बेनीमा पर्यटक सूचना केन्द्र
म्याग्दी । म्याग्दीमा भित्र्ने पर्यटकहरुलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलको बारेमा जानकारी गराउने उद्देश्यले बेनीमा आजदेखि पर्यटक सञ्चालन केन्द्र सञ्चालन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको प्रमुख नाका कालीपुल बसपार्कमा स्थापना भएको सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको बताए । ‘म्याग्दी भ्रमण वर्षका अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि विसं २०७७ देखि बन्द भएको थियो,’ उनले भने, ‘३ वर्षपछि पुनःसञ्चालनमा ल्याइएको सूचना केन्द्रमा एकजना कर्मचारी राखेका छौँ ।’ सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरुको बिक्री कक्षसहितको कोसेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । म्याग्दीका छवटा स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण, समन्वय गर्नेछन् । स्थानीय तह र निजी क्षेत्रको समन्वयमा सूचना केन्द्रलाई दीर्घकालीन हिसाबले सञ्चालन गर्नुपर्ने जिसस प्रमुख थापाले बताए । सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले रु २५ लाख बढी बजेट खर्चेर भवन बनाएका थिए । नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ । उद्योग वाणिज्य संघ, जेसिजलगायत संघ, संस्थाले म्याग्दीका पर्यटकीय क्षेत्रका नक्सा, गाइड बुक र ब्रोसर राखेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताए ।
दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य
तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ थियो । अहिले प्रतिकिलो २ सय रुपैयाँले बिक्री भइरहेको छ । कोशी प्रदेश सरकारको ३ करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको १ करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ । प्रतिकेजी २ रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ–२ की मेनुकाकुमारी श्रेष्ठले बताइन् । ‘हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो । बिक्री भइहाले पनि रु ५० किलो व्यापारीले मागिरहेका थिए । अहिले तीन गुणा बढी मूल्य पायो हामी खुसी छौँ,’ श्रेष्ठले भनिन् । यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ–२ का मोतीराज तुम्बाहाङ्फे बताए । ‘साथीहरूले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ,’ उनले भने । विसं २०७० मा दर्ता भएको कियाचु कृषि सहकारीमार्फत मेयङलुङ शीतभण्डार गत सालदेखि सञ्चालित छ । किसानमा शीतभण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीतभण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ । यस वर्ष शीतभण्डारमा किवि तीन हजार किलो, सुन्तला दुई हजार किलो भण्डारण गरिएको छ । अब आलुको बीउ भण्डारणको तयारी भइरहेको व्यवस्थापक लिम्बूको भनाइ छ । हिउँदमा खान पाइने सुन्तला चैत वैशाखमा किनेर खान पाएकोमा स्थानीय उपभोक्ता समेत खुसी छन् ।
बाँकेका १६ सीमा स्तम्भ हराए, १७१ स्तम्भ जीर्ण
राँझा । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल–भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए । ‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् । अन्य केही जीर्ण अवस्थामा छन्,’ सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, ‘हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो ।’ नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन् । कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ । सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको प्रहरी उपरीक्षक डाँगीको भनाइ छ । दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ । सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका छन् । दुई देशको संयुक्त टोलीले फाइनल गर्न बाँकी एक सय ७१ सीमा स्तम्भकोे मर्मत र रङरोगन हुन नसक्दा जीर्ण बनेका छन् । बाँकेको सीमा क्षेत्रमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा नेपालतर्फ सशस्त्र प्रहरीले सीमामा बाक्लो उपस्थिति जनाउन सकेको छैन । ६५ किलोमिटरमा सशस्त्र प्रहरीले १० बोर्डर आउट पोष्ट (बिओेपी) राखेर सुरक्षा दिइरहेको छ । भारततर्फ भने २३ बिओपी रहेका छन् । नेपालतर्फ जानकी गाउँपालिकाको साइगाउँमा एउटा बिओपी थप्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नयाँ वर्षसँगै सातै प्रदेशमा पठाओको सेवा सुरु
काठमाडौं । राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । ‘स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउदैँ काठमाडौं उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा हामी निकै उत्साही छौँ,’ बस्न्यातले भने । कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा बिस्तार भएको छ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भइसकेको छ । यस अगाडि सेवा बिस्तारको योजनामा समावेश नभए पनि स्थानियको माग अनुसार सुदूरपश्चिम प्रदेशको विरेन्द्रनगरमा समेत सेवा बिस्तार गरिएको बस्न्यातले बताए । भविष्यमा अन्य नयाँ सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ । नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार भएको बताइएको छ । बाइक राइडर बन्न इच्छुकले पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् । नविकरण गरिएको लाइसेन्स र बिलबुकसँगै इन्स्योरेन्स कागजात सहित पठाओमा आबद्धत हुन सकिन्छ । कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा प्रदान गर्न सकिन्छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन ९ट्याक्सी चालक० र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ । कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्छन् । एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा लिन सक्छन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।
पूँजीवाद विकासमा के छ कफीको योगदान ?
काठमाडौं । कफी संसारभरिका लाखौं मानिसको दैनिक आवश्यकता हो, तर के तपाईंलाई थाहा छ यो कहाँबाट आउँछ र यसले शरीरमा कस्तो प्रभाव पार्छ ? न्युयोर्कको व्यस्त सडकदेखि इथियोपियाको शान्त पहाडहरूमा कफी लाखौं मानिसको दैनिक जीवनको आधारभूत आवश्यकता हो । कफीले १५औं शताब्दीभन्दा बढी समयदेखि मानव सभ्यतामा महत्त्वपूर्ण स्थान राखेको छ । केही मानिसले यसको प्रभावलाई १७औं-१८औं शताब्दीमा पुनर्जागरणमा बढावा दिएको रूपमा वर्णन गरेका छन् । त्यहाँ आधुनिक संसारका धेरै बौद्धिक र सांस्कृतिक विचारहरूको जग राखिएको थियो । कफीको मुख्य तत्व क्याफिन हो । यो अहिले संसारमा सबैभन्दा बढी खपत हुने मनोवैज्ञानिक पदार्थ मानिन्छ, जसले हाम्रो सोच्ने र बुझ्ने तरिकालाई असर गर्छ । कहाँबाट आयो कफी ? कफीको काफिया अरेबिका नामक बिरुवाबाट निकालिन्छ, जुन मूल रूपमा इथियोपियामा पाइन्छ । विश्वको कुल कफी उत्पादनको ९० प्रतिशतभन्दा बढी विकासोन्मुख देशहरूबाट आउँछ । दक्षिण अफ्रिका बाहेक यसमा मुख्यतया भियतनाम र इन्डोनेसिया समावेश छ । एकै समयमा यो औद्योगिक अर्थव्यवस्थाहरूमा सबैभन्दा बढी प्रयोग गरिन्छ । भनिन्छ, नवौं शताब्दीमा काल्डी नामका बाख्रा पालनकर्ताले कफीको फल खाएपछि आफ्नो बाख्राको ऊर्जास्तर बढेको देखे । त्यसपछि उनले आफैंमा यो प्रयास गरे । त्यसपछि स्थानीयले त्यसलाई भिजाएर बिरुवाको पातबाट चिया बनाएर खान थाले । ऐतिहासिक विवरणहरूले १४औं शताब्दीमा कफी बिन्स रोस्ट गरेर पेय पदार्थ तयार गर्ने पहिलो यमनका सूफीहरू थिए भनी संकेत गर्दछ, जसलाई आज कफी भनेर चिनिन्छ । १५औं शताब्दीसम्ममा ओटोमन साम्राज्यमा कफी घरहरू फैलिएका थिए । पछि तिनीहरू युरोपमा फैलिए, जुन त्यहाँ व्यापार, राजनीति र नयाँ विचारहरूको सिर्जनाको केन्द्र बन्यो । २०औं शताब्दीका प्रसिद्ध जर्मन दार्शनिक र समाजशास्त्री जुर्गेन हेबरमास जस्ता केही विद्वानहरूले कफीको प्रभाव विना प्रबुद्धता हुने थिएन भनी पनि भन्छन् । हेबरमासका अनुसार १६औं र १८औं शताब्दीमा कफी घरहरू आलोचनाको केन्द्र बन्यो, जहाँ सार्वजनिक राय र विचारहरू बनाइयो । पूँजीवादको विकासमा कफीको योगदान यो मानिन्छ कि प्रमुख विद्वानहरू पनि कफीको ठूलो प्रशंसक थिए । फ्रान्सेली दार्शनिक भोल्टेयरले दिनमा ७२ कप कफी पिउने गर्थे । उनका स्वदेशी डिडेरोटले आफ्नो २८ खण्डको ‘इनसाइक्लोपिडिया’ तयार गर्न कफीमा भर परेका थिए । अमेरिकी लेखक माइकल पोलनका अनुसार इनसाइक्लोपिडियालाई प्रबुद्धताको सिद्धान्त कृतिका रूपमा हेरिन्छ । एन्थ्रोपोलोजिस्ट प्रोफेसर टेड फिशर संयुक्त राज्य अमेरिकाको भान्डरबिल्ट विश्वविद्यालयको कफी अध्ययन संस्थानका निर्देशक हुन् । पुँजीवादको उदयमा कफीको पनि महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘कफीले इतिहासको पाठ्यक्रम परिवर्तन गर्यो र विचारहरूको विकासलाई प्रोत्साहित गर्यो, जसले प्रबुद्धता र पुँजीवादको जन्म भन्छन् । उनी थप्छन्, ‘प्रजातन्त्र, तर्कसंगतता, अनुभववाद, विज्ञान र पुँजीवादको उपभोग लोकप्रिय भएको बेलामा आएको यो मलाई दुर्घटना जस्तो लाग्दैन। यसले पदार्थ, धारणा र एकाग्रतालाई विस्तार गर्छ। यो निश्चित रूपमा सन्दर्भको अंश थियो । जसले पुँजीवादलाई निम्त्यायो ।’ ‘त्यस समयमा व्यवसायीहरूले उत्पादकता बढाउन कफी प्रयोग गर्न सकिन्छ भन्ने महसुस गरे, त्यसैले उनीहरूले आफ्ना कर्मचारीहरूलाई कफी सेवा दिन थाले र अन्ततः उनीहरूलाई कफी ब्रेकहरू दिए,’ फिशर भन्छन् । कफीको अँध्यारो पक्ष कफीको इतिहासको पनि अँध्यारो पक्ष छ। यसले दासहरूको शोषणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । फ्रान्सेलीहरूले हाइटीमा बगैंचामा अफ्रिकी दासहरू प्रयोग गर्थे । यसैबीच, ब्राजिलले सन् १८०० को प्रारम्भमा अफ्रिकी दासहरू प्रयोग गरेर विश्वको कफीको एक तिहाइ उत्पादन गरिरहेको थियो । आज संसारमा हरेक दिन २ अर्ब कपभन्दा बढी कफी खपत गरिन्छ । यसरी यसले हरेक वर्ष ९० अर्ब अमेरिकी डलरको उद्योगमा योगदान पुर्याउँछ । गैरसरकारी संस्था (एनजीओ) हेफर इन्टरनेसनलले विश्वभरि गरिबी र भोकमरी उन्मुलन गर्न काम गर्दछ । यसका अनुसार ६ सय वर्षमा निकै कम परिवर्तन भएको छ । हेफरका अनुसार मानिसहरूको रङ अझै पनि कफी उद्योगको मेरुदण्ड बनेका छन्, उनीहरू कम पैसामा काम गर्छन् । विश्वका ५० देशका १२ करोड ५० लाख मानिस आफ्नो जीवनयापनका लागि कफीमा निर्भर छन् । यीमध्ये आधाभन्दा बढी मानिस गरिबीमा बाँचिरहेका छन् । कफीले शरीरलाई कसरी असर गर्छ ? कफी पिएपछि कफीमा रहेको क्याफिन पाचन प्रणाली हुँदै आन्द्रा हुँदै रगतमा मिसिन्छ । तर, यसको प्रभाव स्नायु प्रणालीमा पुगेपछि सुरु हुन्छ । यो शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एडेनोसिन नामक रसायनसँग क्याफिनको समानताका कारणले हुन्छ । एडेनोसिनले सामान्यतया सहानुभूतिशील स्नायु प्रणालीलाई सुस्त बनाउँछ । यसले मुटुको धड्कन घटाउँछ र सुस्तता र आरामको भावना सिर्जना गर्छ । क्याफिनले स्नायु कोशिकाहरूको सतहमा एडेनोसिन रिसेप्टरहरूसँग बाँध्छ, जस्तै तालामा चाबी फिट हुन्छ । तर, यी रिसेप्टरहरूलाई रोकेर यसले उल्टो प्रभाव उत्पन्न गर्छ । यसले रक्तचापलाई थोरै बढाउन सक्छ, मस्तिष्क गतिविधि बढाउन सक्छ, भोक घटाउँछ र सतर्कता बढाउँछ। यसले लामो समयसम्म एकाग्रता बढाउन सक्छ । क्याफिनले मूड सुधार गर्न, थकान कम गर्न र शारीरिक क्षमता सुधार गर्न प्रभाव पार्न सक्छ । एथलिटहरूले कहिलेकाहीं यसलाई पुरक आहारका रूपमा पनि प्रयोग गर्छन् । क्याफिनको यो प्रभाव १५ मिनेटदेखि दुई घण्टासम्म रहन सक्छ । शरीरले क्याफिन लिएको पाँच देखि १० घण्टापछि हटाउँछ, तर यसको प्रभाव लामो समयसम्म रहन सक्छ । तपाईं एक दिनमा कति कफी पिउन सक्नुहुन्छ ? क्याफिनको अधिकतम लाभ प्राप्त गर्न विशेषज्ञहरूले यसलाई सीमित मात्रामा लिन सल्लाह दिन्छन् । विज्ञहरू भन्छन्, ‘जब तपाइँ आफ्नो पहिलो कप कफी पिउनुहुन्छ, लामो समयसम्म यसको प्रभाव कायम राख्न दिउँसो कफी पिउनबाट टाढा रहनुहोस् ।’ विशेषज्ञहरूका अनुसार एक स्वस्थ वयस्कका लागि क्याफिनको दैनिक सीमा ४ सय मिलिग्राम हो । यो कफीको चार /पाँच कपबराबर हो । प्रत्येक व्यक्तिको सीमा फरक हुन्छ । यो सीमाभन्दा बढी क्याफिन सेवन गर्दा अनिद्रा, चिन्ता, मुटुको धड्कन बढ्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र टाउको दुख्नेजस्ता साइड इफेक्ट हुन सक्छ । अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसनका विज्ञहरूले पनि १२ सय मिलिग्राम क्याफिन ९लगभग १२ कप कफी० को धेरै छिटो खपतले साइड इफेक्ट हुन सक्ने चेतावनी दिएका छन् । हार्वर्डको टीएच चान स्कुल अफ पब्लिक हेल्थका डा. माटियास हेनका अनुसार थोरै मात्रामा कफी पिउनाले स्वास्थ्यमा राम्रो प्रभाव पार्न सक्छ । यसले मृत्यु र धेरै रोगहरूको जोखिम कम गर्न सक्छ । दिनमा दुईदेखि पाँच कप कफी पिउनाले मृत्युदर मात्र नभई मधुमेह, मुटु रोग र केही प्रकारको क्यान्सरको जोखिम पनि कम गर्ने हेनले बताइन् । त्यसोभए अर्को पटक तपाईंले कफीको कप लिँदा यसको अहिलेसम्मको यात्राको बारेमा सोच्न सक्नुहुन्छ । बीबीसी
५० लाख लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए । तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रुपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउँछन् । यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा छन् । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उहाँपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
कर छलेर ल्याइएका ६ लाखका सामान बरामद
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो । बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् । ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताए ।
पर्यटकलाई नयाँ गन्तव्य भच्चेक-बारपाक-माछिखाेला ट्रेक (तस्बिरहरू)
काठमाडौं । गोरखा जिल्ला पर्यटकहरूका लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्कीट, विभिन्न जातिय सँस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ । पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाँउहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेट बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरुका लागि नयाँ गन्तव्यका रूपमा विकास हुदै गरेको छ, भच्चेक, बारपाक माछीखोला ट्रेक । गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरि धार्चे गाँउपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य हुनसक्छ । उक्त ट्रेकमा भच्चेक बजार, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट गाँउहरु पर्दछ । २०७२ सालको गोरखा भुकम्पले क्षति पुगेका यी गाँउहरुको अवलोकन गर्दै, स्थानिय उत्पादनको स्वाद लिदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न सकिन्छ । राजधानी काठमाडौंको नयाँबसपार्कबाट बाहिन सात बजे भच्चेकको लागि बस छुट्छ । उक्त बसले ३ बजे भच्चेक बजार पुर्याउछ । एक दिन भच्चेक बजारको विभिन्न स्थानहरुको घुमफिर गरि भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । पहिलो दिन भच्चेक, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुदै बारपाकमा बास बस्ने गरि जान सकिन्छ । बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बस तथा विभिन्न यातायातको साधानको प्रयोग गरि समेत बारपाक पुग्न सकिन्छ । करिब १५ सय भन्दा धेरै घर रहेको बारपाक २०७२ सालको गोरखा भुकम्पको केन्द्रविन्दु समेत हो । आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहलपहल देखिने बारपाकले भने भुकम्पपछि आफ्नो मौलिकता गुमाएको छ । परम्परागत घर भत्किएपछि यहाँ आधुनिक र कंक्रिटका घर बनेका छन् । एक दिनको बारपाकको बसाई पछि करिव साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ धार्चे गाँउपालिकाको लाप्राक गाँउ । लाप्राक पुरानो गाँउ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँबस्तीले पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ ।