विकासन्युज

पर्यटकलाई नयाँ गन्तव्य भच्चेक-बारपाक-माछिखाेला ट्रेक (तस्बिरहरू)

काठमाडौं । गोरखा जिल्ला पर्यटकहरूका लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्कीट, विभिन्न जातिय सँस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ । पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाँउहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेट बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरुका लागि नयाँ गन्तव्यका रूपमा विकास हुदै गरेको छ, भच्चेक, बारपाक माछीखोला ट्रेक । गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरि धार्चे गाँउपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य हुनसक्छ । उक्त ट्रेकमा भच्चेक बजार, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट गाँउहरु पर्दछ । २०७२ सालको गोरखा भुकम्पले क्षति पुगेका यी गाँउहरुको अवलोकन गर्दै, स्थानिय उत्पादनको स्वाद लिदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न सकिन्छ । राजधानी काठमाडौंको नयाँबसपार्कबाट बाहिन सात बजे भच्चेकको लागि बस छुट्छ । उक्त बसले ३ बजे भच्चेक बजार पुर्याउछ । एक दिन भच्चेक बजारको विभिन्न स्थानहरुको घुमफिर गरि भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । पहिलो दिन भच्चेक, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुदै बारपाकमा बास बस्ने गरि जान सकिन्छ । बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बस तथा विभिन्न यातायातको साधानको प्रयोग गरि समेत बारपाक पुग्न सकिन्छ । करिब १५ सय भन्दा धेरै घर रहेको बारपाक २०७२ सालको गोरखा भुकम्पको केन्द्रविन्दु समेत हो । आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहलपहल देखिने बारपाकले भने भुकम्पपछि आफ्नो मौलिकता गुमाएको छ । परम्परागत घर भत्किएपछि यहाँ आधुनिक र कंक्रिटका घर बनेका छन् । एक दिनको बारपाकको बसाई पछि करिव साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ धार्चे गाँउपालिकाको लाप्राक गाँउ । लाप्राक पुरानो गाँउ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँबस्तीले पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ ।

कालीगण्डकी करिडोर : बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । १४ वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए । ‘६ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ,’ उनले भने, ‘यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ । छ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।’ मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ । मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमी, बेनी–गलेश्वर खण्डमा चार किमी र गलेश्वर–बेगखोला खण्डमा तीन किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको हो । मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुङ्गा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ । मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–लस्ती खण्डमा छ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ । १३ किमी दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा ६ किमी, मार्फा–जोमसोम खण्डमा छ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए । कुल १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब ७ अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ ।

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो । अब केही दिनमै पूर्णरूपले मध्य तमोर जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताए । प्रबन्ध निर्देशक घिसिङले योसँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको बताउँदै यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने बताए । देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै जलविद्युत् हो भन्दै उनले विद्युत आयोजनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नेपाल विद्युत प्राधिकरणको टोली परीक्षण प्रसारण अवलोकनका लागि यहाँ आएको थियो ।

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला हुने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्ने गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए। ‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहे पनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,’ उनले भने। ‍ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्ने गरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ। ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ। ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ। रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ। उनले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताए। ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ। यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए। यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताए। उनले व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख गरे। दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ।

दुई सातामा २ सय हेक्टर वनमा डढेलो

काठमाडौं । एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन् । डिभिजन वन कार्यालय गुल्मीले दिएको जानकारीअनुसार जिल्लामा आजसम्म दुई सयभन्दा बढी हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ । दिनहुँजसो हुने आगलागीका घटनाले मानिसलाई आतङ्कित बनाउन थालेको छ । कहिले दिनमा त कहिले रातमा हुने गरेका आगलागीका घटनाले जङ्गल छेउछाउका स्थानीय बासिन्दा रातको समयमा पालो गरी सुत्नुपर्ने बाध्यता छ । रातमा सुतिरहेको अवस्थामा कहीँ कतैबाट गाउँमा आगो आउँछ कि भनेर मानिसमा त्रासैत्रासमा रात गुजार्ने गर्दछन् । जब गर्मी मौसम सुरु हुन्छ तब यस्ता आगलागीका घटना बढ्दै जाने गर्दछन् । गत दुई साताको अवधिमा गुल्मीको रेसुङ्गा, गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, इस्मा, कालीगण्डकीलगायत पालिकामा बढी मात्रामा डढेलो लागेको छ । निजी जङ्गलमध्ये ६० हेक्टरमा डढेलो लागेको छ । निजी जङ्लको तुलनामा सामुदायिक वन क्षेत्रमा आगलागीको घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत राजन कुँवरले जानकारी दिए । जङ्गलमा आगो लगाएपछि राम्रोसँग घाँस पलाउने, आगोले जङ्गलमा रहेका काठदाउरा सुक्ने हुँदा घाँस तथा दाउराको लोभमा वनमा डढेलो लगाउने बताइएको छ । मानिसमा चेतनाकै अभावका कारण गुल्मी जिल्लामा दिनहुँ आगलागीका घटना बढेको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत पङ्कजकुमार ठाकुरले बताए । उनका अनुसार आगो लागाउने व्यक्तिलाई कडा सजायको व्यवस्था छ तर आगो कसले लगाएको हो भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएका कारण कतिपय घटनामा आवश्यक कानुनी कारबाही प्रक्रियाअघि बढाउन नसकिएको बताए । आगलागीका कारण स्थानीयवासीलाई मात्र नभई जिल्लास्थित सुरक्षाकर्मीलाई हैरानी थपिएको छ । आगलागीको जानकारी पाएपछि प्रहरी र नेपाली सेना आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेर आगो निभाउने काममा सक्रिय बनेका हुन्छन् । यसले स्थानीयवासीलाई जोखिमबाट जोगाउनेमा थप मद्दत मिलेको छ । गत १४ वर्षअघि इस्मा गाउँपालिकाअन्तर्गत हस्तिचौर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा एउटै गाउँका रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्रीको अकालमै ज्यान गयो । त्यसैगरी, गत आठ वर्षअघि मदाने गाउँपालिकाअन्तर्गत मलायगिरीको धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा स्थानीय कमल खड्का र इस्मा गाउँपालिकास्थित दोहलीका तुल्सी लामा गुरुङ, लोकबहादुर गुरुङ र गोपाल सुनारको पनि डढेलो नियन्त्रणको क्रममा आगोमा परेर ज्यान गएको थियोे । जिल्लाका विभिन्न जङ्गलमा अहिले पनि डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सुरक्षाकर्मीबाहेक स्थानीयको खासै चासो देखिँदैन । आगलागी नियन्त्रणकै क्रममा पछिल्लो पाँच वर्षको अवधिमा ११ जनाको ज्यान गइसकेको छ तर राहतको प्रतीक्षामा बसिरहेका पीडित परिवाले भने अझैसम्म पनि राहत पाउन नसकेको मृत लोकबहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले बताए । उनले राहतका लागि कार्यालय, जिल्ला प्रशासनदेखि नेतालाई भने पनि पीडित परिवारले अझैसम्म राहत नपाएको गुनासो गरे ।

नयाँ बसपार्क पनि चौबिसै घण्टा खुलाइने, स्थानीयवासीलाई असर नपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताएका छन् । मित्रनगर विकास तथा सुधार समिति आज नयाँ बसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ मा बोल्दै ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताएका हुन् । “देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४ सै घण्टा सञ्चालन गर्छौं, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ”, उनले भने । उनले बजार २४ सै घण्टा खुलाउँदा स्थानीयवासीलाई असर पर्न नहुने उल्लेख गरे । वडाध्यक्ष तिवारीले अबको दुई महिनाभित्र नयाँ बसपार्क आसपासका सडक कालोपत्रे भइसक्ने उल्लेख गरे । काठमाडौं महानगरपालिकाको वडा नं २६ मा ठमेलसहित नयाँ बसपार्कसमेत पर्दछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सकेमात्र नयाँबसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने बताए । “रातको समयमा नयाँ बसपार्कमा सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४ घण्टा खोल्नु जरुरी छ”, उनले भने । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष गङ्गा पन्तले नयाँबसपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउन समितिले काम गरिरहेको उल्लेख गरे । उनले नयाँबसपार्क क्षेत्रको विकृति विसङ्गति अन्त्यका लागि स्थानीय टोलबासी, तीनै तहका सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । उक्त समितिले विगत वर्षमा ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’ समेत आयोजना गरेको थियो । रासस

लाभांश पारित गर्न सूर्यज्योतिले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आगामी बैशाख २१ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा आफ्नो १६औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो । उक्त निर्णय चैत २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सभाले कम्पनीको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले चुक्ता पुँजीको १०.२६ प्रतिशतका दरले ४६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदै छ । साथै, बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको भिन्न अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यतावत राख्ने समितिको प्रस्ताव छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी बढेर पाँच अर्ब नाघ्ने छ । त्यसैगरी, सभाले आर्थिक वष २०७९/८० को वार्षिक प्रतिवेदन लगायतका विभिन्न विवरणहरु पारित गने छ । साथै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै बैशाख ६ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।

‘बीमा कम्पनीहरू कानूनको पालना गर्दै अघि बढ्नुपर्छ, कमी कमजोरी दोहोर्याउनु हुन्न’

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू कानूनको परिपालना गर्दै विश्वसनीय, जवाफदेही र पारदर्शी किसिमले अगाडि बढ्नुपर्ने बताएका छन् । प्राधिकरणद्वारा नववर्ष २०८१ सालको पूर्वसन्ध्यामा प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित ‘नववर्ष २०८१ सालको शुभकामना आदान-प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्येक बीमा कम्पनीले गन्तव्य तय गरी सोही अनुसार नीति, रणनीति र कार्यक्रम बनाई गन्तव्यमा पुग्नेगरी कार्य गर्नुपर्ने आवश्यकता औंल्याए । ‘समग्र बीमा उद्योगलाई अघि बढाउन विश्वसनीयता कायम हुनुपर्छ, विगतका उपलब्धीको दिगोपनामा जोड दिनुपर्छ, सहकार्यलाई बढी प्रभावकारी बनाउनुपर्छ, सेवाको लागत घटाउन र दक्षता अवभिवृद्धि गर्न व्यापकरूपमा नविनतम् प्रविधि अवलम्बन गर्नुपर्छ, कमी कमजोरीलाई दोहोरिन दिनु हुँदैन ।’ अध्यक्ष सिलवालले भने । अध्यक्ष सिलवालले बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने गरेको उल्लेख गर्दै बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै छिटोछरितो रूपमा बीमा दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहबाट नागरिकको विश्वास जित्न सकिने र बीमाको दायरा पनि फराकिलो हुँदै जाने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी, नेपाल बीमक सङ्घ र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष, विभिन्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्राधिकरणको नयाँ वेभसाइट शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेका छन् । शुक्रबारकै कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गर्दै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेभसाइट संचालनमा ल्याएको बताए । अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने जानकारी दिँदै बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारवाही लगायत समग्र विषयमा नयाँ वेभसाइटबाट जानकारी प्राप्त हुने बताउँदै आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेभसाइटलाई परिमार्जन गर्दै लगिने बताए । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारीले नयाँ वेभसाइटबाट प्राधिकरणको केन्द्रीय कार्यालयका साथै प्रादेशिका कार्यालयका समग्र गतिविधिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए । प्राधिकरणको नयाँ वेभसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेका छन् ।