नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशत घट्यो, एनपीएल ९.२४ प्रतिशत पुग्यो
काठमाडौं । नेपाल फाइनान्सको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८७.२५ प्रतिशत घटेर १३ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म फाइनान्सको खुद ब्याज आम्दानी १३.२८ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ९ महिनाको अवधिमा फाइनान्सको खुद फि तथा कमिशन आम्दानी ५७.८९ प्रतिशत बढेर ८९ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८.५० प्रतिशत बढेर १० करोड १३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ८२.२३ प्रतिशत घटेर १८ लाख ८३ हजार रुपैयाँ रहेको छ । फाइनान्सको वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी ०.२७ प्रतिशत बढेर ७२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष ४.२१ प्रतिशत घटेर २५ करोड ४० लाख रुपैयाँ, निक्षेप संकलन २४.२९ प्रतिशत बढेर २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ र कर्जा लगानी ३३.२५ प्रतिशत बढेर १ अर्ब ७३ करोड ६७ हजार रुपैयाँ गरेको छ नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ घटेर २४ पैसामा सीमित भएको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.८३ रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा (एनपीएल) ४.३७ प्रतिशत बढेर ९.२४ प्रतिशत पुगेको छ । यस अवमिा फाइनान्सको आधार दर १२.३५ प्रतिशतमा झरेको छ ।
ज्योति विकास बैंकको नाफा १५. २४ करोड रुपैयाँ, आधार दर ९.९८ प्रतिशतमा झर्यो
काठमाडौं । ज्योति विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा २४.४० प्रतिशत घटेर १५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेर १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेर १ अर्ब ९२ करोड २७ लाख रुपैयाँ, सञ्चालन नाफा २३.३१ प्रतिशत घटेर २२ करोड ७ लाख रुपैयाँ, नेट फि एण्ड कमिसन आम्दानी ५ प्रतिशत घटेर १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ, जगेडा कोष ८.४५ प्रतिशत बढेर १ अर्ब ५० करोड ३३ लाख रुपैयाँ, निक्षेप संकलन ३.४९ प्रतिशत बढेर ६३ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ र कर्जा लगानी ०.४६ प्रतिशत घटेर ५० अर्ब ७३ करोड १३ लाख रुपैयाँ गरेको छ । बैंकको वितरणयोग्य नाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.५९ रुपैयाँ घटेर ४.६२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.२० रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) २७.७५ प्रतिशत बढेर ४.९७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.८९ प्रतिशत एनपीएल थियो । बैंकको गआधार दर गत वर्ष १२.६६ पतिशत रहेकोमा ९.९८ प्रतिशतमा झरेको छ भने कर्जा निक्षेप अनुपात ८३.२९ प्रतिशत छ ।
हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला, महिनाको ३० हजारसम्म कमाइ
घोराही । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउछिन्। हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन् । हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले भनिन् ‘हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।’ उनका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा रु १५–२० हजार सजिलै कमाउन सकिने उनले बताइन् । हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको बताइन् । उनले भनिन्, ‘घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी, मोबाइल हेरेर समय बित्थ्यो, अहिले कामले गर्दा फुर्सद हुँदैन ।’ उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छिन् । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आए । तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लागेकी सुमित्राले महिनामा रु २० हजारसम्म कमाउने गरेको बताइन् । घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको बताइन् । उनले भनिन्, ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन । सामग्री उत्पादनमा मात्रै लागेकी महिलाले महिनामा रु ३० हजारसम्म कमाउने गरेकी छिन् ।’ काठमाडौँमा धेरै बिक्री हुने सामग्री मागअनुसार उत्पादन गर्दै आएको उनले बताइन् । रासस
कर छलेका ३० कम्पनीलाई आन्तरिक राजस्वको पत्र
काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले विभिन्न ३० वटा कम्पनीलाई कर निर्धारण नहुनु पर्ने कारणसहित जवाप पेस गर्न निर्देशन दिएको छ । मंगलबार विभिन्न ३० वटा कम्पनीलाई पत्र पठाउँदै कर निर्धारण हुनु नपर्ने ठोस प्रमाण तथा कागजात पेस गर्न १५ दिनको समय दिइएको छ । कार्यालयले आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा ४ मा तथा मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४क) बमोजिम पशुपति ट्रेड कन्सर्न, एन्टिक इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन, जैन ईन्टरप्राईजेज, कृष्ण सर्जिकल सप्लायर्स, जय सचिदानन्द अटो पार्टस, आकाश ट्रेड कन्सर्न, कर्पोरेटिभा मुराटोरी एण्ड सिमनटिष्ट, चैतन्य ब्युटी, पावर प्याक रिपेयरीङ्ग सेन्टर, प्रभात श्री इन्टरनेशनल, मेराज रेडिमेड कपड़ा पसल पिक ट्रेडिङ, अभयकान्ति ईन्टरप्राईजेजलाई ठोस प्रमाण पठाउन निर्देशन दिएको हो । यस्तै, खाँडदेवी इन्टरप्राइजेज, सूर्या सप्लायर्स, विज थी सिक्स्टी वान, ऊझ साई मेशिनरी सप्लायर्स, सनसाइन टेडर्स/ऋषभ जोगाई, बेल स्टोन हाईटेक नेपाल, सिने डे सेफ कम्पनी, काठमाण्डौ स्क्रेप सप्लायर्स, सगुन सुमित्र इन्टरप्राईजेज, श्री जय दुर्गा ट्रेडर्स, काभ्रे ट्रेड एण्ड जनरल सप्लायर्स, मरु विनायक इन्टरप्राइजेज, डि.सि. डेस्कोट फेशन स्टोर्स, ओम गोरख मेशिनरी ट्रेडर्स, प्रिन्ट प्वाइन्ट पब्लिसिङ्ग, एभरेष्ट इन्टरनेशनल/शुदर्शन कुमार चुडिवाला, क्वालिटेक स्क्यान एण्ड प्रि–प्रेस लाई निर्देशन दिएको हो । ‘जालसाजीले गर्दा कुनै व्यक्तिको कर निर्धारण गलत ढङ्गबाट भएको रहेछ भने जुनसुकै बखत विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछ । यसरी संशोधन गर्दा जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र संशोधन गरिसक्नु पर्नेछ,’ आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा ४ मा उल्लेख छ । त्यस्तै, मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४क) मा कुनै व्यक्तिले झुट्टा लेखा वा बीजक वा अन्य कागजात तयार गरी वा जालसाजी गरी कर छलेको रहेछ भने जुनसुकै बखत विभागले पुनः कर निर्धारण गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।
अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाडौंमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे । आईडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे । नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौं घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए । उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो । मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे । विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो । उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तिय ढाँचाबारे विश्व बैंकका काठमाडौंस्थित अधिकारीहरुसँग भएको राउण्डटेबल बैठक फलदायी भएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्ने आशा व्यक्त गरे । दुवै आयोजना नेपालको नेपालको ‘गेम चेन्जर’ आयोजना रहेको भन्दै उनले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आगामी असार महिनाभित्रमा माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन हुनेमा आफूहरु ढुक्क रहेको बताए । माथिल्लो अरुण आयोजना क्षेत्रका प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति वितरण, पहुँच मार्ग निर्माण तथा जमिनको अधिग्रहणजस्ता काम सकिने चरणमा पुनेको जानकारी उनले दिए । नेपालले जलविद्युतका लागि क्षेत्रीय बजारको समेत सुनिश्चितता गरेको भन्दै उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरेको र बंगलादेशले समेत नेपालको विद्युत किन्ने प्रक्रिया अघि बढिसकेको स्पष्ट गरे । आईएफसीका उपाध्यक्ष पुलिटीसँगको भेटमा मन्त्री पुनले आगामी दिनमा आईएफसी र नेपालबीचको सहकार्य थप प्रगाढ र सुदृढ भएर जाने विश्वास व्यक्त गरे । नेपाल र आएफसीबीच पाँच दशक लामो सहकार्य रहेको स्मरण गर्दै मन्त्री पुनले नेपालको पर्यटन क्षेत्रमा आईएफसीले पहिलोपटक लगानी गरेको स्मरण गरे । उनले सोही होटलमा आगामी जुनमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक आयोजना गरिएको पनि जानकारी गराए । निजी क्षेत्रसँग सम्बन्धित भएर नेपालको आर्थिक विकास प्रयास तथा पुँजीको व्यवस्थापनमार्फत निजी क्षेत्रको विकासमा आईएफसीले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा लगानीका क्षेत्र बढाउन तथा पुँजी परिचालन तथा प्राविधिक सहयोग बढाउन पनि अपिल गरे । नेपालको पर्यटन, ऊर्जा, यातायात र कृषि क्षेत्रमा आईएफसीको सहयोग रहँदै आएको उनले बताए । आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रका लागि लगानीको राम्रो वातावरण रहेको उनले बताए । सानो अर्थतन्त्र भएका कारण लगानीयोग्य पुँजी रहेकाले वैदेशिक लगानीका स्वागत गर्ने नीति अख्तियार गरिएको बताए । निजी पूँजी परिचालन बढाउन, थप रोजगारीका अवसर सिर्जना गर्न तथा आर्थिक गतिविधि र वित्तीय पहुँच बढाएर जनताको जीवनस्तर उकास्न सरकार लागिपरेको मन्त्री पुनले उल्लेख गरे । तीनवटै भेटमा पुनले वैदेशिक लगानी भित्र्याउन आगामी १६ र १७ वैशाखमा तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिएको भन्दै त्यसमा उच्चस्तरको सहभागिताको अपेक्षा राखिएको बताए । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुन सोमबार बिहान अमेरिका प्रस्थान गरेका गरेका थिए ।
१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सञ्चालनमा, कसरी पुग्ने ?
काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी ‘त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन् । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेल बताउँछन् । त्रिशुली रिभर साइड रिसोर्ट भन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ । २२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने सञ्चालक कँडेल बताउँछन् । भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । जसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ । ‘वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ । यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन् । भिल्लामा न्युनतम ४ हजार रुपैयाँ देखिको प्याकेज बुक गर्न सकिनेछ । भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउँछन् । भिल्लामा पुगेका पाहुनाहरूलाई यि सबै किसिमका लक्जरी सुविधाहरू उपलब्ध छ । भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रुमको बालकोनीबाट त्रिशुली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण हो । साथै जंगल छेउमा भएकाले सुन्दर तथा शान्त वातावरण सहितको प्रकृतिमा लीन हुन सकिनेछ । कर्पोरेट ग्राहकमात्र नभएर कुनै विशेष पार्टीको मज्जा लिन तथा विवाह गर्न समेत भिल्ला उत्तम गन्तव्य बन्ने सञ्चालक कँडेल बताउँछन् । अविरल बग्ने त्रिशुली नदी र आसपासमा भएका वनजंगल लगायतको दृश्यावलोकन गर्दै भिल्लामा रमाउँदाको आनन्द वर्णन नै गर्न सकिँदैन । भिल्लामा सोही आनन्द लिनका लागि पाहुनाहरू आइरहेको कँडेल बताउँछन् । रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । त्रिशुली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन् । कसरी पुग्ने ? भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशुली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ । एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ । बाइकमा भने झलुङ्गे पुल हुँदै भिल्ला सम्मै पुग्न सकिन्छ ।
हङकङमा पर्यटक आगमनमा १.५ गुणा वृद्धि
काठमाडौं । हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा गरेको छ । यो तथ्याङ्कले पर्यटकको संख्यामा निरन्तर वृद्धि भएको देखाएको बताइएको छ । मार्चमा करिव ३४ लाख पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो । ती मध्ये २.४६ मिलियन भन्दा बढी चिनियाँ मुख्य भूमिबाट थिए । जुन वार्षिक रूपमा २५.४ प्रतिशतले बढेको छ । गैर–मुख्यभूमि भ्रमणहरू ९ लाख ३० हजार नाघेको छ । जुन वार्षिक रूपमा ९२.१ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले मे महिनादेखि चाडपर्व वा ठूला कार्यक्रमको संयोजनमा समुन्द्रमा रमाउने ड्रोन प्रदर्शन गर्ने पनि घोषणा गरेको छ । पहिलो ड्रोन प्रदर्शनले मे ११ मा भिक्टोरिया हार्बरमा रातको आकाश सजाउनेछ । थप आगन्तुकहरूलाई आकर्षित गर्नेछ ।
दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान, २१ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशन गरी डीडीसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त आह्वान हो। महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित) को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तररव्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।