काठमाडौं जिल्लाका कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको हो । हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रकोको आधारमा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ। एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरी व्यवस्था गरिएको छ । विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ । प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ । यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ । यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ । बिस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ ।
ड्रिम इन्टरनेशनलले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । होटेलले आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए । पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ र छिटै नै आईपीओ जारी गरी उक्त योजनानुसार कामहरु सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए ।
महँगी घट्दै छ, अर्थतन्त्र सुधारको अवस्थामा छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । विहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सवल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए । उनले सरकारले लिएको नीतिगत निर्णयको कारण वाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमश घट्दै गएको उल्लेख गरे । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए । कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमश घट्ने क्रममा रहेको बताए । सन् २०२३ मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको संकट र रुस युक्रेन युद्वकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने देखाएको छ । यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ । उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरु बलियो रुपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण वाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र,मूल्यवृद्धि स्थिर छ’, उनले भने । उनले लेखा परीक्षण व्यवसायीहरुको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरुलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए । लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको जानकारी दिए ।
लगानी कोष र सिउरी न्यादीबीच सम्झौता, ३ करोड कित्ता सेयर निष्कासन हुँदै
काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् । न्यादी पावरले प्रति किता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दैं छ । उक्त सेयरको तीन अर्ब तीन करोड साठ्ठी लाख अठहत्तर हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।
भिटामिन ए खुवाउने अभियान सञ्चालन (फोटोफिचर)
काठमाडौं । सरकारले वैशाख ६ र ७ गते आजबाट बालबालिकालाई भिटामिन ए खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ । सोही अभियान अन्तर्गत राजधानीको विभिन्न वडाहरूमा बालबालिकालाई भिटामिन ए खुवाइएको छ ।
लघुवित्त संस्थाहरूको खराब कर्जा बढेका कारण प्रतिफल घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा बढेका कारण लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफलमा संकुचन आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा निष्कृय कर्जा उल्लेख्य वृद्धि भएका कारण खुद नाफामा संकुचन आएको जनाएको हो । राष्ट्र बैंकका अनुसार २०८० असारमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९.८२ प्रतिशत घटेर ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यस्तै, ब्याज आम्दानी ६१ अर्ब १२ करोड रुपैयाँ, ब्याज खर्च ३५ अर्ब ८७ करोड रुपैयाँ र संचालन आम्दानी २१ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६५ वटा संस्थाहरूमध्ये २ वटा संस्था मात्र खुद नोक्सानीमा रहेकोमा यस आर्थिक वर्षमा कुल ५७ वटा संस्थाहरुमध्ये ४१ वटा खुद नाफामा र १६ वटा खुद नोक्सानीमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस अवधिमा लघुवित्तको गैर–बैंकिङ सम्पत्तिमा भने कुनै परिवर्तन आएको छैन । लघुवित्तहरूको गैर–बैंकिङ सम्पत्ति १३ लाख ३६ हजार रुपैयाँ तथ्याङ्क छ । लघुवित्त संस्थाहरूले आफुले प्रदान गरेको कुल कर्जाको एक–तिहाईमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । सो अनुसार २०८० असारसम्म एउटा संस्था बाहेक अन्य सबै संस्थाहरूले प्रवाह गरेको धितो कर्जा कुल कर्जाको एक तिहाईभन्दा बढी नरहेको राष्ट्र बैंकले जनाएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरूको कुल कर्जामा धितो कर्जाको अनुपात २०.५५ प्रतिशत रहेको छ । कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था छ । तोकिएको अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले आर्थिक वर्ष २०७९/८० मा महिला लघुवित्त वित्तीय संस्थालाई १ हजार ३०५ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।
सकियो एसईई, कहाँ पढ्ने ब्रिजकोर्स ?
काठमाडौं । अछामका कैलाश कठायत एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि अहिले काठमाडौं आएका छन् । अछामको मेल्लेख गाउँपालिकामा रहेको जनता माबिबाट एसईई दिएका उनी ब्रिजकोर्स गर्न भनेर काठमाडौं आएका हुन् । उनी अहिले काठमाडौं बागबजारमा रहेको निम्स इन्स्टिच्युटमा ब्रिजकोर्स पढिरहेका छन् । कैलाशलाई साइन्स लिएर पढ्न मन छ । तर, साइन्स पढ्न सजिलो छैन । कलेजमा सीमित कोटा हुने भएकाले विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्छ । गाउँमा अंग्रेजी, गणित विषय राम्रोसँग पढ्न नपाएको भन्दै प्रतिस्पर्धाकै लागि पढिरहेको बताउँछन् उनी । गाउँमा राम्रो शिक्षक नहुनु र भएको शिक्षकले पनि राम्रोसँग नपढाउँदा भोलिलाई सजिलो होस् भन्दै ब्रिजकोर्स गरिरहेको उनले बताए । ब्रिजकोर्समा उनी अहिले म्याथ, अंग्रेजी, फिजिक्स, बायोलोजी र बायोमेटिक्स विषय पढिरहेका छन् । बागबजारमा रहेको निम्स इन्स्टिच्युट ब्रिजकोर्स अथवा अन्य कुनै पनि कक्षा तयारीका लागि नाम चलेको इन्स्टिच्युट हो । त्यहाँ अहिले ब्रिजकोर्स पढ्न आउने विद्यार्थीको भिड लाग्न थालेको छ । इन्स्टिच्युटका प्रबन्ध निर्देशक रामचन्द्र गौतम अहिले विद्यार्थी आउनेक्रम जारी रहेको बताउँछन् । ‘भर्खर एसईई सकिएको छ,’ उनी भन्छन, ‘पूर्वपश्चिम दूरदराजका विद्यार्थीहरू काठमाडौं आउनेक्रम जारी छ, अब ८, ९ गतेपछि विद्यार्थीको संख्या अझै बढ्छ ।’ निम्सले हरेक वर्ष १२ सय बढी विद्यार्थीलाई ब्रिजकोर्स पढाउने गरेको छ । भक्तपुर सल्लाघारीमा रहेको एसईआई इन्स्टिच्युटमा पनि ब्रिजकोर्स पढ्ने विद्यार्थीको भिड लागेको छ । वैशाख ३ गतेदेखि भर्ना कार्यक्रम सुरु गरी कक्षा सञ्चालन गरेको इन्स्टिच्युटले अहिले विद्यार्थी आउनेक्रम जारी रहेको बताएको छ । एसईई परीक्षा भर्खरै सकिएकाले विद्यार्थी आउनेक्रम जारी रहेको हुँदला इन्स्टिच्युटले वैशाख महिनाभरि भर्ना कार्यक्रम जारी राखिने जनाएको छ । बझाङका सागर भण्डारी पनि बृज कोर्स पढ्नकै लागि काठमाडौं आउने तयारी गरिरहेका छन् । एसईई सकेर बसेका उनी होटेल म्यानेजमेन्ट पढ्ने योजनाका साथ ब्रिजकोर्स पढ्न काठमाडौं आउन लागेका हुन् । केदारस्यु गाउँपालिकाको शिक्षोदय माबिबाट एसईई दिएका उनलाई होटेल मेनेजमेन्ट (एचएम) पढ्ने रहर छ । सागरका दाइ चन्द्र अहिले भाइका लागि कुन कलेज, इन्स्टिच्युट राम्रो छ भन्ने खोजीमा छन् । सागर जस्तै दुर्गममा रहेका विद्यार्थी राम्रो इन्स्टिच्युटको खोजीमा छन् भने कैलाश जस्ता धेरै विद्यार्थी ब्रिजकोर्स गरिरहेका छन् । ब्रिजकोर्समा अधिकांश विद्यार्थीको रोजाइ कक्षा ११ मा धेरै प्रतिस्पर्धा हुने विषय परेका छन् । ब्रिजकोर्सले प्रवेश परीक्षा पास गर्न सजिलो हुने उनीहरूको विश्वास छ । एसईई दिएर बसेका विद्यार्थीको भीड अहिले शहरका इन्स्टिच्युटमा लागेको छ । धेरैजसो विद्यार्थी भर्ना भएर ब्रिजकोर्स पढिरहेका छन् भने कतिपय भर्ना हुनेक्रममा छन् । पहाड अथवा दुर्गम गाउँमा बसेर एसईई दिएका उनीहरू यतिबेला ब्रिजकोर्स गर्नकै लागि शहर पसेका छन् । एसईईपछि के पढ्ने भन्ने रोजाइअनुसार त्यसैको तयारीका लागि भन्दै अहिले ब्रिज कोर्स पढिरहेको विद्यार्थीहरू बताउँछन् । विशेषगरी स्टाफ नर्स, ओभरसियर, साइन्स म्यानजेजमेन्ट पढ्ने योजना बनाएका विद्यार्थीहरू तयारीस्वरूप ब्रिजकोर्स गर्ने गर्छन् । नयाँ बानेश्वरमा रहेको अल्फाबिटा पनि विद्यार्थीहरूका लागि राम्रो इन्स्टिच्युट मानिन्छ । त्यहाँ पनि अहिले विद्यार्थीको भीड लागेको छ । अल्फबिटाले वैशाख २ गतेदेखि नै ब्रिजकोर्स पढाउन सुरु गरिसकेको छ । अहिले विद्यार्थी आउने, बुझनेक्रम जारी रहेको अल्फाबिटाका एक कर्मचारीले बताए । उनका अनुसार वैशाख महिनाभरि भर्ना कार्यक्रम जारी रहने छ । ‘एसईई सकेका विद्यार्थीको भीड लागेको छ,’ उनी भन्छन्, ‘दिनहुँ, ५० देखि ६० जना विद्यार्थी यो विषयमा बुझनमात्र आउँछन्, अहिले आएकालाई पढाउँदै नयाँलाई थप्दै ब्रिज कोर्स पढाउने काम भइरहेको छ ।’ शिक्षाका विभिन्न कार्यक्रम चलाउँदै आएको अल्फाबिटाले वर्षेनी हजारौ विद्यार्थीलाई ब्रिजकोर्स पढाउने गरेको जनाएको छ । हरेक कलेजले क्षमतावान विद्यार्थीलाई आफ्नो कलेजमा भर्ना गर्न रूचाउँछन् । यसका लागि कलेजले सञ्चालन गर्ने हरेक कक्षामा कलेजले प्रतिभावन विद्यार्थी होस् भन्ने चाहन्छ । कुनै पनि कलेजमा मेडिकलदेखि अन्य विषयको कक्षामा भर्ना हुन प्रवेश परिक्षा दिनुपर्छ । त्यसका लागि नाम चलेका वा नचलेका कलेजले प्रवेश परीक्षा लिने गर्छन् । ब्रिजकोर्स गरेका विद्यार्थीलाई कलेजले लिने प्रविश परीक्षामा अरू विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सहयोग पुग्छ । प्लस टु वा प्राविधिक विषय पढ्न इच्छा भएका विद्यार्थीलाई पनि यस्तो कोर्सले पुलको रूपमा काम गर्ने इन्स्टिच्युटका सञ्चालकहरू बताउँछन् । काठमाडौँ, भक्तपुर, ललितपुरदेखि पूर्वपश्चिमका मुख्य शहरमा विद्यार्थीको भीड अहिले इन्स्टिच्युटमा देखिन थालेको छ । ब्रिज कोर्स मुख्यतः ३ महिनाको हुन्छ । यसमा कुन विषयका लागि विद्यार्थीले तयारी गर्ने योजना बनाएको छ । त्यही अनुसारका विषयहरू पढाइ हुन्छ । यस्तो बेलामा कुन इन्स्टिच्युट विद्यार्थीका लागि राम्रो हो भन्ने विद्यार्थी स्वंय र अभिभावकलाई पनि दोधार पर्छ । संस्थानहरूले पढाएबापत फरक–फरक शुल्क लिने गरेका छन् । यसका लागि ८ हजारदेखि १० हजार खर्च विद्यार्थीले तिर्नुपर्ने हुन्छ । उपत्यकामा चलेका इन्स्टिच्युट इन्टेल इन्स्टिच्युट बगबजारमा रहेको यो इन्स्टिच्युृट पनि नाम चलेको इन्स्टिच्युट हो । सन् १९९५ मा स्थापना भएको इन्स्टिच्युटले हालसम्म लाखौँ विद्यार्थीलाई उच्च शिक्षा र अन्य क्षेत्रका विषयवस्तुको पनि तयारी गराइरहेको छ । एसईई दिएर राम्रो कलेमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो संस्था पनि उपयुक्त हुन्छ । साइन्सदेखि हरेक विषयको तयारी गर्न लागेका विद्यार्थीहरूका लागि इन्टेल इन्ष्टिच्युटले ब्रिजकोर्स सञ्चालन गर्ने गर्छ । अर्बिटल शिक्षा फाउण्डेशन अर्बिटल शिक्षा फाउण्डेशन प्राविधिक विषयलगायत मेनेजमेन्ट क्षेत्रमा अध्ययन गर्न चाहेनेहरूका लागि उपयुक्त संस्था हो । विशेषगरी बीबीए, बीएचएम, बीटीटीएम लगायत मेनेजमेन्ट फ्याकल्टी पढ्ने योजनामा रहेका विद्यार्थीलाई प्रतिस्पर्धा गर्न यहाँ राम्रो तयारी गराइन्छ । अनुभवी शिक्षकहरू रहेको यो संस्थामा एसईई दिएर यी विषय पढ्ने सोचमा हुने विद्यार्थी लागि यो राम्रो ठाउँ हो । व्यवस्थापन, विज्ञान, स्टाफनर्स लगायत मेडिकल शिक्षामा अध्यन गर्न चाहने विद्यार्थीले ब्रिजकोर्स गर्न सक्छन् । क्यामब्रिज इन्स्टिच्युट काठमाडौं नयाँ बानेश्वरमा रहेको यो इन्स्टिच्युट पनि विद्यार्थीहरूलाई ब्रिजकोर्सका लागि राम्रो शिक्षा प्रदान गर्ने संथाभित्र पर्छ । यसले बर्सेनि हजारौंको संख्यामा विद्यार्थीहरूलाई तयारी कक्षा सञ्चालन गराउँछ । राम्रो कलेजमा अध्यन गर्न वा अन्य तयारीका लागि पनि यो इन्स्टिच्युटले सहयोग पु¥याउँदै आएको छ । यो इन्ष्टिच्युट विशेषगरी ए लेभल अध्ययन गर्न चाहने विद्यार्थी, स्टाफ नर्स, ओभरसियर विषयमा तयारी गर्नेहरूका लागि उपयुक्त ठाउँ हो । पाठशाला शिक्षा प्रतिष्ठान नयाँ बानेश्वरमा रहेको पाठशाला पनि विद्यार्थीहरूका लागि राम्रो पाठ सिकाउने संस्था हो । यसले लामो समयदेखि विद्यार्थीहरूका लागि तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ । हरेक वर्ष हजारौँको संख्यामा विद्यार्थीलाई ब्रिजकोर्स तयारी गराउँदै आएको यस प्रतिष्ठाले व्यवस्थापन, साइन्स लगायत विभिन्न विषयको तयारी गरिरहेका विद्यार्थीहरूका लागि सहजीकरणको काम गर्छ ।
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । ब्रेक प्याडभित्र ६० किलोभन्दा बढी सुन लुकाएर तस्करी भएको प्रकरणमा जोडिएपछि चलाउनेविरुद्ध सीआईबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको हो । नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भौतिक रुपमा रहेको वा नरहेको बिषयमा जानकारी प्राप्त हुनेछ । सोही जानकारीको आधारमा उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । सुन तस्करी प्रकरणमा चलाउने र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङबीच कनेक्सन देखिएको थियो । राजश्व अनुसन्धान विभागले गत साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।