ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा
काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । उनले अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए । दरबारमार्ग जस्तो ठमेलमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको बताए । अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौति रहेको जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटकले २४ सै घण्टा ठेमलमा घुम्न, बस्न, खान सक्ने अनुभुति गर्ने बताए । परिषद् ठेमललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउनु चाहेको दाबी गरे । ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने जनाए । ठमेलको भगवान बहालमा स्थानीयको बसोवास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने बताए । दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिव २ सय व्यवसायी रहेको बताए । उनले करिव ७ हजार भन्दा बढी रोजगारी पाएको बताए । दरबारमार्ग विकास बोर्डले विगत लामो समय देखिको प्रयास अहिले सफल हुन थालेको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको सक्रियताले पूर्णता पाउन थालेको बताए ।
जलविद्युतमा लगानी गर्दा हुने फाइदा सरकारले स्पष्ट भन्न सक्नुपर्छ : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताएका छन् । बिहीबार इप्पानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई जलविद्युतका लगानी गर्दा फाइदाका विषयमा स्पष्ट भन्न र देखाउन सक्नुपर्ने बताए । त्यसको लागि सरकारले लगानी सम्मेलनअघि आवश्यक नीतिगत सुधार तत्काल गर्न आवश्यक रहेको बताए । उनले सरकारले पनि जलविद्युतको विकासको लागि विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्तालाई जलविद्युतमा लगानी गर्न आह्वान गर्नुपर्ने बताए । सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भएको बताए । नेपाललाई समृद्ध बनाउने गरी सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसको लागि ४६ खर्ब आवश्यक रहेको जानकारी दिए । सरकारले लगानी सम्मेलनको लागि विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको जानकारी पाएको बताए । ‘नेपाल सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भन्ने छ । त्यसमा सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने भन्ने लक्ष्य छ । त्यसको लागि ४६ खर्ब आवश्यक पर्छ भनिएको छ । नेपाल सरकारले विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको छ । सरकारलाई इप्पानले जलविद्युत विकासमासँगै छौं । सरकार भन्दा फरक बाटोमा छैनौं भनिरहेका छौं । हिमालयन एक्स्पोले सरकारले गर्ने लगानी सम्मेलनलाई ठूलो सहयोग पुग्छ’, उनले भने । उनले लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी नै इप्पानले हिमालयन एस्क्पोमा विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएको बताए । विदेशी धेरै सप्लायर्स कम्पनी, डिजाइनरहरु नेपालमा जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताए । सरकारको उद्देश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेको जानकारी दिए । इप्पान जलविद्युत विकासमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् । विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए । ‘यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ’, उनले भने, ‘देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ ।’ मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौं विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो । सोमवार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मङ्गलवार दुई सय पुगेको थियो । आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ ।
फाइभजीमा लगानी नगर्ने पक्षमा एनटीसी, एनसेलको जिद्दीपना कायमै
काठमाडौं । सूचना प्रविधिले दिनप्रतिदिन फड्को मार्दै नयाँ नयाँ आविस्कार भइरहेका छन् । विश्वले सूचना प्रविधि क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । तर, नेपालमा भने ती सूचना प्रविधि भित्रिन धेरै समय लाग्ने देखिन्छ । फाइभजी (५जी) सेवा विश्वमा सुरु भएकाे धेरै भइसक्यो । तर, विश्वका अधिकांश देशले फाइभफाजी सेवा सुरु गर्दा पनि नेपालमा भने भित्रिन सकेको छैन । पाँच वर्षअघि दक्षिण कोरियामा व्यावसायिकरूपमा फाइभजी सेवा सुरु भएको थियो । त्यसपछि विश्वका विकसित मुलुकले पनि फाइभजी सेवा लागु गरिरहेका छन् । एक प्रतिवेदनअनुसार विश्वमा फाइभजी सेवा प्रयोग गर्ने संख्या करिब १.४ अर्ब रहेका छन् । नेपालमा पनि लामो समयदेखि टेलिकम कम्पनीहरूले फाइभजी सेवा विस्तार गर्ने भनेर बहस तथा छलफलको विषय बनेको छ । पछिल्लो समय टेलिकम कम्पनीहरू नै फाइभजीमा लगानी गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौलमा छन् । नेपाल टेलिकम (एनटीसी)ले गत वर्ष फाइभजी सेवा परीक्षण गरेको थियो । तर, परीक्षणकै प्रक्रियामा रहेका बेला एनटीसीले बन्द गर्याे । फाइभजीका लागि ठूलो बजार नरहेकाले तत्काल लागु गर्ने पक्षमा नरहेको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुधन दाहाल बताउँछन् । इकोसिस्टम तयार नभएका कारण तत्काल फाइभजी सेवा सञ्चालन गर्न असम्भव रहेको उनको भनाइ छ । ‘एनटीसीले एक वर्ष अघि फाइभजी परीक्षण गर्याे, अहिले त्यसको अवधि पनि सकियो, मोबाइलमा भ्वाइस र डाटा चलाए जस्तो फाइभजी सेवा सीमित छैन,’ उनले भने, ‘इण्डष्ट्रियल एप्लिकेसनदेखि आईओटी, एमटिएम लगायत अन्य पूर्वाधार तयार हुनुपर्छ, तर नेपालमा एप्लिकेसनको विकास नै हुन सकिरहेको छैन, त्यसैले डिजिटल इकोसिस्टम नबनेसम्म फाइभजी लागु गर्न गाह्रो छ ।’ इकोसिस्टम बनाएर फाइभजी सेवा लागु गर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ । नेपाल टेलिकमले फाइभजी परीक्षण गर्दा फाेरजीको उपकरण प्रयोग गरेको उनको भनाइ छ । फाइभजी सञ्चालन गर्दा स्पष्ट आधार तय गर्नुपर्ने उनले बताए । एनसेलका लिगल एण्ड रेगुलेटरी अफिसर विशाल उपाध्यय एनसेल फाइभजी सेवा विस्तार गर्न तयार भए पनि अहिलेको आर्थिक अवस्थामा सकस हुने बताउँछन् । प्रविधि धेरै अगाडि बढेकाले रोक्न नसकिने हुँदा फाइभजी सेवा पनि नेपालमा लागु गर्नुपर्ने उनको भनाइ छ । ‘एनसेललाई ५जी सेवा परीक्षण गर्न दिनुहोस् भनेर माग गरिरहेका छौं, नेपाल टेलिकमले गरेको परीक्षणले मात्रै पुग्दैन, फाेरजीबाट फाइभजी र फाइभजीबाट सिक्सजी सेवामा जाँदा पूर्वाधार पनि तयार गर्नुपर्छ,’ उनले भने, ‘जति पनि स्मार्ट फोनहरू आइरहेका छन् तिनलाई प्रत्येक अप्रेटरले आफै परीक्षण गर्नुपर्छ, हामीले परीक्षण गर्न पाएको खण्डमा के गर्ने, कसरी अघि बढ्ने, कुन राम्रो हुन्छ भन्ने विषयको अनुभव हुन्छ । त्यसैको आधारमा निर्णय लिन्छौं ।’ विकसित देशमा पूर्वाधारहरू नै फाइभजीमा आधारित भएर बनिरहेको उनको भनाइ छ । नेपाल पनि कुनै न कुनै समयमा फाइभजीमा जानै पर्ने अवस्था आउन सक्ने उनले बताए । ‘प्रविधिको विकासले जीवनशैली नै कनेक्टेड वर्ल्डमा रूपान्तरण भइसकेको छ, पश्चिमा देश वा विकसित मुलुकमा प्रत्येक उद्योगहरू कार, स्मार्ट सिटीमा इकोसिस्टम छ, ती सहरहरू फाइभजी प्रविधिमा आधारित भएर निर्माण भएका छन्,’ उनले भने, ‘नेपालमा अहिलेकाे अवस्थामा सम्भव छैन, तर, यसका लािग परिवर्तन हुनैपर्छ र इकोसिस्टम बनाउनैपर्छ ।’ उनका अनुसार आईपीएल, विश्वकपलगायत ठूला टुर्नामेन्टमा पनि फाइभजीको प्रयोग राम्रोसँग भएको छ । कतारमा भएको विश्वकपमा स्टेडियममा बसेर नै आर्टिफिसियल इन्टेलिजेन्स र फाइभजीको मद्दतले को कहाँ, कुन खेलाडीले खेलिरहेको छ भनेर हेर्न सकिने व्यवस्था थियो । विश्वमा थुप्रै परिवर्त आइसकेको हुँदा आफूहरूले पनि अंगिकार गर्नुपर्ने उनको भनाइ छ । तर, आजको आर्थिक अवस्थामा याे एक अप्ठ्यारो रहेको उनले बताए । ‘एनसेलले परीक्षणका लागि अनुमति मागेको हो, के कस्ता पुर्वाधार तयार गर्नुपर्छ, प्रयोगकर्ताको अनुभव कस्तो रहन्छ भनेर हामीले पनि थाहा पाउनुपर्छ, आधारभूत कुरा नै थाहा नपाइ के गर्ने भनेर अगाडि बढ्न सकिँदैन,’ उनले भने, ‘फाइभजी सेवा सुरु गरेका देशमा पनि सरुवाती चरणमा धेरै आम्दानी थिएन, विस्तारै बजार पविर्तन हुँदै गएको देखिन्छ, तर हामीले गर्ने अवस्था बनाउनुहोस् हाम्राे सहकार्य रहन्छ मात्रै भनेका हौं ।’
पर्यटन राजधानी पोखरा : जाग्दै आशा, बढ्दै लगानी
गण्डकी । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् । बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किन थालेको महसुस भएको छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म छ खर्बभन्दा बढी लगानी भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अनुमान छ । उनका अनुसार समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सात खर्बभन्दा बढीको लगानी छ । निर्माणाधीन सडक पर्यटकका लागि चुनौतिपूर्ण भइरहे पनि चाँडै नै यी सडकले पूर्णता पाउने आशामा यहाँका व्यवसायी छन् । काठमाडौँमा आएका विदेशी पर्यटकमध्ये लगभग ५० प्रतिशत पोखरामा आउने गरेका अध्यक्ष श्रेष्ठले जानकारी दिए । पोखराको पर्यटनमा गण्डकी प्रदेशको ‘आन्तरिक भ्रमण वर्ष, २०१९’ र नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरी ठूलै लगानी थपिएको यहाँका व्यवसायी बताउँछन् । तत्कालीन समयमा सरकारले पनि लगानी थप्नका लागि आह्वान गरेअनुसार लगानी थपेका व्यवसायीे त्यसलगत्तै आएको कोरोना महामारीका कारण ठूलो सङ्कटमा परेका अध्यक्ष श्रेष्ठले बताए । पूर्वाधारमा लगानी थप्दै गएका अवस्थामा एकाएक रूपमा देखापरेको कोरोना महामारीले यहाँको पर्यटन व्यवसायलाई नराम्रोसँग थला पारेको थियो । कोरानाले थला पारेको पर्यटन विस्तारै पुरानै गतिमा फर्कने आशा पलाएको बताउँदै उनले अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको उत्साहले अब भने यहाँको पर्यटन पूर्ववत् अवस्थामा नै फर्कने अपेक्षा गरिएको बताए । पोखराको पर्यटनलाई चलायमान बनाउन यहाँका पर्यटनसम्बद्ध सङ्घसंस्थाले प्रवर्द्धनका गतिविधि निरन्तर गरिरहेका श्रेष्ठले बताए । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढिरहेको बताउँदै उनले पोखरा–मुग्लिन सडकको निर्माणाधीन अवस्थाका कारण आवतजावतमा कठिनाइका बीच पनि भारतीयहरू ठूलै सङ्ख्यामा पोखरा आइरहेका उनले जानकारी दिए । ‘पोखरामा भारतीय पर्यटकको आगमन उत्साहजनक छ, चिनियाँ पर्यटकको आगमन भने अझै अपेक्षित रूपमा बढ्न सकेको छैन’, उनले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेसँगै ठूलो सङ्ख्यामा भारतीय पर्यटक आउने क्रम बढेकामा कोरोनासँगै भारतीय पर्यटकको आगमन पनि प्रभावित बनेको थियो । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन पनि उत्साहजनक रूपमा नै बढ्दै गएको छ । बाटोका विद्यमान असहजताका बीच पनि भारतीय पर्यटक आफ्नै सवारीसाधन लिएर पनि पोखरा आउने गरेका छन् । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न तत्कालीन समयमा यहाँका व्यवसायीले ठूलै लगानी बढाएका होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । सन् २०१९ मा गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष घोषणा र सन् २०२० मा सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष घोषणाले व्यवसायीलाई लगानीका लागि हौस्याए पनि लगत्तै आएको कोरोना महामारीले त्यसपछिका दुई वर्ष पर्यटन शून्यतामा झर्दा व्यवसायी गम्भीर समस्यामा परेका उनको भनाइ छ । भ्रमण वर्षको घोषणायता हालसम्म पोखरामा थप एक खर्बभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भइसकेको उनले जानकारी दिए । ‘आन्तरिक भ्रमण वर्षदेखि नेपाल भ्रमण वर्ष र पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि पर्यटक बढ्ने आशामा व्यवसायीले लगानी बढाएका थिए’, अध्यक्ष सुवेदीले भने, ‘विडम्बना लगानी थप्दै गर्दा एकाएक आएको कोरोनाका कारण यहाँको पर्यटन दुुई वर्षभन्दा बढी शून्यप्रायः नै बन्न पुग्यो ।’ सन् २०१९ मा १२ लाख ६० हजारको सङ्ख्यामा विदेशी पर्यटक आउनुले पनि तत्कालीन समयमा व्यवसायीले ठूलै आशाका साथ लगानी बढाएका उनको भनाइ छ । सन् २०२० र २०२१ मा ठप्प भएको विदेशी पर्यटक आगमन सन् २०२२ मा भने करिब चार लाख ५० हजार आएको तथ्याङ्क छ । सन् २०२३ मा १० लाख पर्यटक भित्रिएकामा अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको आगमनले आगामी दिनमा पर्यटकको आगमन बढ्ने विश्वास लिइएको सुवेदीले बताए । भारतीय पर्यटक अधिकांशतः धार्मिक रूपमा पोखरा आउने गर्दछन् । पोखरा हुँदै मुक्तिनाथको दर्शन गरेर फर्कने भएकाले पनि मुक्तिनाथ आउँदा जाँदा उनीहरूले पोखरामा केही दिन बिताउने गर्दछन् । पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानी, मिलेनियम ट्रेकलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा देखिएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आगामी दिनमा यहाँको पर्यटन व्यवसाय पुरानै गतिमा फर्कने विश्वास लिइएको छ । यहाँको पर्यटकीय सम्भावनालाई थप उजागर गर्न पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुले विशेष योगदान गर्ने अपेक्षा गरिएको छ । पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्ने सरकारको योजना छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडानसँगै त्यससँग जोडिएका पूर्वाधार निर्माणलगायतका विषयलाई अघि बढाउने तयारी छ । लेकसाइड र ड्यामसाइड क्षेत्रमा मात्रै सात सयको सङ्ख्यामा पर्यटकस्तरीय होटल रहेका होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा र आसपासमा गरी कुल एक हजार दुई सय होटलका साथ ४० हजार बेड सङ्ख्या रहेको छ । यहाँ एक रातमा ४० हजार पर्यटकलाई राख्न सकिने बताउँदै उनले पर्यटकमैत्री वातावरण, आतिथ्यता यहाँको विशिष्टता भएको बताए । प्रकृतिको बरदान नै रहेको पोखरामा पर्यटकको बसाइलाई लम्ब्याउने करिब तीन दर्जनभन्दा बढी पर्यटकीय गन्तव्य छन् । यहाँ आउने पर्यटकको पहिलो रोजाइ फेवाताल हो । माछापुच्छे्र हिमालको छायाँ देखिने यो तालको बीचमा रहेको तालबाराही मन्दिरका कारण यसको महिमा र गरिमा अझै चुलिएको छ । त्यस्तै पोखरामा आउने पर्यटकले यहाँको सिद्धार्थ राजमार्ग हुँदै आउने छोरेपाटनमा रहेको पातले छाँगो (डेभिड फल) हेर्न नछुटाउने अर्को गन्तव्य हो । पातले छाँगाको नजिकै दक्षिणतर्फ गुप्तेश्वर महादेव गुफा छ । गुफाको प्रवेशद्घारबाट करिब चार सय फिट सुरुङभित्र प्राकृतिक आश्चर्यको रूपमा शिव, पार्वती, नाग, गणेश, मुसासहितको शीलामूर्ति प्रतिस्थापन गरिएको छ । यस मूर्ति तीन सय फिट तल सुरुङमार्ग हुँदै पाताले छाँगोको पिँध भागमा पुगेर मनमोहक दृश्यावलोकन गर्न सकिनु यहाँको विशिष्टता हो । पोखराको अर्को दर्शनीयस्थल महेन्द्रगुफा हो । पोखरा बजारको उत्तरी भूूभागमा अवस्थित यस गुफाभित्र प्राकृतिकरूपमा निर्मित हात्तीको सुँड, गाईका स्तन, शिवलिङ्ग, नाग आदिका आकृतिलाई नियाल्न सकिन्छ । गुफाको लम्बाइ एक सय २५ मिटर रहेको छ । महेन्द्र गुफाको पश्चिमतर्फ चमेरे गुफा छ । चुनढुङ्गाबाट बनेको यस गुफामा ठूलो सङ्ख्यामा चमेराका साथै विभिन्न आकारका मूर्ति, शिवलिङ्ग, देवी–देवताका आकृतिहरू देख्न सकिन्छ । धार्मिक पर्यटकीय रूपमा यहाँको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरको विशिष्ट महत्व छ । मन्दिरबाट देखिने हिमाली दृश्यसहित पोखराको मनमोहक दृश्यले जोकोहीलाई लोभ्याउने गर्दछ । पछिल्लो समयमा चासो र चर्चा कमाएको पुम्दीकोट यहाँको अर्को आकर्षण हो । जनस्तरबाट निर्मित विशाल महादेवको मूर्तिसहित निर्माण भएका सुमेरु पर्वत आदिले यहाँको पर्यटकीय आकर्षण चुलिएको छ । पुम्दीकोटसँगै नजिकै रहेको विश्वशान्ति स्तुपा अर्को महत्त्वपूर्ण गन्तव्य हो । बौद्ध अनुयायीहरूका लागि विशेष महत्वको स्थल यहाँबाट देखिने हिमालसहितको पोखराको दृश्यले पर्यटक लोभिने गरेका छन् । पोखरा बजारबाट उत्तर–पश्चिममा रहेको सराङकोट हिमाल र पोखराको अवलोकन गर्न सकिने अर्को गन्तव्य हो । सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि पनि यसको विशिष्ट महत्व रहेको छ । पोखरा र आसपासमा रहेका धर्मशिला बुद्घ विहार, हरिहर गुफा, नारायणस्थान मन्दिर, सदाशिव मन्दिर, ढुङ्गेसाँघु, लक्ष्मीनारायण मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती आदि धार्मिक पर्यटकीय गन्तव्य हुन् । धार्मिक एवं ऐतिहासिक महत्वका स्थलका रूपमा पोखरा आसपासमा रहेका भरतपोखरीको कोटभैरव, ठूलाकोट, बेगनासकोट, रुपाकोट, फेक्सिङकोट आदि पनि महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हुन् । पोखराको बीचभागबाट गहिरिएर बगेको सेती नदीदेखि लेखनाथ क्षेत्रमा रहेका वेगनास, रुपा, खाष्टे, दिपाङ, गँुदे, न्यूरेनी, मैदी तालहरूले यहाँको सौन्दर्यतालाई थप उजागर गरेका छन् । पर्वतीय पर्यटनसँगै हिमाल र हिमाली जीवनको अध्ययन अवलोकन गर्न पाइने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय यहाँको अर्को पर्यटकीय गन्तव्य हो । विश्वका उच्च हिमाल, ती हिमालमा आरोहण गर्ने आरोहीको ऐतिहासिक तथ्य, हिमाली जीवन आदिलाई जीवन्त रूपमा देखाउने उद्देश्यका साथ सङ्ग्रहालयमा विभिन्न चार कक्षहरू राखिएका छन् । त्यस्तै पोखराको केआई सिंह पुल नजिकै रहेको गोर्खा स्मृति सङ्ग्रहालय अर्को दर्शनीयस्थल हो । गोर्खा सैनिकमा भर्ती भई उनीहरूले विश्वमा देखाएको बहादुरीका कथा, गोर्खाली सेनाको इतिहासलगायतका विषयलाई सङ्ग्रहालयमा जान्न बुझ्न सक्ने व्यवस्था मिलाइएको छ । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको हाताभित्र रहेको अन्नपूर्ण सङ्ग्रहालय पुतलीको अध्ययन–अनुसन्धानका लागि पुुग्नैपर्ने गन्तव्य हो भने नयाँ बजारस्थित प्रदेश सङ्ग्रहालयमा गण्डकी क्षेत्रको जनजीवन, सामाजिक तथा सांस्कृतिक रहनसहन र वेशभूषा आदिलाई जीवन्त चित्रण गर्ने प्रयास गरिएको छ । पोखराबाट देखिने माछापुच्छ्रे हिमाल यहाँको अर्को आकर्षण हो । यो हिमालमा हालसम्म आरोहण नभएका कारण कुमारी हिमाल (भर्जिन माउण्टेन)का रूपमा समेत यसलाई लिइन्छ । माछापुुच्छ्रे हिमालको छायाँ फेवातालमा देखिने भएकै कारण ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्नेरैछ’ जस्ता गीतसमेत रचना गरिएका छन् । पोखराबाट देखिने अन्नपूर्ण, धवलागिरिलगायतका अन्य हिमशृङ्खलाले यहाँको सौन्दर्यतालाई बढाएको छ । पोखरा क्षेत्रमा नै इन्द्र गुफा, खारापानी तातोपानी, कृष्ती (मट्टीखान) हुँदै भरतपोखरी निर्मलपोखरीका मध्यपहाडी क्षेत्रका उच्च भूूभाग हिमाली दृश्यावलोकनसहित पोखरा उपत्यकाको अवलोकनका लागि प्रसिद्ध छन् । पोखरालाई नै आधार बनाएर गरिने विभिन्न पदयात्राका साथै यहाँबाट घान्द्रुक, धम्पुस, लान्द्रुक, सिकलेस, पञ्चासे आदि गन्तव्य पर्यटकको रोजाइमा पर्दछन् । साहसिक पर्यटनका बञ्जीजम्पदेखि प्याराग्लाइडिङ, जीपलाइन, स्वीङ, माउन्टेन बाइकिङ, अल्ट्रलाइट आदि गतिविधिले पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ । पर्यटन राजधानी आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा जोड पर्यटन राजधानी घोषणासँगै यसलाई पोखरामा मात्रै सीमित नगरी यसको दायरा फराकिलो बनाउनुुपर्ने पर्यटन क्षेत्र सम्बद्ध विज्ञहरू बताउँछन् । पर्यटन राजधानी पोखरा आसपासका पर्यटकीय गन्तव्यलाई समेट्न पर्यटन सम्बद्ध सङ्घसंस्थाले विभिन्न कार्यक्रम अघि सारेका छन् । यसैको प्रयासस्वरुप नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रवर्द्धनमा हालै गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । ‘पर्यटन राजधानी पोखरालाई सीमित दायरामा मात्रै नराखी आसपासका पर्यटकीय गन्तव्यलाई समेत समेट्नुु जरुरी छ’, उनले भने, ‘त्यसैको प्रयासस्वरुप हामीले पोखराबाट गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रम सुरु गरी बागलुङ हुँदै कालीगण्डकी करिडोर भएर नवलपुरसम्मको यात्रा सम्पन्न गरेका हौँ ।’ यात्रका क्रममा बागलुुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जैमिनी धामको अवलोकनसँगै जैमिनी नगरपालिकाको स्थानीय समन्वयमा त्यहाँका जनप्रतिनिधि एवं सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गरिएको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिए । उनका अनुुसार पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसम्बद्ध टोलीले नवलपुरको गजेन्द्र मोक्षधाम, वाल्मिकी आश्रम, पिप्रहर सामुदायिक होमस्टेलगायतका स्थानमा पुुगी त्यहाँका स्थानीयवासी, पर्यटन व्यवसायी एवं सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गरेको छ । टोलीले फर्कने क्रममा पर्यटन राजधानीबाट नवलपुर जोड्ने दलदले–डेढगाउँ–भिमाद–पोखरा सडकको समेत स्थलगत अवलोकन गरेको छ । पोखरा आसपासकै पर्यटकीय गन्तव्यको प्रवर्द्धनको प्रयासस्वरुप गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले हालै पोखरा महानगरपालिका–३१ मा पर्ने धार्मिक एवं ऐतिहासिकस्थल ठूूलाकोट र मादी गाउँपालिका वडा नं ५ स्थित ठूूलास्वाँरामा गाउँ पर्यटन प्रवर्द्धनका कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले हालै नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुबारीमा गाउँ पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायको सहभागिता विषयक अन्तरक्रिया सम्पन्न गरेको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिए । पोखरामा क्रियाशील अन्य पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि पर्यटन राजधानी घोषणा भएपछि आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् । रासस
अर्थतन्त्रलाई लयमा ल्याउन पहल गर्दै निजी क्षेत्रलाई उत्साहित बनाउने काम गर्छु : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रलाई उत्साहित बनाउनु रहेको बताएका छन् । चेम्बरको अध्यक्षमा निर्वाचित भए पश्चात अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । नवनिवार्चित अध्यक्ष अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रको खस्केको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई लयमा फर्काउनेमा रहेको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने,निजी क्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष अग्रवालले अर्थतन्त्रमा शिथिलता हुँदा निजी क्षेत्र समस्यामा रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानको लागि सरकारसँग सहकार्य गर्ने बताए । उनले सरकारले दुई वर्षअघि लिएका सहज नीतिलाई परिमार्जन गरी संकुचन नीति लिँदा निजी क्षेत्र धरासयी अवस्थामा पुगेको बताए । अर्थतन्त्रमा शिथिलता आउनुको प्रमुख कारण पनि निजी क्षेत्र समस्यामा पर्नु भएको दाबी गरे । अध्यक्ष अग्रवालले मुलुकमा उत्पादनमुलक क्षेत्र ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताए । देशभरका सटरहरु खाली गरेर धेरै व्यवसायीहरु विदेश पलायन भएको दाबी उनको थियो । अध्यक्ष अग्रवालले रोजगारी कटौती हुँदा विदेश जानेहरुको संख्या बढेको बताए । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी र रुस–युक्रेन युद्वको कारण अर्थतन्त्रमा आएको प्रभावलाई कुशल व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गरे । भारतमा कोभिड लगायतका समस्यालाई कुशल व्यवस्थापन मार्फत नियन्त्रण गर्दा जिडिपी ग्रोथ ७ प्रतिशत बढी भएको बताए । उनले राज्यले लिने नीगिगत व्यवस्थाहरु लगानीमैत्री हुन नसके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन नसक्ने बताए । राजश्वको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रले दबाब खेप्नुपरेको उनको भनाई छ । ‘अर्थतन्त्र शिथिल अवस्थामा छ । कोभिड–१९ को प्रभाव,रुस–युक्रेन युद्वले विश्वमा परेको प्रभावले निजी क्षेत्रको २० प्रतिशत गिरावट भएको अवस्था थियो । त्यसले गर्दा निजी क्षेत्र धरासयी अवस्थामा पुग्यो । अहिलेको शिथिलता आउनुको कारण त्यही हो । अहिले पनि १५० भन्दा बढी व्यवसायीहरु कालोसूचिमा परेका छन् । राज्यले लिने नीगिगत व्यवस्थाहरु लगानीमैत्री भएन भने आर्थिक वृद्धिदर पनि घट्छ । आर्थिक गतिविधिमा संकुचन आउनु हो । त्यसले गर्दा सरकारको राजश्व सकलनको लक्ष्य पनि पूरा हुँदैन । राजश्वको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रले दबाबमा बस्नुपर्ने स्थिति भयो । मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने, निजी क्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने पहिलो प्राथमिकतामा छ’, उनले भने । उनले अर्थतन्त्र लयमा ल्याउनको लागि योजना तथा नीति निर्माण गर्ने निकायहरुबीच समन्वय आवश्यक रहेको बताए । आगामी वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट यथार्थपरक आउनुपर्ने जिकिर गरे । अध्यक्ष अग्रवालले सरकारले गत वर्ष जथाभावी रुपमा व्यवस्था गरेका करका दरहरु पुरानै अवस्थामा फर्काउनुपर्ने बताए । बजेटमार्फत सरकारले अनावश्यक करका दरहरु बढाउन नहुने भन्दै करका दरहरु बढाउँदा व्यवसायीहरु निरुत्साहित हुने बताए । करका दर वृद्धि गर्दा चोरीपैठारी बढ्ने र निजी क्षेत्रको व्यापार घट्न थालेको उनको भनाई थियो । सरकारले निजी क्षेत्रको संरक्षणको लागि करका दरहरु घटाउनु पर्नेमा जोड दिए ।
मुकेश अम्बानी पत्नी निताले किनिन् १२ करोडको सुपर लक्जरी कार
काठमाडौं । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी पत्नी नीता अम्बानी फेरि एकपटक चर्चामा छिन् । मिडिया रिपोर्टका अनुसार उनले १२ करोडको सुपर लक्जरी कार किनेकी छन् । देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष नीतासँग करिब १ सय ६८ लक्जरी कारको संग्रह छ । यसमा मेब्याक, फेरारी, बेन्टले, मर्सिडिज बेन्ज र बीएमडब्लू कम्पनीका कारहरू पर्छन् । तर, अम्बानी परिवारको रोल्स रोयससँग विशेष लगाव छ । हालै अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा उनी १० करोडको रोल्स रोयस कलिनन ब्ल्याक ब्याजमा दुबईको एउटा मलमा किनमेल गर्न जाँदै गरेको देखिएका थिए । अब नीता अम्बानीले नयाँ रोल्स रोयस फ्यान्टम भी१२ को डेलिभरी लिएको खबर आएको छ । यो गुलाबी रङको कार विशेष गरी नीताका लागि डिजाइन गरिएको हो। मिडिया रिपोर्टका अनुसार भारतमा यो रोल्स रोयस कारको मूल्य १२ करोड भारु रहेको छ । नीताले किनेको कार विस्तारित ह्विल संस्करण हो। यो गाडीको तस्बिर इन्टरनेटमा तीव्र गतिमा भाइरल भइरहेको छ । यो विशेष गरी नीताका लागि अनुकूलित गरिएको छ । यसको सिटमा ‘एनएमए’ लेखिएको छ जुन नीता मुकेश अम्बानीसँग जोडिएको छ । यो कारको सबैभन्दा ठूलो विशेषता यसको रङ हो । सामान्यतया रोल्स रोयस कारको रङ कालो र सेतो हुन्छ तर नीताको कारलाई रोज क्वार्ट्ज पेन्ट स्किमले अर्किड मखमल इन्टेरियरले सजाइएको छ । कारको अगाडि रोल्स रोयसको लोगोलाई सुनौलो रङ दिइएको छ । यसमा ६।७५ लिटर क्षमताको ट्वीन टर्बो भी१२ इन्जिन छ । जसले ५७१ बीएचपीको बलियो पावर र ९०० एनएमको टर्क उत्पन्न गर्छ । अम्बानीको कार संग्रह हालै यो कार मुम्बईको सडकमा सुरक्षा गाडीको दस्तासँग देखिएको थियो । मुकेश अम्बानीले गत वर्ष आफ्नी श्रीमतीलाई रोल्स रोयस कुलिनन ब्ल्याक ब्याज उपहार दिएका थिए । भारतमा यसको मूल्य १० करोड रुपैयाँ छ र यो भारतको सबैभन्दा महँगो गाडीमध्ये एक हो । यो कार भारतमा तीन जनासँग मात्रै रहेको बताइएको छ । जसमा मुकेश अम्बानी, अभिनेता शाहरुख खान र हैदरावादका व्यापारी नसीर खान पर्छन् । यसबाहेक मुकेशसँग बेन्टले, ल्यान्ड रोभर रेन्ज रोभर, क्याडिलैक, टेस्ला, पोर्श, फेरारी, मर्सिडीज, बीएमडब्ल्यू, अडी, लेक्सस, भोल्भो, टोयोटा लगायत धेरै कम्पनीका लक्जरी कारहरू छन् । अम्बानी परिवारको सुरक्षामा टोयोटा फोर्च्युनर, मर्सिडिज बेन्ज जी-क्लास, ल्यान्ड रोभर डिस्कभरी, मर्सिडीज बेन्ज भी-क्लास र एमजी ग्लोस्टर जस्ता गाडीहरू छन् र साथै टोयोटा इनोभा हाइक्रस जस्ता गाडी छन् । एजेन्सी
ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराति सम्पन्न भएको हो । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले सर्ज साफ्टको ‘ब्रेक थ्रु’ भएसँगै सुरुङ खन्ने सबै काम सकिएको बताए । ‘सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ’, उनले भने, ‘आकस्मिक रूपमा विद्युत्गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ ।’ जलविद्युत् आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रु हुनुलाई एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको चालिसेले बताए । तीन महिनाअघि जोडिएको फेदीखोलाको बाँधबाट छरीको आउटलेट जोड्ने दुई हजार सात सय मिटर मुख्य सुरुङलाई फिनिसिङ गर्ने काम भइरहेको छ । एक सय चार दशमलव १६ मिटर अग्लो भर्टिकल साफ्ट र चार सय ८३ मिटर पेनस्टक टनेल निर्माण सकिएको छ । विद्युत्गृहबाट आउटलेटको उचाइ तीन सय ५५ मिटर छ । आउटलेटबाट विद्युत्गृह जोड्ने एक हजार छ सय ४० मिटर पेनस्टक पाइप लाइनमध्ये सात सय मिटर जडान भइसकेको छ । पचासी प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ । फेदीखोलामा बाँध, पानी थिग्राउने पोखरी र छरीमा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्वाइनलगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ । आयोजनाका प्रमुख इन्जिनीयर रवीन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतीबीच निर्माणलाई तीव्रता दिइएको बताए । कुल तीन अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रवर्द्धक कम्पनीको नेतृत्व गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०का अगुवा डा बद्री केसीले गरेका छन् । नेपाल बैंक लिमिटेडको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आयोजनामा लगानी गरेका छन् । यस आयोजनामा गत असारमा आएको बाढीले बाँध नजिकै निर्माणाधीन डिसेन्डर ९पानी थिग्राउने पोखरी० मा क्षति पुर्याएपछि निर्माण अवधि केही समय धकेलिएको थियो । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । बत्तीसमध्ये १४ वटा टावरको निर्माण सुरु भइसकेको निर्माण कम्पनीले जनाएको छ । रघुगङ्गा गाउँपालिका–३ अम्बाङ निर्माण हुन लागेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा ठूलोखोलाको विद्युत् जोड्ने तयारी गरिएको छ । रासस