विकासन्युज

२.२६ मिनेटको अन्तरले जिते सञ्जयले लेखनाथ हाफ म्याराथन

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जितेका छन् । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भएका छन् । उनले १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरे । उपविजेता बोगटीले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए । उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सशस्त्रका खिमबहादुर खत्रीले १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । उनीहरूले क्रमशः १० हजार, ५ हजार रुपैयाँ पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका गरे । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ बने । यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भइन् । महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पाएका छन् । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । यसैगरी भेट्रान्स ५ किमी दौडमा काठमाडौंका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । विद्यालय छात्रतर्फ ५ किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो भए । छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो भएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार पाए । विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ६ विधामा गरेर ४ सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए ।

नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताए । उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताए । उनले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताए । उनले भने, “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उनले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए । संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उनले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताए । “संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उनले भने, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक(पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।” सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताए । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उनले भने । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी) सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताए ।

चैतमा पाथीभरामा ७५ लाख बढी भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी संकलन भएको छ । संकलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले संकलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । पाथीभरा (मुकुमलुङ) मा चैतमा ५२ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार ५२ हजार चार सय ५५ भक्तजनले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका छन् । चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै चैतमा पाथीभरामा भक्तजनले पूजापाठ गरेका छन् । गत साउनदेखि चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार चार सय एक, फागुनमा १७ हजार नौ सय १२ जना तीर्थयात्री आएका हुन् ।

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ । सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ । झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ । सिङ्गो झ्याङ गाउँका बासिन्दाले लुसुन खेती गरिरहेका छन् । बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ । गाउँमा पहिलो पटक २०६२र६३ सालदेखि लसुन खेती सुरु गरेका स्थानीय ७१ वर्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताए । ‘गाउँमा पहिलो पटक लसुन खेती गर्ने कुषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ’, खड्काले भने । गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उनी बताउँछन् । ‘गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ’, उनले भने । गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट एक लाख १० हजार रुपैयाँ आम्दानी भएको खड्काले बताए । एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भने, ‘पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलङ्गा पुगेर लसुन बिक्री गरेको हुँ, अहिले त गाउँ नजिकै सडक पुगेको छ । त्यही लगेर गाडीमा सजिलै बजार पुर्‍याउन सकिन्छ । धैरै कुरामा सहज भएको छ ।’ लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उनको छ । स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्का पनि यतिबेला लसुनले फल लगाउने ९गाना० समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलनमा व्यस्त हुनुन्छ । घर नजिकैको केही जग्गामा गहुँ खेती गरे पनि धेरै जग्गामा लसुन खेती गरेका छन् । गत वर्षको भन्दा यसपटक अलि धेरै लसुन खेती गरेको खड्काले बताए । विंस २०६८ देखि व्यावसायिक लसुन खेतीमा लाग्नुभएका खड्का लसुन खेतीबाट सन्तुष्ट छन् । ‘गहुँ खेतीभन्दा लसुन खेतीलाई जोड दिएको छु, गहुँ खेतीबाट परिवारको खर्च व्यवस्थानप गर्न समस्या हुन्थ्यो, व्यावसायिक लसुन खेती गर्न थाले पनि आर्थिक रूपमा सहज भएको छ’, उनले भने । ‘पहिले बजारको समस्या हुँदा व्यावसायिक रुपमा खेती गर्न सकिएको थिएन, अहिले त जति उत्पादन भए पनि लसुन खरिद गर्न ठेकेदार किसानकै बारीमा आउने गरेका छन्, यसले गर्दा पनि हामीलाई व्यावसायिक रुपमा लसुन खेती गर्न थप हौसला मिलेको छ’, खड्काले भने । उनले गत वर्ष लसुन बिक्रीबाट बीउबाहेक रु ८३ हजार आम्दानी गरेको सुनाए । खड्काहरुको बसोबास रहेको यो गाउँमा पछिल्लो समय लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीय समेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताए । उनले पनि शिक्षक पेसासँगसँगै साँझ बिहानको समयम लसुन खेती गर्दै आएका छन् । शिक्षण पेसामा २५ वर्ष खर्चिएका खड्का कृषि पेसालाई पनि सगँसँगै अँगाल्दै आएका छन् । लसुनबाट मनग्य आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको उनले बताए । ‘बारीमा अहिले एक सय २० किलो लसुन लगाएको छु, गत वर्ष बीउबाहेक रु ९० हजार आम्दानी भयो, यो वर्ष लसुनबट राम्रै आम्दानी हुने विश्वास छ । वडामा उत्पादन भएको लसुन बिक्रीमा समस्या छैन्, कृषकले उत्पादन गरेको लसुन बारीमै पुगेर व्यापारीले कृषकसँगै मूल्य निर्धारण गरेर खरिद गर्ने गरेका छन्’, शिक्षक खड्काले भने । प्रचारप्रसार, अनुदानमा बीउ वितरण, बजार व्यस्थापनको सहजीकरण वडाले गरेको छ । लसुन उत्पादन गर्ने किसानलाई प्राविधिक ज्ञान पर्याप्त नभएकाले प्राविधिक ज्ञानको आवश्यक रहेको शिक्षक खड्काले बताए । कुन बेला गोडमेल गर्ने, कुन औषधि प्रयोग गर्ने, बीउ कसरी लगाउने, प्राङ्गारिक मल व्यवस्थापनलगायत विषयमा प्राविधिकले किसानको खेतबारीमै पुगेर सिकाउन आवश्यक रहेको उनको भनाइ छ । लसुन खेतीलाई व्यवस्थित गर्न वडाको प्रयास वडामा लसुन खेतीलाई व्यवस्थित गर्न वडा कार्यालय योजना बनाएर अगाडि बढेको वडाअध्यक्ष धनबहादुर खड्काले बताए । उनका अनुसार किसानले उत्पादन गरेको कृषिजन्य वस्तु मूल्य नपाएर त्यतिकै खेर जाले अवस्था आउन नदिन वडाले उत्पादनसँगै बजार व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेको छ । कृषकलाई प्रोत्साहन गर्न अनुदानमा बीउ वितरण, राम्रो उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आएको छ । वडामा उत्पादन भएको कृषिजन्य बस्तु व्यापारीसँग वडाले समन्वय गरेर सल्यान, दाङ, काठमाडौंसम्म पठाउने गरेको छ । झ्याङगाउँमा प्रत्येक कृषकले एक क्विन्टलदेखि माथि लसुन खेती गरिरहेका छन् । झ्याङगाउँमा लसुन खेतीलाई थप व्यवस्थित गर्न आउँदो वर्षदेखि अन्यबाली लगाएका ठाउँमा पनि लसुन खती गर्ने योजना वडाले बनाएको छ । झ्याङगाउँमा पूरै जग्गामा लसुन खेती गर्न करिब दुई सय ५० क्विन्टल बीउ लाग्ने अनुमान गरिएको छ । अहिले झ्याङगाउँबाट वार्षिक दुई सय ५० क्विन्टल लसुन जिल्लाबाहिर जाने गरेको छ । बजार व्यवस्थापनको सहजीकरण वडाले गरिदिएकाले उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न कुनै समस्या नरहेको वडाध्यक्ष खड्काले बताए । गाउँ नजिकै सडक पुगे पनि किसानको सजहताका लागि भूगोल अध्ययन गरेर गाउँमै सडक सञ्जाल पुर्‍याउने वडाको योजना छ । गाउँमै सडक जोडिएमा भने उत्पादन भएका कृषिजन्य वस्तुलाई बोकेर खोलासम्म पुर्‍याउने समस्या हुने छैन । वडाका किसानलाई व्यावसायिक रूपमा लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिक रूपमा वडालााई सम्पन्न बनाउन वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेका छन् । झ्याङ गाउँ रहेको वडाका तीन सय ६० किसानले लसुन खेती गर्ने गरेको वडाअध्यक्ष खड्काले जानकारी दिए । चालू आर्थिक वर्ष २०८०र८१ मा वडाले दुई सय ४५ परिवारलाई २० किलोका दरले ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल लसुन वितरण गरेको थियो । गत वर्ष सो वडाबाट पाँच सय क्विन्टल लसुन जिल्लाबाहिर बिक्रीका लागि पठाइएको थियो । उक्त लसुनबाट वडामा ५० लाख रुपैयाँ भित्रिएको छ । लसुन खेतीको सुरुआत भएको झ्याङगाउँमा रु १० लाख खर्चेर गाउँको बीच भागमा लसुनको प्रतिमा सहितको ‘लसुन उद्यान’ निर्माण गरिएको वडाअध्यक्ष खड्काले बताए । गाउँमा लसुन उत्पादन भएर जिल्लाबाहिर जाने भएपछि जिल्ला बाहिरबाट बीउको माग बढेको छ । चालू आर्थिक वर्षमा वडालाई लसुन पकेट क्षेत्र घोषणा गरिएको छ । प्राङ्गारिक मल प्रयोग गरेर अग्र्यानिक उत्पादन गर्ने र वडालाई अग्र्यानिक उत्पादनका रुपमा घोषणा गर्ने वडाको लक्ष्य छ । वडामा लसुन खेतीसँगै सुन्तता खेतीको पनि राम्रो सम्भावना रहेकाले वडालाई आर्थिक रुपमा सम्पन्न बनाउन वडामा उत्पादन हुने कृषिजन्य वस्तुलाई पहिलो प्राथमिकतामा राखेर व्यावसायिकीकरणमा जोड दिइएको वडाअध्यक्ष खड्काले बताए ।

मनै लोभ्याउने गोरखाको न्याउली झरना

 गोरखा । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’ को विकास हुँदै गएको छ । न्याउली झरना आफैमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने गरेका छन् । धार्चे गाउँपालिका–७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरनाप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन विदेशी पर्यटकमा पनि उत्तिकै छ । बूढीगण्डकी नदीको काखैमा करिब ५५ मिटर उचाइ रहेको न्याउली झरनाको सौन्दर्यताले प्रचुर पर्यटकीय सम्भावनाले भरिपूर्ण धार्चे गाउँपालिकालाई थप लोकप्रिय बनाउँदै लगेको छ । मनास्लु पदमार्गमा पैदल यात्रा क्रममा होस् सवारी साधन चढेरै गएको अवस्थामा होस् पर्यटक एकपटक न्याउली झरनामा पुगेर तस्बिर नखिचाई प्रायः अगाडि कोही बढदैनन् । धार्चेको प्रचारसँगै न्याउली झरनाको प्रचारका लागि निर्माण गरिएका फोटो खिच्ने आकर्षक फ्रेममा पर्यटक टक्क अडिन्छन्, तस्बिर खिचाउँछन् रमाउँछन्, अनिमात्र गन्तव्यतर्फ अगाडि बढ्छन् । ‘झरनाको फेदीमा फोटो खिच्नका लागि बनाइएको आकर्षक संरचनाले न्याउली झरना झनै सिङ्गारिएको रहेछ, झरना नजिकै भेटिएका आन्तरिक पर्यटक गुर्जमान तामाङले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको न्याउली झरनाको सुन्दर फोटोहरुले मन लोभ्याएपछि सदरमुकामदेखि घुम्न आएको हुँ ।’ माथिबाट नै फिँजारिएर झरिरहने निश्चल झरनाले पर्यटकलाई त्यत्तिकै अल्मल्याइदिने गरेको छ । ‘छेउमा पुगेपछि झरनासँगै आएको पानी फोहोराले शरीर नै भिजाइदेला जस्तो, साँच्चै यहाँ आएपछि बेग्लै अनुभूति हुने रहेछ,’ उनले भने, ‘यसैको मज्जा लिन पनि एकपटक त आउनै पर्नेरहेछ भन्ने लाग्यो ।’ गोरखा सदरमुकामबाट आरुघाट, आर्खेत, सोतीबजार हुँदै बूढीगण्डकी नदीको तिरतिरै भएर न्याउली झरना पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताकै उपहारका रुपमा लिन सकिने यस झरनाले पर्यटकको मनमात्र भुलाई दिँदैन मनभित्रका बहलाई पनि बिर्साइदिन्छ । दायाँबायाँ अग्ला पहाड, फेदीमा बूढीगण्डकी नदीको कञ्चन पानीको बहावसँगै पहाडबाट खसेको न्याउली झरनाको फोहोरा मोबाइल र क्यामरामा कैद गर्न पाउँदा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् । न्याउली झरनाको चर्चाले आन्तरिक पर्यटकसमेत घुम्नका लागि आजभोलि दिनुहँजसो त्यहाँ पुग्ने गर्दछन् । विशाल पहाड फोरेर निर्माण गरिएको कच्ची सडकमा जीप, मोटरसाइल र बस नै चढेर पनि पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा न्याउली झरना पर्ने गरेको छ । ‘न्याउली झरना हेर्नकै लागि युवायुवती समूह–समूहमा दिनहुँ आउने जाने गर्दछन्,’ स्थानीयवासी मानबहादुर गुरुङले भने, ‘यसको व्यापक प्रचारप्रसार गर्न धार्चेले प्रशस्त लाभ लिनसक्छ ।’ न्याउली झरना वरपर थप आकर्षक संरचना निर्माणका लागि गाउँपालिकाले योजना बनाइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । ‘अहिले झरनामुनि मोटरेवल पुल निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘उक्त पुल निर्माण सम्पन्न भएपछि झरनासम्म पुग्नका लागि थप आकर्षक संरचना बनाउन डिपिआरको तयारी गरिरहेका छौँ ।’ न्याउली झरनालाई धार्चे गाउँपालिकाले पछिल्लो समय धार्चेको एउटा प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । यसको प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटनमार्फत समग्र धार्चेको विकास र समृद्धिमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको उनले बताए । ‘यो झरनालाई देश तथा विदेशमा चिनाउन अझै सकिएको छैन,’ अध्यक्ष गुरुङले भने, ‘प्रकृतिले दिएको मनोरम उपहारको प्रचारप्रसार गर्नसके यहाँका स्थानीयवासीको जीविकोपार्जनमा समेत परिवर्तन ल्याउन सकिन्छ ।’ अध्यक्ष गुरुङले पर्यापर्यटनमार्फत पनि धार्चे गाउँपालिकाको विकास र समृद्धिलाई अगाडि बढाउन सकिने भएकाले स्थानीय सरकारले योजनाबद्ध ढङ्गले काम सुरु गरेको बताए ।

यी हुन् भारतकी सबैभन्दा धनी मुस्लिम महिला, के छ व्यवसाय ?

काठमाडौं । भारतमा मुस्लिमहरूको आर्थिक अवस्था जटिल विषय हो । हालैका वर्षहरूमा सरकारले मुस्लिमहरूको सामाजिक–आर्थिक अवस्था सुधार गर्न धेरै पहलहरू गरेको छ । अन्य धर्ममा देखिएका धनी र अर्बपतिको संख्या मुस्लिम समुदायमा उस्तै छैन । तर, उनीहरूमध्ये एक महिला पनि छिन् जसले आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । उनी देशकै सबैभन्दा धनी मुस्लिम महिला हुन् । उनको नाम फराह मलिक हो । उनी मेट्रो ब्राण्डकी एमडी हुन् । यो ब्रान्डले प्रिमियम जुत्ता बेच्छ । फराह मलिकको कुल सम्पत्ति २६ हजार करोडभन्दा बढी छ । मेट्रो ब्रान्डलाई नयाँ पहिचान दिन फराहले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । फराह कम्पनीका अध्यक्ष अर्बपति रफिक मलिककी छोरी हुन् । उनका हजुरबुवा मलिक तेजानीले सन् १९५५ मा मुम्बईमा यो कम्पनीको स्थापना गरेका थिए । फराहले मेट्रो जुत्तालाई आधुनिक रिटेल क्षेत्रमा नयाँ युगमा डोर्‍याएको छ । कम्पनीका ब्रान्डहरूमा मोची, मेट्रो र वाकवे समावेश छन् । जुत्ता उद्योगमा २० वर्षको अनुभव फराहसँग जुत्ता उद्योगमा २० वर्षभन्दा बढीको अनुभव छ । उनले कम्पनीको विकासका लागि धेरै पहल गरेका छन् । मेट्रो ब्रान्ड्स लिमिटेडको टेक्नोलोजी रोडम्याप र आपूर्ति श्रृंखला सुधार गर्न फराहको प्रयास सराहनीय थियो । उनले कम्पनीमा मार्केटिङबाट आफ्नो करियर सुरु गरिन् । कम्पनी डिसेम्बर २०२१ मा सूचीबद्ध भएको थियो । स्वर्गीय अर्बपति लगानीकर्ता राकेश झुनझुनवालाकी पत्नी रेखाको मेट्रो ब्रान्डमा अल्पसंख्यक सेयर छ । फराह विवरणहरूमा पूर्ण ध्यान दिन्छिन् । उनीसँग व्यवसायमा विशेषज्ञता छ । फराहलाई विभिन्न शैलीको गहिरो बुझाइ छ। उनको नेतृत्वमा जुत्ता कम्पनीले उत्कृष्ट वृद्धि हासिल गरेको छ । एजेन्सी

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा घुइँचो

गलेश्वर । देशका विभिन्न ठाउँबाट नयाँ वर्ष २०८१ मनाउन आएका आन्तरिक पर्यटकका कारण शुक्रबारदेखि नै म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा घुइँचो लागेको छ । नयाँ वर्ष २०८१ को पहिलो दिन आज सूर्योदयको दृश्यावलोकन गर्नका लागि म्याग्दीको पुनहिल जान आएका पर्यटकका कारण घोडेपानीका होटल खचाखच भरिएका छन् । पुनहिलबाट २०८१ सालको पहिलो सूर्योदय हेर्न देशका विभिन्न ठाउँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी आएका छन् । यहाँ आउने आन्तरिक पर्यटकमधये अधिकांश युवा छन् । म्याग्दी र मुस्ताङका धार्मिकस्थलमा पनि देवीदेवताको दर्शन र पूजन गरी नयाँ वर्ष मनाउन सयौँ व्यक्तिको जमघट भएको छ । कालीगण्डकीमा सङ्क्रान्ति स्नान गरी बेनीको बेनी शिवालय, गलेश्वरधाम, महारानी थानलगायत मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीकोे घुइँचो लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायत क्षेत्रमा आएका छन् । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनमार्फत उनीहरु यहाँ आएका हुन् । पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न तीन दिनयता दैनिक सयौँ पर्यटक घोडेपानी आएका घोडेपानीका होटल व्यवसायी मीना पुनले बताइन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वार भएकाले मुस्ताङ जाने पर्यटकको घुइँचो बेनीमा देख्न सकिन्छ । होटल व्यवसायी पुनका अनुसार नयाँ वर्ष २०८१ को पहिलो दिनको सूर्योदय हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा घुइँचो लागेको छ । मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए । चितवनको जगतपुर र पार्वतीपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आएका हिमाल रिजाल, आरती सापकोटा, विमल पौडेललगायतको समूहका युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गर्ने योजनासहित आएको बताए । केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साबिकको भन्दा उल्लेख्य रुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । चैत अन्तिम सातादेखि नै म्याग्दीमा साबिकको भन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको बेनीका होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिए । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । तर, पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उनको भनाइ थियो । कालीगण्डकीमा स्नान गर्नेको भीड सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । म्याग्दी र पर्वतका विभिन्न गाउँबाट बिहान सबेरै गङ्गा स्नान गर्न कालीगण्डकी आएका छन् । आज वर्षको पहिलो दिन भएकाले गङ्गा स्नानपछि मन्दिरमा पूजा गरेर घर गई मीठामीठा खानेकुरा पकाएर खाने र परिवारसँग बसेर रमाउने गरिन्छ । विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी बताउँछन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ । हिन्दूहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३० दशमलव ४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ । कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो । प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँ पटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकै पटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा स्कन्दपुराणमा उल्लेख छ ।

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई गए राति भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्ने बताएका हुन् । ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरु कसैले नभई आफैँले बनाउनुपर्ने धारणा राखे । ‘नेपाल अरु कसैले आएर बनाइदिँदैन, हामी नेपाली आफैंले बनाउने हो । यो दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्छ । विशेष गरी युवामा यो हुनुपर्छ’, उनले भने । अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको उल्लेख गर्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गरे । उनले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको पनि बताए । अध्यक्ष ओलीले भने, ‘पुराना सबै पार्टी खराब हुन् भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले अफवाहका रूपमा फैलाइएको छ, यी तीनै कुरा गलत हुन् ।’ उनले अहिले जबर्जस्त रूपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट जनतामा निराशा ल्याउने प्रयत्न भइरहेको बताए । नयाँ सत्ता समीकरण बनेसँगै मुलुक सही बाटोमा आएको र अब राष्ट्रिय हित तथा विकासको गति तीव्र ढङ्गले अघि बढ्ने अध्यक्ष ओलीको भनाइ थियो । विगतमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि मुलुकले निकै ठूलो क्षति बेहोर्नुपरेको भन्दै उनले देशका लागि नयाँ सत्ता समीकरण बनाउनुपरेको दाबी गरे । ‘नयाँ समीकरणसँगै परिस्थिति फेरिएको हुँदा अब राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डतालाई साँचो अर्थमा प्रयोग गर्दै हामी सुशासन र विकासको गतिलाई अघि बढाउने, जनताको जीवनस्तर सहज बनाउने काममा जुटेका छौं’, अध्यक्ष ओलीले भने ।