्षेत्रमा नामनिसान देखिदैन । ‘पोखरी, डबरा (खाल्डा) सबै सुके, पशुबस्तुलाई नुवाइधुवाइ गराउन छाडियो’, भङ्गाहा–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारु भन्छन्, ‘अब कठिन दिन आउँदैछन् जस्तो लाग्छ ।’ यसैगरी अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको सङ्कट बढ्दो छ । ‘हेर्नोस् न, धारामा पानी झर्नै छाड्यो’ घरआँगनको खानेपानी धाराको टुटी खोल्दै बर्दिबास–२ की गृहिणी नगिना महतो भन्छन्, ‘अब नुवाइधुवाइ, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिदैन ।’ चैत नबित्दै बनेको यो अवस्थाले वैशाख/जेठको दुबो मर्ने तापमा के होला ? भन्ने नगिनाको थप चिन्ता छ । दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउँछन् । बर्दिवासका खानेपानी धारा जडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ । चुरे शृङ्खलाका खोचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी धाराबाट वितरण गरिदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो । ‘धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ’ बर्दिबास–१४ की सुनिता साह भन्छन्, ‘पानी बढी चाहिने बिहानपख नै धारा मा पानी आउँदैन ।’ अरु आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउँछन् । जतिखेर पनि पानी आइरहने धारामा अब त कतिबेला पानी आउँछ भनेर ताक पर्खनु पर्ने भएको गृहिणी बताउँछन् । बर्दिवास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडाबस्ती खानेपानी धारामा आश्रित छन् । वडानम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन् । अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो । यसैगरी इनारको पानीको सतह पनि दिनदिनै गहिरिदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास–१२ का रामविलास सिंह कुशवाहा बताउँछन् । ‘मोटरले त तान्न छाड्यो, अब त डोल पनि डुब्दैन’, कुशवाहा भन्छन् । मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुराबासी बताउँछन् । जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोलबस्तीमा अहिले खानेपानीको समस्या बढेको छ । नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शङ्कर) स्वीकार गर्छन् । यद्यपि बस्तीबस्तीमा पालो मिलाएर धारामा पानी दिदै आइएको उनको भनाइ छ । ‘पानीका स्रोतका मुहान नै सुकेका छन्, यसले गर्दा पानी कम हुनु त स्वाभाविक नै भयो’, फुयाल भन्छन्, ‘हामी मुहान सफा गर्ने र वैकल्पिक उपायको अवलम्बनमा लागेका छौँ ।’ सामान्यतया प्रत्येक वर्षजसो वैशाख/जेठमा पानीको सङ्कट झेल्दै व्यहोर्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि यसपालि वैशाख लाग्दा नलाग्दै खानेपानीको हाहाकार पर्नसक्ने यस भेगका सर्वसाधारणको चिन्ता छ । भङ्गाहा–४ मा विगतमा खानेपानीको मुख्य स्रोत रहँदै आएको चापाकल पछिल्ला पाँच/छ वर्षदेखि कवाडी बनेका रामनगर बस्तीका ३० वर्षीय रामईश्वर ठाकुर बताउँछन् । ‘चापाकल त चल्नै छाडे, सबै खिया लागेर कवाडी बनेका छन्’, ठाकुर भन्छन् । बर्दिवास नगरपालिका क्षेत्रका धेरैजसो बस्तीमा नदी, खोल्साखोल्सी र जरुवाको पानी सङ्कलन गरेर भण्डार गरिएको पानी धाराबाट सर्वसाधारणलाई वितरण गरिदै आइएको छ । यसपालि हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा फागुन अन्त्यदेखि नै घरघरमा वितरण गरिएका धारामा पानी घटेको हो । ‘हाम्रो धारामा आउने पानीको स्रोतका मुहान सुक्दै गएका छन् , त्यसैले यसपालि अलि चाँडै धारामा पानी घटेको हो’ बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेन भन्छन्, ‘तर हाहाकारकै स्थिति चाहिँ बनेको हैन ।’ बर्दिवास नगर क्षेत्रका बिजलपुरा, भेडियारीटोल र मेघरोलसहितका केही बस्तीमा खानेपानीको स्रोत चापाकल, पशुपतिनगर, बिजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका केही बस्तीमा इनार प्रयोग हुँदै आएका छन् । अहिले धमाधम चापाकल सुक्दैछन् भने इनारमा पानीको सतह निकै गहिरिएको छ । त्यसैगरी भङ्गाहा र गौशाला नगरक्षेत्रका दक्षिणी भेगमा खानेपानीका स्रोत इनार र चापाकल रहँदै आएका छन् । यहाँका चापाकल र इनार पनि सुक्दै गएका गौशाला–९ भरतपुरका शिवशरण राय बताउँछन् । ‘चापाकल धमाधम सुक्दैछन्’ आफ्नो आँगनको चापाकल देखाउँदै रायले भने, ‘अब यसपालि पछिपछि पानी ओसार्न बयलगाडा जोत्नु पर्लाजस्तो छ ।’ यता पानी पाइन छाडेपछि बयलगाडा जोतेर टाढाटाढाबाट ड्रममा पानी ओसार्ने पुरानै चलन हो । भङ्गाहाका दक्षिणी भेगका बस्तीमा अहिले नै पानीको हाहाकार नपरे पनि वडानम्बर–४ र ५ का १० भन्दा बढी बस्तीमा पानीको सङ्कट चुलिदै छ । वडानम्बर–४ का प्रेमनगर, रामनगर, टोका, पलार र वडानम्बर–५ का धतियाटोल, राजपुर, भूचक्रपुर, कुम्हालटोल र चौधरीटोलमा चापाकल कुनै कामलाग्ने स्थितिमा नरहेका धतियाटोलका सामाजिक कार्यकर्ता सुपतलाल यादव बताउँछन् । ‘अब यी बस्तीमा चापाकल फेल (असफल) भयो, अहिलेलाई इनारले बचाइ राखेको छ’ यादव भन्छन्, ‘इनारमा पनि माथिबाट हेर्दा पानी देखिन छाडेको छ ।’ यसैगरी रामनगर, प्रेमनगर र टोकाटोलका चापाकल यसअघि नै कवाडी बनेका स्थानीय बताउँछन् । भङ्गाहा नगर क्षेत्रका ४ र ५ नम्वर वडा बस्तीहरुमा बर्सेनि गर्मी याममा खानेपानीको सङ्कट पर्दै आएको छ । ‘लगभग दुई दशकअघि होला, १५/१६ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब ती पुराना इनार सबै सुके’ भङ्गाहा–४ रामनगरका ५८ वर्षीय गङ्गाराम महतो भन्छन्, ‘अब त ६० हात नपुर्याइ पानी भेटिदैन, किन यस्तो भएको होला ?’ यसैगरी चुरे पहाडी बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछबासी बताउँछन् । चुरे पाहाडि काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्वर वडामा ४० भन्दा बढी बस्ती छन् । पाखा बस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । ‘पहिलेपहिले यहाँका खोल्सी र जरुवा कहिल्यै सुक्दैनथे, सधैं सदाबहार पानी चल्थ्यो’ बर्दिबास–४ माइस्थान शिरका ७० वर्षीय रामबहादुर राना भन्छन्, ‘पछिल्ला केही दशकयता नदी, पाखा र बगर पर्ति जग्गामा बालु ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि अनुकूल वर्षा हुन छाडेर पानीका मुहान सुकेका जान्ने बुझ्ने बताउँछन् ।’ वन उजाडिदै जानु र अवैध उत्खनन् नियन्त्रण हुन नसक्दा पानीका मुहान सुक्ने गरेका विज्ञहरुको भनाइप्रति आफू सहमत रहेको राना बताउँछन् । त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिबास–८ को हाथीलेटमा पर्ने विजयबस्तीमा इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् । यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा भोला श्रेष्ठ बताउँछन् । यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगरमा धमाधम इनार सुक्न थालेपछि चैत सकिनअघि नै खानेपानीको सङ्कट बढेको छ । खानेपानीका स्रोतका मुहानसँगै बस्तीबस्तीका सार्वजनिक पोखरी र डबरी (साना पोखरी) सबैजसो सुकेपछि बस्तुभाउको नुवाइधुवाइ र पानीघाटको सुविधा पाइन छाडेको छ । इनारको पानीबाहेक सिचाइको अरु सुविधा नहुँदा आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको भङ्गाहा–४ रामनगर बस्तीकै किसान चन्देश्वर राय दनुवार बताउँछन् । जिल्लाका गाउँ नगर बस्तीमा अचेल २०३० सालयता पहिलेका वन मासेर रोपिएका इक्युलिप्टिस (मसला, सपेता) ले पनि पानीको मुहान सुकाउँदै लगेको सर्वसाधारणको अड्कल छ । मसला सघन रोपिएका क्षेत्रमा त्यसअघि रहेका सदाबहार भूल (जरुवा) सबै सुकेका बर्दिबास–८ हाथीलेटका शेरबहादुर तामाङ बताउँछन् । यसपालि हिउँदे वर्षा राम्ररी नभएको, यसै चैतको दोस्रो साताको क्षणिक वर्षाले पानीका मुहान रसाउन नसकेका र नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन् गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाउँदा पानीको सङ्कट बढेको हो । यसैगरी चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैत नसकिदै पानीको सङ्कट बढेको विज्ञ बताउँछन् । ‘हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौं’ महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्छन्, ‘नदीहरुको अनियन्त्रित दोहन रोक्न, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट झनझन बढ्दै जानेछ ।’ विसं २०७४ यता स्थानीयतहमा जनप्रतिनिधिहरुले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिएपनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार चाँडै सुक्ने गरेका भङ्गाहा–७ मेघरोलका बासिन्दा चुरेविज्ञ डा। विजयकुमार सिंह बताउँछन् । चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एबम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने डा। सिंह ठोकुवा गर्छन् । विगतमा राष्ट्रपति चुरे मधेश संरक्षण तथा विकास समितिमा आबद्ध रहेका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल गर्दै आएका छन् । पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, जङ्घा, भब्सी, रातु, बडहरीसहितका नदीबाट बालु, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा पानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइ स्थानीय तहले भने बेवास्ता गरेका सर्वसाधारणको गुनासो छ । यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । ‘हामी नदीनाला, नदीउकास जग्गा र अन्य प्राकृतिक सम्पदाको संरक्षण र तिनको दीर्घकालीन उपयोेगका नीति कसरी बनाउँदा राम्रो हुन्छ भन्ने सघन छलफल गरी रहेका छौँ’ भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्छन्, ‘विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना छनौट गरिदा र कार्यान्वयमा लगिदा प्राकृतिक सम्पदाहरुको संरक्षणलाई ध्यान दिएका छौँ, यस्ता विषयमा पर्याप्त गम्भीरता अपनाइएको छ ।’ स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान दिइएको र पानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने चुरे, जलाधार तथा वन विज्ञहरुको मत पाइन्छ । रासस

देवेन्द्ररमण खनालले पाए राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी देवेन्द्ररमण खनाललाई दिइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले अवकाश पाएपछि नायब प्रमुख कार्यकारी अधिकृत खनालले कामु जिम्मेवारी पाएका हुन् । चैत २९ गतेदेखि लागू हुने गरी खनाललाई कामु सीईओको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।

म्यान्मारले एक वर्षमै निर्यात गर्यो नौ अर्ब डलरका सामान

याङ्गुन । म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३/२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ । यद्यपी यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२-२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२-२३ मा म्यान्मारले १० अर्ब ९४ करोड डलर बराबरका सामान निर्यात गरेको थियो । मन्त्रालयका अनुसार सरकारी क्षेत्रबाट तीन अर्ब ३० करोड तथा निजी क्षेत्रका उपक्रमबाट पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको निर्यात भएको छ । सन् २०२३-२४ मा सबै किसिमका सामानको कूल निर्यात भने १४ अर्ब ६० करोड डलर बराबर भएको मन्त्रालयको भनाई छ । म्यान्मारले कारखानाबाट उत्पादित सामग्री र कृषि उत्पादनबाट सर्वाधिक बढी वैदेशिक मुद्रा आय गर्दछ । म्यान्मारले कृषि, पशु, खनिज, वन्यजन्य समेतका वस्तुहरु चीन, थाइल्यान्ड, बंगलादेश र भारततर्फ सबैभन्दा बढी निकासी गरिरहेको छ । रासस/सिन्ह्वा

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबी प्रक्षेपण, मौद्रिक नीति लचिलो हुनुपर्ने

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो । जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको छ । सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तिब्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ । कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ । नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ । प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको जानकारी दिए । कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा उर्जा थपिएको बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको जानकारी दिए । ‘यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडिबीको ३.६ हामीले भनेका छौँ । यो आर्थिक वर्षको राष्ट्रिय तथ्यांक कार्यालयले पनि जिडिपीको तथ्यांक निकालिसकेको छ । यो अफिसियल तथ्यांकलाई हामीले मान्नु नै पर्छ । त्यसलाई सुधार गर्न औजारहरु मौद्रिक नीतिबाट, त्यस्तै गरी यो अर्धवार्षिक समीक्षाबाट पनि आएका छन् । पर्यटन क्षेत्र महत्वपूर्ण छ । कोभिडको भन्दा धेरै नै राम्रो भएको छ । होटलहरु बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक उर्जा पैदा भइरहेको छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ’, उनले भने । एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एशिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ । अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।