सेयर बजार राताम्मे, कारोबार पौने तीन अर्बमा सीमित
काठमाडौं । सोमबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब माथिको सेयर कारोबार भएको बजार सोमबार पौने तीन अर्बको सेयर कारोबार भएको छ । दिनभरमा ३१४ वटा स्क्रीप्सको २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । जसमध्ये सबैभन्दा बढी न्यादी ग्रुप पावरको १७ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा सबै समूह राताम्मे देखिएका छन् । त्यस्तै, टप लुजरको शीर्ष स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था र दोश्रोमा डोल्टी पावर कम्पनी रहेका छन् । यी दुबैको सेयर मूल्य १०र१० प्रतिशतले घटेर प्रतिकित्ता क्रमशः १८९५.४० रुपैयाँ र ४७८.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजार घट्दा सबैभन्दा बढी प्रतिशतले मूल्य बढ्नेमा माछापुच्छ्रे डिबेन्चर अग्रस्थानमा रहेको छ । ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७ को मूल्य ७.०९ प्रतिशतले बढेर प्रतिथान ९९७ रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ग्राहकले ६ हजारमै विदेश भ्रमण गर्न पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइएमई ट्राभल्सबिच सहकार्य भएको छ । बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको हो । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३,२१० रुपैँया र विदेश भ्रमणको लागि ६,००० रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउँनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि
काठमाडौं । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढि ओमोडा गाडीको सफल बिक्रि गरेको छ । बुकिङ भएको १ सय ५१ भन्दा बढि गाडीको हस्तान्तरणसँगै काठमाडौंको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्धघाटन सोमबार गरिएको छ। प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत माननीय सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस आर शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागीतामा उद्घाटन समारोह सम्पन्न भएको छ । कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि महामहिम चेन सोडद्वारा गाडीको कि ९साँचो हस्तान्तरण गरिएको छ । कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, ‘औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुल्ला गरिएको थियो । नेपालका मात्रै चार सय भन्दा बढिको बुकिङ भइसकेको छ भने र १ सय ५१ बढि गाडी हाल नेपाली सडकमा गुडिरहेका छन् । नेपाली ग्राहकहरूमाझ फ्यूचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौं ।’ लन्च भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाई प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको छ । विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजि अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ‘ओमोडा इ फाइभ’ मोडल लन्च गरेको कम्पनीले जनाएको छ ।
डिस मिडियाको सीईओमा बैंकर मानन्धर नियुक्त, आजैदेखि सम्हाले कार्यभार
काठमाडौं । डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकिङ क्षेत्रको विशेष अनुभव भएका मानन्धरले फरक क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएका हुन् । नवनियुक्त सीईओ मानन्धरले आजै अर्थात बैशाख ३ गतेदेखि नै उक्त मिडियाको कार्यभार सम्हालेका छन् । मानन्धरले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुमा माथिल्लो तहमा रहेर काम गरेका छन् । हालै मात्रै मानन्धरले करिब तीन वर्ष दुबईको मस्रेक बैंकमा नेपालको नायब प्रतिनिधिको रुपमा काम गरेका छन् । बैंकर मानन्धरसँग बैंकिङ क्षेत्रको करिब २४ वर्षको अनुभव छ । साविकको नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका उनले त्यसपछि एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड, बिजनेस युनिभर्सल, प्रभु, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंकहुँदै प्राइम कमर्शियल बैंकमा विभिन्न माथिल्लो तहमा रहेर काम गरेका छन् ।
बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित
झापा । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरूपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् । अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित भएका छन् । एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले साइलेस बनाउन बोटै खरिद गरेपछि उनी उत्साहित बनेका हुन् । ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोटबाटै मकै बिक्री भएपछि भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताए । उनले यसपालि पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकिलो साढे चार रुपैयाँका दरले ११ हजार किलो खेतबाट बिक्री गरेको बताए । मकै सुकाएर बेच्दा भने जस्तो मूल्य पनि नपाउने र लागत पनि बढी लाग्ने हुँदा हरियो मकै साइलेसका लागि बोटैसँगै बिक्री गरिएको भन्दै यसबाट बढी फाइदा भएको खनालले सुनाए । साथै अर्को वर्ष मकैखेती विस्तार गर्ने तयारी रहेको उनको भनाइ छ । एनएमसीले मेचीनगर नगरपालिका–१४ मा अर्गानिक तरकारी खेतीसँगै उन्नत जातका गाईफार्मसमेत सञ्चालन गर्दै आएको छ । सहकारीले १८ लाख किलो मकैको साइलेस बनाउनका लागि धमाधम सूचीकृत भएका किसानको खेतबाटै मकै खरिद गरिरहेको नमूना एकीकृत कृषि फार्मका संयोजक हिरा पोखरेलले जानकारी दिए । ‘आफ्नै गाई फार्मका लागि १२ लाख किलो र बिक्री गर्नका लागि छ लाख किलो मकैको साइलेस बनाउने तयारी गरिरहेका छौँ,’ उनले भने । उनले मेचीनगर, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, अर्जुनधारा, विर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका किसानले उत्पादन गरेका मकै खरिद गर्ने गरेको बताए । साइलेस घाँसमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर–४ का किसान केदार न्यौपानेले बताए । साइलेस खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उनको अनुभव छ । साइलेस एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् । जिल्लामा ४४ हजार २५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । रासस
गर्मी छल्न कुपिन्डे ताल पुग्छन् पर्यटक, दैनिक सयौँ पर्यटक घुम्न आउने
दाङ । सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन् । स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुङ्गा सयरका लागि आन्तरिक पर्यटक जाने गरेका स्थानीयले जानकारी दिएका छन् । चारैतिर वनजङ्गल र ती जङ्गलको बीचमा अवस्थित छ, कुपिन्डे ताल । हरियाली जङ्गल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । हुनत अरु याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । यतिखेर झन् गर्मी सुरु भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरु त्यहाँ जाने गरेका छन् । त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्दछ । साथै पर्यटकहरु डुङ्गामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्दछन् । पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रुपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका-६ बाट यहाँ पुगेका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताए । उनले भने ‘यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा नलोभिने कोही हुँदैन । हामी पनि समय समयमा यहाँ परिवारकै साथमा आउने गर्दछौँ । यस ताललाई सबै मिलेर संरक्षण गरी अझ राम्रो बनाउनुपर्छ, यसबाट थप पर्यटक आकर्षित हुनेछन् ।’ अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको बताए । तालको सुन्दरताबाट लोभिएको उनले सुनाए । प्राकृतिक रुपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका– ६ का ४७ वर्षीय राधा रजौरेले बताए । उनले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राखे । उनले भने, ‘यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके सल्यानको मात्र नभइ छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ । मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ ।’ सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजाआरधना गर्न गएका भक्तजनहरु कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन् । त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ । बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुगेका ४८ वर्षीय भीमप्रसाद रेग्मी तालमा रमाइरहेका थिए । उनी तालमा डुङ्गा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त थिइ । ताल हेर्न पुगेकी तुलसीपुर उपमहानगरपालिका-५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गरिन् । उनी भन्छिन्, ‘ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र सम्बद्र्धनका लागि सरकारको ध्यान पुग्नु जरुरी छ ।’ तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उनले बताए । कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरु भएको बताए । उनका अनुसार यस तालको आफ्नै विशेषता छ । वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन । पात खस्नासाथ आफैँ किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ । यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो । कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ । तालको क्षेत्रफल भने यकिन छैन । तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रुपमा देखिँदैन । स्थलगत रुपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन । देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ । बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताए । उनले ताल जङगलको बीचमा रहेको, यहाँ जलचर जीवजन्तु समेत रहेका तथा जमिन वनको भागमा पर्ने भएकाले वातारणीय प्रतिवेदन तयार गरेर तालको संरक्षण तथा विकासको योजना बनाइने बताए । प्रतिवेदन स्वीकृत भएर आएपछि गुरुयोजना तयार गरी भौतिक पूर्वाधार निर्माणका काम थालिने जानकारी पनि उनले दिए । साथै यसवर्ष बाटो मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा आधारभूत विकासका लागि बजेट विनियोजन गरिने उनको भनाई थियो । रासस
नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु (फोटो फिचर)
काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको साेमबार ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।प्रधानमन्त्रीले सोमबार सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो । नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । सोमबार छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै २२ अर्ब रुपैयाँ बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।
उद्देश्यबिना ५० लाख बढीको व्यक्तिगत कर्जा अनगिन्ती प्रवाह
काठमाडौं । वाणिज्य बैंकका सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले गरेको सम्झौता अनुसारको कार्यसम्पादनको विषयमा मूल्याङ्न नगरेको अध्ययन देखाएको छ । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले गरेको अध्ययनमा सीईओसँग भएको सम्झौता अनुसार कार्यसम्पादनको मूल्याङ्कन नगरेको उल्लेख छ । सञ्चालक समितिले कर्जा मूल्याङ्कन, रिकभरी र आवश्यक पर्ने सामाग्री खरिद गर्ने विषयमा मात्रै ध्यान दिएका छन् । तर, नीति निर्देशन, अनुपालन, लेखापरीक्षण र जोखिम व्यवस्थापन कार्यमा सञ्चालक समितिले समय नदिएको राष्ट्र बैंकले जनाएको छ । कतिपय बैंकहरूले रिकभरी प्लानिङ नीति, अनुपालन नीति, निर्देशक शिक्षा कार्यक्रम निर्देशिका जस्ता नीति तथा दिशानिर्देशहरू तर्जुमा गरेका छैनन् भने समयमै पुनरावलोकन र अद्यावधिक गर्न चासो दिने गरेका छैनन् । साथै, कम्पनी ऐन, २०६३ को दफा ८६ (२) बमोजिम अधिकांश बैंकमा महिला निर्देशक नरहेको राष्ट्र बैंकले जनाएको छ । धेरैजसो बैंकमा बोर्डले विगतका बैठकमा गरेका निर्णयको कार्यान्वयन अवस्था र व्यवस्थापनलाई दिएको निर्देशनको समीक्षा गर्ने अभ्यास नरहेको राष्ट्र बैंकको भनाइ छ । जोखिम व्यवस्थापन कार्यमा बैंकहरूसँग एमआईएसको अभाव रहेको, जोखिम व्यवस्थापन समितिले सिफारिस गरेका सुझाव कार्यान्वयन नगरेका र उद्योग विशेष जोखिम प्रोफाइल तयार नपारेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । केही बैंकहरूले एकीकृत निर्देशन विपरित आन्तरिक लेखापरीक्षण प्रमुखको कार्यसम्पादन मूल्याङ्कन डीजीएम तथा सीईओबाट गरिएको भेटिएको छ । बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६१ (ई) ले वैधानिक लेखा परीक्षक नियुक्तिका लागि ३ जना लेखा परीक्षकलाई साधारण सभामा सिफारिस गरी नियुक्त गर्नुपर्ने प्रावधान छ । तर, लेखापरीक्षण समितिले एक जना लेखा परीक्षक छनोट गरी सोही लेखापरीक्षण फर्मलाई स्वीकृतिका लागि साधारण सभामा सिफारिस गरिएको राष्ट्र बैंकले भनेको छ । बैंकहरूमा सीप र संख्याका हिसाबले आन्तरिक लेखापरीक्षण कार्यमा कर्मचारीको अभाव, राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसारको सूचना सुरक्षा र प्रणाली लेखापरीक्षण नगरेको राष्ट्र बैंकको प्रतिवेदनमा छ । बैंकहरूले प्रवाह गरेको कर्जाको अनुगमन नहुँदा उक्त कर्जा अन्य क्षेत्रमा प्रवाह भएको पाइएको राष्ट्र बैंकको दाबी छ । कर्जा तथा ब्याज चुक्ता गर्न अर्को ऋण दिने गरेको उदाहरण रहेको राष्ट्र बैंकले भनेको छ । वर्किङ क्यापिटल गाइडलाइन अुनसार कर्जा सुविधा प्रयोग गर्ने ऋणीले छुट्टै चालू खाता र ऋण खाता सञ्चालन गरेका छैनन् । तसर्थ, ऋणीहरूले चालू खातामा जम्मा भएको रकम अन्तरनिहित सम्पत्ति सिर्जना बाहेक अन्य प्रयोजनमा प्रयोग गरेको पाइएको छ । साथै, व्यवसाय, अनुगमन प्रतिवेदन र धितो अनुगमन प्रतिवेदन नियमित नगरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार केही बैंकले उद्देश्यबिना ५० लाख रुपैयाँभन्दा बढीको व्यक्तिगत कर्जा थुप्रै प्रवाह गरेको, क्रेडिट मूल्याङ्कन नगरी ऋण नवीकरण गरिएको, इएसआरएम निर्देशन प्रभावकारी नभएको, ईआईए प्रतिवेदन बिनै लगानी गरेको, ५० करोडभन्दा माथिको ऋण सुविधा प्राप्त गर्ने ऋणीहरूको क्रेडिट रेटिङ रिपोर्टलाई धेरै बैंकहरूले राष्ट्र बैंकको एकीकृत निर्देशन पालना नगरेको प्रतिवेदनमा उल्लेख छ । [pdf id=476667]