विकासन्युज

सानिमा जीआईसीको प्रस्तावित २५ प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । चैत २९ गते सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै कम्पनीले चुक्ता पुँजी २ अर्बको २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । उक्त सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९/०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न उक्त सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पारित भएको छ । त्यसैगरी, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गरिएको छ । साथै, कम्पनीले आगामी दिनमा व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

थप १ करोड पाकिस्तानी गरिबीको रेखामुनि जाने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सुस्त आर्थिक वृद्धिदर र चालु आर्थिक वर्षमा २६ प्रतिशत मुद्रास्फीतिका कारण १ करोडभन्दा बढी पाकिस्तानी गरिबीको रेखामुनि जान सक्ने जनाएको छ । विश्व बैंकको ‘पाकिस्तान डेभलपमेन्ट आउटलुक’ शीर्षकको द्विवार्षिक प्रतिवेदनले देशको अर्थतन्त्रको निकै डरलाग्दो तस्बिर चित्रण गरेको छ, यसले आफ्नो कुनै पनि ठूला बृहत् आर्थिक लक्ष्यहरू पूरा गर्न असफल हुने संकत गरेको छ। विश्व बैंकको प्रतिवेदनले पाकिस्तानले आफ्नो प्राथमिक बजेट लक्ष्य पनि गुमाउने सम्भावना रहेको र इस्लामावादलाई कम्तीमा तीन वर्षसम्म घाटामा रहने उल्लेख गरेको छ । विश्व बैंकको प्रतिवेदनका प्रमुख लेखक सैयद मुर्तजा मुजफ्फारीले फराकिलो आर्थिक सुधार हुँदाहुँदै गरिबी उन्मुलनका प्रयासहरू पर्याप्त नभएको बताए । ‘आर्थिक वृद्धि दर १.८ प्रतिशतको सामान्य स्तरमा स्थिर रहने प्रक्षेपण गरिएको छ, जसले गरिबीदर ४० प्रतिशतको हाराहारीमा रहनेछ,’ उनले भने, ‘करिब ९ करोड ८० लाख पाकिस्तानी पहिले नै गरिबीसँग संघर्ष गरिरहेका छन् । अब थप १ करोड मानिस गरिबीको रेखामुनि पर्ने खतरा छ ।’ विश्व बैंकको प्रतिवेदनले निरन्तर बढ्दै गएको मुद्रास्फीति र जीवनयापनको लागतसँगै उच्च यातायात खर्च, विद्यालयमा बालबालिकाको न्यून संख्या र कमजोर स्वास्थ्य प्रणाली मुलुकका प्रमुख चुनौती बनेको औंल्याएको छ । यसका साथै खाद्य सुरक्षा गम्भीर संकटमा परेको छ । ‘कमजोर वृद्धि, कम श्रम आय र निरन्तर उच्च मुद्रास्फीतिका कारण गरिबी मध्यम अवधिमा घट्ने प्रक्षेपण गरिएको छ,’ विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले दीर्घकालीन मुद्रास्फीति, पर्याप्त वृद्धिको अभावमा नीतिगत अनिश्चिततासँगै सामाजिक अशान्ति निम्त्याउने र नकारात्मक असर पार्न सक्ने बताएको छ । विश्व बैंकको प्रतिवेदनमा जहाँसम्म पाकिस्तानको आर्थिक वृद्धिको विषय छ, जुन २०२४ मा समाप्त हुने चालू आर्थिक वर्षमा १.८ प्रतिशतले मात्र वृद्धि हुने अपेक्षा गरिएको छ, जबकि आधिकारिक लक्ष्य ३.५ प्रतिशत रहेको छ। साथै, आगामी आर्थिक वर्षको वृद्धिदर पनि २.३ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ, जुन २.६ प्रतिशतको जनसंख्या वृद्धिदरभन्दा कम हो । एजेन्सी

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, सबै जहाज आकाशमै होल्ड

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासी आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौंबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । काठमाडौबाट अन्य जिल्लाका लागि हुने कतिपय उडान पनि अवरुद्ध भएका छन् भने उडान डिले भएका छन् ।    

४४ अर्ब डलरको बैकिङ ठगी मुद्दामा महिलालाई मृत्युदण्डको सजाय

काठमाडौं । भियतनामको एक अदालतले अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीकाे आरोप लागेकी महिला ट्रुङ माई लानलाई मृत्युदण्डको सजाय सुनाएको छ । भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा ची मिन्ह शहरमा रहेको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । पक्राउ परेकी लानलाई साइगोन कमर्सियल बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोप लगाइएको बीबीसीले जनाएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ । तर, २७ अर्ब डलर कहिल्यै पनि फिर्ता नहुने अवस्थामा पुगेको अभियोजनकर्ताहरूले बताएका छन् । बीबीसीका अनुसार यो मुद्दामा २७ सय जनालाई बयान दिन बोलाइएको छ । ट्रुङ माई लानविरुद्धका प्रमाणले १ सय ४ वटा बाकस भरिएको र यी कागजपत्रको तौल ५ टन रहेको बताइएको छ । भियतनामका १० वटा राज्यले लानविरुद्ध बहसका लागि २ सय जना वकिल खटाएका थिए । लानको पक्षबाट भने ८५ जना वकिलले बहस गरेका थिए । चिनियाँ–भियतनामी परिवारबाट आएकी ट्रुङ माई लान लामो समयदेखि भियतनामको प्रमुख व्यापारी र उद्योगी हुन् । सन् १९८६ मा सामान्य सौन्दर्यका सामान बेच्दै व्यवसायको सुरु गरेकी लानले सन् १९९० को दशकमा होटल र रेस्टुरेन्टको सञ्जाल फैलाउन थालेकी थिइन् । त्यसपछि घरजग्गा कारोबार र अन्य थुप्रै व्यवसायबाट उनको समूह अर्बपति बनेको थियो । सन् २०११ मा नियम छलेर उनले साइगोन कमर्सियल बैंक किनेकी थिइन् । भियतनामी कानुनले कुनै पनि व्यक्तिलाई एउटै बैंकको पाँच प्रतिशतभन्दा बढी सेयर राख्न निषेध गरेको छ । तर, लानले आफ्ना कामदार र नातेदारहरूको नामबाट साइगोन बैंकमा ९० प्रतिशत सेयर पुर्‍याएकी थिइन् । त्यसपछि बैंकमा प्रबन्धकसहित अन्य जिम्मेवार व्यक्ति आफू अनुकूल नियुक्त गरेर नियम विपरीत ऋण लगेको लानमाथि आरोप लागेको छ । कुनै बेला साइगोन कमर्सियल बैंकको सबै ऋणको ९३ प्रतिशत हिस्सा लानको स्वामित्वमा रहेका कम्पनीमा लगानी भएको थियो । बैंकको अवस्थ खराब हुन थालेपछि उनले सन् २०१९ को फेब्रुअरीदेखि चार अर्ब डलर आफ्ना चालकमार्फत निकालेकी थिइन् । यदि भियतनामको सबैभन्दा ठूलो नोटमा भए पनि चार अर्ब डलरको तौल दुई टन हुने खबरमा उल्लेख छ । उनले दुई टन तौल बराबरका नोट कहाँ राखेकी छन् भन्ने खुलेको छैन । लानले आफ्नो ऋणको छानबिन कहिल्यै नगर्ने सुनिश्चित गर्न एक जना केन्द्रीय बैंकका जिम्मेवार व्यक्तिलाई ५० लाख डलर घुस दिएको पाइएको छ । घुस लिने व्यक्तिलाई पनि आजीवन कारावासको सजाय माग गरिएको छ । बीबीसी

सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो पर्यटकीय गन्तव्य समेटिएको क्यालेन्डर

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन’ को साथै सो गन्तव्यहरूमा जिम्मेवार पूर्वक अन्वेषण गर्नु रहेको छ । बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने प्रयास गरेको छ । क्यालेन्डरमा सोलुखुम्बु जिल्लामा अवस्थित दूधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छो रोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नार फु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरू समावेश गरिएको छ, जसले नेपालको प्राकृतिक र पुरातात्त्विक सौन्दर्यतालाई उजागर गर्दछ । बैंकको यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरूको भ्रमण गरी पृथक् अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुऱ्याउने बैंकले विश्वास लिएको छ ।

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) हुने एक्स्पोको को तयारी दुई हप्ता अघि नै अन्तिम चरणमा पुगेको हो । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजनाा गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ । एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालयरकलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भएको इप्पानले जनाएको छ । एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा र युवा पुस्तालाई हाइड्रो सम्बन्धी कार्यमा अभिरुची बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुइ मिनेटको भिडियो उत्पादन गर्ने प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्नेछन् । यी दुवै विधाका प्रतिष्पर्धाका बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । त्यस्तै गरि विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक्स्पोकै दिन बिहान इभी र्‍यालीसमेत आयोजना गरिएको छ । स्काइ वाक टावर कमलादीबाट सुरु हुने उक्त र्‍याली विद्युत प्राधिकरण, सिंहदरबार, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना हुने स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ । यसका अलवा काठमाडौं विश्वविद्यालयले तयार पारेको ग्रिन हाइड्रोजन कार र इभी ट्रयाक्टर पनि एक्स्पोको आकर्षण बन्ने इप्पानको अपेक्षा छ ।

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । उनले अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए । दरबारमार्ग जस्तो ठमेलमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको बताए । अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौति रहेको जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटकले २४ सै घण्टा ठेमलमा घुम्न, बस्न, खान सक्ने अनुभुति गर्ने बताए । परिषद् ठेमललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउनु चाहेको दाबी गरे । ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने जनाए । ठमेलको भगवान बहालमा स्थानीयको बसोवास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने बताए । दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिव २ सय व्यवसायी रहेको बताए । उनले करिव ७ हजार भन्दा बढी रोजगारी पाएको बताए । दरबारमार्ग विकास बोर्डले विगत लामो समय देखिको प्रयास अहिले सफल हुन थालेको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको सक्रियताले पूर्णता पाउन थालेको बताए ।