विकासन्युज

घरजग्गा कारोबारबाट चैतमा ४.३१ अर्ब राजस्व उठ्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारबाट साढे ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । देशभरिका विभिन्न मालपोत कार्यालयमा चैतमा ४९ हजार घरजग्गा खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार चैतमा सेवा करवापत ३१ करोड ५२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चैतमा सबैभन्दा धेरै राजस्व संकलन मालपोत कार्यालय लगनखेल ललितपुरले ४२ करोड ८६ लाख रुपैयाँ गरेको छ । यस्तै, मालपोत कार्यालय भक्तपुरले २९ करोड ८२ लाख रुपैयाँ, कलंकीले २७ करोड ८६ लाख रुपैयाँ, डिल्लीबजार कार्यालयले २६ करोड ९६ लाख रुपैयाँ, चावहिलले २५ करोड ६६ लाख रुपैयाँ र चितवनले १४ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, इनरुवा सुनसरीले १४ करोड १ लाख रुपैयाँ, कास्कीले १२ करोड ७९ लाख रुपैयाँ, भद्रपुर झापाले १० करोड ९३ लाख रुपैयाँ, काभ्रेपलान्चोकले १० करेड ६३ लाख रुपैयाँ, मालपोत कार्यालय रुपन्देहीले ९ करोड ६३ लाख रुपैयाँ र मालपोत कार्यालय बुटवल रुपन्देहीले ९ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाहरुबीच समझदारी भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ । हाल बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

चैत मसान्तको रिपोर्ट खराब निस्कँदै, एनबीएले खाने भयो बैंकको नाफा

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र ब्याजदर निरन्तर घट्दा पनि व्यवसाय भने खासै बढ्न नसकेको बैंकरहरू बताउँछन् । विगतमा बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा ब्याजदर उच्च भएको थियो । उच्च ब्याजदरमा कर्जा लगानी नहुँदा व्यवसाय वृद्धिमा ब्रेक लागेको थियो भने खराब कर्जा (एनपीएल) बढेको थियो । तर, यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम र ब्याजदर एकल अंकमा हुँदा पनि व्यवसाय उत्साहजनक हुन नसकेको बैंकहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका बैंकरहरू धितो बिक्री नहुँदा बैंकमा गैर बैंकिङ सम्पत्ति (एनबीए) थुप्रिएको बताउँछन् । चालु आर्थिक वर्ष ९ महिनाको अवधिमा बैंकको एनपीएल अझै बढ्ने र नाफामा असर गर्ने बैंकरहरूको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा तिर्न सकेनन् । ऋणीहरूले समयमा कर्जाको साँवा ब्याज तिर्न नसकेपछि धितोका रूपमा राखिएको घरजग्गा, सुन लगायत बैंकहरूले लिलामीमा राखे । उक्त धितो लिलामी बिक्री नहुँदा बैंकहरू आफै सकार्न बाध्य भएपछि तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो बढ्ने हिमालयन बैंकका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली बताउँछन् । बिक्री नभएपछि बैंकहरू लिलामीमा राखिएको धितो आफै सर्कान बाध्य भएको उनको भनाइ छ । उनका अनुसार खराब कर्जा (एनपीएल) घटे पनि एनबीए बढ्दा सेयरधनीहरूले पाउने (वितरणयोग्य) नाफा घटाउँछ । ‘ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्याे, लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैंले सकार्नुपर्छ, अहिले बैंकहरूमा यस्तो सम्पत्ति थुप्रएको छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बढ्दा वितरणयोग्य नाफामा असर गर्छ, जबसम्म त्यो सम्पत्ति बिक्री हुँदैन तबसम्म उक्त पैसा वितरण गर्न मिल्दैन, त्यसलाई नाफाबाट घटाउनुपर्छ, जस्तो १ अर्ब नाफा र एनबीए ५० करोड रुपैयाँ छ भने त्यो ५० करोड रुपैयाँ नाफाबाट घटाउनुपर्छ ।’ उनका अनुसार बैंकहरू धमाधम गैर बैंकिङ सम्पत्ति बेचिरहेका छन् । तेस्रो त्रैमासको वित्तीय विवरणमा बैंकहरूको एनपीएल सामान्य बढ्ने उनको भनाइ छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भए पनि आन्तरिक सूचक कमजोर रहेको उनले बताए । ‘दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सुधार भएको देखिन्छ, बाह्य क्षेत्रतर्फ रेमिट्यान्स, विदेशी मुद्रा बढेको छ, आन्तरिक अर्थतन्त्रलाई सुधार गर्ने हो भने राम्रो हुने देखिन्छ,’ उनले भने, ‘एनपीएल प्वाइन्ट एक/दुई प्रतिशतले बढ्न सक्छ, अहिले नै कुनै पनि बैंकको एनपीएलमा ठूलो सुधार भएको छैन, एनपीएल बढ्दा नाफामा केही असर पर्छ ।’ खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । जसका कारण नाफामा स्वतः असर पर्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल तेस्रो त्रैमासमा बैंकहरूको ब्यालेन्ससिट दोस्रो त्रैमास जस्तै आउने बताउँछन् । तेस्रो त्रैमासबाट सुधार हुने अपेक्षा गरेको भए पनि खासै सुधार हुन नसकेको उनको भनाइ छ । ‘चैतमा सहज हुने अपेक्षा थियो, तर खासै सहज अवस्था छैन, यसपटक बैंकहरूको खराब कर्जा सामान्य बढ्ने देखिन्छ, एनपीएल बढेपछि स्तवः बैंकको नाफामा असर गर्छ, किनभने एनपीएल बढ्दा प्रोभिजन राख्नुपर्छ,’ उनले भने, ‘अघिल्लो २ क्वार्टरलाई पनि भाग लगाउने हो भने तेस्रो त्रैमास खासै उत्साहजनक छैन ।’ बैंकहरूले बाध्य भएर गैर बैंकिङ सम्पत्ति सकार्नुपरेको उनको भनाइ छ । गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि मात्रै कर्जा असुल भएको मानिने उनले बताए । ‘लिलामीमा राखेको धितो बिक्री नभएर आफैं सकार्दा यस्तो सम्पत्ति बढ्यो, गैर बैंकिङ सम्पत्तिका रूपमा सकार्नु समस्याको समाधान होइन, बाध्यात्मक व्यवस्था भएर लिनु परेको हो, किनभने पैसा नउठेपछि गैर बैंकिङमा भएपनि लिनुपर्छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि कर्जा नगदमा असुल भए सरह हो, ऋण दिँदा नगद पैसा दिनुपर्छ, त्यसैले बिक्री भएर नगद पछि मात्रै प्रभावकारी रूपमा कर्जा उठेको मानिन्छ ।’ राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) देवेन्द्ररमण खनाल बैंकको ब्याजदर घटिरहेकाले आगामी दिनमा सुधार हुने बताउँछन् । तर, अघिल्लो क्वार्टरबाट तेस्रो क्वार्टरमा आउँदा बैंकहरूको उत्साह ब्यालेन्ससिट नआउने उनले बताए । ‘अहिले कर्जा पुनरसंरचना गरेको हुँदा एनपीएल त्यति धेरै बढ्दैन, नाफा राम्रो पोजिसनमा आउने अवस्था छैन, १० प्रतिशत ब्याज तिरेर पुनर्संरचना गर्दा नाफामा स्वतः असर गर्छ,’ उनले भने, ‘जबसम्म ब्याज असुल हुँदैन तबसम्म नाफा बढ्न सक्ने स्थिति छैन । तर, समग्रमा गति लिने अपेक्षा छ ।’ अर्थतन्त्र सुधारको संघारमा रहेकाले बैंकिङ क्षेत्र पनि सुधार हुँदै जाने आशा रहेको उनले बताए ।

निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए । ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ’, उनले भने, ‘जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन् ।’ स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो । बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो । उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाइ सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताए । कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ । बीमा कार्यक्रममा कूल विमित सङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल विमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ । रासस

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । कम्पनीले साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताएका छन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्षले लिए शपथ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । इन्स्योरेन्सको २०८० साल चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गर्ने निर्णय गरेको थियो । आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथग्रहण गरे । शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

कोका-कोलाको ‘ड्रिंक एण्ड विन’ योजना सार्वजनिक, २० लाखसम्मको पुरस्कार

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

भक्तपुरको जिब्रो छेड्ने जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आईतबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थियो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन रहेको छ ।