एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
सिमकोट । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ । प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए । रासस
बोधिचित्तको रुख काटेको आरोपमा ४ जना पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए । उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो । मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ । प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन् । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ । रासस
बढ्दो प्रविधिमैत्री शिक्षा, शिक्षकलाई चुनौती
काठमाडौं । एक समय थियो विद्यालयमा शिक्षक लठ्ठी बोकेर आउने र कालोपाटीमा चक डस्टरको प्रयोग गर्दै पढाउने । अनि, विद्यार्थीले त्यही अनुसार घोक्नु पर्ने । तर, अहिले समय फेरिएको छ । चक डस्टर प्रयोग घट्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थी किताब बोकेर विद्यालय जानुको सट्टा अहिले ल्यापटप बोकेर जाने गरेका छन् । यतिसम्म कि अब किताबमा लेखिएका कुरा घोकेर पढ्नुपर्ने अवस्था पनि रहेन । किन कि भिडिओ, अडियो मार्फत विद्यार्थी आफै हेर्दै सुन्दै मनोरञ्जनात्मक तरिकाले अध्ययन गर्न थालेका छन् । यसकारण अब शिक्षामा प्रविधि नौलो कुरा रहेन । अहिले विश्व प्रविधिमै रमाइरहेको बेला नेपाली शिक्षामा पनि प्रविधिको प्रयोग भइरहेको पाइन्छ । सामुदायिक विद्यालयदेखि निजी विद्यालय कलेजहरूमा प्रविधिको प्रयोग बढ्दो छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेटाभर्स जस्ता प्रविधिले पनि शिक्षामा चर्चा बटुलिरहेका छन् । नेपालमा पनि ‘माइ सेकेण्ड टिचर’, ‘निमा एकेडेमी’, ‘एम्बिसन गुरु’ लगायतका विभिन्न संस्थाले प्रविधिबाटै शिक्षामा जोड दिइरहेका छन् । शिक्षालाई प्रविधिमा जोडिरहेका ‘निमा एकेडेमी’ नेपाली शिक्षामा प्रविधिको प्रयोग गरिरहेको संस्था मध्येको एक हो ‘निमा एकेडेमी’ । यो डिजिटल लर्निङ प्लेटफर्म हो । परम्परागत शिक्षा प्रर्णाली डिजिटलाइज गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना भएकोे निमा एकेडेमीले इन्टरनेट मार्फत विद्यार्थी र शिक्षकलाई पठनपाठनमा सहयोग गरिरहेको छ । यसले विद्यार्थीले सहज तरिकाले बुझ्ने गरी शिक्षण सामाग्री प्रदान गर्नेे काम गरिरहेको छ । यो एकेडेमीमा अहिले करिब २ सय विद्यालयहरू जोडिएका छन् । एकेडेमीले पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि १० सम्मका शिक्षण सामाग्री उपलब्ध गराइरहेको छ । त्यस्तै, कक्षा ११ र १२ सँगै त्योभन्दा माथिका कोर्सलाई पनि समावेश गर्ने तयारी उक्त एकेडेमीको छ । एकेडेमीले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामाग्री, कोर्स लगायतका विभिन्न सामाग्रीहरु आफ्नो वेवसाइट र एपमा निःशुल्क उपलब्ध गराएको छ । यसका कोर्समा गेम, क्वीज, टेस्ट आर्टिकल समावेश गरिएका छन् । यो एकेडेमीले पठनपाठनलाई रमाइलो र अन्तर्क्रियात्मक तरिकाले विद्यार्थीलाई सिकाउने काम गर्दै आएको छ । डिजिटल शैक्षिक प्लेटफर्म ‘एम्बिसन गुरु’ एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो । यसले आर्टिफिसियल इन्टेलिजन्स (एआई) मार्फत विद्यार्थीलाई अध्यापन गराइरहेको छ । विद्यार्थीले यसलाई पढ्ने र सिक्ने माध्यमको रूपमा उपयोग गर्न सक्छन् । एम्बिसन गुरुले छोटो समयमै विद्यार्थीको मन जितेको छ । यो प्लेटफर्ममा अहिले मासिक एक लाख २० हजार विद्यार्थी अध्ययन गर्छन् । यसले विद्यार्थीको प्रोफाइल तयारदेखि लिएर क्रियाकलापका आधारमा रिपोर्ट तयार पार्छ । त्यही रिपोर्टले विद्यार्थीलाई कसरी अध्यापन गराउने भन्ने विषय निर्धारण गरेर सिकाइन्छ । परम्परागत तरिकाको पढाइलाई परिवर्तन गर्न नयाँ प्रविधिको प्रयोग गर्न यो प्लेटफर्म तयार पारेको एम्बिसन गुरुको दाबी छ । यो प्लेटफर्ममा चिकित्सा शिक्षा आयोग र इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा सम्बन्धी प्याकेज छ । यस्तै, राष्ट्रिय परीक्षा बोर्डले तयार पार्ने पाठ्यक्रममा आधारित सामाग्री पनि यो प्लेटफर्ममा पाइन्छ । यसमा प्रयोग गरिएको एआईले पढाइको गुणस्तर सुधार्ने काम गर्छ । यसका लागि एआईले विद्यार्थीलाई पाठबाट प्रश्न सोध्छ । यसरी विद्यार्थीको क्षमता रुची पत्ता लगाएर कुन कुरामा बढी जोड दिने भन्ने सल्लाह पनि यो प्लेटफर्मले दिँदै आएको छ । माइसेकेण्ड टिचर नेपालको शिक्षामा परिवर्तन ल्याउने उद्देश्य सहित ई–लर्निङ प्लेटफर्म ‘माइसेकेण्ड टिचर’ सञ्चालनमा आएको छ । शिक्षामा आधुनिक प्रविधि प्रयोग आवश्यक रहेको भन्दै यसले नेपाली शिक्षामा काम गरिरहेको छ । विभिन्न विषयमा समसामयिक अवधारणा, पाठ्क्रम विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई दैनिक पद्धतीसँग जोड्न यसले काम गरिरहेको छ । क्याम्ब्रीज स्कुल सिंगापुरले तयार पारेको यो प्लेटफर्म अहिले नेपालका विभिन्न विद्यालय र विद्यार्थीले प्रयोगमा ल्याएका छन् । ‘माइ सेकेण्ड टिचर’ ले उत्पादन गरेका कोर्षहरू धेरै विद्यालयले पढाइरहेका छन् । यसमा शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तरक्रियात्मक भिडियो सामग्रीहरू राखिएका हुन्छन् । नबुझेका विषय शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने, सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपरलगायतका थुप्रै विशेषताहरू माइ सेकेण्ड टिचरमा रहेको छ । यसरी भिडियो र अडियोबाट शिक्षा ग्रहण गर्न पाउँदा विद्यार्थीलाई पनि सहज भएको छ । काठ्माडौंमा रहेको काव्य स्कुलले माइ सेकेण्ड टिचरसँग साझेदारी गर्दै उसले उत्पादन गरेका कोर्स पनि पढाइरहेको छ । कक्षा ११ र १२ मा माइ सेकेण्ड टिचरका कोर्सहरू पढाइरहेको विद्यालयको मिडिया विभागका रिजन खड्काले बताए । इन्टरनेटमार्फत मोबाइल कम्प्युटरबाट पढ्न पाउँदा विद्यार्थीलाई पनि सजिलो हुने गरेको उनी बताउँछन् । दाङको राप्ती गाउँपालिकामा रहेको आदर्श माविमा यो वर्षदेखि माइसेकेण्ड टिचरका कोर्सहरू पढाइ हुन थालेको छ । साइन्स, अंग्रेजी, गणित लगायतका कोर्सहरू भिडिओमा पढ्न पाइन्छ । सधै पाठ्क्रममा भएका विषयहरू पढिरहेका विद्यार्थीलाई भिडियो, अडियो मार्फत पढाइ हुँदा सजिलो भएको छ । भिडियो हेरेर सिक्न मिल्ने हुँदा विद्यार्थीलाई सहज भएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बताए । पढाइमा सहज भए पनि सबै विषय यसमा समावेश नहुँदा भने समस्या भएको उनको भनाइ छ । उनी भन्छन्, ‘सम्झौता गर्दा सबै विषयवस्तु उपलब्ध गराउने कुरा थियो तर अहिलेसम्म पुरा कोर्स पाउन सकेका छैनौं, अहिले आधा प्रोजेक्ट र आधा पाठ्यक्रमको विषयहरू पढाइ रहेका छौं । उसो त विद्यालयले विगत दुई वर्षदेखि आफै प्रोजेक्टमार्फत विद्यार्थीलाई सिकाउँदै आएको थियो । यो वर्षदेखि माइ सेकेण्ड टिचरलाई ५० हजार रुपैयाँ तिरेर उसको कोर्स सुरु गरेको विद्यालयले जनाएको छ । आदर्श मावि जस्तै पालिकामा रहेका कक्षा १२ सम्म पढाइ हुने सबै माध्यामिक विद्यालयमा माइ सेकेण्ड टिचर कार्यक्रम सुरू भएको पालिकाका शिक्षा विभाग प्रमुख विश्वास विकले बताए । उनी यो कार्यक्रम लागु गरे यता विद्यार्थी र शिक्षकलाई समेत प्रविधिको विषयमा थप ज्ञान प्राप्त गर्न सहज भएको बताउँछन् । अहिले देशभरका विभिन्न विद्यालय कलेजहरूले कुनै न कुनै रुपमा शिक्षालाई प्रविधिसँग जोडेका छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेजले पनि प्रोजेक्टमार्फत विद्यार्थीलाई सिकाउने गरेको छ । कलेजका प्रधानाध्यापक सम्झना बस्न्यातका अनुसार कलेजले भेडा एपमार्फत विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको छ । भेडा एक सफ्टवेर हो । यसले नेपालको शिक्षा क्षेत्रमा प्रविधिसहित विद्यार्थी र शिक्षकलाई पठनपाठन गर्न सहज बनाइरहेको छ । अहिले यसमा एक हजार बढी विद्यालयले यो सफ्टवेर प्रयोग गरिरहेका छन् । शिक्षालाई डिजिटलाईज गर्न शिक्षक विद्यार्थीहरूबीच ज्ञान बाँडफाँडमा यसले सुधार गर्ने प्रयास गर्छ । यही एपको प्रयोग मार्फत आइएसटी कलेजले अध्यापन गराइरहेको बस्नायतले बताइन् । उसो त अहिले सबै जसो कलेजले यस्ता विभिन्न प्रविधिको प्रयोग गरिरहेका छन् । नेपाली विद्यार्थी आफै पनि अहिले थेसिस् लेख्नदेखि अरु विषयहरु सिक्न च्याट जीपीटी र एआईको प्रयोग गर्ने गरेका छन् । प्रविधिमैत्री अबको शिक्षा काठमाडौंको मदन भण्डारी कलेजमा एआईको विषयमा अध्यापन गराउँदै आएका रविराज बराल प्रविधि विद्यार्थीहरूका लागि अहिलेको सबैभन्दा अति महत्वपूर्ण हुने बताउँछन् । किताबी ज्ञान जति विद्यार्थीका लागि आवश्यक हो त्योभन्दा बढी अब प्रविधि सम्बन्धीको ज्ञान हुनु आवश्यक रहेको उनको भनाइ छ । अहिले नेपालका सरकारी तथा निजी कलेजमा प्रविधिबाट पढाइ हुने क्रम बढेको बताउँदै उनले यस्तो शिक्षाले नेपाली विद्यार्थीलाई विश्वका जुनसुकै क्षेत्रमा गएर काम गर्न सहज हुने दावी गरे । शिक्षाका जानकारहरू पनि अहिलेको युगमा विद्यार्थीका लागि प्रविधि निकै आवश्यक रहेको बताउँछन् । शिक्षाविद् विद्यानाथ कोइराला अब प्रविधिसँग जोडिन नसकेका विद्यार्थीको काम नभएको बताउँछन् । अहिले विश्व प्रविधिमा च्याट जीपीटी, एआई लगायतका प्रविधि आइसकेको बताउँदै उनले यस्तो बताए । प्रविधिको प्रयोगविना बजारमा प्रतिस्पर्धा गर्न विद्यार्थी र शिक्षक दुवैलाई उत्तिकै चुनौती छ । साथै, अहिलेको युगका विद्यार्थीलाई पढाउन सक्नु शिक्षक सामु पनि ठूलो चुनौति देखिएको उनको भनाइ छ । विद्यालयमा ल्यापटप विद्यार्थीहरूलाई आधुनिक शिक्षामा जोड्न एक ताका ल्यापटप वितरणको लहर नै चल्यो । कतिपय स्थानीय सरकार अहिले पनि ल्यापटम वितरणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । कतिपयले शिक्षकलाई ल्यापटप दिएका छन् भने कतिपय पालिकाले विद्यार्थीहरूको लागि नै प्रविधि हस्तान्तरण गरेका छन् । सानै उमेरदेखि विद्यार्थीलाई कम्प्युटर चलाउन सिकाउने, लेख्न सिकाउने काम विद्यालयमा भइरहेका छन् । २०७८ सालमा कर्णाली प्रदेशको सुर्खेतमा रहेको विरेन्द्रनगर नगरपालिकाले पालिकाभित्र रहेका ६४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको थियो । विद्यालयको पठनपाठनलाई प्रविधिसँग जोड्दै कागजबिहीन शिक्षापद्धतीको विकासलाई टेवा पुर्याउन भन्दै ७ सय ५३ वटै स्थानीय सरकारले आ–आफ्नो पालिकाका सामूदायिक विद्यालयलाई ल्यापटप वितरण गरेका थिए । तर, समस्या प्राय शिक्षकहरू अहिले पनि ल्यापटप चलाउन जान्ने अवस्थामा छैनन् । शिक्षाविद् कोइराला त्यस्ता पुराना शिक्षकले पनि अहिलेको प्रविधि सिक्न आवश्यक रहेको बताए । शैक्षिक गुणस्तर र शिक्षण सिकाइ फलदायी बनाउन शिक्षामा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने उनी बताउँछन् । प्राथमिक वा आधारभुत तहबाटै प्रविधिमा आधारित शिक्षा प्रदान गर्न सुरू गर्ने हो भने शिक्षाको गुणस्तरमै सहयोग पुग्ने विज्ञहरू बताउँछन् । शिक्षकलाई नै चुनौती अहिले च्याट जीपीटी आक्रामक रूपमा विश्व बजारमा छाइरहेको छ । विद्यार्थीले पढ्नै नपर्ने गरी सबै उत्तर त्यही भेटिन्छ । यस्तो अवस्थामा कतिपय शिक्षकहरूलाई नै पढाउन हम्मे पर्ने गरेको छ । पढाउन नसक्ने शिक्षकसामु पनि प्रविधिले उत्तिकै चुनौती थपेको छ । कि विद्यार्थीबाट आफुले सिक्नुपर्ने, कि जागिर छोड्ने पर्ने अवस्था नेपालका सामुदायिक विद्यालयमा आएको जानकारहरू बताउँछन् ।
५ अर्ब लगानीमा जालपादेवी केबुलकार निर्माण सुरु, दुई वर्षभित्र सञ्चालनमा आउने
सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबुलकारको पहिलो चरणको निर्माण कार्र्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरु गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गरे । ५ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यस केबुलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबुलकार दैनिक ६ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ । शुभारम्भको अवसरमा अध्यक्ष ढकालले प्राकृतिक स्रोत एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यहाँ लगानी गर्ने उद्देश्यले केबुलकार निर्माण सुरु गरिएको बताए । कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । आठ वर्षको निरन्तर प्रयासपछि आयोजना निर्माण सुरु भएको जानकारी दिँदै अध्यक्ष ढकालले आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । आइएमई ग्रुपले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा पनि केबलकार निर्माण सुरु गर्न लागेको जनाइएको छ । केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । केबलकार निर्माणपछि पर्यटन प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना भई स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ । केबलकार निर्माणका लागि आवश्यक उपकरण अष्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछ । आयोजनाको ‘राइट अफ वे’ मा पर्ने रुख कटान कार्य पनि सुरु गरिएको हो । आयोजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख छन् । केबलकार सञ्चालनका लागि एक सय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको बताइएको छ । चिसापानी–राजकाँडा केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिनेछ । आयोजनामा कैलालीका उद्यमी सूर्यबहादुर थापासहित स्थानीय व्यवसायीको सहभागिता रहेको जानकारी दिइएको छ ।
कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । आवेदन पेस गर्ने अन्तिम मिति वैशाख ११ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।
अरुण भ्याली हाइड्रोको २० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदै, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरले करिब २० लाख कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर वैशाख १० गतेदेखि लिलामीमा बिक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरू भक्तपुर ठिमी, कुमारीपाटी विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यालयबाट बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरको बाँडफाँड सम्पन्न, आजदेखि रकम फिर्ता गरिने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो । उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो । बाँडफाँडको अन्तिम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार उक्त मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षित भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको छ । आवेदकहरूको बाँडफाँडमा नपरेको सेयरबापतको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ ।
रुरु जलविद्युतको ४४ करोड ४४ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको लकइन अवधि आज सकिँदै छ। कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ४४ करोड कित्ता बढी सेयरको लकइन अवधि आज सकिन लागेको हो । कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि आजदेखि सकिन लागेको हो । कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो ।