विकासन्युज

प्लाइउड उद्योगमा ३ सय स्थानीयलाई रोजगारी

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताए । ‘कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,’ उनले भने । स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताए । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उनले जोड दिए । सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताइन् । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उनले बताइन् । उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उनलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उनले बताइन् । ‘ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ,’ उनले भनिन् । उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताए । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उनले जानकारी दिए । उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब ५ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, ‘हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।’ ट्रेड युनियन गठनले कर्मचारी विभाजित उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ । अहिले सञ्चालन हुँदा दैनिक पाँच लाख रुपैयाँ घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक १० लाख रुपैयाँभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उनले अनुरोध गरेका छन् । स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् । उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताए । उनले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाए । ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताए । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ । ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् । रासस

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा १ करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत ५ करोड ६५ लाख २७ हजार छ । २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा १ करोड १ लाख ४४ हजार लागतमा ६ दशमलव ३९ किलोमिटर सौर्य तारबार उक्त गरिएको कार्यालयले जनाएको छ । मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६ दशमलव ९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । गत असारमा २ करोड ५३ लाख ९५ हजार रुपैयाँको लागतमा उक्त खण्डमा बार लगाइएको हो । बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो । पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार रुपैयाँ आवश्यक पर्ने प्रमुख राईले जानकारी दिए । देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष दुईपटक मानव बस्तीमा हात्ती प्रवेश गर्दै आएका छन् । वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन् । विसं २०७५ अघि झापामा १०–१२ वटा हात्ती बस्ने गरेकामा त्यसपछि उक्त सङ्ख्या वृद्धि हुँदै हाल ३५ पुगेको छ । अहिले वर्षैभरि बस्ने गरेका डिभिजन वन कार्यालयले जनाएको छ । ‘यसै वर्ष झापाको विभिन्न स्थानमा चारवटा छावा जन्मेका छन्,’ प्रमुख राईले भने । जिल्लामा २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ भने २०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ । विसं २०६८ देखि गत वर्षसम्म ७ करोड १९ लाख ७० हजार ६ सय ९७ रुपैयाँ पीडितलाई राहत रकम वितरण भएको छ । हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु भएको छ । चालु आवमा हात्तीको आक्रमणबाट ५ सय ३२ घटनाका पीडितलाई १ करोड २६ लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्न बाँकी छ ।

आजदेखि काठमाडौं महानगरले क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । महानगरलेले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिनाभरि शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नम्बर २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नम्बर ३, महाराजगन्जमा ११ र १२ गते, वडा नम्बर २६, लैनचौरमा १४ गते, वडा नम्बर २०, भीमसेनस्थानमा १६ गते, वडा नम्बर २१, यंगालमा १७ गते, वडा नम्बर २३, ओमबहालमा १८ गते र वडा नम्बर १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नम्बर २, लाजिम्पाटमा २४ गते, वडा नम्बर २४, मखनमा २५ गते, वडा नम्बर २२, टेबहालमा २६ गते, वडा नम्बर १८, नरदेवीमा २७ गते, वडा नम्बर १९, कङ्केश्वरीमा २८ गते, वडा नम्बर ३२, पाल्पाकोट ९छाप्रे०, कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउने छन् । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरले जनाएको छ ।

काठमाडौंका यी स्थानमा ४ दिनसम्म बिजुली जाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार आजबाट वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मंगलबार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर तारले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ । बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्‍याङ, ठुलो भर्‍याङ, कामना स्कुल, अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी बैंकका संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ ।

देशभर मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । महाशाखाले बुधबार बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

हिन्दू धर्मावलम्बीले आज राम नवमी मनाउँदै

काठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् । काठमाडौं उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको त्यहाँबाट हाम्रा समाचारदाताले जनाएका छन् । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ । धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमुना मानिन्छ । रासस

‘देशैभर पुग्यो पाठ्यपुस्तक’

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र १ हजार २ सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पुर्‍याएको उनले बताए । प्रबन्ध निर्देशक झाले भने, ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै सतप्रतिशत पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरेका छौँ । नयाँ शैक्षिक सत्र सुरु हुदाँसम्म पूरै सेट सबै कक्षाका विद्यार्थीको हातहातमा पुग्ने गरी वितरण भएको छ ।’ केन्द्रले यस वर्षका लागि १ करोड २० लाख थान पुस्तक बिक्री गरेको उनले जानकारी दिए । गत वर्ष १ करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो । यस वर्ष पुस्तकको माग कम भएकाले गत वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्यांक छ । उनले गत वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल १ करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टक रहेको जानकारी दिए । गत वर्ष नयाँ पाठ्यक्रमको पुस्तक छपाइ गरेकाले बढी बिक्री भएको र यस वर्ष पुरानै पाठ्यक्रमका पुस्तक रहेकाले कतिपय विद्यार्थीले गत वर्षकै पुस्तक चलाएकाले कम बिक्री भएको हुनसक्ने उनले बताए । ‘यस वर्ष पुस्तक कम बिक्री भएपनि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी पाएका छौँ,’ उनले भने, ‘कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तुरुन्तै पुस्तक पु(याउँछौँ, हाम्रो टेलिफोन नम्बर पनि पठाएका छौँ, अहिलेसम्म पुस्तक छौँ भनेर कतैबाट गुनासो आएको छैन ।’ केन्द्रले यसै शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । गत शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मको पुस्तक समयमै पुर्‍याउन सफल भएकाले सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । केन्द्रका प्रबन्ध निर्देशक झाले आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए केन्द्रले समयमै वितरण गर्न सक्ने बताए । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यसवर्ष कक्षा १ देखि ४ सम्मको मात्रै दिएको थियो ।