मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू-भागमा मौसम सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । यस्तै, कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
फाइल फोटो काठमाडौं । सरकारले आज र भोलि देशैभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
हाइड्रोजन उत्पादनमा निजी क्षेत्र हतारिँदै, सरकार भने सुस्त
काठमाडौं । जलविद्युतको हब बनेको नेपालमा पछिल्लो समय ‘ग्रीन हाइड्रोजन’ (हरित हाइड्रोजन) उत्पादनको चर्चा र बहसको विषय बन्न थालेको छ । स्वच्छ ऊर्जा उत्पादनमा टेवा पुर्याउने भएकाले हरित हाइड्रोजन व्यावसायिक रूपमा उत्पादन गर्न निजी क्षेत्र हतारिएको छ भने सरकारी निकाय सुस्त छ । उर्जा व्यवसायी गरु न्यौपानेले नेपालमा हाइड्रोजन उत्पादन गर्न भारतीय कम्पनीसँग सम्झौता समेत गरिसकेका छन् । तर, यसका लागि आवश्यक नीति नियम नहुँदा उक्त सम्झौतापत्र थन्किएर बसेको उनको भनाइ छ । ‘निजी क्षेत्रबाट पहिलो जलविद्युत आयोजना बनाउने म हुँ, सोलारबाट उर्जा उत्पादन गर्ने पनि पहिलो मै हुँ,’ उनले भने, ‘हाइड्रोजन उत्पादन गर्ने हुटहुटी छ, भारतको ग्रीन जोन इनर्जी कम्पनीसँग १ मेगावटको आयोजना बनाउन सम्झौता गरेको छु, तर मेरो हुटहुटीलाई सुहाउने गरी नीति नियम छैन ।’ भारतको ग्रीन जोन कम्पनीसँग सहकार्य गरेर प्रोजेक्ट तयार भएको तर आवश्यक नीति नियम नहुँदा समस्या भोग्नु परेको उनले बताए । उनका अनुसार हाइड्रोजन उत्पादका विषयमा नेपाल र भारतमा सँगसँगै छलफल तथा बहस सुरु भएको हो । भारतमा उद्योग खोलेर सरकारबाट सहुलियत पाएर प्रयोग गरिसकेका छन् । तर, नेपालमा आफ्नो हालत खराब भएर सम्झौताभन्दा माथि जान नसकेको उनको भनाइ छ । उनका अनुसार नेपालमै उत्पादन भएको हाइड्रोजनलाई उद्योगहरूमा प्रयोग गर्न सकिन्छ । नेपालमा टनेल वा सुरुङ खन्न ठूलो मात्रामा विस्फोटक पदार्थ आवश्यक पर्छ । उक्त विस्फोटक पदार्थका लागि ग्रीन हाइड्रोजनबाट एल्मुनिया बनाउन सकिने उनको भनाइ छ । ‘हामी टनेल (सुरुङ) को युगमा प्रवेश गरेका छौं । ठूला विकास निर्माणका काम गर्नु परेको छ, जबकि विस्फोटक पदार्थ नेपाली सेनाले मात्रै उत्पादन गरिरहेको छ । राष्ट्रको आवश्यकता भएकाले ग्रीन हाइड्रोजनमा जान हतार गर्नुपर्छ,’ उनले भने, ‘यस्ता प्रकारका उद्योगको धेरै सम्भावना छ, हाइड्रोजन उत्पादन गर्न हतार गर्नुपर्याे, आज नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने, मेरै कार्यकालमा गर्छु भनेर काम हुनुपर्याे ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत नेपालमा ग्रीन अर्थतन्त्र र ग्रीन आर्थिक विकासको चर्चा गर्न ढिला भएको र अब ग्रीन अर्थतन्त्रका विषयमा बहस छलफल गर्न आवश्यक रहेको बताउँछन् ।अब जलवायु अनुकुल समाज बनाउनुपर्ने भएकाले ग्रीन इकोनोमिकको अवधारणा अघि सार्नुपर्ने उनले बताए । देशको स्रोत साधन सदुपयोग नहुँदा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘नेपालमा स्रोत साधन धेरै छ, तर हामी पेट्रोलियम पदार्थ आयातमा रमाइरहेका छौं, नेपालसँग भएका स्रोतहरुको प्रयोग भइरहेको छैन, जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन,’ उनी भन्छन्र, ‘देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ, नेपाल जलस्रोतको धनी देश भनिरहेका छौं अब सरकारले ग्रीन अर्थतन्त्र, ग्रीन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ, सरकारले यसमा प्राथमिकता दिएर नीति तथा कार्यक्रममा लैजानुपर्ने आवश्यकता पैदा भएको छ ।’
ऋणको बोझले बन्द हुँदै सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र
कैलाली । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ । किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका-१० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो चिस्यानकेन्द्र स्थापना गरिएको थियो । रिज्म परियोजनाको एक करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र २० करोड रुपैयाँ बढी लगानीमा तयार गरिएको हो । अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा उक्त चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । चिस्यान केन्द्रलाई २० करोड रुपैयाँ बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए । ‘बैंकमा मात्रै रु १६ करोड ४४ लाख ऋण छ अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी रु २० करोड बढी पुग्छ’, उनले भने, ‘सरकारले अनुदान पनि दिएन, अहिलेसम्म किसानकै पैसाबाट चिस्यान केन्द्र चलिरहेको छ ।’ रावतका अनुुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा दुई पटकसम्म रातो किताबमा चिस्यान केन्द्रका लागि भन्दै रु नौ करोड ९० लाख राखेको थियो । चिस्यान केन्द्र सुरु भएकै वर्ष यहाँ तीन हजार चार सय ५३ किसानले आफ्नो उत्पादन राखेका थिए । अहिले छ हजार बढी किसानले उत्पादन गरेका वस्तु राखेका छन् । कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकासम्मका किसान यस चिस्यान केन्द्रबाट लाभान्वित छन् । लाभान्वित किसानको सङ्ख्या बढ्दो अवस्थामा रहे पनि आर्थिक सङ्कटका कारण बन्द गर्नुपर्नेसम्मको स्थिति आउँदा उनीहरू चिन्तित छन् । ‘चिस्यान केन्द्र भएर निकै सहज भएको छ’, कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बीउ भण्डारण गर्न आएका किसान रामु चौधरीले भने, ‘यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको पनि छु, तर बन्द हुने अवस्थामा स्टोर छ, हामी किसानले कसरी जीविकोपार्जन गर्ने ?’ चिस्यान केन्द्र भएपछि नै व्यावसायिक हिसाबले खेती सुरु गरेको बताउँदै भण्डारण गर्न आएका अर्का किसान प्यारेलालाल चौधरी भन्छन्, ‘सिजन सकिएपछि आफैँले घरमा खानलाई र पछि राम्रै बजार मूल्य पाएका बेला बेच्नलाई हामीजस्ता किसानलाई फाइदा पुगेको थियो तर आर्थिक अभावका कारण चिस्यान केन्द्र बन्द हुुने अवस्थामा छ यसलाई जोगाउनुपर्छ ।’ चिस्यान केन्द्रमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोभी राख्न मिल्ने बनाइएको छ । विद्युत् प्राधिकरणको बिलसमेत तिर्न नसकेपछि पटकपटक यहाँ विद्युत् काट्ने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताए । यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरासमेत हुने गरेको उनी बताउँछन् । रासस
सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
गोरखा । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । ‘नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि कक्षा १ मा छोराछोरीलाई भर्ना गराउने अभिभावकलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ’, उनले भने, ‘यसले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने चेतनाको विकास पनि गर्न सकोस् भन्ने पनि चाहाना हो ।’ सामुदायिक विद्यालयमा घट्दो क्रममा रहेको विद्यार्थी संख्यालाई बढाउन नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाको नयाँ नीति ल्याएको नगरप्रमुख रानामगरको भनाइ छ । ‘पछिल्लो समय कमजोर आर्थिक अवस्था भएका अभिभावकले मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अवस्था छ’, उनले भने, “यसले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पनि पुग्ने र सरकारी विद्यालयमा बालबालिका पढाउनुपर्छ भन्ने भावना जागृत गराउन पनि मद्दत पुग्छ भन्ने विश्वास छ ।’ कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेट अपुग भए थप गर्न सकिने उनले बताए । विनियोजित बजेटअनुसार विद्यार्थी भर्नासँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम हुँदा नगरपालिकाभित्रका दुई सय ८५ परिवार लाभान्वित हुनेछन् । आगामी आर्थिक वर्षदेखि अन्य कक्षामा पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख रानामगरले जानकारी दिए। यो कार्यक्रमले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै निःशुल्क हुने उनको भनाइ छ । नगरपालिकाभित्र सञ्चालन भइरहेको विद्यालय भर्ना अभियानमा क्रममा अहिले घरघरमा पुगेर विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले नगरपालिकाले ल्याएको कार्यक्रमका बारेमा अभिभावकलाई जानकारी गराइरहेको नगरप्रमुख रानामगरले जानकारी दिए । ‘कमजोर आर्थिक अवस्था भएका धेरैले स्वास्थ्य बीमा गर्न नसकेको अवस्था पनि छ’, उनले भने, ‘हामीले ल्याएको यस कार्यक्रमले उहाँहरुको स्वास्थ्य बीमा पनि हुने र विद्यालय भर्ना अभियान पनि प्रभावकारी हुन्छ भन्ने लागेको छ ।’ नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाका बारेमा सबै विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गराएर अभिभावकको घरघरमा पठाएको छ । ‘नगरपालिकाले गरिदिने स्वास्थ्य बीमाले एउटा परिवारका पाँच जनासम्मले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्’, उनले भने, ‘स्वास्थ्य बीमा गराइसकेका अभिभावकको हकमा भने कार्यक्रम लागू हुँदैन ।’ अन्य पालिकाबाट आएर गोरखा नगरपालिकामा अस्थायी बसोबास गरेकाहरुलेसमेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरे निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने उनको भनाइ छ । नगरपालिकाले यसअघि नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । रासस
यी ६ जडीबुटी जसले शरीरमा गर्मी बढ्न दिँदैनन्
काठमाडौं । गर्मीयाम सुुरु भएसँगै कसरी स्वस्थ जीवन जिउने भनेर धेरैलाई पीर हुन्छ । अझ तराई लगायत बढी गर्मी हुने ठाउँका नागरिकलाई स्वास्थ्य समस्याले बढी सताउँछ । यो बेलामा कस्ता खानेकुरा खाँदा स्वस्थ रहन र गर्मीसँग जुध्न सकिने भन्ने उत्सुकता हुन्छ । यो मौसममा शरीरमा देखिने समस्यालाई व्यवस्थापन गर्न पनि उत्तिकै जरुरी हुन्छ, अन्यथा शरीरले धेरै कष्ट भोग्नुपर्छ । गर्मीमा धेरै महँगो पनि नपर्ने सजिलै घरवरपर पाइने केही जडीबुटीहरू छन् । जसको मद्दतले तपाईं शरीरको तापलाई सन्तुलित राख्न सक्नुहुन्छ । यी ६ जडीबुटीको बारेमा जानौँ धनियाँ धनियाँलाई चिसो जडीबुटीका रूपमा चिनिन्छ । यसको शीतल गुणहरूले शरीरको गर्मी कम गर्न मद्दत गर्दछ । धनियाँमा एन्टिअक्सिडेन्ट, एन्टी–क्यान्सर र न्यूरोप्रोटेक्टिभ गुण हुन्छ । यसबाहेक यसले रगतमा चिनीको मात्रालाई पनि कायम राख्छ । यी सबै कारकहरूले यसलाई गर्मी मौसममा धेरै विशेष र प्रभावकारी जडीबुटी बनाउँछन् । अब तपार्इंले आफ्नो आहारमा धनियाँलाई सूप, सस र सलादको रूपमा समावेश गर्न सक्नुहुन्छ, यसबाहेक धनियाँको दानाबाट बनेको चिया पनि फाइदाजनक हुन्छ । पुदिना गर्मीमा पुदिना सेवनले शरीरलाई शितलता प्रदान गर्छ । गर्मीमा यो छाला, ओठ, पाचन प्रणाली र समग्र शरीरको लागि धेरै लाभदायक साबित हुन्छ । विशेष गरी यसले गर्मीमा हुने पाचन समस्याको उपचार गर्छ । जसले गर्दा पेट चिसो रहन्छ र शरीरको तापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यस बाहेक यसमा एन्टी–माइक्रोबियल र एन्टी–इन्फ्लेमेटरी गुणहरू पाइन्छ, जसले शरीरमा आरामदायी प्रभाव उत्पन्न गर्छ । पुदिनाको चिया, चटनीको साथसाथै यसबाट कूलिङ ड्रिंक्स तयार गरी आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । गुलाफ गुलाफ प्राचीन कालदेखि नै परम्परागत जडीबुटी औषधीको रूपमा प्रयोग गरिँदै आएको छ । यसमा एन्टी–इन्फ्लेमेटरी गुणहरूले यसलाई विशेष बनाउँछ । नेशनल लाइब्रेरी अफ मेडिसिनले प्रकाशित गरेको अध्ययनका अनुसार गुलाबको फूलमा रहेको गुणले दुखाइबाट राहत दिन्छ । यो शरीर सुन्निने, डिप्रेसन र एन्जाइटी जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूमा पनि धेरै प्रभावकारी साबित हुन सक्छ । यो इरेक्टाइल डिसफंक्शन जस्ता यौन समस्याहरूमा पनि प्रभावकारी हुन्छ । यस बाहेक गर्मीमा गुलाबको फूलबाट बनेको चिया सेवन गर्न सकिन्छ । लेमनग्रास लेमनग्रास, शीतल गुण र अन्य पोषक तत्वहरूको पावर हाउस हो । लेमनग्रासले गर्मीमा शरीरलाई शीतलता प्रदान गर्दछ र छालाको सुन्निने जस्ता विभिन्न समस्याहरूको उपचार गर्न मद्दत गर्दछ । यसलाई आहारमा समावेश गर्ने सबैभन्दा सजिलो उपाय यसको चिया हो । तपाईं यसलाई सूप, करी आदिमा पनि थप्न सक्नुहुन्छ । हिबिस्कस फूलहरू हिबिस्कस चिसो गुणहरूको लागि परिचित छ । हिबिस्कस चिया सेवनले शरीरको तापक्रम नियन्त्रण गर्न र हाइड्रेसनलाई बढावा दिन मद्दत गर्ने अध्ययनले देखाउँछ । जसका कारण यसलाई गर्मीमा उत्कृष्ट फूलको रूपमा चिनिन्छ । यसको चिया र सर्बतले तपाईंलाई ताजा रहन मद्दत गर्दछ । सौंफ सौंफ परम्परागत रूपमा शरीरलाई चिसो बनाउन र पाचनमा सहायता गर्न प्रयोग गरिन्छ । यसको हुने एन्टिअक्सिडेन्टले अपचलाई कम गर्न मद्दत गर्दछ । तपाईं सौंफको चिया र सिरप लिन सक्नुहुन्छ । साथै, यसलाई माउथ फ्रेसनरको रूपमा चपाउँदा पनि फाइदा हुन्छ । एजेन्सी
सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश
कराँची । पाकिस्तानको उच्च अदालतले बुधबार सरकारलाई एक साताभित्र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई पुनःस्थापना गर्न आदेश दिएको एक वकिलले बताएका छन् । गृह मन्त्रालयको आदेशमा दुई महिनाभन्दा लामो समयदेखि उक्त प्लेटफर्मलाई अवरोध पुर्याएपछि अदालतको यस्तो आदेश आएको हो । पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले फेब्रुअरी १७ को निर्वाचनमा एक सरकारी अधिकारीले मतपत्र हेरफेर गरेको स्वीकार गरेको विषयमा विरोध प्रदर्शनको आह्वान गर्दा फेब्रुअरी १७ देखि यसअघि ट्विटर नामले चिनिने एक्समा सायदै पहुँच पुगेको छ । पाकिस्तानको सञ्चार प्राधिकरणले पछि अदालती कागजातमा आफूलाई गृह मन्त्रालयले साइट बन्द गर्न आदेश दिएको स्वीकार गरेको छ । प्रतिबन्धलाई चुनौती दिने वकिल मोइज जाफरीले भने, ‘सिन्ध उच्च अदालतले सरकारलाई पत्र फिर्ता लिन एक साताको समय दिएको छ, अन्यथा अर्को मितिमा अदालतले उचित आदेश पारित गर्नेछ ।’ रासस/एएफपी
अमेरिकी व्यवसायीलाई अर्थमन्त्रीले भने: नेपाल लगानीकर्ताको आकर्षक गन्तव्य हो, लगानी गर्नुस्
वासिङटनडीसी । अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटनडिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । भू-परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए । निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे । पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितीले उच्च बिन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरु बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए । मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानूनमा संशोधन गर्न लागेको जानकारी दिए । यस्तै कम्पनी दर्ता र लगानीको सुरुआत तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको थियो । नेपाल कानूनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग-व्यवसाय मैत्री कानून र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए । सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताए । लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १ सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरुको सहभागिता हुने विश्वास गरिएको बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कस्यपससहित प्रतिष्ठित व्यवसायीहरु तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए ।