विकासन्युज

अमेरिकी व्यवसायीलाई अर्थमन्त्रीले भने: नेपाल लगानीकर्ताको आकर्षक गन्तव्य हो, लगानी गर्नुस्

वासिङटनडीसी । अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटनडिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । भू-परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए । निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे । पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितीले उच्च बिन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरु बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए । मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानूनमा संशोधन गर्न लागेको जानकारी दिए । यस्तै कम्पनी दर्ता र लगानीको सुरुआत तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको थियो । नेपाल कानूनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग-व्यवसाय मैत्री कानून र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए । सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताए । लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १ सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरुको सहभागिता हुने विश्वास गरिएको बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कस्यपससहित प्रतिष्ठित व्यवसायीहरु तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए ।

स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगञ्जमा

काठमाडौं । विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोवाइल फोनहरु बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम आज नेपालगञ्जको धम्बोजी चोकमा संचालन भएको छ । उक्त नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि माननीय डा. धवल सम्शेर राणा तथा बिशिष्ट अतिथि नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्टबाट भएको हो । उक्त कार्यक्रममा स्विच अन रिटेल प्रा.लि.का प्रबन्ध निर्देशक सीमा गोल्छाको पनि उपस्तिथि थियो । काठमाडौँ उपत्यका भित्र दुईवटा ठाउँ, नक्शाल र भक्तपुर गट्ठाघरमा संचालनमा रहेको स्विच अनको तेस्रो शोरुम खोल्ने छनौट किन नेपालगन्ज भन्ने प्रश्नको जवाफमा गोल्छाले ‘नेपालगन्ज ठुलो महत्वको बजार हो । यो पश्चिम नेपालकै प्रमुख ब्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेश द्वार पनि हो । नेपालगन्ज एउटा सम्भावनाको शहर हो भन्ने देखेर उपत्यका बाहिरको विस्तारमा नेपालगन्ज नै पहिलो रोजाईमा पर्यो’ भनिन् । विगत ५ वर्ष देखि संचालनमा रहँदै आएको स्विच अन शोरुमँ मोवाइल, टिभी, रेफ्रिजिरेटर, वाशिंग मेसिन, एयर क्नडिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान सामानहरु किन्ने भरपर्दो गन्तव्य बन्दै आएको छ । यी शोरुमहरुमा ग्राहकहरुको सहजताका लागि किस्ताबन्दी सुबिधा र एक्सचेन्ज (पुरानो संग नयाँ साटेर लिने) सुबिधा पनि उपलब्ध हुनेछ। किस्ताबन्दी कार्यक्रम बारे थप जानकारी दिंदै  गोल्छाले भनिन्, ‘यो एक्दमै ग्राहक मैत्री र सजिलो छ । यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन । किस्ताबन्दीको प्रक्रिया पुरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेट भन्दा बडि समय लाग्दैन ।’ हाल स्विच अन शोरुममा सामसुङ, हिमस्टार, नेपालगञ्ज, चिंट, अहुजा जस्ता ब्रान्डका सामान उपलब्ध छ ।

संसारका ३० ठूला कम्पनीका सीईओ सबै भारतीय

काठमाडौं । अर्बौं डलर बजार पुँजीकरण (मार्केट क्याप) भएका संसारका ठूला ३० कम्पनीमा एउटा समान विशेषता छ । त्यो विशेषता के होला ? ती सबै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्नेमा सम्भवतः सबै भारतीय नागरिक छन् । माइक्रोसफ्टदेखि मर्निङस्टार जस्ता ती सबै ठूला कम्पनीको व्यवस्थापकीय जिम्मेवारी भारतीयले हाँकिरहेका छन् । भारतीयले संसारका ठूला कम्पनीमा व्यवस्थापकीय अधिपत्य जमाइरहेका छन् । त्यस्ता कम्पनीमा सूचना प्रविधिदेखि औषधी, घरजग्गा, विद्युतीय सामग्री हुँदै ऊर्जा र फास्टफुडसम्म छन् । पछिल्लो तथ्यांक अनुसार मार्केट क्यापमा पहिलो स्थानमा रहेको माइक्रोसफ्टको सीईओमा भारतका सत्य नाडेला छन् । माइक्रोसफ्टको मार्केट क्याप १९ खर्ब २० अर्ब अमेरिकी डलर बराबर छ । दोस्रो स्थानमा रहेको अल्फाबेट (गुगल) को मार्केट क्याप १२ खर्ब ९ अर्ब डलर छ । यसका सीईओ भारतकै सुन्दर पिचाइ हुन् । तेस्रो स्थानमा रहेको नोभार्टिसको सीईओ बसन्त नरसिंहा छन् । नोभार्टिसको मार्केट क्याप १ खर्ब ८२ अर्ब डलर बराबर छ । चाैथाे स्थानमा एडाेभ कम्पनी रहेकाे छ । एडाेभकाे माकेर्ट क्याप १ खर्ब ६३ अर्ब रहेकाे छ । यस कम्पनीका सीसीईओ सान्तनु नारायण छन्र । यस्तै पाँचाैं स्थानमा रहेको आइबीएमको सीईओमा भारतका अरविन्द कृष्णा छन् । आइबीएमको मार्केट क्याप १ खर्ब २२ अर्ब डलर बराबर छ । छैठौं स्थानमा रहेको स्टारबक्स (कफी हाउस) कम्पनीको मार्केट क्याप १ खर्ब १८ अर्ब डलर रहेको छ । कम्पनीको सीईओमा पनि भारतका लक्ष्मण नरसिंहा छन् । यसैगरी सातौं स्थानमा भर्टेक्स फार्मास्यूटिकल्स रहेको छ । यो कम्पनीका सीईओ रेशमा केवलरमानी हुन् । भर्टेक्स फार्मास्यूटिकल्सको मार्केट क्याप ७५ अर्ब डलर रहेको छ । आठौं स्थानमा रहेको माइक्रोन टेक्नोलोजी डायनामिक र्यान्डम९एक्सेस मेमोरी फ्ल्यास ड्राइभहरू र यूएबी फ्ल्यास ड्राइभसहित कम्प्युटर मेमोरी र कम्प्युटर डाटा भण्डारणको अमेरिकी निर्माता कम्पनी हो। यस कम्पनीको मार्केट क्याप ६४ अर्ब डलर रहेको छ भने यस कम्पनीको सीईओका रूपमा सञ्जय मल्होत्राले काम गरिरहेका छन् । यस्तै नवौं स्थानमा रहेको क्याडेन्स डिजाइन सिस्टम्सको मार्केट क्याप ५३ अर्ब डलर रहेको छ । यो कम्पनीका सीईओ अनिरुध देवगन हुन् । यो एक अमेरिकी बहुराष्ट्रिय प्रविधि र कम्प्युटेसनल सफ्टवेयर कम्पनी हो ।यो कम्पनीको मुख्यालय सान होस क्यालिफोर्नियामा छ । १०औं नम्बरमा पालो अल्टो नेटवर्क्स इन्कर्पोरेटेड रहेको छ । सान्ता क्लारा क्यालिफोर्नियामा मुख्यालय रहेको यो अमेरिकी बहुराष्ट्रिय साइबरसुरक्षा कम्पनी हो। यस कम्पनीको मार्केट क्याप ५१ अर्ब डलर रहेको छ । यस कम्पनीका सीईओ भारतका निकेश अरोरा रहेका छन् । ११औं नम्बरमा बीएमवेयर रहेको छ । यस कम्पनीको मार्केट क्याप ४९ अर्ब डलर रहेको छ । यो कम्पनीका सीईओका रूपमा रंगाराजन रघुराम रहेका छन् । बीएमवेयर एक अमेरिकी क्लाउड कम्प्यूटिङ र भर्चुअलाइजेशन टेक्नोलोजी कम्पनी हो । अमेरिकी बहुराष्ट्रिय निगम इमर्सन इलेक्ट्रिक कम्पनी १२औं स्थानमा रहेको छ । यसका सीईओ सुरेन्द्रलाल करसनभा हुन् । इमर्सन इलेक्ट्रिक कम्पनीको मार्केट क्याप ४८ अर्ब डलर रहेको छ । १३औं स्थानमा रहेको माइक्रोचिप टेक्नोलोजीको मार्केट क्याप ४५ अर्ब डलर रहेको छ । यो कम्पनीको सीईओको रूपमा मूर्थी रहेका छन् । यसैगरी १४ नम्बरमा एरिस्टा नेटवर्क रहेको छ । यो अमेरिकी कम्प्युटर नेटवर्किङ कम्पनी हो । यो कम्पनीले ठूला डाटासेन्टर, क्लाउड कम्प्युटिङ, उच्च पक्षमतायुक्त कम्प्युटिङ र उच्च फ्रिक्वेन्सी ट्रेडिङ वातावरणका लागि सफ्टवेयर९परिभाषित नेटवर्किङ प्रदान गर्न मल्टिलेयर नेटवर्क स्विचहरू डिजाइन र बिक्री गर्छ । यो कम्पनीको मार्केट क्याप ४२ अर्ब डलर रहेको छ भने यो कम्पनीका सीईओका रूपमा भारतका जयश्री उल्लाल छन् । १५औं नम्बरमा रियल्टी इनकम कर्पोरेशन रहेको छ । यो एक घर जग्गा लगानी ट्रस्ट हो जसले अमेरिका, स्पेन र बेलायतमा एनएनएन लीजहरूको अधीनमा रहेका फ्री-स्ट्यान्डिङ, एकल-भाडामा बस्ने व्यावसायिक सम्पत्तिहरूमा लगानी गर्छ । यसको मार्केट क्याप ४१ अर्ब डलर रहेको छ । यसका सीइओ पनि भारतीय सुमित रोय रहेका छन् । यस्तै १६औं नम्बरमा रहेको कम्पनी वेलटावर हो । यो कम्पनीका सीईओ शंख मित्राल हुन् । वेलटावरको मार्केट क्याप ३६ अर्ब डलर रहेको छ । यो पनि एक रियल इस्टेट लगानी ट्रस्ट कम्पनी हो । यसैगरी १७औें नम्बरमा इलुमिना रहेको छ । यो सान डिएगो क्यालिफोर्नियामा मुख्यालय रहेको अमेरिकी बायोटेक्नोलोजी कम्पनी हो र यसले १ सय ५५ भन्दा बढी देशमा आफ्नो सेवा प्रदान गरेको छ । यो कम्पनीको मार्केट क्याप ३३ अर्ब डलर बराबर छ । इलुमिनाको सीईओका रूपमा भारतका फ्रान्सिस डी सुजा रहेका छन् । १८ नम्बरमा रहेको ल्योनडेलबेसेल इन्डस्ट्रिज एक अमेरिकी बहुराष्ट्रिय रासायनिक कम्पनी हो । नेदरल्यान्डमा मुख्यालय रहेको यो कम्पनीको मार्केट क्याप ३१ अर्ब डलर बराबर छ । यो कम्पनीको सीईओ भारतका भावेस भी पटेल हुन् । १९औं कम्पनी एनफेज इनर्जीको मार्केट क्याप २७ अर्ब डलर रहेको छ । यो कम्पनीको सीईओमा बद्रीनारायण कोठन्दरमण रहेका छन् । यो कम्पनीले सौर्य माइक्रो-इन्भर्टर, ब्याट्री ऊर्जा भण्डारण र ईभी चार्जिङ स्टेशनहरू निर्माण गर्छ । २० नम्बरमा रहेको एनएसवाईएस एक अमेरिकी बहुराष्ट्रिय कम्पनी हो । यसले आफ्नो उत्पादन डिजाइन र परीक्षणका लागि सीएई-मल्टिफिजिक्स इन्जिनियर सिमुलेसन सफ्टवेयर विकास र बजारीकरण गर्ने काम गर्छ । यो कम्पनीको मार्केट क्याप २३ अर्ब डलर बराबर छ । यो कम्पनीको सीईओका रूपमा भारतकै अजेय गोपाल छन् । २१औं नम्बरमा हबस्पट कम्पनी रहेको छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ यामिनी रञ्जन हुन् । यो एक अमेरिकी विकासकर्ता र इनबाउन्ड मार्केटिङ, बिक्री र ग्राहक सेवाका लागि सफ्टवेयर उत्पादनहरूको मार्केटर हो । हबस्पट ब्रायन ह्यालिगन र धर्मेश शाहले सन् २००६ मा स्थापना गरेका थिए । सार्वजनिक रूपमा व्यापार गर्ने विश्लेषणात्मक प्रयोगशाला उपकरण र सफ्टवेयर कम्पनी वाटर्स कर्पोरेसन २२औं नम्बरमा छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ भने यो कम्पनीका सीईओ भारतका उदित बत्रा हुन् । २३ नम्बरमा जस्केलर कम्पनी रहेको छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ जय चौधरी हुन् । यो एक क्लाउड सुरक्षा कम्पनी हो । यो कम्पनीले इन्टरप्राइज क्लाउड सुरक्षा सेवा प्रदान गर्छ । २४औं नम्बरमा पर्किनएल्मर कम्पनी छ । यो अमेरिकी वैश्विक निगम हो । यो कम्पनीको मार्केट क्याप १६ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ प्रह्लाद सिंह हुन् । १४ अर्ब डलर मार्केट क्यापसहित नेटएप कम्पनी २५औं नम्बरमा छ । यस कम्पनीको सीईओ भारतीय जर्ज कुरियन हुन् । यो एक इन्टेलिजेन्ट डेटा पूर्वाधार कम्पनी हो जसले उद्यम ग्राहकहरूलाई एकीकृत डेटा भण्डारण, एकीकृत डेटा सेवा र क्लाउड सञ्चालन समाधान प्रदान गर्छ । २६औं नम्बरमा नर्डसन कर्पोरेसन रहेको छ । यो एक अमेरिकी बहुराष्ट्रिय निगम हो जसले उद्योग तथा उपभोक्तालाई टाँसिने, सिलेन्ट र कोटिङका लागि वितरण उपकरणहरू डिजाइन र निर्माण गर्छ । यो कम्पनीको मार्केट क्याप १४ अर्ब डलर रहेको छ भने यस कम्पनीका सीईओ सुन्दरम नागाराजन हुन् । अमेरिकी इन्टरनेट र टेक्नोलोजी कम्पनी म्याच ग्रुप २७औं नम्बरमा रहेको छ । यो कम्पनीको मार्केट क्याप १२ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओका रूपमा शर्मिष्ठा दुबे छिन् । २८औं नम्बरमा रहेको गोड्याड्डी एक अमेरिकी इन्टरनेट डोमेन रजिस्ट्री, डोमेन रजिस्ट्रार र वेब होस्टिङ कम्पनी हो । यो कम्पनीको मार्केट क्याप ११ अर्ब डलरबराबर छ । यस कम्पनीका सीईओका रूपमा अमनपाल भुटानी काम गर्छन् । यसैगरी २९औं नम्बरमा अल्बर्ट्सन्स कम्पनी रहेको छ । यो एक अमेरिकी किराना कम्पनी हो । यो अमेरिकाको दोस्रो ठूलो सुपरमार्केट चेन हो । यस कम्पनीको मार्केट क्याप ११ अर्ब डलर बराबर रहेको छ । यो कम्पनीका सीईओ भारतका विवेक शंकरन हुन् । ३० नम्बरमा रहेको कम्पनी हो मर्निङस्टार । यो कम्पनीको मार्केट क्याप १० अर्ब डलर रहेको छ भने यस कम्पनीका सीईओ कुनाल कपुर हुन् । यस कम्पनीले लगानी र लगानी व्यवस्थापन सेवा प्रदान गर्छ ।

४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलंकाको योजना

कोलम्बो । श्रीलंकाली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए । उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताए । श्रीलंकामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उनले बताए । रासस

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी., किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५००,००० रूपैयाँको सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो । बैंकले प्रदेश नं. १ मा इटहरी चोक देखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखी राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिर सम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंक, विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त, एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

नासाले मंगल ग्रहका नमुनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने

लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमुनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमुना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो । सन् २०२१ मा मंगल ग्रहमा अवतरण गरेदेखि नै नासाको ‘पर्सेभेरेन्स रोभर’ (नासाको चलिरहेको मंगल सन् २०२२ मिशनको एक भाग को रूपमा मंगल ग्रह मा अवतरण गर्नका लागि नवीनतम रोबोटिक अन्वेषक)ले पछिको सङ्कलन र पृथ्वीमा फर्किनका लागि नमुना सङ्कलन गरिरहेको छ । हालको ‘मिसन डिजाइन’ले सन् २०४० सम्ममा सबै नमुनाहरू फिर्ता गर्ने नासाले जनाएको छ । नासाले कम लागतमा मुख्य नमूनाहरू पृथ्वीमा फर्काउने महत्वाकांक्षी लक्ष्य हासिल गर्न र प्रविधिको लाभ उठाउने योजनाको विकासमा काम गर्न आग्रह गरिरहेको छ । नासाले चाँडै नै उद्योगबाट वास्तुकला प्रस्तावहरू माग गर्ने बताएको छ, जसले सन् २०३० सम्ममा नमुनाहरू फिर्ता गर्न सक्नेछ । यसले लागत, जोखिम र मिसनको जटिलता कम गर्छ । नासाका प्रशासक बिल नेल्सनले सुरक्षित अवतरण र नमूनाहरू सङ्कलन र अर्को ग्रहबाट नमुनाहरू लिएर रकेट प्रक्षेपण गर्ने सानो काम नभएको बताउँदै आफूरुले अगाडिको बाटो खोज्न नयाँ विकल्प सोच्नुपर्छ भने । रासस

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

गलेश्वर । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सातजना भारतीय, तीनजना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ । उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो । आव २०७९/८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए । उनीहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । प्रहरी अभिलेखअनुसार उाीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो । प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् । उनीहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठजना भारतीय रहेका छन् । उहाँहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ । गत चैतमा मात्र छ जना तीर्थयात्रु/पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ । दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् । मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् । रासस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा सो बैठकमा छलफल भएको थियो । बैठक जारी रहेको छ ।