माछापुच्छ्रे बैंकको नयाँ भवन रुपन्देहीको सिद्धार्थनगर नगरमा
काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मंगलबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंक अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको बताए । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
विशेष अदालतको फैसलाविरुद्ध गुरु न्यौपाने सर्वोच्च जाने
काठमाडौं । रिडी हाइड्रोका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालत जाने तयारीमा छन् । नेपालमा पहिलो पटक सेयर खरिद/बिक्री गरेको आरोपमा ७५ हजार नगद जरिवाना गर्ने र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन रोक लगाएको र सोही कारोबारलाई भित्री कारोबार भनी अपुष्ट तथ्यका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी सो मुद्दा विचाराधीन रहेको र उक्त मुद्दा फैसला हुँदा मुद्दाबाट भित्री कारोबार हो, होईन भन्ने निर्णय हुन बाँँकी रहेकाले न्यौपानेले सर्वोच्च जाने तयारी गरेको बताएका छन् । न्यौपानेले आफू अध्यक्ष रहँदा २९ हजार ९ सय ५३ कित्ता रिडी पावर कम्पनीको सेयर खरिद त्रुटिपूर्ण रूपमा खरिद गरी ३९ हजार २३ कित्ता सेयर बिक्री गरेको दाबी गरिएको छ । न्यौपानेलाई गत आइतबार विशेष अदालतले १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको थियो । विशेष अदालतले न्यौपाने ज्येष्ठ नागरिक भएको कारण देखाउँदै ठहर गरेको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी १ वर्षमात्र कायम हुने पनि आदेश दिएको छ । धितोपत्र बोर्ड आफूले गर्नुपर्ने प्रत्यक्ष निगरानी, निरीक्षण सुपरीवेक्षण गर्ने दायित्व पूरा नगरी आफूमाथि कारबाही गरेको र सेयर खरिद बिक्री गर्ने कामलाई नियमित र नियन्त्रण गर्ने ब्रोकर कम्पनीलाई कुनै कारबाही नगरी एकोहोरो रूपमा गरिएको कारबाही कानुन संगत छ वा छैन भन्ने कुरा भविष्यमा सर्वोच्च अदालतले फैसला गरेपछि पुष्टि हुने न्यौपानेले बताएका छन् । न्यौपानेले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वित्तीय संस्थाको उच्च तहमा रही अवकाश पाएपछि २०५४ सालमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरी जलविद्युतको यात्रा सुरु गरेको थिए ।
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन, जेठदेखि सेवा दिने
गोरखा । गोरखाभित्र रहेका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ । स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका-६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका-३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो । अनुमति पाएका दुवै अस्पतालले आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा सुरु गर्ने बोर्ड कार्यालय गोरखाका प्रमुख विसाल लौडारीले जानकारी दिए । ‘दुवै अस्पतालले बोर्डले निर्धारण गरेका आवश्यक सबै मापदण्ड पूरा गरेपछि बीमामार्फत उपचार सेवाका लागि सम्झौता भएको छ’, उनले भने, ‘भीमसेनथापा र अजिरकोट गाउँपालिकाका स्वास्थ्य बीमा गराएका व्यक्तिले बीमा नवीकरण गरेपछि स्थानीय अस्पतालबाट सेवा लिन सक्नेछन् ।’ उक्त सेवा सुरु गर्न सहिद स्मृति आधारभूत अस्पतालले एक वर्ष अघि नै निवदेन दिएको थियो भने भच्चेक अस्पतालले चार महिनाअघि बोर्डमा निवदेन दिएको थियो । योसँगै जिल्ला भित्रका ११ पालिकामध्ये सातवटा पालिकामा स्वास्थ्य बीमाअन्तर्गतक सेवा केन्द्र पुगेको प्रमुख लौडारीले बताए । उनका अनुसार अझै चार वटा पालिकामा स्वास्थ्य बीमाको सेवा केन्द्र स्थापना हुन बाँकी छन् । जिल्लाभित्र यसअघि गोरखा अस्पताल र आँपपिपल अस्पताल तथा मकैसिंह प्राथामिक स्वास्थ्य केन्द्र, जौवारी प्राथामिक स्वास्थ्य केन्द्र र आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र गरी पाँचवटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो । वि.सं २०७४ असारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको गोरखामा अहिलेसम्म एकलाख छ हजार बढी नागरिकले बीमा गराइसकेका प्रमुख लौडारीले जानकारी दिए । ‘अहिलेको तथ्याङ्कलाई हेर्दा जिल्लामा झण्डै ४४ प्रतिशत भन्दाबढी नागरिकको स्वास्थ्य बीमामा पहुँच पुगिसकेको छ’, उनले भने, ‘चार हजार भन्दाबढी बीमितको फारम यहीँ महिनाभित्र दर्ताको प्रक्रियामा छ ।’ रासस
अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र, पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि
चीन । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरूले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र एक दशमलव छ प्रतिशतले बढेको छ । चीनको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट सुधारमा आउन सङ्घर्ष गर्नुपरेको छ । कोभिड–१९ महामारीका कारण मागमा मन्दी र रियल स्टेटमा देखिएको सङ्कटका कारण आर्थिक विकास प्रभावित भएको थियो । चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण रियल स्टेट क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्दछ । पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात प्रतिशतको वार्षिक आधारमा बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ । अक्सफोर्ड इकोनमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी–मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शन ले सहयोग गरेको छ भने चन्द्र नववर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ । बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्त्वाकांक्षी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ । यस्तो बलियो वृद्धिले सामान्यतया क्षेत्रभर सेयर मूल्य उच्च पार्ने भए पनि मङ्गलबार वाल स्ट्रिटमा स्टकहरू पछि हटेपछि एसियाली सेयरहरू तीव्ररूपमा घटेको छ । रासस
महासंघका अध्यक्ष ढकालद्वारा धार्मिक पर्यटन पूर्वाधार निर्माणमा जुट्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गरेका छन् । मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् । हिन्दु धर्मावलम्बीका लागि वाग्लुङ कालिका पुग्नुपर्ने गन्तव्य बनेको र पन्चकोट लगायत थप गन्तव्यहरु लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई एकीकृतरुपमा प्रर्वद्धन गर्न सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे । कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । काठमाडौंमा चन्द्रागिरिको भालेश्वर मन्दिर, नवलपरासीको मौलाकालिका, बुटवलको कामाख्या देवीको मन्दिर, सुदूरपश्चिम कर्णाली चिसापानीमा जालपादेवी मन्दिरदेखि पूर्वको पाथिभरा देवीको दर्शन सहज बनाउन केबलकार निर्माण गरिरहेको प्रसङ्ग जोड्दै अध्यक्ष ढकालले धार्मिक पर्यटन प्रर्वद्धनमा सबै क्षेत्रको सहयोग भए पर्यटन मार्फत समृद्धि र रोजगारी सृजनामा ठुलो काम गर्न सकिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।
महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरूप पुनर्संरचना गर्छौं : तोयम राया
काठमाडौं । प्रश्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरूप पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार संसदीय सुनवाई समितिको बैठकमा उहाँले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरूप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधार तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताए । वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरुसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ । उनले भने, ‘सबभन्दा पहिले स्वतन्त्रता र संस्थागत सुदृढीकरण । यसमा मैले राखेको विषय चाहीँ परिवर्तित संघीय शासन प्रणाली अनुरूप महालेखा परीक्षकको कार्यालयको संगठनको पुनर्संरचना गरिने छ। प्रदेशमा सार्वजनिक लेखा समिति छ । स्थानीय तह दूरदराजमा छन । अब हामी केन्द्रमा मात्रै बसिरहेर त्यो बेरुजु र लेखा सुपरीक्षणको काम गर्नलाई खर्चिलो पनि भएको छ । कठिन पनि भएको छ । र त्यो दूरदराजको समस्या बुझन पनि गाह्रो भएको छ । त्यसकारण यसको पुनर्संरचना गर्नुपर्छ कि भनेर मैले राखेको छु । विज्ञसँग छलफल गरी गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पारिनेछ ।’ प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरुसँग परामर्श लिएर अघि बढ्ने पनि बताए ।
एसईईमा सहभागी विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा छुट
काठमाडौं । एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट हुने भएको छ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न यही मिति २०८१ जेष्ठ मसान्तसम्मका लागि निम्न बमोजिमका बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ । बैंकका अनुसार यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुप गर्ने विश्वास कम्पनीले लिएको छ । उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ । यस सम्बन्धी थप जानकारीका लागी कम्पनीको वेवसाइटमा हेर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बम्पर छुट सहितका योजनाहरु :
सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट
काठमाडौं । व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ । उद्यमी संजोग कोइरालाले सन १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हाल सम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ । सिभिलमलमा मनोरम वातावरण(एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन् । विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको छ। नेपालमा चिया संस्कृतिको प्रवर्धनमा अग्रणी रहेको चिया अड्डाका आउटलेटहरुमा सधैंजसो चिया पारखीहरुको भीड लाग्ने गर्छ ।