विकासन्युज

भक्तपुरको जिब्रो छेड्ने जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आईतबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थियो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन रहेको छ ।    

बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित

तनहुँ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा  आयोजित तीनदिने सडक खाना महोत्सवले पर्यटक भरिभराउ भएका छन् । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेवान तनहुँको संयुक्त आयोजनामा शुक्रबारदेखि महोत्सव सुरु भएको हो । बन्दीपुरमा ११औँ सडक खाना महोत्सवले यहाँका होटल पर्यटकले भरिभराउ हुने गरेको समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए । महोत्सवमा आन्तरिक एवं बाह्य पर्यटकको आवगमन बढेपछि यहाँका होटल व्यवसायीमा उत्साह थपिएको छ । अघिल्ला वर्ष कोरोनाका कारण पटकपटक ‘लकडाउन’ हुँदा निराश बनेका यहाँका पर्यटन व्यवसायीमा यतिबेला खुसी छाएको हो । ‘बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या अधिक’, उनले भने, ‘स्वीजरल्याण्ड, जर्मनी र चाइनिजलगायतका देशका बाह्य पर्यटक आएका छन् ।’ पर्यटक आउने र जाने प्रक्रिया चलिरहेकाले महोत्सव अवधिभर करिब १० हजार पर्यटकले बन्दीपुर भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए । होटल व्यवसायीले पर्यटकलाई प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने गरेका क्षेत्रीय होटल सङ्घकी अध्यक्ष सङ्गीता प्रधानले जानकारी दिए। चितवन, तनहुँ, पोखरा र काठमाडौँ घुम्नेगरी आन्तरिक पर्यटकले रुट मिलाएर आउने गरेका छन् । बन्दीपुरमा करिब ८० जना व्यवसायी सङ्घमा आबद्ध भएका छन् । महोत्सवले यहाँका होटल तथा घरबाससमेत भरिभराउ हुँदा छुट्टै रौनकता छाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। महोत्सवमा लाखेनाच, टाकटुके, सोरठीलगायतका स्थानीय कला, संस्कृति प्रस्तुत गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको उनले जानकारी दिए । बन्दीपुर तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर दूरीमा पर्छ भने पृथ्वीराजमार्गस्थित डुम्रे बजारबाट करिब आठ किलोमिटरको उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । उक्त स्थानबाट विभिन्न हिमशृङ्खला, पहाडका टाकुरा, समथर फाँटलगायतका मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गर्दछन् । रासस

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले आईतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरे। समारोहमा प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो । उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए । नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । कार्यक्रममा अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । साथै उनले यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने बताए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै उनले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको बताए । उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले उल्लेख गरे । सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर एक हजार नौ एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पु¥याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ । रासस

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३५ अंकले ओरालो लागेर दुई हजार २३.३५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले उकालो लागेर तीन सय ५८.२० मा पुगेको छ । विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ रुपैयाँ मूल्यमा कारोबार भएको छ । कारोबार भएकामध्ये आज एक सय २७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यस्तै, एक सय आठ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एशिया लघुवित्तको सेयर मूल्य ९.७२, डोल्टी पावर कम्पनी ९.३५, राप्ती हाइड्रोपावर ९.२३ र मिथिला लघुवित्तको सेयर मूल्य ८.७० प्रतिशत बढेको छ । आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष ४.४१, तेह्रथुम पावर कम्पनी ४.३८, तारागाउँ रिजेन्सी होटल ३.९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको सेयर मूल्य ३.९१ प्रतिशतले घटेको छ ।

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिए । ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । कम्पनीले थप लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो । आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरि बहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सन्चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए । तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दिपुर जोड्ने बाटोको स्तरोन्नती गरि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले बताए । ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तब्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको आबुँखैरेनीले दुई बर्षको पहलपछि मोटरबोट सन्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । कति लाग्छ शुल्क ? मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । कसरी पुग्ने ? मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ । स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ । के हो बोटेबोरा ? नेपालको जल पर्यटनमा टेवा पुर्‍याउँदै रोजगारी र नयाँ गन्तव्य सिर्जना गर्न अग्रसर बोटेबोरा नेपालको सबैभन्दा ठूलो मोटरबोट सन्चालन कम्पनी हो । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुल तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

विश्व बैंकबाट ४.६ मिलियन अमेरिकी डलर स्वीकार गर्ने सरकारको निर्णय

  काठमाडौं । सरकारले नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिव ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गरेको छ । आईतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् । साथै सरकारले नेपाल—बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य तथा आपूर्तिको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । हेटौँडा—प्रमाणीपुर—पोखरीया १३२ केभी प्रशारण लाइन आयोजनाको अधिकार क्षेत्र (राइट अफ वे र) भित्र पर्ने निजी जग्गा र संरचनाको क्षतिपूर्ति निर्धारण गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्षमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई र सदस्यमा विद्युत विकास विभागका सिडिईलाई तोकेको छ । सरकारले डेडिकेटेड फिड ट्रंक लाईनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महशुल सम्बन्धी विवाद निरुपण गर्न रायसहित प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गरेको छ । उनले भनिन्, ‘नेपालको संविधानको धारा ९३ को उपाधारा २ बमोजिम संघीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल वैशाख २ गते आईतवार राति १२ बजेदेखि अन्त्य हुन नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिव ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने । सरकारले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरुको सरुवा अन्तर्गत दिनेश भट्टराई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्जुनप्रसाद पोखरेल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रमुख तथ्यांक अधिकारी, राष्ट्रिय तथ्यांक कार्यालयमा, सुमनराज अर्याललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा, मुकुन्दप्रसाद निरौलालाई उपराष्ट्रपतिको कार्यालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, विनोदप्रकाश सिंहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगमा सचिवको रुपमा सरुवा गरेको छ ।

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने  उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ । बैंकका अनुसार यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५० हजार एकदेखि एक लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र एक लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जुन १०, २०२४ सम्म लागू रहने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन्। ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

अष्ट्रेलियन पर्वतारोही एली पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण हिमालको सफल आरोहण

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् । दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसगैं पेपरले यससगैं तीन वटा आठ हजार मिटर अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन् । उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजानमा छिन् त्यसपछि मकालु हिमालको हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ । बिस्तारे एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आपूmले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरो सम्म पाइला टेक्ने पेपरको भनाइ छ । त्यस्तै, सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाका अनुसार पेपरले हाम्रो कम्पनी माफत् त अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन् । उनले यति उमेरमा महिला पर्वतारोहीले यसरी बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये तीन वटा हिमालको आरोहण गर्नु नै एक्दम ठूलो कुरा रहेको शेर्पाको भनाइ छ । बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौं आइपुगेकी थिइन् । उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फाबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन् । यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन । उनको आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै हासिल गर्नेमा कुरामा विश्वस्त छिन् । उनले लक्ष्यका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा पनि आफूलाई तालिम दिइरहेकी छन् । यही सम्पून्न कुराले पेपरलाई प्रेरित गरेको उनको भनाइ छ । हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो । विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकोले पनि उनमा आफूले चालेको कदमले आफनो लक्ष्यमा सम्ममा पुग्ने विश्वास रहेको छ ।