शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्नेगरी नीतिगत निर्णय गरेसँगै यस कदमको चौतर्फी चर्चा र आलोचना भएको छ । मन्त्री श्रेष्ठले गत मंगलबार मन्त्रीस्तरिय निर्णयबाट दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएकी हुन् । शिक्षकहरु कुनैपनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न भन्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ । केन्द्रले पनि जिल्ला शिक्षा समन्वय इकाइलाई शिक्षकहरुको राजनीतिक दलमा आवद्धताको सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ । खासगरी पुराना राजनीतिक दलहरुको जनवर्गिय संगठनमा शिक्षक संगठन पनि एउटा महत्वपूर्ण संगठनको रुपमा काम गर्दै आएको छ । जुन जनवर्गिय संगठनलाई ट्रेड युनियन अधिकार अनुरुप चलाइएको भनिँदै आएको छ । नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)जस्ता पुराना राजनीतिक दलहरुको कतिपय समितिहरुमा शिक्षकहरुको सक्रिय सहभागिता भएको पाइन्छ । यसर्थ शिक्षामन्त्रीको यो निर्णयलाई आम रुपमा बोल्ड निर्णयको रुपमा पनि लिइएको छ भने सत्तारुढ दलकै नेताहरु र शिक्षकहरु भने यो निर्णयको समर्थनमा देखिएका छन् । सत्तारुढ दलकै नेताहरुले शिक्षकहरुलाई पार्टी सदस्य भएकै आधारमा बर्खास्त गर्ने सम्मको निर्णय व्यक्तिलाई संविधानले दिएको अधिकार अनुरुप नभएको बताइरहेका छन् । शिक्षकहरुले त संविधानले दिएको अधिकार प्रयोगगरी आफुहरुले कुनै आस्था वा विचार राख्न पाउने भन्दै संविधान नै परिवर्तन गरेर कारबाही गरेर देखाउन चुनौति दिएका छन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारी सेवामा रहेका व्यक्तिहरु सक्रिय राजनीतिमा हुनु नहुने भन्नेकुरा शिक्षा ऐनमै उल्लेख भएको भन्दै शिक्षा मन्त्रीको निर्णय नयाँ नभएको बताए । शिक्षकहरुले पेशागत हक, अधिकार संरक्षण गर्नका लागि पेशागत रुपमा संघ, संगठन खोल्न पाउने उनले बताए । ट्रेड युनियन अधिकार अन्तर्गत सबै पेशामा रहेकाले संघ, संगठन खोल्न पाउने उल्लेख गर्दै संगठनमा बसेको आधारमा कारबाही गर्छु भन्नु ट्रेड युनियन अधिकार विपरितको कुरा हुने बताए । सांसद पौडेलले शिक्षकहरु विद्यालय समयमा राजनीतिक गतिविधिमा संलग्न हुन नपाएपनि अतिरिक्त समयमा आफ्नो आस्था र विचार अनुरुप गतिविधिमा संलग्न हुन पाउने बताए । त्यो कुरा संविधानले नै दिएको अधिकार भएको उनको भनाई छ । उनले भने, ‘दलिय प्रणालीमा दलविहिन नागरिक, व्यक्तिहरु, समुहहरु, समुदायहरु, आस्था, विचार, दृष्टिकोणविहिन व्यक्तिहरु खोजेर प्राप्त गर्ने सम्भावना रहँदैन । हामीले कानून बनाउँदाखेरी निजामती सेवा, शिक्षक, जंगी सेवा, प्रहरी सेवा यस्ता सेवाका व्यक्तिहरु प्रत्येक्ष राजनीतिमा दलगत सक्रियतामा सहभागी नहुने भनेर पहिले नै भनेका छौँ । उनीहरु राजनीतिमा सक्रिय नहुने भन्नेकुरा शिक्षा मन्त्रालयमा पहिलेदेखि नै छ । दलगत र पेशागत अलग बनाउनुभन्दा छाता संगठन मात्र बनाउन सकिन्छ । शिक्षक संगठन, महासंघको विरोध गर्नु दलिय प्रणाली विपरित कुरा हो ।’ पूर्व सांसद समेत रहेका नेकपा(एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शिक्षामन्त्रीले सो निर्णय गर्नुअघि सरोकारवाला शिक्षक संघ, संगठनहरुसँग छलफल गर्नुपर्ने बताए । नेपालसँग कुराकानी गर्दै उनले यो विषय नीतिगत विषय भएकाले नीतिगत विषयमा मन्त्रिपरिषद्मै छलफल गर्नुपर्ने बताए । सत्तारुढ दलका शिर्ष नेताहरुसँग समेत छलफल गरेर निर्णय गरेको भए कार्यान्वयन हुनसक्ने विश्वास व्यक्त गरे । नेता गौतमले ट्रेड युनियन अधिकारलाई हनन गर्नु नहुने बताए । शिक्षकहरुको राजनीतिक भुमिकालाई नियन्त्रण नभई न्युनिकरण गर्दै लानुपर्नेमा जोड दिए । शिक्षकहरुको राजनीतिक संलग्नताको विषयमा मुख्य राजनीतिक दलहरुका बिचमा साझा धारणा बन्नुपर्ने र सो विषय सार्वजनिक हुनुपर्ने बताए । उनले भने, ‘जिम्मेवारीको हिसाबले पनि कठिनाई हुन्छ । भुमिकाको हिसावले पनि कठिनाई हुन्छ । भन्ने कुरामा हाम्रो ध्यानाकर्षण भएको छ र नेतृत्वमा आउने साथीहरुलाई राजीनामा गरेर जिम्मेवारी लिनका निम्ति हामीले भनेकै छौँ । शिक्षामन्त्रीले यो कदम चालिरहँदाखेरी उहाँ पनि कुनै एउटा दल विशेषबाटै मन्त्री हुनुभएको हो । लोकतन्त्रको स्थायित्व, विकास र त्यसको प्राप्तिका निम्ति उहाँले खेलेको भुमिकाको आधारमा, ट्रेड युनियन अधिकार भनेको त पेशागत, व्यवसाय, राजनीतिक अधिकार नै हो नि ट्रेड युनियन अधिकार भनेको ।’ नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधारले शिक्षकहरुले आफ्नो कार्यालय समयमा राजनीतिक दलको काम गरेर नहिँडेको दाबी गरिन् । शिक्षकहरुले कार्यालय समयबाहेकको अतिरिक्त समयमा आफ्नो राजनीतिक आस्था राख्न पाउनुपर्ने बताइन् । संविधानको धारा १८ ले पनि नागरिकलाई उसको आस्थाको आधारमा विभेद गर्न पाइँदैन भन्ने व्यवस्था गरेको भन्दै सबै नागरिकले आफ्नो आस्था राख्न पाउने बताइन् । शिक्षकहरु राजनीतिक आस्थामा भएपनि कक्षाकोठामा सो कुरा प्रकट गर्नु नहुनेमा शिक्षकहरु सचेत रहेका बताइन् । कुनैपनि शिक्षकहरु पार्टी कार्यालय खोलेर पार्टीको जिम्मेवार पदाधिकारी नबनेको पनि बताइन् । दलको सदस्यता लिनका लागि शिक्षा नियमावलीले कुनै छेकवार नलगाएको भन्दै संविधान, र ऐन, कानुन नै परिवर्तन गरेर शिक्षकहरुलाई कारबाही गर्न शिक्षामन्त्रीलाई चुनौती दिइन् । राजनीतिक आस्थाको आधारमा शिक्षकहरुलाई कारबाही गर्नु नहुने उनले बताइन् । उनले भनिन्, ‘हामी संविधानको धारा १८ अनुसार आस्थाको आधारमा कसैलाई विभेद गर्न पाइँदैन । आस्था राख्ने अधिकार सबै नागरिकको छ । आस्था नै नराख्ने भन्ने कुरा निर्जीव वस्तुले मात्रै गर्ला भन्ने कुरा उहाँले बुझ्नुपर्छ । आस्था एउटा, एउटामा जसको पनि हुन्छ । कसैको सदस्यता लिनु हुन्न भनेर त्यसमा छेकवार छैन । उहाँले संविधान नै परिवर्तन गरेर, ऐन, नियम नै परिवर्तन गरेर कारबाही गर्नुहुन्छ भने त हामी पनि चुनौति दिन्छौँ, कारबाही गरेर हेर्नुस् न त ।’ अध्यक्ष तुलाधरले शिक्षकहरुले अध्यापन छाडेर विद्यार्थीको भविष्य अन्यौल पार्नु नहुने बताइन् । आफ्नो परिभाषित जिम्मेवारी र कर्तव्य पूरा गर्न शिक्षकहरु दृढ रहेको भन्दै कार्यालय समयबाहेक आफ्नो आस्था अनुसारको काम गर्न पाउनुपर्ने उनले बताइन् । शिक्षकहरु राजनीतिक चेतनाको संवाहक भएको भन्दै राजनीति र समाजबाट टाढा रहन नसक्ने बताइन् । शिक्षामन्त्रीले आरोप लगाएको जस्तो शिक्षकहरुले राजनीति गरेर नहिँडेका जानकारी दिइन् ।
सिटिजन्स बैंकद्वारा घरबार विहीनलाई १७ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सडक आश्रित घरबार बिहीनलाई दिवा भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई बिहीबार १ हजार ७०० व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो । सन् २०२० मा कोभिड १९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरुलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ । यसका साथै आजै बैंकको कोशि प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ । साथै कोशि प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्दनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमि, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरुबाट बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् । हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं । टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीवार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो । राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको एएफएडीले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । भूकम्पको धक्का छिमेकी प्रान्तमा महशुस गरिएको निजी प्रशारक एनटिभीले जनाएको छ । एएफएडी र अन्य सम्बन्धित एजेन्सीहरूका टोलीहरूले घटनास्थलमा स्थितिको अनुसन्धान गरिरहेका छन् ।
जन्ती बोकेको बस दुर्घटना : तीनजनाको मृत्यु, ५२ घाइते
चौतारा । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ । रासस
खराब कर्जाका कारण बैंकहरूको नाफा साढे १३ प्रतिशत घट्यो, कुन बैंकको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशत घटेको छ । चैत मसान्तसम्म बैंकहरूको नाफा १३.४७ प्रतिशत घटेर ४० अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपैयाँ आर्जन गरेका हुन् । गत वर्षको चैतमा ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेका थिए । समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा घटेको छ । बैंकहरूको खराब कर्जा बढेका कारण नाफामा ठूलो असर गरेको देखिन्छ । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा नतिरेपछि एनपीएल बढेको बैंकरहरू बताउँछन् । खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कृषि विकास बैंकको ९७.२२ प्रतिशत बढेर २ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपैयाँ, प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेका छन् । हिमालयन बैंकको १२.०३ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ७.५२ प्रतिशत बढेर ३ अर्ब २७ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५.७७ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेका हुन् । सिटिजन्स बैंकको १.९९ प्रतिशत घटेर १ अर्ब २१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत घटेर २ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । एनएमबि १६.४३ प्रतिशत घटेर २ अर्ब २४ करोड रुपैयाँ, कुमारी बैंकको १९.११ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५.४४ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५३.३० प्रतिशत घटेर १ अर्ब ९१ करोड रुपैयाँ, नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेका हुन् ।
सिटिजन्स बैंकले घटायो खराब कर्जा, नाफा १ अर्ब २१ करोड रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकले खराब कर्जा घटाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा बैंकको खराब कर्जा सामान्य घटेर ३.७६ प्रतिशतमा झारेको हो । गत वर्षको चैतमा ३.९८ प्रतिशत खराब कर्जा थियो । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा बैंकको खुद नाफा २ प्रतिशत घटेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३९ करोड ९१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब २० करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ छ । गत वर्ष यस्तो नाफा ४१ लख ५ हजार रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष ७ अर्ब ९ करोड रुपैयाँ छ । चैतसम्म बैंकले १ खर्ब ८२ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.३७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.९८ रुपैयाँ रहेको छ
प्राइम बैंकको नाफामा १७ प्रतिशत छलाङ, प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ
काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३.३० प्रतिशत अर्थात् ३१ करोड ३३ लाख रुपैयाँ छ । गत वर्ष यस्तो नाफा २.०७ प्रतिशत अर्थात् ३० करोड १५ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १० अर्ब २८ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात ९.६० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ रहेको छ समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.२९ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३.०६ प्रतिशत खराब कर्जा थियो ।
कुमारी बैंकको ब्याज आम्दानी १२.६७ प्रतिशत बढ्यो, नाफा कति कमायो ?
काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा १९.१२ प्रतिशत घटेर १ अर्ब ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत बढेर ८ अर्ब ४२ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेर १० अर्ब ५५ करोड रुपैयाँ र सञ्चालन नाफा २१.६० प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.९७ प्रतिशत रहेकोमा यस वष बढेर ४.९५ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ६२ करोड रुपैयाँ छ । चैतसम्म बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.९० रुपेयाँ घटेर ५.३५ रुपैयाँमा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६.५२ रुपैयाँ रहेको छ ।