विकासन्युज

पूर्वप्रधानमन्त्री खनाल र सचिव शाहलाई निर्वाचनको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो । चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए । पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।

भिभोको नयाँ स्मार्टफोन भिभो भी ३० लाइट बजारमा

काठमाडौं । भिभोले नयाँ वर्षको उपलक्ष्यमा सनिबार नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक गरेको छ । स्टाईल, कार्यक्षमता र कार्यसम्पादनको उत्तम मिश्रण भिभो भी ३० लाईटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथसाथै ८० वाटको फास्ट चार्गिङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनि प्रदान गरेको छ । कम्पनीका अनुसार भिभो भी ३० लाईटलाई एउटा फोन मात्र नभई नेपाली स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने तत्वको रुपमा हेरिएको छ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ । साथै, यसको अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको साथ, तपाईंले सुविधा र सुरक्षा सुनिश्चित गर्दै, केवल आफ्नो औंलाको स्पर्शले फोन अनलक गर्नसक्नेछन् । स्लीक र हल्का वजन भएको यो फोनलाई मेटालिक हाईग्लस फ्रेमले प्रिमियम फिनिश प्रदान गर्दछ । चाहे ड्रीमी ब्रीज ग्रीन रोज्नुस् या क्लासिक क्रिस्टल ब्ल्याक यसको अद्वितीय सौन्दर्यताले मोहित पार्दछ । क्रिस्टल ब्ल्याकमा, भी ३० लाईट केवल यसको ७।७९ मिलिमिटर थिक्नेश र १८९ ग्राम वजन मापनको साथ अल्ट्रास्लीक प्रोफाइलमा चम्कन्छ, भने ब्रीज ग्रीन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ्ग डिजाईन फिचर गर्दछ , जस्को ब्याक प्यानल सुर्यको प्रकाश साथसाथै यू भि रेजको सम्पर्कमा गहिरो हरियोमा रूपान्तरण हुँदै तपाईंको स्टाईलमा जादूको स्पर्श थप्दछ । भिभो भी ३० लाईटमा लूक मात्र नभई यस्को ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथ चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्बिरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सक्नेछन् । ८+८ जीबीको एक्सटेन्डेड र्याम र २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेको यस फोनले तपाईंको सबै फोटो र भिडियोहरूको लागि पर्याप्त ठाउँ प्रदान गर्दछ भने स्नैपड्रैगन ६८५ चिपसेटले प्रतिदिनका कामहरूलाई सहजतासाथ निर्वाह गर्दछ । भिभो भी ३० लाईटमा थप, ठूलो ५००० एम ए एच ब्याट्री रहेको छ जसमा ८० वाटको फ्ल्यास चार्जको साथ – मात्र ३० मिनेटमा तपाईंलाई ८० प्रतिशत पुनर्जीवित गर्दछ र भिभोको अभिनव ब्याट्री स्वास्थ्य सुविधाबाट, तपाईंले ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंग ग्यारान्टीको सुनिश्चिता पाउनेछन् । भी ३० को अपार सफलता पछी, भिभो भी ३० लाईटले पनि आफ्नो नवीनता र उत्कृष्टताको विरासतलाई जारी राख्दै, ३३,९९९ रुपैयाँको अफर्डेबल मूल्यमा उपभोक्ताहरूलाई उन्नत सुविधाहरू प्रस्तुत गर्दछ । यो वैशाख २ देखि सबै भिभोको अधिकृत रिटेल स्टोर र दराज अनलाइनमा उपलब्ध हुनेछ । नयाँ वर्षको विशेष अवसरको रुपमा भिभोले पहिलो २००० ग्राहकहरुका लागी फ्री क्लिपबड्सको पनि व्यवस्ता गरेको छ, जस्ले भिभो भी ३० लाईटलाई अझै आकर्षित बनाएको कम्पनीले जनाएको छ ।

गरिमा विकास बैंकका निवर्तमान सीईओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरू, गरिमा म्युचुअल फन्डका कोष सुपरिवेक्षक, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारी तथा अन्य कर्मचारीसमेतको उपस्थिति रहेको थियो । विगत १५ वर्षदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएसँगै बैंकको चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । पद तथा गोपनियताको शपथ ग्रहणपश्चात् बोल्दै नवनियुक्त सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी बैंकलाई थप उचाइँमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी निवर्तमान सीईओ ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंकलाई यो उचाइँसम्म पुर्याउनका लागि निवर्तमान सीईओ खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त सीईओको नेतृत्वमा बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारेकी थिइन् । साथै, सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित गरेको छ । स्थापनाको पाँच वर्ष पूरा गरेको यस संस्थाले गत आर्थिक वर्ष सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४ हजार २४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको  क्रम बढ्दै गएको छ । मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो । आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले ठूलो लगानीमा होटल तथा रिसोर्ट खोल्न थालेका हुन् । केही समयअघिसम्म दुई/तीन वटा मात्र होटल देखिने निकुञ्ज वरिपरि अहिले दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट खुलेका होटल व्यवसायी सुमन श्रेष्ठले बताए । ‘निकुञ्जभित्र र बाहिर थुप्रै होटल तथा रिसोर्ट खुलेका छन्,’ श्रेष्ठले भने, ‘अझै खुल्ने क्रम जारी छ ।’ पर्सा निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर होटल खुलेका हुन् तर निकुञ्जमा पर्यटक नआउँदा समस्या भएको उनले बताए । निकुञ्ज नजिक दुई करोड ५० लाख रुपैयाँको लगानीमा  रिसोर्ट निर्माण भएको छभने मध्यवर्ती क्षेत्रको बफर जोनमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । हात्तीको प्रमुख बासस्थान मानिएको  निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या पनि बढ्दै गएको छ । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।  पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम क्रमशस् बढेको  निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए ।  चालु आर्थिक वर्षको आठ महिनामा ६ सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ जना, र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताए । अघिल्लो आवको सोही अवधिमा एक सय ४० जना पर्यटकले मात्र निकुञ्ज भ्रमण गरेका थिए । कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

एक दर्जन बैंकले घटाए ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा प्रयाप्त तरलता भएपछि बैंकहरूले थप ब्याजदर घटाएका छन् । बैशाख महिनाका लागि विभिन्न १२ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । प्राइम बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, मछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले बैशाख महिनाका लागि ब्याजदर घटाएका हुन् । प्राइम बैंकको ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल एसबिआई बैंकले ०.४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो । कुमारी बैंकले ०.२५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण थियो । लक्ष्मी सनराइज बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सानिमा बैंकले ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण थियो । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.४५ प्रतिशत घटाएर ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो । नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो । मछापुच्छ्रे बैंकले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६५ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.८ प्रतिशत घटाएर ७.७५० प्रतिशत र संस्थागततर्फ ०८४८ प्रतिशत घटाएर ६.७० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ८.५४८ प्रतिशत र संस्थागततर्फ ५.५४८ प्रतिशत ब्याजदर तोकेको थियो ।  

मिथिलामा वासन्ती छठ मनाइँदै

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरी सकेका छन् । ‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर व्रर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन व्रतालुले व्रत संकल्प गर्ने चलन छ । व्रतालुले षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । अब भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई व्रतालुले व्रत समापन गर्नेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ । शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । भोलि सप्तमीका दिन बिहान घाटमै उदाउँदा सूर्यलाई अघ्र्य (भोरका अरख) दिएपछि यो पर्व समापन हुन्छ । छठ पर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीलगायत सामग्री व्रतालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा जाम्बवतीका गर्भबाट उत्पन्न कृष्णका पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै बेलादेखि यो प्रारम्भ भएको मानिन्छ । यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ । चैती छठसँगै मिथिलामा आज नयाँवर्ष प्रारम्भमा जुडशीतल र वासन्ती नवरात्र (चैते दसैँ) पनि मनाइँदैछ । मिथिलामा वैशाख सङ्क्रान्ति र त्यसको भोलिपल्ट गरी दुई दिन जुडशीतल मनाइन्छ । पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिन (आज, वैशाख २ गते) लाई ‘जुडशीतल’ भनिन्छ । पर्वका अवसरमा आज हिलो खेलेर वर्षौंभरि सहकालको कामना गरिन्छ । पर्वमा दहीकरी, बरीकरी, काँचो केरा, लौका र परवलका तरुवा, सजिउनको तरकारी पनि खाने परम्परा छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । रासस

नवलपुरमा चैते धान उत्पादन बढ्यो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ । यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताए । ‘चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आवमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो,’ उनले भने, ‘जिल्लामा पछिल्लो दुई÷तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।’ आव २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो । पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो भने अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएकाले क्षेत्र विस्तार भएको ढकालले बताए । सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन् । चैते धान खेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ । बालीविज्ञ ढकालले भने, ‘जिल्लामा गत आवमा चैते धानको उत्पादन ६ हजार एक सय २३ मेट्रिक टन भएको थियो भने यो सिजनमा क्षेत्र बढेकाले ६ हजार सात सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।’ वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेको उनको बुझाइ छ । कतिपय स्थानमा किसानले एउटै धानको बीउ धेरै वर्षसम्म लगाउँदा उत्पादनमा वृद्धि हुन नसकेको ढकालले बताए । जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा अनुदान प्रदान गरेको छ,’ उनले भने, ‘जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन् ।’ जिल्लाको भौगोलिक अवस्थाअनुसार माघ अन्तिम हप्तादेखि सुरु भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको प्रमुख तिवारीले बताए । जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उनले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र धान निर्यात गर्न सकिने बताए । रासस