होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न , टेक्निसियन पुरस्कृत
काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्रि पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ । उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरि ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकि द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतिय पुरस्कार प्राप्त गरे । नगद पुरस्कार को रासी प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतियले २० हजार साथै सबै सहभागी हरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर, ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुशार टेक्निसियनहरु होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनि प्रा.लि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्यक क्षेत्र बाट २/२ जना छनोट गरि राष्ट्रिय स्तरको प्रतियोगितामा संचालन गरिएको थियो । स्याकार ट्रेडिङ कम्पनिले विगत केहि वर्ष देखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गदै आएको बताएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनिको भनाई छ ।
भाडा तिर्न नसकेपछि विदेशिँदै होटेल व्यवसायी
तुलसीपुर । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि यहाँका होटेल व्यवसायी मारमा छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीको भनाइ छ । ‘होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन्’, उनले भने, ‘व्यवसायी पलायन हुने अवस्थामा छ ।’ होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने माग होटेल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कराज काफ्लेले गरे । होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाइ छ । ‘होटेल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो’, उनले भने, ‘यसमा राज्यले चासो दिनुपर्छ ।’ पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए । यसमा होटेल व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले होटेल व्यवसायीलाई लगानी गर्ने वातावरणसमेत नरहेको बस्नेतको भनाइ छ । ‘धेरै होटेल व्यवसायी पलाइन भइसके’, उनले भने ‘अझै पलायन हुने अवस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन ।’ दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन् । तर, अधिकांश होटेलहरुले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए । दाङ प्रदेशको राजधानी भए पनि टरिगाउँ विमानस्थल नियमित सञ्चालन नहुँदा पनि बाह्य मानिस आउन नपाउँदा होटेल चल्न नसकेको उनले बताए । रासस
चकलेटको भाउले कीर्तिमान कायम गर्नुमा जलवायु परिवर्तन जिम्मेवार छ ?
काठमाडौं । चकलेट शताब्दीयौंदेखि विश्वभरि मनपर्ने चीज हो । तर, फेब्रुअरी २०२४ मा चकलेटको मूल्यले कीर्तिमान हासिल गरेको छ । अर्थात्, मूल्यवृद्धि भएको छ । चकलेटमा प्रयोग हुने कोकोको मूल्य अमेरिकी बजारमा प्रतिटन दोब्बर बढेर ५ हजार ८ सय ७४ डलर पुगेको छ । त्यसयता निरन्तर भाउ बढ्दै गएको छ । यो वृद्धिका कारण कोको उत्पादनमा गिरावट हुन सक्छ । विश्वमा आपूर्ति हुने अधिकांश कोको दुई पश्चिमी देशहरूमा उत्पादन गरिन्छ, जहाँ किसान जलवायु परिवर्तनको प्रभावसँग संघर्ष गरिरहेका छन् । त्यहाँको मौसम परिवर्तनले कोको उत्पादनमा निकै नराम्रो प्रभाव पारेको छ । तर, यसबाहेक ती किसानले अन्य चुनौती पनि सामना गर्छन् । चकलेटको इतिहास इङ्गल्यान्डको रिडिङ विश्वविद्यालयमा पुरातत्व विज्ञान इतिहासका प्राध्यापक डा. केटी साम्पेकले चकलेटको इतिहासबारे अनुसन्धान गरिरहेकी छिन् । उनी भन्छिन्, ‘करिब चार हजार वर्षअघि उत्तरी अमेजन अर्थात इक्वेडर र भेनेजुएलाको क्षेत्रमा कोकोका रुख भेटिएका थिए । पछि यी रूख मेक्सिको र मध्यअमेरिकामा बढ्न थाले । कोको रूखका नयाँ प्रजाति हुर्किए ।’ सुरुमा कोको फलको रसलाई फर्मेन्ट गरी खाना र पेय पदार्थमा प्रयोग गरिन्थ्यो । पुरातत्वविद्ले धेरै पुरातन बोतलहरू फेला पारेका छन् जसमा कोकोको रासायनिक निशान फेला परेका थिए । पछि मानिसले यो फलको बीउ प्रयोग गरेर खाद्यान्न बनाउन थाले । यो मन्दिर र पूजास्थलहरूमा भेटीका रूपमा प्रयोग हुन थाल्यो । कोकोका फाइदाहरू माया सभ्यताका केही शिलालेखहरूमा पनि उल्लेख गरिएको छ । कोकोलाई प्रजनन क्षमतासँग पनि जोडिएको देखियो । चौथो शताब्दीका केही प्रमाणका अनुसार कोकोआ बीउहरू लेनदेनका लागि मुद्राका रूपमा पनि प्रयोग गरिन्थ्यो र पछि कोको एल साल्भाडोरमा पनि उब्जाउन थालियो । डा. केटी साम्पेक भन्छिन्, ‘यस क्षेत्रका किसानले कोकोको उत्पादकता बढाउने तरिकाहरू आविष्कार गरे ।’ एल साल्भाडोर चाँडै एक प्रमुख कोको उत्पादन क्षेत्र बन्यो । कोको उत्पादनका लागि हावापानी उपयुक्त नभएका क्षेत्रमा पनि उनीहरूले कोको निर्यात गर्न थाले । स्पेनिस डुङ्गाहरू सोह्रौं शताब्दीमा त्यहाँ पुगेका थिए । तिनीहरूले यो क्षेत्र कब्जा गरे । स्पेनी उपनिवेशहरूले पनि मुद्राका रूपमा कोकोको बीउ प्रयोग गर्न थाले । डा. केटी साम्पेकका अनुसार एल साल्भाडोरमा कोकोबाट पेय वा जुस पनि बनाइएको थियो । यसलाई चकलेट भनिन्थ्यो । सोह्रौं शताब्दीमा स्पेन र अन्य धेरै क्षेत्रमा चकलेट पेयको प्रयोग सामान्य भयो र मानिसले बिहान चकलेट पिएर सुरु गर्न थाले । सोह्रौं शताब्दीको मध्यतिर चियाको खपत सुरु भएको थियो र सत्रौं शताब्दीको मध्यतिर कफीको खपत बढेको थियो तर त्यसअघि बिहानको खाजासँगै चकलेट पेयको सेवन सुरु भएको थियो । जसरी आजकल कफी र चिया घरहरू छन्, सोह्रौं शताब्दीको मध्यतिर लन्डनमा चकलेट घरहरू खोलिएका थिए । त्यतिबेलासम्म युरोपमा चकलेट र कोकोको खपत निकै लोकप्रिय भइसकेको थियो । युरोपमा चकलेटको बढ्दो मागले धेरै परिवर्तन ल्यायो । पहिलो सय वर्षसम्म चकलेट उत्पादनसम्बन्धी निर्णय स्थानीय जनताको हातमा थियो । जब स्पेनी उपनिवेशवादीहरूले त्यहाँ कोको खेती कब्जा गरे, उत्पादनमा उल्लेखनीय कमी आयो किनभने कोको एक संवेदनशील बोट हो । यसलाई आर्द्रता र गर्मीको सही मात्रा चाहिन्छ । यसको विशेष ख्याल राख्नुपर्छ, जुन कुरा स्थानीय जनतालाई राम्ररी थाहा थियो । त्यसैले उनीहरू यस कार्यमा निकै सफल भएका छन् । डा. केटी साम्पेक भन्छिन्, ‘यसका कारण सुरुमा स्पेनीहरूले यसमा हस्तक्षेप गरेनन् तर कोकोको माग बढ्न थालेपछि उनीहरूले ठूला(ठूला कोकोको बिरुवा रोप्न थाले । स्थानीय दासहरूले त्यहाँ काम गर्न थाले ।’ त्यसपछि १८९० मा पोर्चुगलका राजालाई ब्राजिलको उपनिवेश आफ्नो हातबाट चिप्लिन्छ कि भनेर चिन्ता लाग्न थाल्यो । उनले ब्राजिल र अफ्रिकामा कोको खेती सुरु गरे । १८औं शताब्दीमा सबैभन्दा बढी कोको उत्पादन अफ्रिकामा भइरहेको थियो । आज धेरै देशहरूमा कोको खेती गरिन्छ । डा. केटी साम्पेक भन्छिन् कि ब्राजिल, इक्वेडर र भेनेजुएला अझै पनि ल्याटिन अमेरिकामा कोको उत्पादन गर्ने प्रमुख देशहरू हुन् । तर, अहिले एसियामा थाइल्यान्ड, मलेसिया र भारतमा पनि कोको उत्पादन तीव्र गतिमा बढिरहेको छ । यद्यपि, पश्चिम अफ्रिका अझै पनि कोको उत्पादनमा हावी छ । कठिन कोको खेती घानाको क्वामे एनक्रुमाह युनिभर्सिटीका पर्यावरण विज्ञानका सहयोगी प्राध्यापक फिलिप एन्ट्वी अग्येया घाना आइभरी कोस्टपछि विश्वको दोस्रो ठूलो कोको उत्पादन गर्ने देश भएको बताउँछन् । विश्वमा आपूर्ति हुने कुल कोकोको २० प्रतिशत घानाबाट आउँछ । जलवायु परिवर्तनले घानाको कोको उत्पादनमा नकारात्मक असर परेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण कोको उत्पादनको सिजन छोटो हुँदै गएको छ । उनले देशका उत्तरी क्षेत्रका धेरै किसानले ५० वर्षअघि फेब्रुअरीमा कोकोको बिरुवा रोप्ने गरेको बताउँछन् तर अहिले जेठसम्म कुर्नुपर्ने बताए । पछिल्ला केही दशकमा घानाले बाढी र खडेरीजस्ता धेरै प्राकृतिक समस्याहरूको सामना गरेको छ । यसका साथै कीराका कारण कोको बाली र रुखहरू नष्ट हुने भएकाले देशमा कीराका कारण पनि कठिनाइ बढेको छ । घानामा विभिन्न कृषि क्षेत्र छन् । कोको खेती हुने उत्तरी क्षेत्रमा वर्षमा एकपटक मात्रै खेती गर्ने सिजन हुने र सिजन छोटो भएकाले किसानले आफ्नो काम राम्ररी गर्न पाएका छैनन् । फिलिप एन्ट्वी अग्येया यी कुराले घानाको कोको र अन्य बालीमा पनि नकारात्मक असर परेको विश्वास गर्छन् । आगामी वर्षहरूमा अझ ठूलो खडेरी हुने अनुमान गरिएको छ, जसले देशका लाखौं किसानहरूको जीविकोपार्जनलाई असर गर्ने छ । घानामा कोकोको बगैंचा सरकारी स्वामित्वको होइन तर साना किसान परिवारहरूको हो । एक अनुमानअनुसार घानामा ८ लाख ६५ हजार किसानले कोको खेती गर्छन् । ‘कोको किसानहरूले सिजनको अन्त्यसम्म पैसाको लागि कुर्नुपर्छ,’ फिलिप एन्ट्वी अग्येया भन्छन्, ‘बाली बेच्दा त्यो पैसा वर्षभरिको खर्च धान्न प्रयोग हुन्छ । कोको खेती गर्ने क्षेत्रमा धेरै गरिबी छ । मुलुकको अर्थतन्त्रको प्रमुख खम्बा भएकाले सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएको छ । यस दिशामा सरकारले धेरै कदम चालेको छ ।’ घानाको कोको उद्योग नियन्त्रण बोर्ड सरकारको हातमा छ । कोको कन्ट्रोल बोर्डले किसानलाई कोको बिरुवा र मल निःशुल्क उपलब्ध गराउँछ । किसानले आफ्नो कोको बाली यस बोर्डलाई बेच्न कानुनीरूपमा बाध्य छन् र बोर्डले यसको मूल्य पनि निर्धारण गर्दछ ताकि उनीहरूलाई शोषणबाट जोगाउन सकियोस् । यससँगै किसानले जलवायु परिवर्तनको असरबाट आफ्नो बाली जोगाउन धेरै कदम चालिरहेका छन् । यी किसानले कोको उत्पादनमा निर्भरता कम गर्न अन्य काम पनि गर्न थालेका छन् । चकलेट अर्थव्यवस्था क्यानडाको इन्टरनेसनल इन्स्टिच्युट अफ सस्टेनेबल डेभलपमेन्टका नीति सल्लाहकार स्टेफनी बर्मुडेजका अनुसार कोको उद्योगले विश्व अर्थतन्त्रमा ठूलो भूमिका खेल्छ किनभने यस क्षेत्रले विशेष गरी विकासशील देशहरूमा ५ करोड मानिसलाई रोजगारी प्रदान गर्दछ । जलवायु परिवर्तनका कारण कोको उत्पादनमा नराम्ररी असर परिरहेको छ किनभने धेरै देशमा बढ्दो गर्मी र खडेरीका कारण कोको उत्पादन गर्न गाह्रो भइरहेको छ र कोको उत्पादन घट्दै गएको छ । पश्चिम अफ्रिकामा कोको उत्पादन २०१८ र २०१९ को बीचमा पाँच प्रतिशतले घटेको छ । कतिपय देशमा कोको उब्जाउन पनि गाह्रो हुँदै गएको छ भने धेरै देशमा मौसम परिवर्तनका कारण कोको उब्जाउन असम्भव हुने अवस्था छ । यो समस्या पश्चिम अफ्रिका र ल्याटिन अमेरिकाको ब्राजिल र पेरुमा सुरु भएको छ । त्यहाँको बढ्दो गर्मीका कारण या त कोकोको बिरुवा मर्ने वा राम्ररी फल फलाउन नसक्दा कोकोको गुणस्तर पनि खस्किँदै गएको र मूल्यमा समेत असर परिरहेको छ । नेदरल्यान्ड, जर्मनी र अमेरिका कोकोका सबैभन्दा ठूलो खरिदकर्ता हुन् । स्टेफनी बर्मुडेजले संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार २० अर्ब डलरको कोकोको व्यापार हुने गरेको बताइन्, जसमा भुटेको कोकोबाट बनेको पाउडर र तरल पदार्थ समावेश छ । कुल कोको उत्पादनको ५० प्रतिशत चकलेट उद्योगमा प्रयोग गरिन्छ र चकलेट उद्योगको बजार मूल्य १ खर्ब डलर बराबर छ। सन् २०२६ सम्ममा यो १ खर्ब ८९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । कोकोको बिक्री र खरिद विश्व कमोडिटी बजार वा सामग्री बजारमा हुन्छ जहाँ यसको मूल्य माग र आपूर्ति अनुसार घटबढ हुन्छ । स्टेफनी बर्मुडेजले भनिन्, ‘कोको उत्पादनमा आएको गिरावटका कारण यसको मूल्य रेकर्ड उच्च भएको छ। अहिले यसको मूल्य प्रतिटन ७ हजार डलर पुगेको छ । यसको मतलब पछिल्लो एक वर्षमा कोकोको मूल्य १६३ प्रतिशतले बढेको छ ।’ कोको बिन्सबाट चकलेट बनाउने प्रक्रियामा धेरै गुट संलग्न छन् । केही समूहले अरूको तुलनामा धेरै नाफा कमाउँछन् । स्टेफनी बर्मुडेज भन्छिन्, ‘कोको उत्पादनबाट हुने नाफाको ७० प्रतिशत चकलेट उत्पादन गर्ने कम्पनीहरूको खल्तीमा जान्छ । यी कम्पनीहरूले प्रायः कोको बीन्स किन्छन् र बजार मूल्य कम भएको समयमा राख्छन्, तर कोको किसानहरूलाई उनीहरूको बालीबाट तत्काल आम्दानी चाहिन्छ, त्यसैले तिनीहरू मूल्य बढ्ने समयसम्म पर्खन सक्दैनन् ।’ मलको मूल्यवृद्धि, आर्थिक सहयोगको अभाव र खराब मौसमका कारण किसानको समस्या बढ्दै गएको छ । यसले कोको उत्पादनलाई असर गरिरहेको छ। त्यसोभए भविष्यमा चकलेटको माग पूरा गर्न कोकोको पर्याप्त आपूर्ति हुने छैन ? ‘यो हुन सक्छ। पहिले अमेरिका र पश्चिमी युरोपेली देशहरू चकलेटको मुख्य उपभोक्ता थिए तर अहिले चीन, मेक्सिको, टर्की, इन्डोनेसिया लगायत एसियाली मुलुकमा चकलेटको माग बढ्दै गएको छ । एसिया चाँडै नै चकलेट उत्पादनको दोस्रो ठूलो बजार बन्ने अनुमान गरिएको छ,’ स्टेफनी बर्मुडेज विश्वास गर्छिन् । उत्पादन बढाउने चुनौती आईसीसीओ कोको व्यापारमा संलग्न ५२ सदस्य राष्ट्रहरूको संगठन हो । यसको उद्देश्य वातावरणलाई हानि नगरी दिगोरूपमा यस उद्योगलाई निरन्तरता दिनु हो । आइभरी कोस्टमा रहेको इन्टरनेसनल कोको अर्गनाइजेसन (आईसीसीओ) को प्रोजेक्ट म्यानेजर युन्सा अबु बकर कोको उद्योगमा कोको किसानहरू सबैभन्दा महत्त्वपूर्ण तर कमजोर रहेको भएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रा सामु दुईवटा चुनौती छन् । सर्वप्रथम, हामी यो सुनिश्चित गर्न चाहन्छौं कि कोको किसानहरूले उनीहरूको कडा परिश्रम र फसलको उचित मूल्य पाउँछन्। दोस्रो उद्देश्य भनेको कोकोको गुणस्तर उच्चतम स्तरमा रहन्छ भन्ने सुनिश्चित गर्नु हो ।’ त्यसैले पहिले कोको उद्योगलाई कसरी दिगो र नाफामुखी राख्न सकिन्छ भन्ने कुरा गरौं । किसानको अवस्था कसरी सुधार हुन्छ ? युनुसा अबु बकर भन्छन्, ‘धेरैजसो किसानले कोकोको खेती विरासतमा पाएका छन् । उनीहरूलाई परम्परागत रूपमा प्रयोग गर्छन् र जे पाउँछन् त्यसैमा सन्तुष्ट हुनुपर्छ भन्ने सोच्छन् । हामी उनीहरूलाई कोको उत्पादनका नयाँ विधिहरू अपनाउन र यसमा लगानी गर्न आवश्यक छ भनेर बुझाउँछौं । साथै, बालबालिकालाई उचित शिक्षा दिन र उनीहरूको जीवनस्तरमा सुधार गर्न पनि महत्त्वपूर्ण छ । त्यसकारण, हामी कोकोआ किसानहरूको नयाँ पुस्तालाई यस उद्योगमा आकर्षित गर्ने प्रयास गरिरहेका छौं, जसले यसलाई परम्परागत खेतीलाई मात्र नभई व्यवसायको रूपमा हेर्छन् ।’ कोकोको गुणस्तर सुधार गर्न धेरै चकलेट कम्पनीहरूले किसानलाई नयाँ प्रविधि उपलब्ध गराउँछन् र उत्पादन क्षमता बढाउन लगानी गर्छन् । आईसीसीओको अगाडि दोस्रो ठूलो चुनौती भनेको कोको उद्योगले वातावरणलाई हानि नगर्ने कुरा सुनिश्चित गर्नु हो । यो उद्देश्य हासिल गर्न आईसीसीओले कोको किसानलाई सहकारी समूहहरू गठन गरेर काम गर्न र आधुनिक खेती विधिहरू अपनाउन प्रोत्साहित गर्छ । कोको खेतीमा करिब ५० लाख कृषक संलग्न रहेको युनुसा अबु बकर बताउँछन्, तर तीमध्ये धेरैजना कुनै पनि सहकारीको हिस्सा नभएकाले उनीहरूसम्म पुग्न कठिन भएको छ । कोकोआको गुणस्तरसँगै यसले वातावरणलाई हानि नगर्ने कुरा सुनिश्चित गर्न पनि महत्त्वपूर्ण छ । युरोपेली संघको कानुनअनुसार कोको उत्पादनका लागि कुनै क्षेत्रमा जंगल काटिएको भए त्यस क्षेत्रबाट आउने उत्पादनलाई प्रतिबन्ध लगाइन्छ । युनुसा अबु बकरले भने, ‘कोको उत्पादनले वातावरणलाई हानि नहोस् भन्ने हाम्रो मान्यता छ तर त्यसो गर्दा किसानले बेहोर्नुपर्ने अतिरिक्त लागत तिर्नु आवश्यक छ । किसानले उचित मूल्य पाउन पनि जरुरी छ । भविष्यमा बजारबाट चकलेट हराउने चिन्ता व्यक्त गरिएको छ । म आशा गर्छु कि यो हुनेछैन। यदि कुनै भयानक प्राकृतिक प्रकोप देखापर्दैन भने, कोको उत्पादन भविष्यमा लामो समयसम्म जारी रहने छ ।’ के जलवायु परिवर्तनले चकलेट उत्पादनलाई असर गरिरहेको छ ? जलवायु परिवर्तनका कारण कोको किसानको आम्दानीमा नकारात्मक असर परेको छ । त्यसैले जलवायु परिवर्तनले चकलेट उत्पादनमा प्रभाव पारिरहेको छ । मौसममा आएको ठूलो परिवर्तन र कीराको फैलावटका कारण कोकोका बिरुवाहरू प्रभावित भइरहेका छन् । तर, योबाहेक अर्को समस्या पश्चिमी देशका कोको उत्पादक र आयातकर्ताको आम्दानी वा नाफामा ठूलो असमानता रहेको छ । तर, पश्चिमी आयातकर्ताहरूसँग प्रशस्त स्रोत छन् । हाल तिनीहरू अग्रिम खरिद गरेर चकलेट कारखानाहरूमा कोको आपूर्ति जारी राख्न सक्छन् । बीबीसी
उद्यमीलाई उत्पादन र बजारसँग जोड्दै महानगर, शहरी गरिबीलाई अन्त्य गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले उद्यमशिल महिलालाई विभिन्न किसिमको सीपमुलुक तालिम, व्यवसायिक सिकाई जस्ता रोजगारमुलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । महानगरले ३२ वटै वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम शुरु गरेको छ । महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशिलता,आफ्नै सीपमा मौलिक पन, आत्मनिर्भर उद्यमी, हाम्रै लगानी, हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो । महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशिल बन्न चाहने महिला तथा पुरुषहरुको लागि उद्यमशिल तालिम कार्यक्रम शुरुवात गरेको छ । पहिलो चरणमा १६ वटा वडाहरुमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशिल तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् । उद्यमशीलता प्रवद्र्धनमार्फत दिगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न उद्देश्यले काठमाडौं महानगरले हरेक वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौं महानगर भित्रका महिला उद्यमशीलतामार्फत उत्पादन वृद्धि गरी बजारसँग जोड्ने महानगरको योजना रहेको जनाएको छ । महानगर पालिकाले महिला उद्यमीद्वारा उत्पादन बस्तुहरुलाई बजारको प्रवद्र्धन गर्ने योजनामा छ । निर्वाचनको बेलामा जनप्रतिनिधि भए महिलालाई आत्मनिर्भर बनाउने उद्यमशिल तालिमको योजना बनाउने भनि गरेका प्रतिवद्धतालाई महानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको हो । काठमाडौं महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमुलक तालिमसहित प्राविधि समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् । उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरुलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरिन् । उपप्रमुख डंगोलले उद्यमशिल तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरु पनि जोडिन सक्ने जानकारी दिइन् । उनले महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिम तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएको दाबी गरिन् । उनले भनिन्,‘३२ वटै वडाभित्र फरक–फरक उत्पादन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य छ । यसमा महिलाहरुको लागि मात्रै नभएर पुरुषहरुको पनि सहभागिता छ । हरेक वडामा फरक–फरक किसिमको तालिम दिँदैछौं । तालिमको लागि तालिम मात्रै नभएर जान्दै नजान्नेलाई त्यही क्षेत्रमा विज्ञगरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएका छौं ।’ उपप्रमुख डंगोलले उद्यमशिल तालिम लिने तर उद्यमीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशिलता हराउँदै गएको पाइएको बताइन् । महानगरले उद्यमशिलतालाई थप प्रवद्र्धन गरी सीपमुलुक तालिम लिएका उद्यमीको उत्पादनलाई बजारसँग जोडेरउनीहरुलाई उद्यमी बनाउँने कार्यक्रम रहेको बताइन् । उनले भनिन्,‘विगतमा भएका सिप मुलुक तालिमहरुले धेरैले व्यहारमा लागू नगर्ने गरेका छन् । त्यस्तो नहुनुमा सीप सिकेपछि बजारसँग जोड्न नसक्दा समस्या भएको रहेछ । त्यही सिकाईलाई मध्यनजर गरेर तालिम दिँदै छौं । तालिम दिएपछि उनीहरुलाई महानगरपालिकाले उद्यमी बनाउँदैछौं ।’ काठमाडौं महानगरले उद्यमी बनाएर उत्पादित वस्तुलाई बजारसँग जोड्ने, गुणस्तर कायम गर्ने र उत्पादनहरुमा बढी जोड दिने लक्ष्य लिएको छ । ३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरुसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ । महानगरले उद्यमशिल तालिम दिनु ठूलो कुरा नभएको भन्दै उपप्रमुख डंगोलले व्यवहारमा ल्याएर दिगो र प्रभावकारी रुपमा उत्पादन गर्नु अहिलेको चुनौति रहेको दाबी गरिन् । उनले यस्ता चुनौतिलाई चिर्नको लागि महानगरले एक वडा एक नमूना उद्यमसिलत कार्यक्रमबाट धेरैले उपलब्धी लिने बताइन् । ‘महानगरले विभिन्न स्टेक होल्डरहरुसँग समन्वय सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं । उद्यममा गर्ने लगानी देखि बजारसँग जोड्नेसम्म महानगरले विभिन्न निकायहरुसँग सहकार्य गरेर अघि बढ्ने उदेश्य लिएका छौं ।’ उनले भनिन्, ‘उद्यमशिल तालिम गर्नु ठूलो कुरा होइन । गरेपछि त्यसलाई दिगो रुपमा कसरी प्रभावकारी बनाउने महत्वपूर्ण र ठूलो कुरा हो भने अहिलेको चुनौति पनि हो । चुनौतिलाई चिर्नको लागि हामीले ल्याएको कार्यक्रमहरुबाट धेरैले उपलब्धी र फाइदा लिन सकुन् भन्ने हो ।’ उनले काठमाडौंमा भएको शहरी गरिव अन्त्य गर्नको लागि पनि उद्यमशिल तालिम अघि सारिएको बताइन् । काठमाडौं महानगरभित्रको गरिबीको रेखामुनी रहेकालाई उद्यमशिलता मार्फत जीवनस्तर माथि उकास्ने योजना रहेको दाबी गरिन् । स्थानीय आवश्यकताको आधारमा उद्यमशिल तालिम महानगरले ३२ वटा वडामा त्यहाँको स्थानीय आवश्यकता पहिचान गरेर उद्यमशिल तालिमको व्यवस्था गर्ने भएको छ । महानगरले ३२ वटा वडामा फरक–फरक सिपमुलक उद्यमशिल तालिमको कार्ययोजना बनाएर अघि बढेको छ । ३२ वडामा बस्ने काठमाडौंवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौंका विभिन्न वडामा बस्नेहरुले पनि आवेदन दिई उद्यमशिल तालिममा सहभागिता जनाउन सक्नेछ । आवदेन दिनेहरुको उद्यमी बन्ने इच्छाशक्ति र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । महानगर उपप्रमुख डंगोलले वडाहरुमा फरक–फरक तालिमहरु दिन लागिएको बताइन् । कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने,कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने बताइन् । महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएको बताइन् । तालिम लिएका उद्यमीहरुलाई अहिले महानगरले प्रविधि हस्तान्तरण गरेर एड्भान्स लेभलको तालिम दिइरहेको बताइन् । वडा नम्बर ५ लाई माटोको भाडामा आत्मनिर्भर घोषणा गर्ने योजना रहेको जानकारी दिइन् । उनले भनिन्,‘ वडाहरुमा फरक–फरक तालिमहरु दिँदैछौं । कुनै वडामा गुन्द्रुक बनाउने,अर्को वडामा मस्यौरा बनाउने तालिम दिँदैछौं । कुनै वडामा माटोका भाडा बनाउने तालिम दिँदैछौ । वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएका थियौं । अहिले प्रविधि हस्तान्तरण गरेर उहाँहरुलाई एड्भान्स लेभलको तालिम दिँदैछौं ।’ उनले महानगरको १२ नम्बर वडामा सुकुल बुनाउने तालिम दिने तयारी रहेको बताइन् । १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिने बताइन् । स्थानीय मागअनुसार तालिम दिने तयारी र योजना रहेको जानकारी दिइन् । शहरी गरिबी अन्त्यको लागि उद्यमशिलता काठमाडौं महानगर पालिकाले महानगर पालिकाभित्र रहेको शहरी गरिबीलाई अन्त्य गर्ने योजनाका साथ उद्यमशिल कार्यक्रमलाई अघि सारेको बताएको छ । काठमाडौं महानगरभित्र पनि शहरी गरिबी रहेको छ । मुलुकको राजधानी काठमाडौंमा पनि गरिबीको रेखामुनी रहेका मानिसहरु बसोवास गर्ने गरेका छन् । खास गरी उनीहरुको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मुलक सीप तालिम सञ्चालन गर्न लागिएको उप्रमुख डंगोलको भनाई छ । उनले काठमाडौं महानगरभित्र पनि गरिबी छ र ? भन्ने प्रश्न आउने गरेको बताइन् । उपप्रमुख डंगोलले महानगरभित्र पनि शहरी गरिबी रहेकाले उद्यम,सीप तालिममार्फत स्थानीय उत्पादनमा लगाउने उदेश्यले बजेट मार्फत उद्यमशिल तालिम सञ्चालनको तयारीमा गरिएको दाबी गरिन् । ‘काठमाडौंमा गरिबहरु हुनुहुन्छ भनेर धेरैले प्रश्न सोध्नुहुन्छ । काठमाडौंमा छुट्टै खालका शहरी गरिबहरु पनि रहेका छन्’ उनले भनिन् । उनले शहरी गरिबलाई पनि मध्यनजरमा राखेर उद्यमशिल तालिमहरु अघि सारेको बताइन् । उद्यमशिल तालिमको माध्यमबाट गरिबीको रेखामा रहेकाहरुको जीवनस्तरमा सुधार ल्याउने बताइन् । गरिबीको रेखाबाट माथि उठ्ने गरी महानगरले उद्यमशिल कार्यक्रमलाई व्यवस्थित र दिगोपन दिनेगरी अघि सारेको जानकारी दिइन् । काठमाडौं महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरु ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशिलतासँग जोडर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ । हरेक वडामा कोसेली घर महानगरले ३२ वडामा उद्यमशिल तालिम दिएर प्रविधिमार्फत उत्पादन शुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ । उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारसँग जोड र स्थानीय उत्पादनमा प्रत्येक वडा आत्मनिभर बनाउने उद्देश्य महानगरको छ । महानगरले दिएको सीपमुलक तालिममार्फत उत्पादन भएका वस्तुहरुलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । वडामा उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई कोसेली घरसँग जोड्ने गरी अवधारणा अघि सारिएको उपप्रमुख डंगोलको भनाई छ । उपप्रमुख डंगोलले भनिन्, ‘१६ वटा वडाबाट पाइलटिङ गर्दैछौं । वडा फरक–फरक ढङ्गको उत्पादन गरेपछि उहाँहरुसँग समन्वय गरेर हरेक वडामा कोसेली घरको अवधारणा अघि सारेका छौं । कोसेली घरमा त्यस्ता उत्पादनहरुलाई जोड्ने हो । त्यसरी काठमाडौं महानगर भित्र उत्पादन भएका वस्तुहरुको लागि बजार व्यवस्थापन गर्ने सोचेका छौं ।’ महानगरले दिएको उद्यमशिल तालिमबाट उद्यमीले उत्पादन गरेको वस्तुहरु कोसेली घरमा मात्रै सिमित राख्ने भन्दा पनि काठमाडौं भित्र र देशभर विभिन्न ठाउँमा रहेका बजारहरुमा लैजाने वातावरण बनाउने उपप्रमुख डंगोलको दाबी छ । बिगमार्ट र सुपर मार्केटहरुमा ‘मेड इन काठमाडौं’को छुट्टै स्थान रहने काठमाडौं महानगरले स्थानीय साना तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडांै’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ । महानगरले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखि नेपाली वस्तुहरुको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो । नेपाली उत्पादनहरुलाई नेपालीहरुले प्रमुख प्राथमिकता दिन आवश्यक रहेकाले यस्तो अवधारण ल्याउन लागिएको उप्रमुख डंगोलको भनाई छ । उनले महानगर भित्रका उद्यमीहरुले उत्पादन गरेका कृषिजन्य तथा अन्य वस्तुहरुलाई महानगरभित्रका मार्ट तथा सुपरमार्केटहरुले अनिवार्य स्पेश दिन आवश्यक रहेको बताइन् । उनले मार्ट तथा सुपर मार्केटहरुले नेपाली उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिष्पर्धा गर्न नसक्ने बताइन् । स्पेस भएर बजारसँग नेपाली उद्यमीले उत्पादन गरेका वस्तुहरु जोडिए मात्रै बजारमा प्रतिष्पर्धा गर्न सक्ने बताइन् । उनले भनिन्,‘विभिन्न ठाउँमा रहेका मार्टहरुमा मेड इन नेपाल राख्नुपर्छ । किनकी हामीले हाम्रो उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिष्पर्धा गर्नको लागि पहिला मार्केटसँग लिङ्क गर्न सक्नुपर्छ । त्यसपछि मात्रै प्रतिष्पर्धा गर्न सकिन्छ ।’ उनले मार्ट तथा सुपर मार्केटहरुमा मेड इन नेपाल,मेड इन काठमाडौं सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरुलाई जोड्ने लक्ष्य महानगरको रहेको बताइन् । त्यसको लागि महानगरले विभिन्न स्टेक होल्डरसँग सहकार्यको लागि छलफल अघि बढाएको उल्लेख गरिन् । त्यस्तै,उपप्रमुख डंगोलले शनिबार वा अरु दिनहरुमा महानगरभित्रकै वडाको पेरिफेरिमा,सभागृह भित्र अथवा अन्य ठाउँहरुमा मेड इन काठमाडौं मेला गर्ने योजना बनाएको पनि जानकारी दिइन् । उनले उद्यमीहरुले उद्यमशिलता तालिमपछि गरेको उत्पादनगुणस्तर परीक्षण गरी गुणस्तर कायम भए उद्योग स्थापना गर्ने स्थानीय सरकारको रुपमा उद्यमीहरुलाई सहयोग गर्ने बताइन् । उद्यमीहरुलाई महानगरले करमा छुट दिएर मेड इन काठमाडौं जस्ता मेला आयोजना गरेर उद्यमीहरुलाई बजारसँग जोड्ने लक्ष्य राखेको उनको भनाई छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने योजना काठमाडौं महानगरको उद्यमशिल तालिमबाट ३२ वटै वडामा फरक–फरक किसिमका उद्यमीले उत्पादन गरेका वस्तुलाई देशभरका बजारसँग जोड्ने र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने योजना रहेको उल्लेख गरेको छ । महानगरले ३२ वडामा उत्पादन भएका वस्तुहरुलाई महानगरभित्र मात्रै सिमित नराख्ने जनाएको छ । महानगर उप्रमुख डंगोलले स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई गुणस्तर कायम गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पठाउने बताइन् । नेपालबाट धेरै बस्तुहरु विदेशमा निर्यात पनि भइरहेको भन्दै विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि छलफल गरिरहेको दाबी गरिन् । उनले भनिन्,‘यो महानगरपालिका भित्र मात्रै पनि सिमित हुँदैन । त्यस्ता वस्तुहरु देशभर जानसक्ने गुणस्तर बनाउन सकिन्छ । त्यस्तै,नेपालबाट धेरै वस्तुहरु विदेशमा निर्यात पनि भइरहेको छ । विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि महानगरले छलफल गरिरहेको छ ।’ उनले महानगरले उद्यमशिल तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्न गरी उत्पादन वृद्धि गर्ने योजना बनाएर कार्यक्रम अघि बढाएको जिकिर गरिन् । उद्यमशिल तालिम श्रमसँग मात्रै नभई सीप,आत्मनिर्भरता ,समाजरुपान्तरण र गरिबी निवारणसँग पनि जोडिएको दाबी गर्नुभयो । महानगरले श्रम मेलामा २०८१ सालमा २ हजार ८१ जनालाई श्रम र रोजगारीसँग जोड्ने उद्देश्य छ । श्रम मेला सीप सिक्ने र सीप सिकेपछि रोजगारी र आय आर्जनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।
विकासन्युज प्रभावः टीभीएसले ग्राहकको समस्या समाधान गर्यो
काठमाडौं । टीभीएस राइडर किनेर समस्यामा परेका प्रकाश श्रेष्ठको गुनासो समेटेर विकासन्युजमा समाचार प्रकाशित भएपछि कम्पनीले उनको समस्या समाधानमा सहयोग गरेको छ । टीभीएसका ग्राहक श्रेष्ठले विकासन्युजमा समाचार प्रकाशित भएपछि आफ्नो समस्या कम्पनीले सुनेको बताए । ‘कम्पनीले वाइक मर्मत गरिदियो । मर्मत अवधिमा अर्को वाइकको व्यवस्था पनि गरिदियो’ श्रेष्ठले भने-‘मर्मतपछि वाइक राम्रोसँग चलिरहेको छ । प्रर्फमेन्स राम्रो दिएको छ ।’ उनले गत जनवरीमा टीभीएसको जमल सोरूमबाट नयाँ मोटरसाइकल खरिद गरेका थिए । २ लाख ६६ हजार ५ सय रुपैयाँमा टीभीएस राइडर १२५ मोडलको मोटरसाइकल खरिद गरेको एक सातामा नै समस्या आएको थियो । त्यस समस्याका विषयमा कम्पनीका विभिन्न व्यक्तिसँग कुरा गर्दा सुनुवाई नभएको तर विकासन्युजमा समाचार प्रकाशित भएपछि कम्पनीले समस्या सम्बोधन गरेको उनले बताए । बाइकमा स्टार्ट नहुने समस्या थियो तर मर्मतपछि अहिले समस्या नदेखिएको उनले बताए ।
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक छ : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । आईतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे । गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए । उनले सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए । सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे । सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए । ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए । ‘दुर्घटना न्युनिकरण राज्यको दायित्व हो । गृहमन्त्रालयको दायित्व हो । नागरिकको ज्यान बचाउने सबै भन्दा ठूलो दायित्व हो । कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढङ्गले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ । बाबुआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो । तर त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । सडकमा स्पिड र इगो देखाउनु राम्रो होइन’, उनले भने । उनले दुर्घटना न्युनिकरण राज्यको दायित्व भएको भन्दै नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको बताए । सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो लाइफटाइम वारेन्टी अफर
काठमाडौं । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित टीभीएसले नयाँ वर्षको अवसर पारेर ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । ‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराउने भएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टीभीएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो । ‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले टीभीएस का बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराएको छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागू हुनेछ। जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीले जनाएको छ ।
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरबाट ननिस्कनू, समस्या परे फोन गर्नू
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि दूतावासले उक्त सार्वजनिक सूचना जारी गरेको हो । ‘इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्, आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ । साथै, सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।