विकासन्युज

रुरु जलविद्युतको ४४ करोड ४४ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको लकइन अवधि आज सकिँदै छ। कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ४४ करोड कित्ता बढी सेयरको लकइन अवधि आज सकिन लागेको हो । कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि आजदेखि सकिन लागेको हो । कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो ।

विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन् । मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरू अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्नेछन् । यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ । मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनेछन् । ती बैठकमा मन्त्री पुनले आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी ५ वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछन् । केही दिनअघि मन्त्री पुनले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा विश्व बैंक र एसियाली विकास बैंकका काठमाडौंस्थित आवासीय प्रमुखहरूलाई सँगै राखेर बैठक गरेका थिए । उक्त बैठकमा माथिल्लो अरुण आयोजनाको वित्तीय व्यवस्थापन सक्दो छिटो गर्ने सहमति भएको थियो । ‘गेम चेन्जर’ आयोजनाका रुपमा रहेको माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्दैछ । यस्तै मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउनेछन् । वैदेशिक लगानीका लागि प्रतिकूल ठानिएका करिब एक दर्जन कानून संशोधनका लागि अध्यादेश ल्याउने तयारी सरकारले गरेको छ । ती बैठक तथा भेटहरुमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जाजरकोट, रुकुम र बझाङमा भूकम्पका कारण भत्किएका निजी आवास तथा शैक्षिक संस्थाका भवन पुनःनिर्माण एवं दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा सहायता बढाउन विकास साझेदारलाई आग्रह गरिने मन्त्री पुनले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायता कार्यान्वयन प्रभावकारी बनाउने तथा सहायताका थप क्षेत्र र सम्भावना पहिल्याउने विषयमा समेत छलफल हुनेछ ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ आज

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रू आज हुँदैछ । नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान ९लाइटिङ०, अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति

म्याग्दी । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् । धवलागिरि आरोहण अनुमतिवापत ३५ लाख ७० हजार ८ सय ४० र अन्नपूर्ण आरोहण अनुमतिवापत ५९ लाख ६१ हजार ७ सय ८० रोयल्टी (सलामी दस्तुर) संकलन भएको विभागले जनाएको छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताए । गत शरदयाममा चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् । यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेकी छन् । पेपरले सेभन समिट ट्रेकका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गरेको सभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गरेकी थिइन् । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका पाँच सय १२ जनाले अनुमति लिएका छन् । उनीहरुबाट ३४ करोड ४३ लाख ९९ हजार ६ सय ५६ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

‘वान एक्स बेट’ मार्फत ५७ करोड बढीकोको कारोबार गर्ने ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले वान एक्स बेटमार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम संकलन गर्ने तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । ‘पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ,’ प्रवक्ता रेग्मीले भने । पक्राउ परेकाले ती खाताबाट ५७ करोड ४१ लाख ५७ हजार एक सय ४७ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनामाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरअन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताए । प्रहरीले उनीहरूसँग नौ थान मोबाइल, २१ थान सिमकार्ड, ल्यापटप दुई थान, सिपियु एक थान, नगद ६२ हजार रुपैयाँ र विभिन्न सहकारीका पासबुक तथा बैंकका चेकबुक बरामद गरेको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

निर्वाचनअघि मोदीको वाचा : सामाजिक खर्च बढाउने, मुलुकलाई उत्पादनको केन्द्र बनाउने

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने वाचा गरेका छन् । मोदी तेस्रो पाँच वर्षको कार्यकालका लागि सत्तामा फर्कने आशामा छन् । उनी तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आम निर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना वाचाहरू सार्वजनिक गरे । मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमहरूलाई विस्तार गर्ने वाचा गरे । यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरिबहरूका लागि लाखौं निःशुल्क घरहरू समावेश छन् । उनको सरकारले गरिब किसानहरूलाई प्रतिवर्ष छ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिहरूले २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । एक अर्ब ४० करोडभन्दा धेरै जनसङ्ख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक हो । भाजपाका अध्यक्ष जे. पी. नड्डाले एक प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरिबीमा बाँचिरहेको बताए । भारतमा मुलुकका भिन्नाभिन्नै हिस्सामा भिन्नाभिन्नै मितिमा निर्वाचन हुन्छ । निर्वाचन धेरै सातासम्म जारी रहन्छ । मुलुकको संसद्का लागि मतदान अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म हुनेछ र नतिजा जुन ४ मा घोषणा गरिनेछ । अधिकांश सर्वेक्षणहरूले मोदी र भाजपाको जितको भविष्यवाणी गरेका छन् । यद्यपि विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनीहरूको हितलाई समर्थन गरेको तर्क दिएको छ । मोदीले मुलुकभर व्यापक प्रचार गरिरहेका छन् र सन् २०२७ सम्ममा मुलुकको अर्थतन्त्रलाई करिब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा गरेका छन् । उनले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको एक सय वर्षको खुशीयाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गरेका छन् । उनले आइतबार आफ्नो पार्टीले भारतलाई औषधि, ऊर्जा, सेमीकन्डक्टर र पर्यटन उद्योगहरूको केन्द्रका रूपमा विकास गर्ने बताए । भारतले आफ्नो रेलवे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उनले बताए । साथै, उनले युवाहरूका लागि नोकरी बढाउने र युवा उद्यमीहरूका लागि सस्तो ऋणमा पहुँच पुर्याउने उल्लेख गरे । हिन्दूवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय छन् र उनले द्रुत गतिमा आर्थिक विकास गरेका छन् । रासस/एपी

साना र मध्यम व्यवसायलाई पनि लगानी सम्मेलनले समेट्नुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजले आज राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले योलगायत आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् । ‘पछिल्लो समय साना उद्योगी पनि विदेश पलायन भइरहेको अवस्था छ,’ उनले भने, ‘लगानीमैत्री वातावरण तय गरेर उहाँहरुलाई स्वदेशमा नै बस्ने वातावरण तय गर्नका लागि यस्ता लगानी सम्मेलनमा साना तथा मध्यमस्तरका व्यवसायलाई पनि समावेश गरेर लगानी जुटाउने वातावरण तय गरिनुपर्छ ।’ मुलुकको आर्थिक समृद्धिका लागि मुनाफा दिने चीज हेर्नुपर्नेमा उनको जोड रहेको छ । मुलुक कृषि प्रधानबाट औद्योगिक अर्थतन्त्रमा रुपान्तरण भइरहेको भन्दै उनले औद्योगिक क्षेत्रको विकासका लागि पनि मानव स्रोत र प्रविधिको विकास हुन जरुरी रहेको बताए । ‘यतिबेला मुलुकको आर्थिक क्षेत्रमा शिथिलता निरन्तर देखिएको छ, कसरी अर्थतन्त्र सुधार गर्नुपर्छ भन्नेमा गम्भीर किसिमको छलफल हुनुपर्छ र मुलुक कसरी समृद्धिको बाटोमा लैजाने भन्ने विषयको बुझाइमा एकरुपता आउन जरुरी छ’, उनले भने, ‘हाम्रो जस्तो औद्योगिकीकरण हुँदै गएको अवस्थामा पूँजी, श्रम बजारको सुनिश्चितता जरुरी रहेको छ, पूँजीवादी बजार चलायमान हुनु पनि उत्तिकै जरुरी रहेको छ ।’ मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको पनि विकास जरुरी रहेकामा उनले जोड दिएका छन् । उनले स्वदेशी उत्पादनको ठूलो बजार भारत र चीन रहेकाले कसरी उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । ‘आजभोलि आकर्षक श्रम र प्रविधिका कारण युवा शक्ति विदेश पलायन भइरहेका छन्, १२ कक्षा पढ्ने बित्तिकै सबै विदेश पलायन हुन थालेका छन्’, उनले भने, ‘कसरी शैक्षिकस्तर सुधार गरेर स्वदेशमा नै प्रशस्त रोजगारीका माध्यमको विकास गरिनुपर्छ ।’ भट्टराईले नेपालको आन्तरिक बजार भारत र चीन भए पनि मुलुक भूराजनीतिक भूमरीमा फसिरहेकाले समस्या उत्पन्न भएको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रको नै सुधार गरेर उत्पादन शक्तिको विकास गर्नुपर्नेमा जोड दिए । ‘कृषि क्षेत्रको सुधारका लागि हामीले अपनाउनुपर्ने मुख्य नीति भूमिसुधारको कुरा नै गर्दैनौं’, उनले भने, ‘खाद्य सुरक्षाको क्षेत्रमा लगानी सुरक्षित गर्नुपर्छ ।’ उनले मुलुकको अर्थतन्त्र सुधारका निम्ति हरित उर्जाको विकासमा जोड दिन उत्तिकै आवश्यक रहेकामा जोड दिए । आगामी लगानी सम्मेलनमा मुलुकको खास क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । जिडिपीको ४० प्रतिशत विकासमा लगानी गर्नुपर्नेमा उनको जोड छ । प्राथमिकताको क्षेत्र पहिचान गरी त्यसमा लगानी बढाउनुपर्ने र अनावश्यक क्षेत्रमा लगानी बढाउन नहुने पनि उनको भनाइ छ । रासस

एउटै पार्टीका २ जनाको मुख्यमन्त्रीमा दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले आज छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गरेका छन् । प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेताको हस्ताक्षरसहितको समर्थनमा नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरे । केही समयपछि सोही पार्टीका अर्का प्रदेशसभा सदस्य कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेकपा (एमाले) र नाउपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे । लक्ष्मण किशोरलाई मुख्यमन्त्री नियुक्ति गर्नमा प्रदेशसभामा रहेका राप्रापाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ । एउटै पार्टीबाट दुईजनाको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श थालेका छन् । कानुनी परामर्शपछि मुख्यमन्त्रीमा नियुक्ति हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए । नाउपामा उत्पन्न आन्तरिक किचलोका बीच मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मणकिशोर पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षका र कैलाश पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका मानिन्छन् । १० दिनअघि अर्थात् गत चैत २३ गते संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सीमा आजै अपराह्न ५ बजे सकिएको छ । नाउपा सुदूरपश्चिम प्रदेशसभामा चौथो ठूलो शक्ति हो । नाउपामा देखिएको आन्तरिक मतभेदका बीच अध्यक्ष रञ्जिताले प्रदेशसभा नाउपा संसदीय दलका नेता घनश्यामलाई केही दिनअघि दलको नेताबाट हटाएर कैलाशलाई जिम्मेवारी तोकेको थियो । अध्यक्ष रञ्जिताले सोही पार्टीको समानुपातिक कोटाबाट निर्वाचित सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको पत्र प्रदेशसभा सचिवालयमा पठाउनुभएको थियो । अदालतले आजमात्रै आफ्नो पुनर्बहाली गरेको गिरीले जानकारी दिए । मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, कारबाही गरिएको भनिएका समेत गरेर नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र १ स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा यही वैशाख १५ गते उपचिर्वाचन हुँदैछ ।