सर्वोच्च शिखरको १० वर्षे आरोह-अवरोह
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबारे नसुनेका मानिस सायद पाउन मुस्किल छ । नेपाल सात दशकभन्दा बढी अवधिदेखि सगरमाथाकै कारण संसारमा चिनिँदै आएको देश हो । हिमालै हिमालको देश भनेर पनि परिचित नेपालका दन्तेलहर मिलेका हिमालमात्रै हेर्न भनेर संसारका लाखौं पर्यटक आउने गर्छन् । संसारमा ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन् । तीमध्ये सर्वोच्च शिखर सगरमाथा सहित ८ हिमाल नेपालमै अवस्थित छन् । यहाँका अग्ला हिमाल पर्यटन भित्र्याउने मुख्य आधार हुन् । यहाँका सेतै टल्किने हिमाल आरोहण गर्ने र मनोरञ्जन गर्ने भनेर स्वदेशी तथा विदेशी पर्यटकको भिडै लाग्ने गर्छ । नेपालले हिमालको पर्यटनबाट नै राम्रो विदेशी मुद्रा आर्जन गर्छ । सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीको संख्या वर्सेनि बढ्दो अवस्थामा छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको सफल आरोहणपछि अन्य हिमाल आरोहणमा पनि पर्वतारोहीको धेरै आकर्षण बढ्दै गएको देखिन्छ । त्यसैगरी सन् १९७५ मा जापानकी आरोही जुनको ताबेईले सगरमाथा शिखर पुगेर संसारकै पहिलो महिला आरोहीको कीर्तिमान कायम गरिन् भने नेपालकै पहिलो महिलाको उपाधि पासाङल्हामु शेर्पाले पाएकी छिन् । २०४९ सालमा सगरमाथाको आरोहण गरी फर्किने क्रममा पासाङल्हामुको मृत्यु भएको थियो । सगरमाथा चुचुरोमा मानिस पुगेको ७ दशक पुगिसकेको छ । यसबीच नेपालीसहित ८ हजार २ सय ७२ जनाले सगरमाथामाथि विजय हासिल गरिसकेका छन् । कैयौँ आरोहीले सगरमाथा चढेरै विभिन्न कीर्तिमान बनाइ संसारभरि नाम कमाएका छन् । अहिलेसम्म सगरमाथामा सयौं रेकर्ड बनेका छन् । नयाँ रेकर्ड बन्ने र तोडिने क्रम अहिले पनि चलिरहेकै छ । आखिर किन सगरमाथामा भीड लाग्छ आरोहीको ? यसबारे चर्चा गरौं । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त ऋतु हो । अन्य ऋतुमा सगरमाथा आरोहण कमै हुने गर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यसपालि वसन्त ऋतुका लागि गत फागुन १८ देखि हिमाल आरोहण अनुमति खुला गरिसकेको छ । विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै रोयल्टी (सलामी दस्तुर) भने सर्वोच्च शिखर सगरमाथाबाट नै उठेको छ । यसपालि सगरमाथा आरोहणका लागि २ सय ९ जनाले अनुमति लिएका छन् । उनीहरूबाट २९ करोड ७५ लाख २८ हजार ५ सय ३५ रुपैयाँ बराबर रोयल्टी उठेको छ । नेपालले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । विभागले यी हिमालको आरोहण अनुमति जारी गर्छ । यीबाहेक नेपाल पर्वतारोहण संघले ५ हजार ८ सयदेखि ६ हजार ४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्छ । १० वषमा कति पुगे सगरमाथा चुचुरो ? सरगमाथा साहसको एउटा ज्वलन्त उदाहरण हो । सगरमाथा शिखर पुग्न लालायित आरोही आफ्नो ज्यान माया मारेर गएको हुन्छ । मौसमले साथ नदिए वा प्राविधिक रूपमा तलमाथि भयो भने त्यहाँ पुगका आरोही सकुशल घर फर्किन्छन् भन्ने आश नगरे हुन्छ । पर्यटन विभागले तयार पारेको पछिल्लो एक दशकको तथ्यांक पल्टाउँदा सर्वोच्च शिखर सगरमाथामा ३ हजार ८ सय ५० जनाले विजयी झण्डा फहराएका छन् । विभागका अनुसार २०१४ मा ६, २०१५ मा शून्य, २०१६ मा ४ सय ५१, २०१७ मा ४ सय २६, २०१८ मा ५ सय ६०, २०१९ मा ६ सय ४४, २०२० मा शून्य, २०२१ मा ४ सय ५९, २०२२ मा ६ सय ५८ र २०२३ मा ६ सय ४६ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । २०१४ र २०१५ भूकम्प र २०२० मा कोरोना भाइरस महामारीका कारण हिमाल आरोहण रोकिएको थियो । पर्यटन विभागका अनुसार गत वर्ष सन् २०२३ मा सगरमाथा आरोहण गर्न अनुमति लिएका विभिन्न देशका ४ सय ७८ आरोहीबाट मात्रै नेपालले ६६ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर रोयल्टी संकलन गरेको थियो । सगरमाथा आरोहण गर्न कति लाग्छ शुल्क ? पर्ययटन विभागका अनुसार सगरमाथा शिखर पुग्न विदेशी नागरिकलाई प्रतिव्यक्ति ‘नर्मल रुट’ को वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर, शरद ऋतुमा ५ हाजर ५ सय डलर र वर्षात सिजनमा २ हजार ७ सय ५० डलर तिर्नुपछ हुन्छ । यस्तै अन्य रुटबाट सगरमाथा चढ्नेले वसन्त ऋतुमा १० हजार, शरदमा ५ हजार र हिउँद÷वर्षातमा २ हजार ५ सय डलर तिर्नुपर्छ । यस्तै, नेपाली आरोहीले नर्मल रुटबाट सगरमाथा शिखर पुग्न वसन्त ऋतुमा ७५ हजार रुपैयाँ र अन्य रुटको ६० हजार रुपैयाँ तिर्नुपर्छ । शरद ऋतुमा नर्मल रुटबाट सगरमाथा चढ्न ३७ हजार ५ सय रुपैयाँ र अन्य रुटबाट जान ३० हजार र हिउँद तथा वर्सातको याममा चढ्न नर्मल रुटका १८ हजार २ सय ५० र अन्य रुटको १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ । सगरमाथा आरोहण गर्दा कति हुन्छ खर्च ? संसारकै सबैभन्दा अग्लो हिमाल भनेपछि महँगो त हुने नै भयो । सगरमाथा आरोहण अनुमित शुल्क महँगो जस्तो देखिने गर्छ । तर, अनुमतिदेखि शिखर पुगेर फर्किंदासम्म आरोहीको दसौं लाख रुपैयाँ बराबर खर्च हुने गर्छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाका अनुसार सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले अनुमति लिन नेपाल सरकारलाई बुझाउनुपर्ने सलामी दस्तुर सहित खर्च जोड्दा कम्तीमा २५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्ने गर्छन् । सगरमाथा आरोहण गर्न नेपाली आरोहीले २० लाख रुपैयाँसम्म र विदेशी आरोहीले करिब ५० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । संघ अध्यक्ष शेर्पाका अनुसार आरोहीले गर्ने खर्चभित्र नेपाल आउँदा लाग्ने भिसा शुल्क, बसाइ, हवाई भाडा, खुम्बु क्षेत्रमा खाने–बस्ने, बीमा, गाइड, सहयोगी स्टाफ, इक्विपमेन्ट अलायन्स, बेसक्याम्पमा ४० दिनसम्मको खाने–बस्ने सुविधा, हाई अल्टिच्युड टेन्ट, अक्सिजन, रोप फिक्सिङ शुल्क लगायत पर्छ । ७० वर्षमा सवा ३ सयले गुमाए सगरमाथामा ज्यान तेन्जिङ र हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेयता सात दशकमा ३ सय २८ जनाले ज्यान गुमाएको सरकारको तथ्यांक छ । पर्यटन विभागका अनुसार तीमध्ये ४० भन्दा बढी शेर्पा छन् । गत वर्ष वसन्त याममै सगरमाथा चढ्न गएकामध्ये १२ जनाको मृत्यु भएको थियो । फोहोर व्यवस्थापनमा चेतना बढ्दै पछिल्ला केही वर्षदेखि सर्वोच्च शिखर सगरमाथा आरोहणमा चाप बढ्दै गए पनि सगरमाथामा धेरै फोहोर नभएको पर्वतारोहण संघ अध्यक्ष शेर्पा दाबी गर्छन् । ‘सन् १९९२ मा टाइम्स म्यागजिनमा एक साइडमा सगरमाथा र अर्को साइडमा फोहोरको थुप्रो राखेर फोटो प्रकाशित भएपछि सरसफाइमा ध्यान दिन थालिएको हो,’ शेर्पा भन्छन्, ‘पत्रिकामा त्यो फोटो छापिँदा नेपालले आलोचना पनि खेप्नुपरेको थियो, अहिले फोहोर व्यवस्थापनप्रति सबै सचेत छन् ।’ अहिले सरकार र विभिन्न संघसंस्थाले सगरमाथा सफाइ अभियान नै चलाएका छन् । ‘अहिलेको अवस्थामा सगरमाथामा फोहोर नै छैन भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर, बाहिर हल्ला गरेजस्तो फोहोरको डंगुर नै भने छैन ।’ हिमाल आरोहण गर्नेले मानव मलमूत्र व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन् । तर, सगरमाथा आरोहण गर्नेको भीड वर्सेनि बढ्दै गइरहेको छ । यो भीडले पनि सगरमाथामा फोहोर व्यवस्थापन गर्नेमा चुनौती थपिरहेको छ । यसमा पनि सबैभन्दा ठूलो चुनौती मलमूत्र व्यवस्थापन भएको अध्यक्ष शेर्पा बताउँछन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रत्येक अंग्रेजी वर्षको मे २९ तारिखमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ । १९५३ मे २९ का दिन तेन्जिङ र हिलारीले मानव इतिहासमै पहिलो पटक संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा विजयी झण्डा फहर्याएको दिनलाई १७ वर्षदेखि नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ । हाल सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले संयुक्त रूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ ८ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन् ।
अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु
अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
विपदबाट एक वर्षमा ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति
काठमाडौं । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए । विपद्जन्य घटनाका कारण कूल पाँच अर्ब ४२ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ । गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए । गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए । मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए । त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए । आगलागीबाट दुई अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो । यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए । त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए । गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो । रासस
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं-चितवन यात्रा ५७ मिनेटमा, १०० किमि सडक बनाउन २२१ अर्ब लाग्ने
काठमाडौं । लगानी बोर्डले चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन एक्सप्रेसवे परियोजनालाई लगानी सम्मेलन २०८१ मा शोकेसिङ गर्ने भएको छ । लगानी सम्मेलन यहि बैशाख १६ र १७ गते हुँदैछ । काठमाडौं-हेटौडा-चितवन ओहोदोहोर गर्ने यो सडकको लम्बाई १०० किलोमिटर भन्दा कम हुनेछ । ४ लेनमा बन्ने एक्प्रेसवेबाट काठमाडौं-चितवन यात्रा ५७ मिनेटमा गर्न सकिने छ । यो परियोजनाको लागत २ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ अनुमान गरिएको छ । यस सडकमा ४ स्थानमा सुरुङमार्ग हुनेछ । सुरुङ मार्गको कुल लम्बाई २९.८ किलोमिटर हुने छ । सबैभन्दा लामो सुरुङ मार्ग १३.२ किलोमिटर लामो हुनेछ । यस मार्गका ३० वटा पुल बनाउनु पर्ने हुन्छ । पुलहरुको कुल लम्बाई ९.५३ किलोमिटर हुनेछ । सबैभन्दा लामो पुल १.३ किलोमिटर लाम्बाईको हुनेछ । यो परियोजना बन्दा चितवन-काठमाडौं यात्रा ५० किलोमिटर छोटो हुनेछ । यात्रा समय ४ घण्टा कम हुनेछ । यातायातको लागत उल्लेख्य मात्रामा कम हुनेछ भने काठमाडौं तराई जोड्ने भरपर्दो वैकल्पिमक राजमार्ग हुने लगानी बोर्डले जनाएको छ । राजधानी काठमाडौंसँगको व्यापार विस्तार गर्न, लागत कम गर्न, यात्रालाई छिटो र सुरक्षित बनाउन, कार्वन उत्सर्जन कम गर्न यो परियोजना धेरै लाभदाही हुने लगानी बोर्डको तर्क छ । सरकारले यो परियोजना सार्वजनिक-निजी साझेदारी मोडलमा बनाउन चाहेको छ । आयोजनाको पूर्वतयारीको लागि २ वर्ष, निर्माणको लागि ४ वर्ष र सञ्चालनको लागि २५ वर्ष गरी ३१ वर्षको लागि परियोजना सरकारले निजी क्षेत्रलाई दिन लागेको हो । सञ्चालन अवधि २५ वर्ष पूरा भएपछि निर्माताले यो परियोजना सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।
एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो
काठमाडौं । आरएसडिसी लघुवित्तले ९ महिनामा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै लघुवित्तले गत वर्षको चैतको तुलनामा ३०.३४ प्रतिशत बढी नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । चैत समान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत घटेर १८ करोड ५१ लाख ९४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको खुद फि तथा कमिसन आम्दानी ४८ प्रतिशत घटेर १ करोड ११ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ प्रतिशत घटेर १९ करोड ७९ लाख रुपैयाँ, सञ्चालन नाफा ३० प्रतिशत बढेर १६ करोड १ लाख रुपैयाँ र वितरणयोग्य नाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघवित्तको चुक्ता पुँजी ८.६० प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष ४४.१२ प्रतिशत बढेर २३ करोड ३१ लाख रुपैयाँ, निक्षेप तथा सापटि ४.६१ पतिशत घटेर ५ अर्ब ६५ करोड रुपैयाँ र कर्जा लगानी १.८० प्रतिशत घटेर ६ अर्ब ५९ करोड रुपैयाँ छ । चैत मसान्तसम्म प्रतिसेयर आम्दानी २.६४ रुपैयाँ बढेर १५.८३ रुपैयाँ छ । यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.१ गुणा र प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा (एनपीएल) १.६२ प्रतिशत बढेर २.९९ प्रतिशत पुगेको छ । यसअवधिमा लघुवित्तको आधार दर ११.०२ प्रतिशत, इन्ट्रेस्ट स्प्रेड रेट २.३ प्रतिशत र कस्ट अफ फण्ड १०.१६ प्रतिशत छ ।
प्राज्ञिकद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
काठमाडौं । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गरे । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताए । प्रधानमन्त्री दाहालले भने, ‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।’ देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले भने, ‘पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।’ भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।’ छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उनले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताए । प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा गौरीशङ्करलाल दास, डा गोविन्द पोखरेल, डा सन्दुक रूइत, डा अर्जुन कार्की, डा जेपी अग्रवाल, डा नरेशमान बज्राचार्य, डा असीम ढकाल, डा भगवान कोइराला, डा विष्णु उप्रेती, डा धर्मकान्त बास्कोटा, डा देवेन्द्रराज पाण्डे, डा लवदेव अवस्थी, डा मदन उपाध्याय, डा महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक छन् ।
शिवम् बन्यो सर्वाधिक बिक्री हुने सिमेन्ट, १३ करोड ३१ लाख बोरा बिक्री
काठमाडौं । शिवम सिमेन्ट नेपालमै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । नेपाली सिमेन्ट इतिहासमै यो उद्योगले अहिलेसम्म १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेको छ । योसँगै शिवम नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न पुगेको कम्पनीले जनाएको छ । इतिहास रच्दै अगाडि बढिरहेको शिवमले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण गर्दै देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनामा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । शिवमले सिमेन्ट जगतमै पहिलोपटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुन सफल भएको छ । ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम सिमेन्ट गुणस्तरीय एवं उत्कृष्ट उत्पादन हो । ‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटी’को मामलामा नो कम्प्रोमाइजजस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवमले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीको भनाइ छ । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिउक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताका कारणले गर्दा नै शिवम ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो । एनएस आईएसओ, आईएसओ, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको कम्पनीले जनाएको छ ।