विकासन्युज

माछापुच्छ्रे बैंकको नाफा पौने १ अर्ब रुपैयाँ, एनपीएल ३.६८ प्रतिशत पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा पौने १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ तेस्रो त्रैमासमा खुद नाफा ३६ प्रतिशत घटेर ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले १ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा २.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.६८ प्रतिशत पुगेको छ ।

९ महिनामा एनआईसी एशिया बैंकको नाफा २ अर्ब रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले ९ महिनाको अवधिमा झण्डै २ अर्ब नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ५२ प्रतिशत घटेको देखिन्छ । चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले कुल सञ्चालन नाफा १० अर्ब ३० करोड रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा ०.८५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.०८ प्रतिशत पुगेको छ ।

खराब कर्जा ४.९६ प्रतिशत पुग्दा पनि हिमालयन बैंकको नाफा १२ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १२ प्रतिशतले बढेको हो । चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा ६ अर्ब ४९ करोड २९ लाख रुपैयाा खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड २२ लाख रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष १९ अर्ब १५ करोड १७ लाख रुपैयाँ छ । बैंकले २ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसअवधिमा बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको चैतमा ४.५६ प्रतिशत रहेकोमा गत चैतसम्म बढेर ४.९६ प्रतिशत पुगेको छ । साथै, चैतसम्म वितरणयोग्य नाफा पनि ५ अर्ब २४ करोड २४ लाख रुपैयाँ ऋणात्मक छ ।

पर्यटन बोर्ड सीईओमा २० जनाको प्रतिस्पर्धा

काठमाडौं । नेपालको सार्वजनिक(निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २० जनाले आवेदन दिएका छन् । पूर्वसीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । पूर्वसीईओ डा. रेग्मीले फेरि सीईओ बन्न आवेदन दिएका छन् । रेग्मी आफ्नो कार्यकालमा विवादित पनि बनेका थिए । यसैगरी पर्यटन बोर्ड सीईओको प्रतिस्पर्धामा दीपकराज जोशी, राजाराम गिरी, श्रद्धा श्रेष्ठ र लक्ष्मण गौतम छन् । जोशी बोर्डका पूर्वसीईओ, गिरी तत्कालीन पर्यटन पुनरुत्थान समिति संयोजक, श्रेष्ठ पर्यटन बोर्डकी प्रबन्धक र गौतम कार्यवाहक निर्देशक हुन् । त्यसैगरी अन्य प्रतिस्पर्धीमा ठाकुरप्रसाद देवकोटा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, विजय नेपाल, पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईं छन् । सीईओका लागि आवेदन दिने अन्तिम म्याद आजसम्म छ ।

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

चीन । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ । फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए । उक्त शब्द सामान्यतया कथित भ्रष्टाचारका घटनाहरूमा प्रयोग गरिन्छ । एक दशकअघि सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सरकारी भ्रष्टाचारविरुद्ध व्यापक कारवाही अभियान सुरु गरेका छन् । चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानमाथि अहिले गैरकानूनीरूपमा ‘३८ करोड ६० लाख युआन (पाँच करोड ३० लाख अमेरिकी डलर) भन्दा बढीको सम्पत्ति’ प्राप्त गरेको आरोप लगाइएको बताएको छ । यी गैरकानूनी गतिविधिहरू कथितरूपमा सन् १९९३ देखि सन् २०२२ को बीचमा भएको समाचारमा उल्लेख छ । बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ । सत्तारूढ कम्युनिष्ट पार्टीको आन्तरिक भ्रष्टाचारविरोधी एजेन्सीले सन् २०२३ जुनमा ‘व्यावसायिक कर्तव्यको गम्भीर उल्लङ्घन’ गरेको भन्दै फ्यानले घुस लिएको आशङ्का गरिएको बताएको थियो । केन्द्रीय अनुशासन निरीक्षण आयोगले सो बेला फ्यानलाई सार्वजनिक पदबाट बर्खास्त गरिएको, उनको गैरकानूनी आम्दानी जफत गरिएको र फौजदारी मुद्दा चलाइएको बताएको थियो । समर्थकहरूले राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिने बताए पनि आलोचकहरूले उक्त अभियान सीका लागि राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यम भएको बताएका छन् । भ्रष्टाचार नियन्त्रण अभियान हाल चीनको वित्तीय र बैंकिङ क्षेत्रमा हावी भएको छ । सरकारी स्वामित्वको चाइना डेभलपमेन्ट बैंकका पूर्वउपप्रमुख ली जिपिङ गत महिना अनुसन्धानको दायरामा आएका थिए भने सरकार समर्थित चाइना मर्चेन्ट्स बैंकका पूर्वप्रमुख तियान हुइयुलाई फेब्रुअरीमा घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको थियो । रासस

बाल अस्पताललाई सांसद शर्माले गरे २० लाख सहयोग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा. सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेका छन् । शर्माले आज हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै डा शर्माले राज्यले गर्नुपर्ने काम डा कोइरालाले आफैँ गर्न लागेको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताए । डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौंमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए ।

नेपाल आएका पर्यटकको दैनिक औसत खर्च ४१ डलर

काठमाडौं । सन् २०२३ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४१ अमेरिकी डलर खर्च गरेका छन् । गत वर्ष २०२२ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४०.५ डलर खर्च गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार नेपाल आएका प्रत्येक पर्यटकले दैनिक औसत ४१ डलर (औसत ५ हजार रुपैयाँ) खर्च गरेका छन् । त्यसैगरी २०२३ मा नेपालले पर्यटक आगमनबाट ५४ करोड ८२ लाख डलर (७२ अर्ब रुपैयाँ हाराहारी) आम्दानी गरेको छ । २०२२ मा ३५ करोड ९७ लाख डलर अर्थात् ४७ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी सन् २०२२ र २०२३ को दुई वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाख २९ हजार ७ सय ५१ थियो । जसमध्ये हवाइमार्गबाट १५ लाख ६ हजार ९ सय १ जना र स्थलमार्गबाट १ लाख २२ हजार ८ सय ५० जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए भने २०२३ मा १० लाख १४ हजार ८२२ पर्यटक आएका थिए । हवाई मार्गबाट आउने पर्यटकको संख्या २०२२ को तुलनामा २०२३ मा ५४. ३ प्रतिशतले बढी हो । स्थलमार्गबाट २०२२ को तुलनामा २०२३ मा ३५२.४ प्रतिशले बढी पर्यटक आएका थिए । सन् २०२२ मा पर्यटकको औसत बसाइ १३.१ दिन रहेको थियो भने २०२३ मा १३.२ दिन रहेको थियो । यो बसाई २०२२ को तुलनामा २०२३ मा ०.८ प्रतिशतले बढी हो । मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको तथ्यांकअनुसार दुई वर्षमा नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला छन् । सन् २०२२ को तुलनामा महिला पर्यटक बढी छन् । सन् २०२२ मा ३ लाख ५८ हजार ६ सय ८३ जना पुरुष पर्यटक आएका छन् भने २०२३ मा ५ लाख ६६ हजार ६ सय ६५ पुरुष पर्यटक आएका छन् । यस्तै २०२२ मा २ लाख ५६ हजार १२ महिला पर्यटक र २०२३ मा ४ लाख ४७ हजार ४ सय ७ महिला पर्यटक आएका छन् । यसैगरी २०२२ मा १७४ जना र २०२३ मा ४ सय १० जना अन्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१–४५ वर्ष उमेर समूहका छन् । सन् २०२३ मा यो उमेर समूहका सर्वाधिक ३ लाख १७ हजार १७० जना आएका छन् । यो कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो । दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका २ लाख ७२ हजार ३४२ जना पर्यटक आएका छन् । यो २६.८४ प्रतिशत हो । मन्त्रालयले धेरै पर्यटक आएका प्रमुख पाँच देश पनि सार्वजनिक गरेको छ । जसमा २०२२ र २०२३ मा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचीमा पहिलो नम्बरमा भारत रहेको छ । दुवै वर्ष दोस्रो नम्बरमा अमेरिका छ । २०२२ मा तेस्रोमा बेलायत र चीन, चौथोमा अस्ट्रेलिया र बेलायत तथा पाँचौं नम्बरमा बंगलादेश र अस्ट्रेलिया छन् । यस्तै दुई वर्षमा नेपाल भित्रिएका कुल पर्यटकमध्ये बिदा मनाउन आएका पर्यटकको संख्या २०२२ मा ३ लाख ९७ हजार ८ सय २० थियो भने २०२३ मा ६ लाख ३४ हजार ३ सय १ थियो । यो संख्या २०२२ को तुलनामा २०२३ मा ५९.४ प्रतिशतले बढी हो । यस्तै धार्मिक गतिविधिका लागि २०२२ मा ७९ हजार १ सय ४६ पर्यटक आएका थिए भने २०२३ मा १ लाख ३२ हजार ९ सय ४९ पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा ६८ प्रतिशतले बढी हो । यसैगरी २०२२ मा पदयात्रा र पर्वतारोहणका लागि ६१ हजार ७ सय १ र २०२३ मा १ लाख ५४ हजार २ सय ६२ जना पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा १५० प्रतिशतले बढी हो । यस्तै अन्य गतिविधिका लागि २०२२ मा ७६ हजार २ सय २ र २०२३ मा ९३ हजार ३ सय ७० पर्यटक नेपाल आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा २२.५ प्रतिशतले बढी हो । मन्त्रालयले २०२२ र २०२३ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्स पनि सार्वजनिक गरेको छ । जसमा २०२२ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्सको नम्बर १ उपाधि कतार एयरवेजले पाएको छ भने २०२३ मा सबैभन्दा बढी पर्यटक नेपाल एयरलाइन्सले बोकेको छ । यस्तै २०२२ मा धेरै पर्यटक बोक्ने दोस्रो नम्बरमा नेपाल एयरलाइन्स छ भने २०२३ मा कतार एयरवेज रहेको छ । तेस्रो नम्बरमा २०२२ र २०२३ मा हिमालय एयरलाइन्सले धेरै पर्यटक बोकेको छ । यस्तै चौथो नम्बरमा धेरै पर्यटक बोक्ने एयरलाइन्समा क्रमशस् फ्लाई दुबई र इन्डिगो एयर रहेको छन् । पाँचौ नम्बरमा भने क्रमश इन्डिगो एयर र फ्लाई दुबई छन् ।

होटल अनुगमन र कारबाहीबारे होटल संघ नेपालको ध्यानाकर्षण

काठमाडौं । होटल संघ नेपालले होटल अनुगमन र कारबाहीबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ । बिहीबार संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको टोलीले उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको कारबाहीबारे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राज्यको नियम ऐन कानूनको पूर्ण पालना गर्दै सञ्चालित होटलहरुमा अनुगमनको नाममा अव्यावहारिक व्याख्या गरी कारबाही तथा जरिवाना भएको तथा तारे होटलहरुमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचारहरु बारम्बार आइरहँदा विभागलाई समाचार प्रेषित गर्दा राष्ट्रिय पर्यटन उद्योगप्रति विश्वव्यापी रुपमा नकारात्मक सन्देश जाने र यस कार्यले नेपालको पर्यटन प्रवर्द्धनको गरिमामा समेत आँच आउनेबारे ध्यानाकर्षण गराइएको छ । सरकारबाट हुने निरीक्षण अनुगमनको सराहना गर्दै अझ यसलाई प्रभावकारी बनाउन एकलौटी ढंगबाट मात्र नभएर सरोकारवाला निकायसँगको समन्व्यमा हुन सके यस कार्य दीर्घकालीन हुने र अन्तर्राष्ट्रिय चेन तथा व्राण्ड लगायतका होटलहरुको सञ्चालन पनि व्यवस्थित प्रक्रिया बाट हुने हुँदा म्याद गुुज्रिएका सामानहरु उपभोक्ताहरुले उपभोग गर्ने खानामा प्रयोग नभइ यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाइ सोधभर्ना गर्ने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ । अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरु प्रचारमुखी नभइ संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भएको र यसबाट नेपाल आउने विदेशी पर्यटकहरुबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागि मन्त्रीसमक्ष आग्रह संघले आग्रहसमेत गरेको छ । नजिकिँदै गरेको लगानी सम्मेलनलाई समेत असर गर्ने गरी नेपालको पर्यटन विकास र व्यवस्थालाई समेत चुनौती हुने भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्ने खालको यस्ता प्रचारमुखी क्रियाकलापहरु नदोहोरिनका लागि पनि अध्यक्ष शाहले अपिल गरे । भेटघाटमा मन्त्री भण्डारीले यसतर्फ सकारात्मकता प्रकट गर्दै छिटोभन्दा छिटो समस्या समाधान गर्ने आश्वासन दिए ।