छेडियो नागढुङ्गा सुरुङमार्ग, सञ्चालन हुन अझै एक वर्ष लाग्ने
काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङ मानिएको नागढुंगा-नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार जापानी संस्कृति र नेपाली हिन्दु परम्पराअनुसार विशेष पूजाआजा गरेर मुख्य सुरुङ मार्गको ब्रेक थ्रु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गरी सुरुङ ब्रेक थ्रु गरे । प्रधानमन्त्री दाहालले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । सुरुङ ब्रेक थ्रु गरिएसँगै कुल लम्बाई २.७ किलोमिटर (२,६८८ मिटर) रहेकोमा दुई मिटर खन्न बाँकी सुरुङ सकिएको छ । सुरुङ ब्रेक थ्रु गत फागुन २३ गते मिति तय भएको भएपनि स्थानीय अवरोधका कारण खन्ने काम रोकिँदा ब्रेक थ्रु मिति सरेको थियो । देशका अन्य विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाका मानिने नागढुंगाको २.८ किलोमिटरको दूरी घटाउनेछ । अहिले चलिरहेको सडकमार्ग हुँदै सिस्ने खोला बलम्बु साढे आठ किलोमिटर दूरी छ । सुरुङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुने उल्लेख गरिएको छ । आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन् । रेस्क्यु सुरुङको लम्बाई २ हजार ५५७ मिटर छ । यो इभ्याकुएसन सुरूङ ब्रेक-थ्रु भइसकेको छ । आयोजनामा तीन वटा अण्डरपास हुनेछन् । हाल तीन वटै पूरा भइसकेको आयोजनाले बताएको छ । त्यस्तै बक्स कल्भर्ट चार वटै निर्माण सकिएको छ । एउटा ओभरपास पनि निर्माण भइसकेको छ । तीन वटै पुल निर्माण सकिएका छन् । फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ । नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो । आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो । आयोजनाको कुल लागत करिब २२ अर्बमध्ये जाइकाले करिब १६.६ अर्ब ऋणमार्फत उपलब्ध गराउनेछ । सुरूङ ‘ब्रेक-थ्रु’ को अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धी भएको बताएका छन् । उनले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताए । ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौं र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्याउने बताए । ‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले नेपाललाई सुरूङ युगमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।’ उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए । नयाँ वर्षको सुरूआतसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक-थ्रु’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएकोप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो ।
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
तनहुँ । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो । यही वैशाख १ गते बैद्धिक पूजाविधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा केबलकारकोसमेत विधिवत्रुपमा पूजा गरी शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिए । उनका अनुसार पाँच वर्षअघिदेखि ५६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क र रेष्टुरेन्ट व्यावसायिकरुपमा सञ्चालनमा आएका छन् । केबलकार केही समय आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी सञ्चालन ल्याइएको मण्डलले बताए । सर्वसाधरणका लागि भने चाँडै मिति तोकेर खुला गरिने परियोजना कार्यालयले जनाएको छ । बन्दीपुरहिलअन्तर्गतका टुरिष्ट पार्क र रेष्टुरेन्ट भने सर्वसाधारणका लागि पूर्णरुपमा खुला गरिएका छन् । यहाँ आउने पर्यटकले बिना कुनै अवरोध मनोरञ्जन लिनसक्ने कम्पनीका उपाध्यक्ष किरण पोख्रेलले बताए । उनका अनुसार मनमोहक टुरिष्ट पार्कमा आकर्षक संरचनासँगै चट्टानमा बनेका शिव मन्दिर, गणेश स्वरुप छन् भने फुटपाथमाथि ३३ देवीदेवताका मूर्ति निर्माण गरिएका छन् । चट्टानमा उल्लुको मूर्ति भगवान् बुद्धको प्रतिमा, सूर्यनारायण भगवान्को वायुयान, विशाल कैलाश पर्वत र भगवान् शिवको प्रकट रुप, भगवान् विश्वकर्माको मूर्तिका साथै जङ्गली जनावरको सङ्ग्रहालय, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघलगायत जनावरका मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुसहितको सङ्ग्रहालयसमेत रहेका पोख्रेलले जानकारी दिए । निकै आकर्षक दाबी गरिएको उक्त टुरिष्ट पार्क ८६ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति दुई सय, मोटरसाइकल तीन सय, ट्याक्सी पाँच सय, माईक्रो बस एक हजार तथा ठूला बसका लागि एक हजार पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको उनको भनाइ छ । कम्पनीले अफरका रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेन्टमा सेवा लिन सक्नेगरी गिफ्ट भौचरको व्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्धक प्रकाश श्रेष्ठले बताए। बन्दीपुरहिलअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लब, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जिपलाइन, बन्दिपुर–सिद्धगुफा चियर लिफ्टलगायत साहसिक पर्यटकीय मनोरञ्जनका पूर्वाधार समेटर ‘बन्दीपुरहिल’ ब्राण्डमा परियोजना अगाडि बढाइएको उनले जानकारी दिए । उक्त परियोजनाको कूल लागत ६ अर्ब २९ करोड रुपैयाँ पुग्ने जनाइएको छ । सबै पूर्वाधार आगामी दुई वर्षभित्र सम्पन्न भई सञ्चालनमा आउने कम्पनीले जनाएको छ । रासस
त्रिभूवन विमानस्थलमा एक्सरे मेसिन नभएपछि कार्गो व्यवसायीले पठाएनन् सामान
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मेसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आईतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन् । सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरुले भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरुको काम बन्द गरेको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए । उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताए । सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै प्रश्न गरे । सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरवाही भएको आरोप लगाए । उनले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आईतबारबाट पूरै काम ठप्प पारेको बताए । मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौति लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गरे । लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको बताए । तीन निकायहरु पारवहन गोदाम, भन्सार र सिभिल एभिएसनहरु एकले अर्कोलाई आरोप देखाएर बसिरहेको बताए । ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा जुन सामान निकासी जाँचपासको क्रममा यो एक्सरे मिसिन जुन स्क्यानिङ गरिन्छ, सामान जाँच पास गर्दा । त्यो बिग्रिएको आज डेढ महिना भयो । यो नेपाल पारवहन तथा गोदाम लिमिटेडले यसको यसलाई सञ्चालन गर्दै आएको छ । भोलि तलमाथि भए यसको जिम्मेवारी को हो ? यो पारवहन गोदामको चरम लापरवाहीको आज पराकाष्ठा यहाँ देखिहाल्नु भयो । हामीले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको छ । जाँचपास भएको छैन । पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन तीन वटा निकाय तीन तिर भएको छ । एकले अर्कोलाई आरोप देखाएर बसेका छन् । सामान निकासी गर्न नसक्ने भन्दै हामीले हिजोबाट काम बन्द गरेका छाैँ’, उनले भने । उनीहरुले व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।
भिसीको नियुक्ति प्रक्रियाबाट भए पनि अझै पूर्ण भइसकेको छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताएका छन् । सोमबार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त गनै पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्वपूर्ण रहेको बताए । उनले यसको पहल आफूले शुरु गरेको भन्दै अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपति लगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गरे । भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्ने र सोहीअनुसार आफूले काम गरिरहेको बताए । ‘सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि यो स्टेटमेण्ट छ, यो महत्वपूर्ण छ जस्तै मलाई लागेको छ । यो कहाँबाट शुरु गर्ने, कसले गर्ने ? भन्ने एउटा च्यालेन्ज जस्तो थियो, मैले यो टियुको कन्भोकेसनको बेलामा अब टियुको भिसी र पदाधिकारी मेरिटोक्रेसीको आधारमा मेरिटको आधारमा गर्छु म भनेर त्यहाँ पहिला पब्लिक घोषणा गरेँ । अझै त्यो सिस्टमेटाइज गर्न त अझै बाँकी छ । भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्छ र त्यसरी मात्रै विश्वविद्यालयहरुलाई ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने थियो’, उनले भने । प्रधानमन्त्री दाहालले देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा जरूरी रहेको बताए ।
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, को-को आउँदैछन् सम्मेलनमा ?
काठमाडौं । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्नेगरी स्थान तय भइसकेको छ । सम्मेलनका लागि एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । यसअघि लगानी बोर्डले एक सय २५ वटा आयोनजा ‘सोकेस’मा लैजाने तयारी गरिहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहकासमेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ‘निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाटसमेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन् । निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरुकै जनशक्ति खटाइनेछ’, प्रवक्ता उपाध्यायले भने, ‘कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधितम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ ।’ लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहनेगरी तयारी भइरहेको उनको भनाइ छ । सम्मेलनका लागि अब १२ दिन मात्रै बाँकी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयम्सेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्व तयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिए । आइतबार बेलुकासम्ममा ३१ देशका दुई सय ६० भन्दा बढी अतिथि सम्मेलनमा आउने निक्रर्याेल भइसकेको बोर्डले जनाएको छ । लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए । सम्मेलनका क्रममा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ । त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ । सम्मेलनमार्फत् विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा लगिँदैछ । रासस
सर्वोच्च शिखरको १० वर्षे आरोह-अवरोह
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबारे नसुनेका मानिस सायद पाउन मुस्किल छ । नेपाल सात दशकभन्दा बढी अवधिदेखि सगरमाथाकै कारण संसारमा चिनिँदै आएको देश हो । हिमालै हिमालको देश भनेर पनि परिचित नेपालका दन्तेलहर मिलेका हिमालमात्रै हेर्न भनेर संसारका लाखौं पर्यटक आउने गर्छन् । संसारमा ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन् । तीमध्ये सर्वोच्च शिखर सगरमाथा सहित ८ हिमाल नेपालमै अवस्थित छन् । यहाँका अग्ला हिमाल पर्यटन भित्र्याउने मुख्य आधार हुन् । यहाँका सेतै टल्किने हिमाल आरोहण गर्ने र मनोरञ्जन गर्ने भनेर स्वदेशी तथा विदेशी पर्यटकको भिडै लाग्ने गर्छ । नेपालले हिमालको पर्यटनबाट नै राम्रो विदेशी मुद्रा आर्जन गर्छ । सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीको संख्या वर्सेनि बढ्दो अवस्थामा छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको सफल आरोहणपछि अन्य हिमाल आरोहणमा पनि पर्वतारोहीको धेरै आकर्षण बढ्दै गएको देखिन्छ । त्यसैगरी सन् १९७५ मा जापानकी आरोही जुनको ताबेईले सगरमाथा शिखर पुगेर संसारकै पहिलो महिला आरोहीको कीर्तिमान कायम गरिन् भने नेपालकै पहिलो महिलाको उपाधि पासाङल्हामु शेर्पाले पाएकी छिन् । २०४९ सालमा सगरमाथाको आरोहण गरी फर्किने क्रममा पासाङल्हामुको मृत्यु भएको थियो । सगरमाथा चुचुरोमा मानिस पुगेको ७ दशक पुगिसकेको छ । यसबीच नेपालीसहित ८ हजार २ सय ७२ जनाले सगरमाथामाथि विजय हासिल गरिसकेका छन् । कैयौँ आरोहीले सगरमाथा चढेरै विभिन्न कीर्तिमान बनाइ संसारभरि नाम कमाएका छन् । अहिलेसम्म सगरमाथामा सयौं रेकर्ड बनेका छन् । नयाँ रेकर्ड बन्ने र तोडिने क्रम अहिले पनि चलिरहेकै छ । आखिर किन सगरमाथामा भीड लाग्छ आरोहीको ? यसबारे चर्चा गरौं । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त ऋतु हो । अन्य ऋतुमा सगरमाथा आरोहण कमै हुने गर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यसपालि वसन्त ऋतुका लागि गत फागुन १८ देखि हिमाल आरोहण अनुमति खुला गरिसकेको छ । विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै रोयल्टी (सलामी दस्तुर) भने सर्वोच्च शिखर सगरमाथाबाट नै उठेको छ । यसपालि सगरमाथा आरोहणका लागि २ सय ९ जनाले अनुमति लिएका छन् । उनीहरूबाट २९ करोड ७५ लाख २८ हजार ५ सय ३५ रुपैयाँ बराबर रोयल्टी उठेको छ । नेपालले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । विभागले यी हिमालको आरोहण अनुमति जारी गर्छ । यीबाहेक नेपाल पर्वतारोहण संघले ५ हजार ८ सयदेखि ६ हजार ४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्छ । १० वषमा कति पुगे सगरमाथा चुचुरो ? सरगमाथा साहसको एउटा ज्वलन्त उदाहरण हो । सगरमाथा शिखर पुग्न लालायित आरोही आफ्नो ज्यान माया मारेर गएको हुन्छ । मौसमले साथ नदिए वा प्राविधिक रूपमा तलमाथि भयो भने त्यहाँ पुगका आरोही सकुशल घर फर्किन्छन् भन्ने आश नगरे हुन्छ । पर्यटन विभागले तयार पारेको पछिल्लो एक दशकको तथ्यांक पल्टाउँदा सर्वोच्च शिखर सगरमाथामा ३ हजार ८ सय ५० जनाले विजयी झण्डा फहराएका छन् । विभागका अनुसार २०१४ मा ६, २०१५ मा शून्य, २०१६ मा ४ सय ५१, २०१७ मा ४ सय २६, २०१८ मा ५ सय ६०, २०१९ मा ६ सय ४४, २०२० मा शून्य, २०२१ मा ४ सय ५९, २०२२ मा ६ सय ५८ र २०२३ मा ६ सय ४६ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । २०१४ र २०१५ भूकम्प र २०२० मा कोरोना भाइरस महामारीका कारण हिमाल आरोहण रोकिएको थियो । पर्यटन विभागका अनुसार गत वर्ष सन् २०२३ मा सगरमाथा आरोहण गर्न अनुमति लिएका विभिन्न देशका ४ सय ७८ आरोहीबाट मात्रै नेपालले ६६ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर रोयल्टी संकलन गरेको थियो । सगरमाथा आरोहण गर्न कति लाग्छ शुल्क ? पर्ययटन विभागका अनुसार सगरमाथा शिखर पुग्न विदेशी नागरिकलाई प्रतिव्यक्ति ‘नर्मल रुट’ को वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर, शरद ऋतुमा ५ हाजर ५ सय डलर र वर्षात सिजनमा २ हजार ७ सय ५० डलर तिर्नुपछ हुन्छ । यस्तै अन्य रुटबाट सगरमाथा चढ्नेले वसन्त ऋतुमा १० हजार, शरदमा ५ हजार र हिउँद÷वर्षातमा २ हजार ५ सय डलर तिर्नुपर्छ । यस्तै, नेपाली आरोहीले नर्मल रुटबाट सगरमाथा शिखर पुग्न वसन्त ऋतुमा ७५ हजार रुपैयाँ र अन्य रुटको ६० हजार रुपैयाँ तिर्नुपर्छ । शरद ऋतुमा नर्मल रुटबाट सगरमाथा चढ्न ३७ हजार ५ सय रुपैयाँ र अन्य रुटबाट जान ३० हजार र हिउँद तथा वर्सातको याममा चढ्न नर्मल रुटका १८ हजार २ सय ५० र अन्य रुटको १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ । सगरमाथा आरोहण गर्दा कति हुन्छ खर्च ? संसारकै सबैभन्दा अग्लो हिमाल भनेपछि महँगो त हुने नै भयो । सगरमाथा आरोहण अनुमित शुल्क महँगो जस्तो देखिने गर्छ । तर, अनुमतिदेखि शिखर पुगेर फर्किंदासम्म आरोहीको दसौं लाख रुपैयाँ बराबर खर्च हुने गर्छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाका अनुसार सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले अनुमति लिन नेपाल सरकारलाई बुझाउनुपर्ने सलामी दस्तुर सहित खर्च जोड्दा कम्तीमा २५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्ने गर्छन् । सगरमाथा आरोहण गर्न नेपाली आरोहीले २० लाख रुपैयाँसम्म र विदेशी आरोहीले करिब ५० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । संघ अध्यक्ष शेर्पाका अनुसार आरोहीले गर्ने खर्चभित्र नेपाल आउँदा लाग्ने भिसा शुल्क, बसाइ, हवाई भाडा, खुम्बु क्षेत्रमा खाने–बस्ने, बीमा, गाइड, सहयोगी स्टाफ, इक्विपमेन्ट अलायन्स, बेसक्याम्पमा ४० दिनसम्मको खाने–बस्ने सुविधा, हाई अल्टिच्युड टेन्ट, अक्सिजन, रोप फिक्सिङ शुल्क लगायत पर्छ । ७० वर्षमा सवा ३ सयले गुमाए सगरमाथामा ज्यान तेन्जिङ र हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेयता सात दशकमा ३ सय २८ जनाले ज्यान गुमाएको सरकारको तथ्यांक छ । पर्यटन विभागका अनुसार तीमध्ये ४० भन्दा बढी शेर्पा छन् । गत वर्ष वसन्त याममै सगरमाथा चढ्न गएकामध्ये १२ जनाको मृत्यु भएको थियो । फोहोर व्यवस्थापनमा चेतना बढ्दै पछिल्ला केही वर्षदेखि सर्वोच्च शिखर सगरमाथा आरोहणमा चाप बढ्दै गए पनि सगरमाथामा धेरै फोहोर नभएको पर्वतारोहण संघ अध्यक्ष शेर्पा दाबी गर्छन् । ‘सन् १९९२ मा टाइम्स म्यागजिनमा एक साइडमा सगरमाथा र अर्को साइडमा फोहोरको थुप्रो राखेर फोटो प्रकाशित भएपछि सरसफाइमा ध्यान दिन थालिएको हो,’ शेर्पा भन्छन्, ‘पत्रिकामा त्यो फोटो छापिँदा नेपालले आलोचना पनि खेप्नुपरेको थियो, अहिले फोहोर व्यवस्थापनप्रति सबै सचेत छन् ।’ अहिले सरकार र विभिन्न संघसंस्थाले सगरमाथा सफाइ अभियान नै चलाएका छन् । ‘अहिलेको अवस्थामा सगरमाथामा फोहोर नै छैन भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर, बाहिर हल्ला गरेजस्तो फोहोरको डंगुर नै भने छैन ।’ हिमाल आरोहण गर्नेले मानव मलमूत्र व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन् । तर, सगरमाथा आरोहण गर्नेको भीड वर्सेनि बढ्दै गइरहेको छ । यो भीडले पनि सगरमाथामा फोहोर व्यवस्थापन गर्नेमा चुनौती थपिरहेको छ । यसमा पनि सबैभन्दा ठूलो चुनौती मलमूत्र व्यवस्थापन भएको अध्यक्ष शेर्पा बताउँछन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रत्येक अंग्रेजी वर्षको मे २९ तारिखमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ । १९५३ मे २९ का दिन तेन्जिङ र हिलारीले मानव इतिहासमै पहिलो पटक संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा विजयी झण्डा फहर्याएको दिनलाई १७ वर्षदेखि नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ । हाल सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले संयुक्त रूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ ८ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन् ।
अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु
अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
विपदबाट एक वर्षमा ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति
काठमाडौं । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए । विपद्जन्य घटनाका कारण कूल पाँच अर्ब ४२ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ । गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए । गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए । मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए । त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए । आगलागीबाट दुई अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो । यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए । त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए । गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो । रासस